Monday, July 09, 2012

 

मीमांसा दर्शन र कुमारिल भट्ट

कुमारिल वैदिक पुनरुज्जीवनका सर्वश्रेष्ठ नायक हुन् ।
- 'आयोदधौम्य' निर्मलमणि अधिकारी

मीमांसादर्शनको उद्भव
मीमांसा शब्दको अर्थ विचार गर्नु हो । तर विशेष अर्थमा भने यस शब्दले एक दर्शन-विशेषलाई जनाउँछ । यस दर्शनलाई निम्नानुसारका संज्ञाहरु पनि दिइने गरेको पाइन्छ : पूर्वमीमांसा, कर्ममीमांसा, धर्ममीमांसा, अध्वरमीमांसा, जैमिनीय मीमांसादर्शन, पूर्वकाण्ड, कर्मकाण्ड, यज्ञविद्या, द्वादशलक्षणी, तन्त्र, वाक्य वा वाक्यशास्त्र, विचारशास्त्र, न्याय, तर्क आदि । मीमांसाको प्रारम्भ वेदबाटै मानिएको छ किनभने मीमांसा चिन्तनको उद्गम वैदिक वाङ्मय स्वयंमा खुट्ट्याउन सकिन्छ । तैत्तिरीय संहिताको "उत्सृज्यां नोत्सृज्यामिति मीमांसन्ते ब्रह्मवादिनः" को साक्ष्य प्रस्तुत गर्दै वैदिक साहित्यमा मन्त्रभागमासमेत मीमांसा शब्दको प्रयोग भएको बताइन्छ । ब्राह्मणग्रन्थका विभिन्न स्थलहरुमा यागकि्रयाविषयक विचार-विमर्शको अर्थमा मीमांसा शब्दको प्रयोग पाइन्छ । मीमांसादर्शनको सुव्यवस्थित तथा क्रमबद्ध रुप सर्वप्रथम सूत्रहरुकै रुपमा पाइन्छ । महर्षि जैमिनिको ग्रन्थ मीमांसासूत्र - जसलाई जैमिनिसूत्र पनि भनिन्छ - नै मीमांसादर्शनको औपचारिक उद्गम मानिन्छ । जैमिनिले प्राचीनकालदेखि विद्यमान मीमांसा पद्धतिलाई सूत्रका रुपमा निबद्ध गरी मीमांसादर्शनको विकासमा आधारभूत योगदान गरेको देखिन्छ । वास्तवमा जैमिनि कहिलेका हुन् र उनले मीमांसासूत्र कहिले लेखेका थिए भन्ने कुरा अनुमानको कुरा मात्र हो किनभने भारतवर्षीय ऋषिहरुले आफ्ना वैयक्तिक विवरणहरु दिने कुनै रुचि देखाएका छैनन् र सोहीअनुरुप जैमिनि स्वयं वा उनका समकालीनहरुले केही लेखेर नछाडेकाले उनीसम्बन्धी सुनिश्चित मितिहरु पत्ता लाग्ने तय गर्न सकिने सम्भावना देखिँदैन । मीमांसासूत्र विद्यमान छ त्यसले उनको उपस्थितिलाई जीवित सत्यका रुपमा स्थापित गर्छ । उनको ग्रन्थले सहस्राब्दीयौँपछि पनि आचार र विचारको मार्गदर्शकका रुपमा प्रभाव पार्न सक्नुले उनको महत्ता स्वतः सिद्ध हुन्छ । संप्रति उपलब्ध शबरस्वामीकृत भाष्य नै मीमांसासूत्रमाथिको सर्वप्रथम वा सबैभन्दा प्राचीन पूर्ण एवं बृहत् व्याख्या हो । शबरभन्दा अगाडि पनि अनेक विद्वानहरुले मीमांसासूत्रमाथि भाष्य तथा स्वतन्त्र ग्रन्थहरु लेखेको मानिन्छ । तर जैमिनिपश्चात् र शबरपूर्वका कुनै ग्रन्थ उपलब्ध छैनन् यद्यपि उपवर्ष बोधायन तथा भवदासले मीमांसासूत्रमाथि वृत्ति लेखेको तथ्य भने स्थापित छ । मीमांसादर्शनका सूत्रकार जैमिनि बुद्धका पूर्ववत्र्ती र भाष्यकार शबरस्वामी बुद्धका परवत्र्ती हुन् भनिन्छ । मीमांसादर्शनको परम्परामा जैमिनिका सूत्रहरु शबरको भाष्य र तिनीहरुमाथि कुमारिलको वार्तिक टीका लाई सर्वाधिक प्रभावशाली मानिन्छ ।

 कुमारिल भट्ट
साधारणतः मीमांसादर्शनान्तर्गत तीन मत वा पन्थहरु रहेको मानिन्छ । यसअनुसार कुमारिलजस्तै प्रभाकर मिश्र र मुरारि मिश्र पनि मत-प्रवर्तक मानिन्छन् । नामोल्लेख गर्दा तीनवटा मत उल्लेख गर्ने प्रचलन भए तापनि वास्तवमा कुमारिलको मत नै सुदीर्घ परम्पराबाट सुस्थापित देखिन्छ । भट्ट-मीमांसा-दर्शन भन्नाले मीमांसादर्शनको परम्परामा कुमारिल भट्टका दृष्टिकोणमाथि आधारित रही विकास भएको दार्शनिक मतलाई बुझिन्छ । यसलाई संस्कृतमा भाट्ट, भाट्टमत एवं भाट्टसम्प्रदाय संज्ञाले पनि जनाइन्छ । उनको मतलाई तौतातित-मत, कौमारिलमत आदि पनि भनिन्छ । कुमारिल भट्टलाई कुमारिल भट्टपाद, भट्ट कुमारिल, भट्ट, वार्तिककार, आचार्य कुमारिल भट्ट, भट्टाचार्य, तूतात भट्ट आदि संज्ञाले सम्बोधन गरेको पाइन्छ । उनलाई स्कन्द अर्थात् भगवान कुमारको अवतारका रुपमा वर्णन गर्ने परम्परा पनि छ । कुमारिलको योगदानलाई विभिन्न आयामबाट परख गरी उच्च मूल्याङ्कन गरिएको पाइन्छ । मीमांसादर्शनको उद्धार एवं वैदिक परम्पराको पुनरुज्जीवनमा उनको निर्णायक भूमिका रहेको मान्दै उक्त दर्शन एवं परम्पराका अनुयायीहरुले कुमारिललाई महान् विभूतिका रुपमा सम्मान गर्नु स्वाभाविकै हो । यसबाहेक सम्प्रदायनिरपेक्ष मापदण्डबाट पनि उनको दार्शनिक व्यक्तित्वको महत्ताबारे चर्चा गरिएको छ । दर्शन जगत्मा कुमारिल आफ्नो मौलिक विचारधारा प्रखर प्रतिभा तथा सूक्ष्म विवेचनका कारण प्रख्यात छन् । प्रमाणवैज्ञानिक सवालहरुलाई भारतवर्षीय दर्शनमा सर्वप्रथम कुमारिलले नै गंभीर निष्पक्ष एवं ब्यौरेवार चर्चा गरे । विभिन्न क्षेत्रका जनता र तिनका भाषा तथा संस्कृतिसम्बन्धी कुमारिलको ज्ञान असाधारण देखिन्छ । उनी जागतिक याथाथ्र्यबाट दार्शनिक चिन्तनतर्फ अघि बढ्छन् । कुमारिल साधारण ज्ञानलाई प्रयोग गरी दार्शनिक निष्कर्षमा पुग्छन् । कुमारिल वैदिक पुनरुज्जीवनका सर्वश्रेष्ठ नायक हुन् । उनी उनको समयका सर्वाधिक देदीप्यमान एवं प्रबल दार्शनिक थिए । यी महान तार्किकले वेदको सर्वोच्च आधिकारिकता स्थापित गर्न पूर्ण शक्ति लगाएर प्रयत्न गरे । कुमारिलको योग्यता र परिश्रमले मीमांसाशास्त्रलाई नवजीवन प्राप्त भयो जसको फलस्वरुप वैदिक पुनरुज्जीवन सम्भव हुन गयो । कुमारिल मीमांसकहरुका शिरोमणि त हुन् नै; वैदिक पुनरुज्जीवनका अर्का पुरोधा शंकराचार्य मात्र उनको समकोटिका दार्शनिक देखिन्छन् । हिन्दू जीवनपद्धतिमा व्यावहारिक वा लौकिक सन्दर्भमा भट्टमतलाई नै आधिकारिक मानी "व्यवहारे भाट्टनयः" भनिनु उनलाई गरिएको अत्युच्च मूल्याङ्कनकै द्योतक हो ।
nirmalam.adhikary@gmail.com

Saturday, July 07, 2012

 

वैदिक परम्पराका दर्शन

वेदका संहितालाई नै भारतवर्षको धर्म, सभ्यता र अध्यात्म-ज्ञानको सनातन स्रोत मानिएको छ । भारतवर्षीय दर्शनशास्त्रको प्रारम्भ पनि वैदिककालदेखि नै मानिन्छ । वैदिक आचार-विचारका स्रोतका रुपमा रहेका वेद-समष्टिको मूलबाट एक सुदीर्घ परम्परा प्रवाहित भएको छ । त्यस परम्पराका अनेक आयाममध्ये दार्शनिक परम्परा पनि एक अभिन्न पाटो हो । वेद अनेकौँ दर्शनहरुको स्रोत हो किनभने यसैबाट ज्ञानको संचय गरेर अनेकौँ विचार एवं दर्शनहरुको निर्माणका लागि गरिएको पाइन्छ । वैदिक दर्शनलाई आस्तिक दर्शन भन्ने र यसलाई हिन्दू दर्शनको समानार्थकको रुपमा प्रयोग गर्नेसमेत गरिन्छ । पारम्परिक वर्गीकरणको प्रचलनअनुसार भारतवर्षीय दर्शनहरुलाई आस्तिक र नास्तिक गरी दुई भागमा बाँडिन्छ जसमध्ये वेदको आधिकारिकता-प्रामाणिकता स्वीकार गर्नेलाई आस्तिक र वेदनिन्दकलाई नास्तिक भनिन्छ । मनुस्मृति-२।११ मा "नास्तिको वेदनिन्दकः" भनिएकाले यो परिभाषा वैदिक-परम्पराको मान्यतानुरुप नै देखिन्छ । वेदको आधिकारिकता-प्रामाणिकता स्वीकार गर्ने वा नगर्ने आधारबाट दर्शनहरुको वर्गीकरण गरिनु वेदलाई सन्दर्भ-बिन्दुका रुपमा मिलेको व्यापक मान्यताको द्योतक हो । भारतवर्षीय दर्शनका आस्तिक सम्प्रदायहरुको विकास सूत्र-साहित्यद्वारा भएको छ । मीमांसा, वेदान्त, सांख्य, योग, न्याय र वैशेषिक दर्शनहरुका आफ्ना-आफ्ना सूत्र ग्रन्थहरु छन् र यी सबैले वेदको आधिकारिकता-प्रामाणिकता स्वीकार गर्छन् । मीमांसादर्शन जैमिनिकृत मीमांसासूत्रबाट, वेदान्तदर्शन बादरायणकृत ब्रह्मसूत्रबाट, सांख्यदर्शन कपिलकृत सांख्यसूत्रबाट, योगदर्शन पताजलीकृत योगसूत्रबाट, न्यायदर्शन गौतमकृत न्यायसूत्रबाट र वैशेषिकदर्शन कणादकृत वैशेषिकसूत्रबाट प्रणीत मानिन्छन् । आस्तिक समूहमा पर्ने मीमांसा, वेदान्त, सांख्य, योग, न्याय र वैशेषिकलाई षड्दर्शन वा षट् दर्शन तथा षट्शास्त्र पनि भनिएको पाइन्छ । आस्तिक दर्शनहरुलाई प्रत्येक समूहमा दुई-दुईवटा समावेश हुने गरी तीनवटा समूहमा बाँड्ने परम्परा रहिआएको छ जसअनुसार सांख्य र योगलाई मिलाएर सांख्य-योग, न्याय र वैशेषिकलाई मिलाएर न्याय-वैशेषिक तथा मीमांसा र वेदान्तलाई मिलाएर मीमांसा-वेदान्त पदावलीले जनाइन्छ । मीमांसा-विशेषलाई पूर्वमीमांसा र वेदान्तलाई उत्तरमीमांसा पनि भनिन्छ । यदि वेदान्तका परवत्र्ती सम्प्रदायहरुलाई छाडिदिने हो भने मीमांसा र वेदान्तका सूत्र-ग्रन्थ एक-अर्काका पूरक नै देखिन्छन् । एवं दुवैलाई मिलाएर नै कृत्स्नशास्त्र अर्थात् सम्पूर्ण-शास्त्र भनिएको पनि पाइन्छ । मीमांसा र वेदान्त मात्र होइन आस्तिक मतका सबै छवटा दर्शनहरुबीचमै समन्वयात्मक दृष्टिकोण राख्ने परम्परा रहिआएको छ । एक संस्कृत श्लोकमा भनिएको छ- "रुचीनां वैचित्र्याद्दजुकुटिल-नानापथजुषां । नृणामेको गम्यस्त्वमसि पयसामर्णव इव ॥" अर्थात् रुचीको भिन्नता वा वैचित्र्यका आधारमा सोझा-सरल बाङ्गा-टिङ्गा र घुमाउरा आदि अनेकौं पथ पद्धति र धार्मिक परिपाटीमा बाँडिने मनुष्यहरुका लक्ष्यविन्दु वा प्राप्य वस्तु एकमात्र तिमी हौ जस्तोकि विभिन्न प्रकारका रुपाकृतिमा बाँडिएर बग्ने अनेकौं नदीनालाहरुको पानीको एकमात्र गन्तव्यस्थल वा प्राप्य वस्तु एउटै समुद्र हो । उपर्युक्त षड्दर्शन मीमांसा, वेदान्त, सांख्य, योग, न्याय र वैशेषिक का साथै अन्य आस्तिक दर्शन पनि छन् किनभने दर्शनशास्त्र सर्वत्र व्यापक छ । भारतवर्षमा ज्ञान व्याकरण संकेत आयुर्वेद भैषज्य सङ्गीत चित्रकला भाषा वाद्य नृत्य चित्र उपासना ज्योतिष आदि सबैका दर्शनशास्त्र छन् । यस दृष्टिकोणबाट हेर्दा आस्तिक दर्शनको सूची लम्बिन सक्नेमा कुनै द्विविधा रहँदैन । जे होस्; आस्तिक दर्शनको सूचीमा समेटिनका लागि प्रत्येक दर्शनले आफू वैदिक परम्पराको भएको पर्याप्त आधार भने दिनै पर्ने हुन्छ । तसर्थ, चाहे तिनीहरु छवटा मानियून् वा त्यस भन्दा बढी आस्तिक दर्शन नै वैदिक परम्पराका दर्शन हुन् भन्ने तथ्य निरुपित हुन्छ ।

This page is powered by Blogger. Isn't yours?