Tuesday, December 25, 2007

 

विश्वको प्रथम जनविद्रोह र राष्ट्रको पुनर्संरचना

विश्वको प्रथम जनविद्रोह र राष्ट्रको पुनर्संरचना
निर्मलमणि अधिकारी
(पहिलोपटक प्राची द्वैमासिकमा “विश्वको प्रथम जनविद्रोह, बेनको पतन र नयाँ राष्ट्रको विधि निर्माण” शीर्षकमा प्रकाशित, मिति २०६३ असोज, पूर्णाङ्क ६०। घटना र विचार साप्ताहिकमा प्रकाशित, मिति २०६३ कात्तिक १५ गते बुधवार, वर्ष १२ अंक १८। Also published in Palpaonline)

१. विषय प्रवेश
भारतवर्षीय सन्दर्भमा ज्ञान, विज्ञान, अध्यात्म, धर्म, संस्कृति सबैको मूल वेद नै मानिएको छ। वैदिक युगीन राजनीतिबारे अध्ययन-अनुसन्धानको क्रम चलिरहेको छ र हालसम्मको अध्ययनबाट विज्ञहरू के निष्कर्षमा पुगेका छन् भने सामाजिक, राजनीतिक एवं सांस्कृतिक दृष्टिले उपयोगी विभिन्न संस्थाहरूको मूल पनि वेदमा पाउन सकिन्छ।
संसारकै सर्वाधिक प्राचीन ग्रन्थ ऋग्वेदको समयमा राजनीतिक प्रणाली कस्तो थियो भन्ने सन्दर्भमा हाम्रो सामुन्ने ‘सत्ययुग’को कुरा आउँछ। सत्ययुगमा मानवसमाजले समस्त अभावहरूमाथि विजय प्राप्त गरेको थियो र समाज भोक, रोग, शोकरहित थियो। त्यस युगमा राजनीतिक सीमारेखाहरूको अर्थ थिएन; संप्रदाय, पन्थ, मजहबहरूको घेराबन्दी थिएन र जाति र भाषाको भेदले पनि अर्थ राख्दैन। त्यहाँ कोही मालिक र कोही दास थिएनन्, कोही धनी र कोही गरिब थिएनन् र कसैले कसैलाई हैकम चलाउने स्थिति पनि थिएन। सत्ययुगमा प्रहरी र सेनाको आवश्यकता रहँदैन; मानवसमाज स्वतः नैतिक नियममा गतिशील रहने हुन्छ। यहाँसम्मकि तालाचाबीको कुनै उपयोगिता रहँदैन; कोही चोर नै रहने छैन त किन चाहियो तालाचाबी? कुनै शस्त्रास्त्रको उपयोगिता नरहने हुन्छ, किनकि हिंस्रक मनोवृत्तिबाट मानवले आफूलाई मुक्त पारिसकेको स्थिति हुन्छ। सर्वत्र सुख, शान्ति, आनन्द।
उत्तरवैदिक कालमा भने परिस्थिति धेरै फरक भइसकेको झलक पाइन्छ। अथर्ववेदमा ‘राष्ट्र’ तथा ‘राज्य’ को अवधारणा अहिलेकै जस्तो अर्थमा पाइन्छ। अथर्ववेदमा अनेक राजनीतिक सिद्धान्तहरूलाई स्थान दिइएको छ। वास्तवमा मानव इतिहासमा मातृभूमिको अवधारणा प्रथम पटक अथर्ववेदमै पाइन्छ। प्रसिद्ध ‘भूमि-सूक्त’ले नै राष्ट्रियताको अवधारणा विकसित गराएको हो। भूमिसूक्त- १२।१ मा ऋषि पृथ्वीलाई माता र आफू स्वयंलाईचाहिँ उनको पुत्र घोषित गर्दछन्- “माता भूमिः पुत्रो अहम् पृथिव्याः।”राष्ट्र, राष्ट्ररक्षाको विविध उपाय, विभिन्न शासन प्रणाली, संस्था तथा सिद्धान्तहरूको पनि सुस्पष्ट उल्लेख अथर्ववेदमा छ। कतै जनताका प्रतिनिधिहरूले प्रत्यक्षतः शासन गर्ने गणतन्त्रात्मक शासन प्रणाली थिए; कतै राजतन्त्रात्मक शासन प्रणाली थिए र कतै मिश्रति (अहिलेको सन्दर्भमा भन्नु पर्दा संवैधानिक राजसंस्थायुक्त संसदीय व्यवस्था) शासन प्रणाली थिए। जस्तोसुकै शासन प्रणाली रहेको भए तापनि यतिबेलासम्म शासक भन्दा लोक (प्रजा) नै बलिया रहेका थिए। पौराणिक कालखण्डमा भने शासक (राजा) अत्यन्त बलशाली देखा पर्दछन्। त्यस युगका जनप्रिय शासकहरूको वर्णन पुराणहरूमा हामी पढ्न सक्छौँ। साथै, कतिपय अवसरमा निरङ्कुश शासकविरूद्ध भएका जनविद्रोह गाथा पनि पुराणका पानामा समेटिएका छन्। यस लेखमा श्रीमद्‍भागवतमा वर्णित बेन राजाविरूद्धको जनविद्रोहलाई संसारकै पहिलो जनविद्रोहका रूपमा चर्चा गरिएको छ। तत्पश्चात् पृथुले कसरी सङ्क्रमणकालको बुद्धिमत्तापूर्ण व्यवस्थापन गरी जनअनुमोदित शासनको आधारशीला राखे भन्नेबारे चर्चा पनि यहाँ समावेश गरिएको छ।२. प्राचीन भारतवर्षमा प्रचलित विभिन्न शासन प्रणालीहरू
वैदिक वाङ्मयको अध्ययन गर्दा शासनको उत्पत्तिसम्बन्धी विभिन्न छ प्रकारका सिद्धान्तहरू खुट्ट्याउन सकिन्छ – (१) व्यक्तिविशेषप्रधान सिद्धान्त, (२) मत्स्यन्याय सिद्धान्त, (३) सत्ययुग सिद्धान्त, (४) सामाजिक सम्झौताको सिद्धान्त, (५) पितृप्राधान्य सिद्धान्त र (६) दैवी सिद्धान्त। राज्यको उत्पत्तिको आधार जुन सिद्धान्तलाई मान्ने हो, त्यसैअनुसारको शासन प्रणाली निर्धारण हुने तथ्य यहाँनेर स्मरणीय छ।प्राचीन भारतवर्ष शासनका विविध प्रणालीहरू प्रचलनमा थिए। ऐतरेय ब्राह्मणमा विभिन्न प्रकारका शासन प्रणालीहरूबारे वर्णन गरिएको छ।
क्र.सं. शासन प्रणाली शासकको पदवी स्थान-निर्देश१ साम्राज्य सम्राट् पूर्व२ भौज्य भोज दक्षिण३ स्वाराज्य स्वराट् पश्चिम४ वैराज्य विराट् उत्तर (उत्तरमद्र, उत्तरकुरू)५ राज्य राट् कुरू-पाञ्चाल६ पारमेष्ठ्य कुरू-पाञ्चाल भन्दा उत्तर७ माहाराज्य कुरू-पाञ्चाल भन्दा उत्तर८ आधिपत्य (स्वावश्य) कुरू-पाञ्चाल भन्दा उत्तरतालिका- ऐतरेय ब्राह्मणमा उल्लेखित शासन प्रणालीहरू
माथि तालिकामा उल्लेखित शासनप्रणालीहरूलाई मूलतः लोकप्रधान प्रणाली र राजाप्रधान प्रणाली गरी दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ। तीमध्ये साम्राज्य, राज्य, पारमेष्ठ्य, माहाराज्य र आधिपत्यमा राजसत्ताको र भौज्य, स्वाराज्य र वैराज्यमा लोकसत्ताको प्राधान्य रहेको बुझिन्छ।
राजसत्तात्मक हुँदैमा ती सबै व्यवस्थामा निरपेक्ष रूपमा राजा सर्वशक्तिमान रहने अवस्था भने थिएन। यजुर्वेदमा कतिपय यस्ता मन्त्र विद्यमान छन्, जसको आधारमा हामी त्यतिखेर राजा जनताद्वारा प्रत्यक्षतः निर्वाचित हुनु पर्ने व्यवस्था रहेको बुझ्छौँ(जस्तै- यजु. ९।४०)। कतिपय अवस्थामा राजालाई हटाउन र पुनर्नियुक्त गर्न पनि सकिने प्रावधान रहेको (अथर्व. १।४।६) देखिन्छ। रामायणकालमा पनि राजाको छोरा नै स्वतः राजा बन्ने कुनै निश्चित थिएन र विशः (जनता) ले वरण गरेपछि मात्र कोही व्यक्ति औपचारिक रूपमा राजा बन्न सक्दथ्यो। राजाको उत्तराधिकारीका रूपमा उनका जेठा छोरालाई प्राथमिकता दिइन्थ्यो; तर त्यो अनिवार्य थिएन र परिषद् (सभा) ले अन्य व्यक्तिलाई उत्तराधिकारी चयन गर्ने सम्भावना पनि प्रबल रहन्थ्यो।
‘सम्राट-पद्धति’ अनुसार सम्राटको आज्ञानै र्सवमान्य हुन्छ। राजा वा सम्राटका लागि पनि नैतिक नियमहरू हुन्छन् र उसले त्यही आधारमा शासन गर्दछ। राजाले प्रजाको रक्षा गर्नु, राष्ट्रको उन्नति प्रगति गराउनु र दुष्टहरूलाई दण्ड दिनु पर्दछ। आफ्नो दण्ड विधानले नै राजा प्रतापी हुन्छ (अथर्व. ४।८।१) भनिएको छ। ‘विराट’ पद्धतिमा राजा हुँदैनन्। जनता र्सवसम्मति या बहुमतका आधारमा आफ्नो फैसला गर्दछन्। यस पद्धतिमा जो सामूहिक निर्णय ाहुन्छ, त्यही नै मान्य हुन्छ।
‘स्वराट्’ पद्धतिमा केन्द्रीय शासन हुन्थ्यो। अथर्ववेदमा स्वतन्त्र राजाको लागि ‘स्वराट्’ शब्द प्रयोग गरिएको छ, जो आफ्नो तेजस्विताका कारण निर्वाचित हुन्छ (अथर्व. २०।११३।२)। जनता यस्तो व्यक्तिलाई चयन गर्दछन् जो इन्द्र अर्थात् ऐश्वर्ययुक्त होस्। वृत्र अर्थात् पापी/अज्ञानी व्यक्तिलाई राजा बनाउने उनीहरूको चाहना हुँदैन (अथर्व. १२।१।३७)। यस प्रणालीमा जनताका प्रतिनिधि सभा र समितिमा जान्छन् र केन्द्रीय सभा तथा समितिमा उनीहरू राज्य सम्बन्धी नियमहरू बनाउँछन्। यसमा जनताका प्रतिनिधिले राष्ट्रमा शासन गर्ने हुनाले यसलाई जनतन्त्र राज्य पनि भनिन्छ।
ऐतरेय ब्राह्मणमा उल्लेखित आठ प्रकारका शासन प्रणालीका अतिरिक्त अन्य प्रणालीहरू पनि कालान्तरमा भारतवर्षमा प्रयोगमा आउन थालेका संस्कृत वाङ्मयको अध्ययनबाट थाहा लाग्दछ। उदाहरणका लागि, राष्ट्रिक, पेत्तनिक, द्वैराज्य, अराजक, उग्र र राजन्य। शुक्रनीतिमा हेर्ने हो भने प्रायः राजसत्तात्मक प्रणालीकै मात्र वर्णन हामी पाउँछौँ। ऐतिहासिक विकासक्रमलाई ध्यानपूर्वक हेर्दा भारतवषर्षीय समाज जति जति वैदिककालबाट पौराणिककालतिर पदार्पण गर्दै गयो, उति उति लोकसत्ता कमजोर र राजसत्ता बलियो हुँदै गएको देखिन्छ।
३. लोकसत्ता र राजसत्ता
वैदिक वाङ्मयमा एकातिर राजाकै एकल शासन चल्ने प्रणाली र अर्कोतिर गणतन्त्रात्मक शासन प्रणालीजस्ता नितान्त विपरित प्रणालीहरूबारे उल्लेख गरिएको भए तापनि वैदिक ऋषिहरूले आदर्श ठहर्‍याएको शासन प्रणाली भने मध्यमार्गी रहेको देखिन्छ। अहिलेको सर्न्दर्भमा राजासहितको संसद (किङ्ग इन पार्लियामेन्ट) भन्न सकिने लोकतान्त्रिक पद्धति अनुरूपका सभा (ऋ. १०।७१।१०, अथर्व. ७।१२, यजु. १६।२४ र १६।२८) एवं समिति (अथर्व ६।८८।३ र ५।१९।१५) जस्ता संस्थाहरूसहितको राजसंस्थाको व्यवस्थालाई सर्वोत्तम मानिएको साक्ष्य वैदिक वाङ्मयमा छ। वैदिक युगको राष्ट्रको शासन आदर्श अवस्थामा सभा र समिति नामका दुई संस्थाहरूसहित राजाद्वारा हुने गरेको देखिन्छ। राज्यको प्रशासन चलाउन राजाले मन्त्रिमण्डलको गठन गर्नु पर्ने र त्यो मन्त्रिमण्डल सभा र समितिबाट अनुमोदित हुनु पर्ने प्रचलन रहेको थियो।
अथर्ववेदकालीन राज्यमा पाँच प्रकारका लोक (प्रजा) रहेका थिए - ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र र निषाद। यी सबै पृथ्वीकै सन्तान भएकाले सबैलाई समान अधिकार प्राप्त हुने कुरा अथर्ववेदमा बताइएको छ (अथर्व. १२।१।१५)। राष्ट्रमा उँच-नीचको भेद नभएर मित्रता र एकताको भाव होस् (अथर्व. १२।१।२); पारस्परिक फूट कहिल्यै नहोस् (अथर्व. ३।८।१) र संगठन, सौमनस्यको विस्तार होस् (अथर्व. ६।६४।१) भन्ने भावना व्याप्त रहेको देखिन्छ।
राष्ट्रको रक्षाका लागि सेना आवश्यक हुने भएकाले २१ प्रकारका सेनाको व्यवस्था गरिएको देखिन्छ। वैदिक कालीन सेनामा पुरूषकासाथै महिला पनि रहने गरेको बुझिन्छ। अथर्ववेद २।३।१ मा इन्द्रलाई र १।२७।४ मा इन्द्राणीलाई सेनापतिका रूपमा उल्लेख गरिएको छ। सामान्यतया युद्धलाई ठीक मानिएको छैन, तर कसैले आक्रमण गरेमा प्रत्याक्रमण गर्न भनिएको छ। जीवनलाई राष्ट्रको सम्पत्ति सम्झेर कार्य गर्न वेदमा प्रेरणा दिइएको र राष्ट्र-रक्षाका लागि राजा र प्रजा समानरूपेण उत्तरदायी भएको देखिन्छ। सबैको कल्याण गर्ने भावना, सत्यको आत्मसातता, पदार्थहरूको यथार्थ ज्ञान प्राप्त गरी प्राकृतिक नियमहरूको ठीक-ठीक पालना, आस्तिकता, धर्ममय आचार-व्यवहार वैदिक राजनीतिका आधारका रूपमा स्पष्टसँग देख्न सकिन्छ।
पौराणिककालमा भने राजसत्ता नै प्रायः र्सवस्वीकृत शासन प्रणाली बन्न सफल भयो। त्यसयता भारतवर्षीय राज्यहरूमा राजाको वरिपरि नै सम्पूर्ण राज्यसत्ता घुमेको र राज्यको भाग्य पनि राजाअनुसार सौभाग्य वा दुर्भाग्यका रूपमा रहने गरेको देखिन्छ। हुन त त्यस युगमा पनि प्रायः राजाहरू आफ्नो सर्वोच्चताको स्थितिमासमेत जनतालाई ‘जनार्दन’ का रूपमा उत्तिकै महत्व प्रदान गर्नमा सचेत रहेको देखिन्छ। तर बेनजस्ता कतिपय राजाहरूले आफूलाई स्वेच्छाचारी, निरङ्कुश बनाएर अलोकप्रियता कमाएकाले लोक (प्रजा) ले विद्रोह गरेको दृष्टान्त पाइन्छ।४. बेन र प्रथम जनविद्रोह
बेन भनिने राजाको निरङ्कुश, स्वेच्छाचारी शासनबारे श्रीमद्भागवतमा प्रशस्त लेखिएको छ। कतिपय कुरा अतिरञ्जना र मिथकीकरणले यता उता परे तापनि श्रीमद्भागवत पढ्दा प्रष्ट बुझिन्छ कि “राजा नै ईश्वर हो”, “राजा नै राष्ट्र हो” र “राजाको स्वैच्छिक आदेश नै दण्ड (कानुन) हो” भन्ने घोषणा गर्दै बेनले सभा, समिति र मन्त्रिपरिषद्लाई भङ्ग गरिदियो। आफ्ना राज्यभित्रका सम्पूर्ण ग्रामसभा, गणसभा र जानपदसभालाई पनि उसले भङ्ग गरिदियो। राज्यले जुनसुके बेला व्यक्तिको स्वतन्त्रता र आर्थिक अधिकारमाथि हमला गर्ने चलन बेनले बसाल्यो। आफ्नो इच्छामुताबिक धार्मिक कर्म गर्नसमेत रोक लाग्यो। वैदिक राजनीतिअनुसार सञ्चालित शासन पद्धतिलाई बेनको सैन्यवादी पद्धतिले विस्थापन गरेपछि लोकमा अत्यन्त असन्तुष्टि फैलियो।सर्वसाधारणले आफ्नो कष्ट ऋषिहरूसमक्ष राखेपछि अहिंसावादी ऋषिहरूले पहिले त बेनलाई भेटी राजधर्म सम्झाउन प्रयास गरे। तर बेनले ऋषिहरूको प्रमण्डललाई दुर्व्यवहार गर्‍यो। राजसत्ता र लोकसत्ताको सुसंयोजनमा राष्ट्र अघि बढ्नु पर्दछ भन्ने ऋषिहरूमध्ये केहीलाई बेनले जेलमा राख्यो। अति भएपछि एकथरीले जङ्गलबाट बेनविरूद्ध सशस्त्र विद्रोह सुरू गरेको बुझिन्छ, जसलाई श्रीमद्भागवत ‘निषाद’ का रूपमा चिनाइएको छ। यता ऋषिहरूले भने त्यस्तो हिंसात्मक विद्रोह अस्वीकार गरे। उनीहरूले ‘हुङ्कार’ ले नै बेनको सैन्य उन्मादमाथि विजय प्राप्त गरे। श्रीमद्भागवतमा जेलाई ‘हुङ्कार’ भनिएको छ, अहिलेको सन्दर्भमा त्यो नारा-जुलुस र हड्ताल नै हो।
बेनविरूद्ध लोकले गरेको विद्रोह नै मानवको ज्ञात इतिहासमा प्रथम जनविद्रोह हो। यसअघि पश्चिमा सन्दर्भमा स्पार्टाकसाको नेतृत्वमा दासहरूद्वारा भएको विद्रोहलाई प्रथम जनविद्रोहका रूपमा व्याख्या गर्दै उनलाई ‘आदिविद्रोही’ मान्ने गरेको पाइन्छ। उता, चिनीया सन्दर्भमा आँखीभौँ रङ्गाएकाहरूको र पहेँलो फेटा बाँधेकाहरूको विद्रोह (किसान विद्रोह) लाई अझ प्राचीन मानिन्छ। तर ती सबै भन्दा पुरानो ठहर्छ राजा बेनविरूद्धको विद्रोह। उक्त पौराणिक विद्रोहको विशेषता केमा पनि छ भने त्यसले आधुनिक सन्दर्भमा ‘सत्याग्रह’ भनिने अहिंसात्मक विद्रोहको श्रेष्ठता त्यतिखेरै प्रमाणित गरेको छ।५. पृथुको राज्यारोहण
बेनको पतनपछि नयाँ शासक कसलाई बनाउने भन्ने सवाल खडा भयो। बेनविरूद्ध सशस्त्र विद्रोह गर्ने ‘निषाद’ को दाबी सबै भन्दा पहिले आयो। तर ऋषिहरूले अस्वीकार गरेपछि ‘निषाद’ को सत्तारोहण सम्भव भएन। स्वयं ऋषिहरूले नै सत्ता चलाउनु पर्ने एकथरीको मागलाई ऋषिगणले स्वीकारेन, किन भने उनीहरूले विद्रोहको नेतृत्व गरेको शासक बन्ने अभीष्टले थिएन। नयाँ राज्यको स्वरूप कस्तो हुनु पर्ने र कस्तो शासन प्रणालीमा कसलाई शासक बनाउने भन्नेबारे अन्यौलको स्थिति केही लामै समयसम्म कायम रहेको सङ्केत श्रीमद्भागवतमा पाइन्छ। ऋषिहरू र र्सवसाधारणको मत सभा र समितिसहितको राजा रहने पुरानै पद्धतिको पक्षमा गएपछि ‘निषाद’ पक्षको दाबी एकदमै कमजोर ठहरियो र अन्त्यमा बेनकै वंशज पृथुलाई राजा बनाउने सहमति जुट्यो।
श्रीमद्भागवतमा बताइएअनुसार राज्यको सञ्चालन लोकसम्मतिको आधारमा राजा, मन्त्रिपरिषद्, सभा, समिति र स्थानीय पालिकाहरूले गर्ने संयन्त्र विकास गरिएको थियो। बेन भन्दा अघि गणसभाहरू मुख्य शक्तिशाली हुने गरेकोमा पृथुको समयमा भने तिनलाई भन्दा पनि भौगोलिक आधारलाई प्रधानता दिई ग्रामपालिका, नगरपालिका जस्ता निकायको व्यवस्था गरिएको बुझिन्छ। यो पक्ष विशेष ध्यानयोग्य छ। यतिखेर नेपालमा राज्यको पुनर्संरचनाको बहस तात्तातो छ र पुनर्संरचनाको आधार जातिगत हुनु पर्दछ भन्ने स्वर निकै चर्कोसँग उठिरहेको छ। जनविद्रोह गरी बेनलाई सत्ताच्यूत गरेपछि प्राचीन भारतवर्ष लोकसमक्ष पनि यस्तै सवाल खडा भएको थियो। उनीहरूले जातिगत वा गणगत आधारमा बनाइने संरचनाले अहित हुने निष्कर्ष निकाले। जातिगत आधारमा बनाइएको संरचनाले राष्ट्रिय एकता अझै सुदृढ पार्छ वा जातिवादी संकीर्णा सोचलाई मल-जल गर्छ- यसबारे नेपाली जनता कस्तो निष्कर्षमा पुग्ने हुन् भन्ने चाहिँ अझै विचार मन्थन हुँदै जाँदा थाहा होला नै।
सभा र समितिमा राष्ट्रका सबै भूभाग र सबै समुदायको प्रतिनिधित्व होस् भनेर विशेष ध्यान पुर्‍याइएकाले अचेल भनिने ‘समावेशीकरण’ को अवधारणालाई पनि त्यतिखेर आत्मसात् गरेको भन्नु पर्ने हुन्छ। सम्भवतः त्यतिखेर बनाइएको दण्डनीति (कानुन) लिखित नै थियो। बेनबाट त्यसअघि नै ठूलो धोका खाइसकेकाले पृथुलाई दण्ड (कानुन) को पूर्ण नियन्त्रणमा राख्ने प्रबन्ध गर्न भने ऋषिहरूले भुलेनन् भन्ने प्रष्टै बुझिन्छ।
त्यो प्रथम जनविद्रोहले कुनै व्यक्तिविशेषको स्वेच्छाचारी शासनको अवधारणालाई स्पष्टतः अस्वीकार गर्दै शासन विधि वा कानुन (त्यतिखेरको शब्दावलीमा ‘दण्डनीति’) को हुनु पर्ने वैदिक मान्यतालाई पुनर्पुष्टि गर्‍यो। राजालाई ‘राष्ट्रभृत्य’ (राष्ट्रको सेवक) र लोकलाई ‘राष्ट्रस्वामी’ मानिने (अथर्व. १९।३७।२ र १५।९।१) वैदिक मतमा पृथुले पूर्ण आस्था प्रकट गरेका थिए। उनको जनप्रियताबाट डाढिएर अर्को राज्यका ‘इन्द्र’ नामका कोही समकालीन राजाले पृथुविरूद्ध प्रचारयुद्ध (आधुनिक सर्न्दर्भमा प्रोपागाण्डा-वार) समेत गरेका थिए। तर उनको लोकप्रियता यस्तरी बढ्यो कि राज्यारोहणको केही वर्षछि नै लोकले पृथुलाई विष्णुको अवतार (जीवित ईश्वर) का रूपमा पूज्न थालिसकेका थिए। उनकै नामको आधारमा धर्तीको नयाँ संज्ञा ‘पृथिवी’ भन्न थालिएको थियो।
यसरी पारस्परिक भक्तिले राजा र प्रजाबीचको सम्बन्ध अत्यन्त सौहाद्रपूर्ण बन्न पुगेको थियो। वैदिक राजधर्मको मर्यादालाई पृथुले कहिल्यै उल्लङ्घन नगरेको श्रीमद्भागवतमा बताइन्छ। यद्यपि कालान्तरमा रावण, कंस, जरासन्ध, शिशुपाल, शाल्वजस्ता राजाहरूले भने राजालाई नै सर्वेसर्वा ठान्ने बेनको सोचलाई फेरि अगाडि बढाएका थिए। हाम्रोमा एक शताब्दी चलेको राणाशासन बेनवादी शासन प्रणालीको अर्को रूप थियो।

सन्दर्भ सामग्री :
अधिकारी, निर्मलमणि; “वैदिक राजनीति र त्यसको पुनर्प्रयोग”; देशप्रेम साप्ताहिक; वि.सं. २०६० मंसिर ४ गते।
जोशी, रामप्रसाद (अनु.); श्रीमद्भागवत; काठमाण्डौ : नानीमैया जोशी, वि.सं. २०४७।
दीक्षित, मदनमणि; त्यो युग; काठमाण्डौ : समीक्षा, वि.सं. २०४७।
निर्मल, आयोदधौम्य; आस्थाको शान्ति-युद्ध; विराटनगर : नेपाली भाषा-संस्कृति परिषद्, वि.सं. २०५७।
निर्मल, आयोदधौम्य; “वैदिक राजनीतिका आधार”; स्पेसटाइम दैनिक; वि.सं. २०५८ चैत २४ गते।
निर्मल, आयोदधौम्य; वैज्ञानिक सत्ययुगको आधारशीला; काठमाण्डौ : युग निर्माण अभियान नेपाल, वि.सं. २०६१।
प्रपन्नाचार्य, डा. स्वामी; वेदमा के छ -; इलाहावाद : प्रा. चिरञ्जीवी शर्मा, वि.सं. २०३८।
विद्यालङ्कार, सत्यकेतु; प्राचीन भारतकी शासन-पद्धति और राजशास्त्र (सातवाँ संस्करण); नई दिल्ली : सरस्वती सदन, सन् २००१।
सक्सेना, डा. प्रवेश; वेदों में क्या है?; दिल्ली : पुस्तक महल, सन् २००१।
ज्ञानी, प्रो. शिवदत्त; भारतीय संस्कृति; बम्बई : राजकमल प्रकाशन, सन् १९४४।

Monday, December 24, 2007

 

महाभारत युद्धपश्चात्को अन्तरिम अवधि र त्यसबाट सिक्न सकिने पाठ

निर्मलमणि अधिकारी
(प्राची द्वैमासिकमा प्रकाशित, मिति २०६३ साउन, पूर्णाङ्क ५९। घटना र विचार साप्ताहिकमा पनि “महाभारत : नेपाली सन्दर्भमा पुनर्सान्दर्भिकरण” शीर्षकमा प्रकाशित, मिति २०६३ असोज २५ गते बुधवार। जनआवाज वार्षिकमा पनि “मूर्दाशान्तिविरुद्ध वास्तविक शान्ति” शीर्षकमा प्रकाशित, मिति २०६३ असोज । Also published in Palpaonline)

विषय प्रवेश:
महाभारत महायुद्ध सकिएको पाँच हजार वर्ष भन्दा पनि बढी समय बितिसकेको छ। सो महायुद्ध र त्यस अघि-पछिका घटनाक्रमबारे जान्ने आधिकारिक स्रोत महर्षि व्यासको कालजयी महाकाव्य ‘महाभारत’ हो। अहिलेको भू-राजनीतिक हिसाबबाट भन्नुपर्दा नेपालमा (नेपाल अधिराज्यको तनहुँ-जिल्ला-स्थित दमौलीमा) जन्मेका महर्षि व्यासको उक्त महाकाव्यमा अध्येताहरूले अनेक सन्दर्भमा अनेक कुरा भेटाएका छन्। एक दशक भन्दा बढी समयको हिंसात्मक द्वन्द्व र शताब्दीयौंदेखिको अन्तरविरोधपश्चात् हाल नेपालले गुजरान गरिरहेको अन्तरिम अवधिका लागि महाभारतबाट के सिक्न सकिन्छ भन्नेबारे यस लेखमा चर्चा गर्न खोजिएको छ । महाभारत : विश्वयुद्ध
‘महाभारत’ नामले प्रख्यात रहेको महायुद्धमा पाण्डवपक्षबाट सात अक्षौहिणी र कौरवपक्षबाट ११ अक्षौहिणी गरी जम्मा १८ अक्षौहिणी सेनाले प्रत्यक्ष युद्धमा भाग लिएको उल्लेख छ आदिपर्व २।२३-२६ मा बताइएअनुसार एक अक्षौहिणी सैन्यबलमा २१ हजार ८ सय ७० वटा रथ, उत्तिनै संख्यामा हात्ती, ६५ हजार ६ सय १० वटा घोडा र १ लाख ९ हजार ३ सय ५० जना पैदल सैनिक हुन्छन्। एउटा हात्तीमा एकजना माहुते र एकजना योद्धा गरी कम्तीमा दुईजना सवार हुन्छन्। एउटा रथमा पनि एकजना सारथी र एकजना योद्धा समेत कम्तीमा पनि दुईजना सवार हुन्छन्। कहिलेकाहिँ हात्ती तथा रथमा सवार हुनेहरूको संख्या दुईजना भन्दा बढी हुन पनि सक्छ। यस हिसाबबाट एक अक्षौहिणी सैन्यबलमा रथमा बसेका कम्तीमा ४३ हजार ७ सय ४० जना, हात्तीमा सवार रहेका पनि कम्तीमा ४३ हजार ७ सय ४० जना, घोडचढी सैनिक ६५ हजार ६ सय १० जना र पैदलयोद्धा १ लाख ९ हजार ३ सय ५० जनासमेत जम्माजम्मी २ लाख ६२ हजार ४ सय ४० जना संलग्न हुने देखिन्छ।
कौरवपक्षमा ११ अक्षौहिणी सैन्यबल रहेकाले योद्धाहरूको कूल संख्या २८ लाख ८६ हजार ८ सय ४० रहेको देखिन्छ। पाण्डवपक्षबाट सात अक्षौहिणी सैन्यबल युद्धमा सामेल रहेकाले योद्धाहरूको कूल संख्या १८ लाख ३७ हजार ८० रहेको देखिन्छ। तसर्थ, उक्त महायुद्धमा दुवैपक्षबाट गरी ४७ लाख २३ हजार ९ सय २० जना योद्धाहरू सामेल रहेको आँकडा आउँछ। तर यो न्यूनतम आँकडा हो। अनि यो संख्या प्रत्यक्षतः युद्ध मैदानमै उत्रने व्यक्तिहरूको मात्र हो।
मान्छेका साथसाथै त्यस महायुद्धमा ठूलो संख्यामा हात्ती तथा घोडाको प्रयोग भएको थियो। त्यसको न्यूनतम आँकडा मात्रै निकाल्ने हो भने पनि १८ अक्षौहिणी सैन्यबलका लागि ३ लाख ९३ हजार ६ सय ६० वटा हात्तीहरू चाहिने हुन्छ। उता, घोडाको संख्याचाहिँ यो भन्दा कता हो कता बढी हुन आउँछ। एक त, घोडचढी सेनाका लागि मात्रै पनि १८ अक्षौहिणी सैन्यबलमा ११ लाख ८० हजार ९ सय ८० वटा घोडाहरू रहेका हुन्छन्। अनि, एक अक्षौहिणी सेनाका सबै रथ तान्न १५ लाख ७४ हजार ६ सय ४० घोडाहरू आवश्यक देखिन्छ। यसरी उक्त महायुद्धमा कम्तीमा २७ लाख ५५ हजार ६ सय २० वटा घोडाहरू सामेल गराइएका हुनु पर्दछ ।
अब हामी विचार गरौं- ३ लाख ९३ हजार ६ सय ६० वटा हात्तीहरू र २७ लाख ५५ हजार ६ सय २० वटा घोडाहरूको हेरचाह गर्न कति मान्छेहरू खटिनु परेको हुँदो हो? उता ४७ लाख २३ हजार ९ सय २० जना योद्धाहरूलाई आवश्यक पर्ने रसद-पानीदेखि लिएर युद्ध-सामग्री सम्मको व्यवस्था मिलाउन कति संख्यामा परिचारकहरू चाहिए होलान्? यसरी महाभारतमा युद्ध-मैदानमै सक्रिय व्यक्तिहरूको संख्याले नै करोडको आँकडा नाघ्दछ। युद्धबाट पीडितहरूको संख्यामा तिनका अतिरिक्त अन्य व्यक्तिहरूलाई पनि ख्याल राख्नु पर्ने हुन्छ। एक पुरुषले एक भन्दा बढी विवाह गर्नेसमेत त्यतिबेलाको प्रचलनलाई ध्यानमा राख्दा र तिन्का बालबच्चाको संख्यातर्फपनि ध्यान पुर्‍याउँदा युद्धका कारण प्रभावित जनसंख्याको आँकडा धेरै करोड पुग्ने प्रष्टै छ।
महाभारत महायुद्ध कुरुक्षेत्र नामक भू-भागमा लडिएको बताइएको छ। तर त्यत्तिका सैनिक, हात्ती, घोडा र रथहरू सामेल रहेको महायुद्ध कुरुक्षेत्र वा कुनै स्थानविशेषमा मात्र सीमित नरहेर धेरै विस्तारित भू-भागमा लडिएको हुनु पर्दछ। मूल झगडिया पाण्डव-कौरवको आमुन्ने-सामुन्ने लडाइँ कुरुक्षेत्रमा भएको र युद्धको जीत-हारको फैसला पनि त्यहीँ भएको हुँदा काव्यिक-प्रस्तुतिकरणमा कुरुक्षेत्रमा लडाइँ भएको उल्लेख गर्नु अस्वाभाविक होइन। महायुद्ध विश्वव्यापी स्तरमा अनेकौं भू-भागमा लडिएको थियो, परन्तु त्यसको मूलथलो कुरुक्षेत्र भएकाले त्यसलाई ‘कुरुक्षेत्रको युद्ध’ पनि भनिएको हो भनेर बुझ्नु वैज्ञानिक बुझाइ हुनेछ ।
महाभारतयुद्ध-पूर्वको विश्वसमुदाय दुई धुरीमा बाँडिएको थियो। त्यसैले दुईइवटा अन्तर्राष्ट्रिय सैन्यगुट बनेका थिए। कतिपय राज्यहरू गुट-निरपेक्ष पनि रहेका थिए। जस्तै- महाभारतको लडाइँ मच्चिँदा बलराम र उनका सैनिकहरू तटस्थ बसेका थिए। अन्ततोगत्वा पाण्डव नेतृत्वको सैन्यबलमा जम्मा सात अक्षौहिणी र कौरव नेतृत्वको सैन्यबलमा जम्मा ११ अक्षौहिणी सैन्यशक्ति हुन पुगेको बुझिन्छ ।
आपसी शत्रुता भएका पाण्डव-कौरवको अग्रसरतामा ती सैन्यगुटहरू बनेका हुँदा जसै कौरव-पाण्डवबीचमा तनाव बढ्थ्यो, तब ती दुई गुटका सहभागी राज्यहरूबीचमा पनि स्वाभाविक रूपले तनाव बढ्थ्यो। युद्ध सुरु हुँदा त्यसको निहुँ कौरव-पाण्डवबीचको दुस्मनी रहेता पनि शनैः शनैः अरु राज्यहरू पनि युद्धमा तानिए। यसरी युद्ध कौरव-पाण्डवको मात्र नरही दुई अन्तर्राष्ट्रिय सैन्यगुटहरूको महायुद्ध बन्न पुग्यो। (गत शताब्दीमा भएका दुई विश्वयुद्ध सुरु हुँदाखेरीमा पनि एक्कैचोटी विश्वव्यापी स्तरको नरहेको, तर पछि विभिन्न राज्यहरू युद्धमा तानिँदै गएर युद्धले विश्वयुद्धको रूप लिएको उदाहरणतर्फ ध्यान दिने हो भने कुरा अझ राम्ररी छर्लङ्ग हुनआउँछ।)

नेपाली सन्दर्भमा पुनर्सान्दर्भिकरण
महाभारत युद्धपश्चात्को अन्तरिम अवधिबाट सिक्न सकिने कुरा खुट्ट्याउनुअघि त्यस बेलाको परिवेशलाई नेपालको वर्तमान परिवेशसँग तुलना गर्न सकिने गरी पुनर्सान्दर्भिकरण (रिकन्टेक्स्टुएलाइजेसन) जरुरी छ। नत्र कुरोको चुरोमा नपुगी अल्मलिने र अपव्याख्या हुने अवस्था रहन्छ ।
यस लेखका सन्दर्भमा राज्यशक्ति हतियारको बलले पाउने कि जनमतको बलले भन्ने सवाललाई नेपाली महाभारतको जड मानिएको छ। त्यसकारण विगतमा शस्त्रबल नै एक मात्र शक्तिको स्रोत हो भन्ने मान्ने राजा र माओवादी दुवैलाई यहाँ कौरवपक्ष मानिएको छ। लोकतन्त्र वा प्रजातन्त्रका पक्षमा निरन्तर संघर्षरत नेपाली कांग्रेसलगायतका अन्य दलहरू पाण्डवपक्ष मानिएका छन्। माओवादीसँगको सम्बन्धको कारणले जनमोर्चाको हैसियत दुर्योधनको भाइ विकर्ण (युयुत्सु पनि भनिने) को जस्तै भएको छ, जसले पाण्डवको साथ दिएको थियो। महाभारतका श्रीकृष्णको जस्तो लीला यतिखेर भारतसहितको अन्तर्राष्ट्रिय समुदायले खेलेको हामीले देख्यौँ। चीनजस्ता मुलुक बलरामको भूमिकामा रहे, जसको प्रच्छन्न सहानुभूति कौरवपट्ट रहे तापनि प्रकटमा भने तटस्थ भूमिका निर्वाह गरे।
महाभारत महायुद्धको फैसला केबल शस्त्रबलले भएको थियो। तर नेपालका पाण्डव (दलहरू) ले भने राजा र माओवादी दुवैको शस्त्रबल निर्रथक रहेको पुष्टि गराएर जीत हासिल गरे। त्यो महायुद्धमा पाण्डवपक्षमा सात र कौरवपक्षमा तीनजना रथीबाहेक १८ अक्षौहिणी सेना पूरै समाप्त भएको थियो। संसारमा प्रायः स्त्रीहरू मात्र बाँकी रहेका थिए। लासहरूलाई मांसभक्षी जीव-जन्तु, गिद्ध-समूह र कागहरूले लुछी लुछी खाइरहेको दृश्य सामान्य थियो। धृतराष्ट्र भन्छन् - “यहाँ त अन्येष्टिकर्म गर्नु पर्ने नै यति धेरै छन् कि कस-कसको मात्र गर्ने!”तर यहाँ देश पूरै ध्वस्त भने भएको छैन। विगतको संघर्षमा जो जहाँ रहेका भए तापनि संविधानसभाको यज्ञमार्फत पुनर्संस्कारित भई शान्तिपूर्ण सहअस्तित्वका लागि सबैलाई अवसर छ। अब माओवादीसँग भएको हतियारलाई उपयुक्त ढङ्गले थान्को लगाएर सबैले निर्भयतापूर्वक संविधानसभामा मत जाहेर गर्न पाउने परिस्थिति निर्माण गर्ने चुनौती अगाडि आएको छ।

मूर्दा शान्ति विरुद्ध वास्तविक शान्ति
नेपालमा एक दशक भन्दा लामो समय मच्चिएको हिंसा अहिले युद्धविरामका रूपमा स्थगन भएको छ। यो दिगो हुने हो वा क्षणभङ्गूर? टुङ्गो लागिसकेको छैन। त्यतिखेर पनि महायुद्धपश्चात् सहसा शान्तिको स्थिति देखिएको थियो। तर त्यो शान्ति हिंसाको आडमा आएको मूर्दा शान्ति मात्र थियो। ठूलो नरसंहारले समस्त मानवजाति वेदनामा चुर्लुम्म डुबेको हुनाले शान्तिको आभाष भएको थियो। वास्तवमा पराजित र विजयी दुवै पक्ष बदलाको भावनाले ग्रस्त थिए। हिंसात्मक द्वन्द्वले ल्याएको मूर्दा शान्तिलाई वास्तविक शान्तिले प्रतिस्थापन गर्ने चुनौती पाएका विजयी पक्ष अर्थात् पाण्डवले बुद्धिमत्तापूर्वक त्यो चुनौतीलाई फत्ते गरेका थिए ।
हाम्रो स्थिति फरक छ। नेपालमा लोकतन्त्र ‘पाण्डव’ वा ‘कौरव’ कसैलाई भौतिक निषेध गरेर आएको छैन, प्रत्युत राज्यशक्तिको स्रोत हतियार होइन र जनता मात्र हो भन्ने सत्य स्थापित भएर आएको छ। अब विगतका ‘पाण्डव’ र ‘कौरव’ (संसदवादी दलहरू र माओवादी) सबै मिलेर अगाडि बढ्नु छ। माओवादीले उठाएको हतियार र राज्यले गरेको त्यसको प्रतिकारका क्रममा क्षतिग्रस्त जनमनलाई यस क्रममा कसरी उपचार गरिन्छ भन्ने सन्दर्भमा पाण्डवको दृष्टान्तबाट सिक्न सकिने कुरा धेरै छन् ।
मुलुकमा मानवअधिकारको प्रत्याभूति नभई वास्तविक शान्तिको प्रत्याभूति हुन सक्दैन। हिंसात्मक द्वन्द्वपश्चात् समाजमा वास्तविक शान्ति ल्याउनका लागि केही पूर्व शर्तहरू छन्। उपयुक्त मेलमिलाप प्रक्रियाबिना समाजमा शान्ति आउला भन्ठान्नु मूर्दा शान्तिको पक्ष लिनु मात्र हो। द्वन्द्वकालमा भएका मानवअधिकार हननलाई लडाइँ सकिएपछि त्यसै बेवास्ता गर्नु हुँदैन। विगतको अपराधलाई राजनीतिक सहमतिका आधारमा सहजै रद्दीको टोकरी फाल्न पाइँदैन। खासगरी माओवादीपक्षले सर्वसाधारणलाई जवाफ दिनु पर्ने सवालको फेहरिस्त निकै लामो छ भन्ने तथ्यलाई ख्याल राखिनै पर्दछ।

पछ्याउनु पर्ने पाण्डवपथ
पाण्डवको न्यायपूर्ण शासनपद्धतिलाई अनुकरण गर्न प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सहकर्मी संसदवादी दलहरूलाई अवसर प्राप्त भइसकेको छ। अर्कातिर, अहिलेका माओवादी ‘पाण्डव’ होइनन् तापनि महायुद्धपश्चात् पाण्डवका व्यवहारबाट सिक्न सक्छन्।
(क) दोष स्वीकार /क्षमायाचना सदैव सत्यका पक्षधर रहेका र दुर्योधनद्वारा थोपरिएकाले मात्र युद्धमा सामेल भएका भनिएका पाण्डवले समेत युद्धका क्रममा आफूद्वारा गरिएका हिंसात्मक कृत्यका लागि बारम्बार माफी मागेको उदाहरण महाभारतमा व्यासजीद्वारा प्रस्तुत भएको छ। दुर्योधनको संहारपछि युधिष्ठिर श्रीकृष्णलाई तत्काल धृतराष्ट्र र गान्धारीसमक्ष पठाउँछन् र आफ्नो खेद स्पष्ट पार्दै क्षमायाचना गर्दछन्। यसको परिणाम के हुन्छ भने मानसिक व्यथाले दग्ध भएको कारणले पाण्डवको अनिष्ट सोचिरहेकी गान्धारी आफ्नो क्रोधको आवेश उत्रिएको बताउँछिन्। त्यस्तै, पाण्डवको विनयशीलताले धृतराष्ट्र र गान्धारीको क्रोधलाई निकास दिएको पनि उल्लेख्य छ।
हिंसात्मक द्वन्द्वको छायाबाट समाजलाई सधैंका लागि मुक्त गराउने हो भने विगतमा भएका दोष स्वीकार गर्दै परिवर्तनका लागि प्रतिबद्धता व्यक्त गर्नु पर्ने दायित्व सम्बन्धित पक्षले पूरा गर्नु पर्दछ भन्ने मान्यता द्वन्द्वपश्चातको मेलमिलाप प्रक्रियाका विज्ञहरूले अघि सारेको पाइन्छ। यो मान्यता पाण्डवपक्षबाट उतिबेलै पालना भएको देखिन्छ। आफ्नो गल्ती नहुँदा त दोष स्वीकार /क्षमायाचना गर्न पाण्डव तयार भए भने आफूले मच्चाएको हिंसाको दोष स्वीकार /क्षमायाचनाका लागि नेकपा (माओवादी) तत्पर नहुनु पर्ने कुनै कारण छैन। कुनै पनि पक्षले आफ्नो अपराध अस्वीकार गरेको खण्डमा मेलमिलापमा अवरोध खडा हुन्छ भन्ने तथ्यलाई बिर्सन मिल्दैन।
अझ महत्वपूर्ण कुरा त के भने, महाभारत युद्ध हुनुमा राजाको हैसियतमा धृतराष्ट्रको जवाफदेहिता थियो। सर्वसाधारण नेपाली जनता भने संविधानमा सार्वभौमसत्तासम्पन्न भनिए तापनि व्यवहारमा विगतको हिंसात्मक द्वन्द्वमा राजा र माओवादीका दुईखाले बन्दुकका शिकार भई निरीह अवस्थामा रहे। राजाले त जनआन्दोलन द्वितीयमार्फत् दण्ड पाए, तर के कुनै माओवादी नेताले आफ्नातर्फबाट हताहत भएका व्यक्तिका परिवारजनलाई भेटेर माफी माग्ने नैतिक साहस जुटाएका छन्?
(ख) त्रास र बदलाको भावको निराकरण जब मानिस त्रास र बदलाको भावनाले प्रेरित हुन्छ, तब केसम्मगर्न सक्छ भन्ने उदाहरण अश्वत्थामाको कृत्यले दिएको छ। त्यस्तै धृतराष्ट्र पनि भीमलाई मार्न चाहन्छन् र भीम भन्ठानेर लौह मूर्तिलाई चुर् चुर् पारिदिन्छन्। माओवादीबाट मारिएकाहरूका आफन्तमा यस्तो आक्रोश छैन भन्न सकिँदैन। किन भने माओवादीको विगत संसदवादी दलका कार्यकर्ताहरूको रगतले लत्पतिएको छ। यस्तो रक्तमुछेल विगतलाई त्रासको आधारमै किनारा लगाएको लगायै गरौँला भन्ठान्दा बदलाको भावको आगोमाथि घिउ खनिने छ। त्यसको निराकरण कसरी हुन सक्छ त? पाण्डवबाट सिक्न सकिन्छ।
अश्वत्थामाको जघन्य अपराधलाई पनि क्षमा दिएर पाण्डवले उनलाई जीवितै छाड्छन्। आफ्नो कृत्यप्रति पछुताएका अश्वत्थामा सुध्रिएर हिंस्रक लडाकाबाट सौम्य ऋषिमा रूपान्तरण हुन्छन्। कौरवको संहार र पाण्डवको विजयसँगै धृतराष्ट्र र गान्धारीसहित समस्त कौरवपक्षमा जुन त्रासभाव सञ्चार हुन्छ, त्यसलाई निराकरण गर्न पनि पाण्डवपक्षबाट सुरुदेखि नै पहल हुन्छ। युधिष्ठिर पक्ष-विपक्ष नछुट्ट्याई सबैको अन्त्येष्टि गर्ने प्रबन्ध मिलाउँछन्। धृतराष्ट्र र गान्धारीको स्याहार, सुसार, सेवा, सुश्रुषामा कुनै कमी हुँदैन। जब पुरानो र पराजित राज्यसत्ताका प्रमुखहरूप्रति त यति उदार व्यवहार हुन सक्दो रहेछ भने वर्तमान नेपाली राजनीतिका ‘पाण्डव’ संसदवादी दलका कार्यकर्ताहरूप्रति माओवादीको व्यवहार कस्तो हुनु पर्ला!(ग) अहिंसात्मक सहअस्तित्व विगतमा कारणवश हिंसात्मक द्वन्द्वमा सामेल हुनु परेको भए तापनि द्वन्द्वपश्चात् सबै पक्षले अहिंसात्मक सहअस्तित्वलाई आत्मसात् गर्नु पर्ने सन्देश पनि महाभारतमा निहीत छ। अहिंसात्मक सहअस्तित्वको सन्देश दिन सक्षम भएकैले युधिष्ठिरलाई सबैले सघाउँछन् र पूरै क्षतिग्रस्त राज्यलाई उनको नेतृत्वमा केही समयपछि नै अश्वमेध यज्ञ गर्न सक्ने हैसियतमा पुर्‍याउन सफलता मिल्छ । निशस्त्र संसदवादी दलसँग आफू चाहिँ सशस्त्र हैसियतमा प्रतिष्पर्धा गर्न पाउनु पर्ने तर्क गरिरहेको माओवादीले लोकतान्त्रिक नेपालमा संविधानसभारूपी अनुष्ठानको सफलताका लागि पनि अहिंसात्मक सहअस्तित्व अनिवार्य शर्त हो भन्ने बुझ्नु जरुरी छ।
महाभारतमा बताइएअनुसार, युधिष्ठिरको शासनकालमा सारा जगत् रोक-शोकरहित भएको थियो र राज्यमा कोहीले पनि भोक-प्यासको कष्ट भोग्नु परेन, राज्यमा कुनै पनि अपराध थिएन र सर्वत्र शान्ति छाएको थियो। महायुद्धपश्चातको अन्तरिम अवधिलाई बुद्धिमत्तापूर्वक सदुपयोग गर्न सकेको हुनाले नै उनलाई त्यस्तो सफलता मिलेको थियो। अस्तु ।


सन्दर्भ सामग्री
ज्ञानी, प्रो. शिवदत्त; भारतीय संस्कृति; बम्बई : राजकमल प्रकाशन, सन् १९४४ ।
निर्मल, आयोदधौम्य; आस्थाको शान्ति-युद्ध; विराटनगर : नेपाली भाषा-संस्कृति परिषद्, वि.सं. २०५७ ।
निर्मल, आयोदधौम्य; “नेपाली संस्कृति”; निर्माण संस्कृति विशेषाङ्क; सं. पवन चाम्लिङ ‘किरण’; सिक्किम : निर्माण प्रकाशन, सन् १९९९ ।
निर्मल, आयोदधौम्य; “महाभारत- कुरुयुद्ध कि विश्वयुद्ध?”; स्पेसटाइम दैनिक; काठमाण्डौ : वि.सं. २०५८ पुस २८ गते शनिवार ।
निर्मल, आयोदधौम्य; “महाभारत युद्ध र श्रीकृष्णको दोष”; स्पेसटाइम दैनिक; काठमाण्डौ : वि.सं. २०५८ माघ ६ गते शनिवार ।
सरस्वती, परमहंस स्वामी जगदीश्वरानन्द (अनु. तथा सं.); महाभारतम् (प्रथम, द्वितीय, तृतीय भाग); दिल्ली : विजयकुमार गोविन्दराम हासानन्द, सन् १९९८ ।

 

मेट्दछ आफ्नो इतिहास जसले मेटिन्छ आफै पनि

इतिहास विषय आफैमा बडो गजबको छ। कतिपयका धारणामा यो भूतकालको फेहरिस्त मात्रै हुन सक्छ, मचाहिँ त्यसमा वर्तमानका लागि शिक्षा र भविष्यका लागि चेतावनीसमेत भेट्टाउँछु। अर्थात्, इतिहास त्यस्तो तराजु साबित हुन सक्छ, जहाँ भूत, वर्तमान र भविष्यत्कालको मापन हुन सक्छ। तर शुष्क इतिहास रटन्तामले हैन, बरु फराकिलो आशयमा।
जस्तो कि पृथ्वीनारायण शाहदेवले काठमाण्डौ उपत्का विजयपश्चात् तत्काल त्यहाँ रहेका कपुचिन पादरीहरूलाई डाँडो कटाउन आदेश दिएका किन होला? कप्तान किनलक र उसका चण्डमुण्डहरू कुनै हालतमा नेपाल छिर्न हुँदैन भन्ने निष्कर्ष निकालियो किन? अझ अगाडि बढेर राजा जयप्रकाश मल्लले अंग्रेजहरूसँग सैन्य सहयोग लिने निर्णय लिनासाथ उनका रैतीहरूमा सुरक्षाभाव बढ्नुको साटो झन् राजा बहिष्कृत अवस्थामा पुगे किन? हाम्रा विद्यार्थीहरूलाई यस्ता प्रश्नहरूमा गहिरिएर पढ्ने अवसर प्राप्त भयो र? अँ हँ, फगत् यसो भयो, उसो भयोको फेहरिस्त रटेर कागजे खोस्टो (सर्टिफिकेट) पाउने र नाक फुलाएर क्वाँक्क पर्ने! यसरी इतिहास पढेर-पढाएर केही हुनेवाला छैन।हामीलाई पढाउने इतिहास वास्तवमा इतिहास नै होइन। यहाँ त इतिहासको नाममा भूतकालको वर्णन मात्र छ। वर्णन इतिहास हुन सक्दैन। इतिहास हुनलाई त्यहाँ त्यस्ता तत्वहरू हुनु पर्छ जसले विगत देखाओस्, वर्तमानका लागि शिक्षा देओस् र भविष्यका लागि दिग्दर्शन गराओस्। हाम्रो देशका राजनीतिज्ञहरूले, अर्थशास्त्रीहरूले, योजनाकारहरूले कहिल्यै पृथ्वीनारायण शाहदेवको ‘दिव्योपदेश’ मनन गरेका छैनन्। त्यो हो हाम्रो इतिहास। चाहे तथाकथित विद्वानहरू एम.ए., पी.एच.डी., डी. लिट्. नै गरून्, तिनले दिव्योपदेश पढेका छैनन्, पृथ्वीनारायणलाई बुझेका छैनन् र जयस्थिति मल्ल र राम शाहलाई चिनेका छैनन् भने त्यो डिग्री जनताको आँखामा छारो हाल्न काम लाग्छ, देश बनाउन हैन।
हाम्रो इतिहास मेटिने गरी हाम्रा विद्यार्थीहरूलाई पढाइँदैछ। तिनलाई थाहा छैन वीर बलभद्र कुँवर किन ‘लाहुरे’ हुनु पर्‍यो? तिनलाई मेसो छैन किन वीर अमरसिंह थापा रगत छादेर मर्नु पर्‍यो? बेलायती साम्राज्यले सारा संसार खाइसक्दा पनि नेपालीलाई कुन नैतिक बलले अपराजित राख्यो? पक्कै हिन्दू अभिमान नै त्यो तत्व थियो भन्ने पनि हाम्रा विद्यार्थीहरूलाई पत्तो छैन। अहिले हामीलाई पढाइँदैन कि खम्पा काण्ड किन मच्चियो र त्यसको पछाडि को थियो? अहिले हामीलाई सुगौली सन्धिको पीडा पढाइँदैन। अहिले हामीलाई किन अरुको विजय अभियान पूरा नभएर पृथ्वीनारायणको एकीकरण अभियान सफल भयो भन्नेसम्म पनि राम्ररी पढाइँदैन। तब के पढाइन्छ त? उही एकोहोरो भूतकालीन वर्णनको खोस्टो ।हाम्रा प्रत्येक पिँढीलाई थाहा हुनु पर्छ पृथ्वीनारायण शाहको योगदान के हो र किन बारम्बार स्मरण गर्नै पर्छ उनलाई भनेर। हाम्रा प्रत्येक नागरिकलाई पढाइनु पर्छ दिव्योपदेश, त्यो पनि अहिलेका पाठ्यपुस्तकझैँ रटाएर होइन कि त्यसका मूलभूत तत्वहरूलाई राम्ररी मनन, चिन्तनको स्तरमा। हामीलाई ज्ञान हुनु पर्दछ किन कपुचिन पादरीहरू र कप्तान किनलकहरू हाम्रा शत्रु थिए? र हामीलाई ज्ञान हुनै पर्छ कि आज यहाँ च्याउझैँ उम्रिएका डलरमुखी एन.जी.ओ., आई.एन.जी.ओ.हरू कति घातक छन् हाम्रा लागि। हाम्रो इतिहासले हामीलाई बताउनु पर्छ कि यहाँ जति आई.एन.एफ., युनाइटेड मिसन टु नेपाल, आल्ड्राजस्ता विदेशी ‘सहायता’ संस्था बढ्दै जान्छन्, उति हामीलाई घाटैघाटा छ र वास्तवमै नेपालको हित चाहने हो भने तिनीहरूलाई आफ्नै देशतिर फर्क भनेर पठाइदिनु पर्छ। नत्र एक दिन यस्तो आउनेछ- हामी हाम्रो इतिहाससँगै आफू पनि मेटिन लागेको थाहा पाएर झसङ्ग हुनेछौँ।
(पहिलोपटक साप्ताहिक जनसत्तामा प्रकाशित, मिति २०५५ मंसिर २६ गते शनिवार, वर्ष१७ अंक १३ । परिवर्तित रूपमा नवव्यासवाणी साप्ताहिकमा पनि प्रकाशित, मिति २०५८ असार १० गते आइतवार, वर्ष२ अंक ४१ । Also published in Palpaonline)

This page is powered by Blogger. Isn't yours?