Friday, February 10, 2006

 

कसरी हुन्छ मुक्ति

स्पेसटाइम दैनिक, वर्ष २ अंक १११, वि.सं. २०५८ फागुन ११ शनिवार, पेज नं. ४ मा प्रकाशित
विश्वका अन्य धर्म-दर्शन र वैदिक सनातन हिन्दू धर्म-दर्शन बीचको तात्विक अन्तर केहोभने हिन्दू धर्म-दर्शन मानवको मोक्ष अर्थात् मुक्तिकोलागि हो र अरुलेचाहिँ केवल उद्धारको कुरामात्र गर्दछन् । कहाँ मुक्ति कहाँ उद्धार ! तसर्थ मानव-मुक्तिको निमित्त हामी मानवले अवलम्बन गर्नुपर्ने बाटो वैदिक-दर्शनले दिग्दर्शित गरेको बाटो हो । वेद-उपनिषद्हरुले भनेझैंनै विभिन्न ईश्वरीय अवतार सन्त महात्मा एवं ऋषि-मुनिहरुलेपनि मानव-मुक्तिका निम्ति प्रयास गर्नु भएको पाइन्छ । यो संसार-चक्रको दुःखबाट मानव समाजलाई छुटकारा दिलाउन नै भगवान् श्रीकृष्णअवतरित हुनुभएको हो; त्यही परम्परा अघि बढाउँदै मनुष्यहरुलाई दुःखमय समाजबाट उतार्न भगवान् बुद्धले आफ्नो ज्ञान प्रचार गर्नुभएको हो; भगवान् महावीर जैनको ध्येय पनि उही थियो र भगवान् शङ्कराचार्य जगद्गुरुको लक्ष्यपनि मनुष्यलाई मोक्ष दिलाउनु नै थियो; अनि गुरुदेव नानकको उद्देश्य पनि उही हो । विभिन्न हिन्दू-दर्शन एउटै परब्रह्मसँग तद्रूप गराई मोक्ष दिलाउने विविध साधनहरु हुन् । साध्य उही हो तर साधनमात्रै फरक हो ।
धार्मिक तथा दार्शनिक विषय-वस्तुहरुका सन्दर्भमा कुरा गर्दा यी सबै एउटै साध्यलाई प्राप्त गराउने साधनहरु भएतापनि कुरो बुझ्नमा यदि थोरैमात्रपनि तलबितल पर् योभने वा नासमझी भयोभने अर्थको अनर्थ हुनपुग्दछ । यसलाई उदाहरणबाट हेरौं । जहाँ वेदान्त-दर्शनले कर्मलाई बन्धनकारक मानेर कर्म-त्यागको सम्मति दिएको छ गीतालेचाहिँ अनासक्त भएर कर्म गर्ने कर्मयोग विधान बताएको छ र मीमांसा-दर्शनलेचाहिँ कर्मकाण्डद्वारानै मोक्ष प्राप्त गर्ने तरिका बताएको छ । सामान्य बुद्धिले हेर्दा तीनओटाले तीनथरी कुरा भनिरहेजस्तो लाग्नसक्छ; तर जसले यिनीहरुकोबीचमा एक-आपसमा विरोध रहेछ भन्ने बुझ्दछ त्यो गलत बुझाइ हो । वेदान्तको कर्मत्याग गीताको कर्मयोग र मीमांसाको कर्मकाण्ड -यी तीनथरी बीचमा कुनै विरोधाभाष छैन । वास्तवमा तिनैओटा अवधारणा सही छन् । कसरीभने जो व्यक्ति ज्ञानको उच्चतम तहमा पुगिसकेका छन् तिन्कानिम्ति यस सांसारिकताको कुनै हेतु हुँदैन तसर्थ तिन्कानिम्ति वेदान्तले कर्म-त्यागको सम्मति दिएको हो । सांसारिक कर्तव्य-अकर्तव्यसँग सम्बन्धित रहिरहेका तर ज्ञानको हिसाबले उच्चतम तहमा पुगेकाहरुकोलाग अनासक्त भएर कर्म गर्ने कर्मयोग विधान गीतामा बनाइएको हो । अनि आफ्नो सांसारिक कर्तव्य पालनमा दत्तचित्त असल व्यक्तिहरुका निमित्तचाहिँ कार्यरत रहेरै मोक्ष प्राप्त गर्ने तरिका कर्मकाण्डमूलक धर्म मीमांसाकारद्वारा बताइएको छ । वास्तवमा अत्यन्त वैज्ञानिक किसिमबाट प्रत्येक परिस्थितिकालागि भनेर वैदिक संस्कृतिमा नियमहरु बनिएका छन् । आजका हिन्दूहरुका महान् पुर्खाहरुमा यानेकि महान् ऋषिमुनिहरुमा कोहीपनि मनुष्य कस्तै परिस्थितिमापनि मोक्ष पाउने अधिकारबाट नछुटून् भन्ने सर्वहितकारी भावनाले परिपूर्ण विश्व-दृष्टिकोण रहेको देखिन्छ । मोक्ष अर्थात् मुक्ति नै मानवजुनिको परम् लक्ष्य भएकोहुँदा हरेक मनुष्यलाई जसरी सम्भव हुन्छ त्यसरीनै र जस्तो उपायले सम्भव हुन्छ त्यही उपायले मोक्षप्राप्तिको बाटो देखाउन ऋषि-महर्षि सन्त महात्मा एवं ईश्वरीय अवतारले उपदेश दिनुभएको छ । यति व्यापक विश्व-दृष्टिकोण अरुमा कहाँ पाउनु !
मान्छेलाई उसको देश काल परिस्थिति जस्ता कुराहरुले अनेक प्रभाव पारेका हुन्छन् । एकठाउँमा एकखाले परिस्थितिमा रहेको मान्छेलाई जे कुरा ठीक हुन्छ अर्कोठाउँमा अर्कैखाले परिस्थितिमा रहेको मान्छेलाई त्यो कुरा ठीक नहुन पनि बेर लाग्दैन । हिमालको जाडोमा बख्खु लगाउनु पर्दछभने तराईको गर्मीमा सुती कपडा उपयुक्त हुन्छ । यो उदाहरणलेनै प्रमाणित हुन्छकि मान्छेले मोक्ष प्राप्त गर्ने उपाय पनि मान्छेपिच्छे फरक पर्न सक्दछ । बस् गाँठी कुरो यहाँ छ । मोक्ष पाउनकानिम्ति योगीको मार्ग जुन हो सर्वसाधारण गृहस्थकोलागि त्यो मार्ग अनुपयुक्त साबित हुनसक्छ र कुनै अर्को मार्ग उपयुक्त हुनसक्छ । जहाँ जे उपयुक्त हुन्छ त्यही साधन अवलम्बन गर्नुनै वैज्ञानिकता हो ।
संसारका अधिकांश मान्छेकालागि मीमांसा-दर्शनको मार्ग उपयुक्त हुनेकुरा स्पष्ट छ किनकि यसले संसार र मानव जीवनको वास्तविकता स्वीकार गर्दछ र यस जगत्लाई सर्वथा सत्य एवं यथार्थ मानेर यसमा कर्मरत रहँदै मुक्ति पाउने अर्थात् परब्रह्म-तत्वसँग तद्रूप हुने उपाय बताउँछ । हो सांसारिक कर्म गर्दा वेदमा भनिएका यज्ञीय कर्महरु गर्नैपर्ने कुरामाचाहिँ मीमांसाकारले विशेष जोड दिएका छन् । वास्तवमा मीमांसा-दर्शन सर्वसाधारण गृहस्थलाई मोक्षको बाटो देखाउने दर्शनशास्त्र हो । सजिलो भाषामा भन्दाखेरीमा सांसारिक कर्म गर्दै आत्मज्ञान पाउने र मोक्षवान् हुने उपाय यसले बताएको छ । धर्मप्राप्ति निमित्त जुन शम दम तितिक्षा ब्रह्मचर्य आदि गुणहरुको आवश्यकता पर्ने बताइएको छ यसमा मीमांसाको पनि सहमति छ । यस सम्बन्धमा यो दर्शन वेदान्त-सिद्धान्तसँग सहमत छ र आचार्य कुमारिल स्वयंले यस कुरालाई स्वीकार गर्नुभएको छ । उहाँले आफ्नो ग्रन्थ ुमान मेयोदयुमा लेख्नुभयो- कुर्वाण स्यात्ममीमांसा वेदान्तोक्तेन वत्र्मना । मुक्ति सम्पद्यते सद्यो नित्यानन्द प्रकाशिनी ॥ अर्थात् वेदान्तद्वारा प्रदर्शित मार्गबाट आत्माको मीमांसा गर्नुपर्दछ । वेदान्तमा आत्म-साधनको जुन तीन उपायहरु श्रवण मनन र निदिध्यासनको वर्णन गरिएको छ तिनको अवलम्बन गर्नुपर्दछ । यसै उपायले नित्य-आनन्द प्रदायक मुक्ति प्राप्त गर्न सकिन्छ । यसबाटपनि स्पष्ट हुनआउँछकि भक्तियोग वेदान्तको कर्मत्याग गीताको कर्मयोग र मीमांसाको कर्मकाण्ड तथा अन्य दर्शनहरुबीचमा कुनै विरोधाभाष छैन र यी एउटै साध्य प्राप्त गर्ने विविध साधन हुन् । यीमध्ये कुनैपनि साधनको अवलम्बनबाट मोक्ष वा मुक्ति पाउन सकिन्छ । अस्तु ।

Monday, February 06, 2006

 

धार्मिक दृष्टिमा मांसाहार

स्पेसटाइम दैनिक, वर्ष २ अंक १०४, वि.सं. २०५८ फागुन ४ शनिवार, पेज नं. ४ मा प्रकाशित
अहिले संसारभरि सर्वेक्षण गर्नेहोभने मांसाहार गर्नेहरुको संख्या शाकाहारीहरुको तुलनामा धेरैगुना बढी छ होला । भनाइ छकि सत्ययुगमा सारा मनुष्यहरु शाकाहारी थिए । सात्विक धार्मिक प्रवृत्तिका व्यक्तिहरुको यस भनाइमा विश्वास छ । तर सत्ययुगकाबारेमा अनि तत्कालीन समाजबारेमा साङ्गोपाङ्ग वर्णन गर्नसक्ने स्थितिमा अहिले हामी छैनौं । यद्यपि वेदमा मांसको विधान नभएको भन्ने पक्षका आधारमा सत्ययुगमा सारा मनुष्य शाकाहारी भएको कुरा सत्य-तथ्य लाग्दछ । यसबारेमा मतैक्यता नभइसकेको अवस्थामा पहिले वेदको विधानलाई नखुट्टयाइकन यसबारेमा कुनै ठोकुवा गर्नु हुँदैन । ऐतिहासिक-कालदेखिचाहिँ प्राचीन समाजबारेमा हाम्रो ज्ञान केही विस्तृत हुन्छ र त्यसका आधारमा भन्नुपर्दाखेरी के देखिन्छभने मनुष्यले मांस भक्षण गर्नु उचित हो वा अनुचित हो भन्नेबारेमा संसारमा न कहिल्यै एकमत भएको थियो न त निकट भविष्यमा त्यसो हुने कुनै संकेत छ । जसरी व्यक्तिगत तवरमा मांस भक्षण गर्ने वा नगर्ने भन्ने विवाद निक्कै अघिदेखि चल्दै आइरहेको छ त्यसरीनै यज्ञमा मांस प्रयोग गर्नु हुन्छ वा हुँदैन भन्ने विवाद पनि धेरै पहिलेदेखिको हो । प्रसंगवश यस सन्दर्भमा महाभारत शान्तिपर्वमा भनिएको छ - सुरा मत्स्याः पशोर्मांसं द्विजातीनां बलिस्तथा । धूर्तेः प्रवर्तितं यज्ञे नैतद् वेदेष्ाकथ्यते ॥ अर्थात् सुरा जाँड-रक्सी आदि माछा र पशुहरुका मासु तथा द्विजातिहरुको बलि आदि धूर्तहरुद्वारा यज्ञमा प्रवर्तित भएको हो वेदमा मांसको विधान छैन ।
विद्वानहरु भन्दछन्कि कर्मकाण्डमूलक धर्ममा प्राचीनकालदेखिनै दैवी र आसुरी -दुबै पद्धतिहरु प्रचलनमा रहेका छन् । जस्तोकि त्रेता युगमा रावण वेदको प्रकाण्ड विद्वान मानिन्थ्यो र उसले वेद उपर भाष्य पनि गरेको थियो र उसले वेदको भाष्य गर्दाखेरीमा आफू मांसाहारी भएकाले वैदिक यज्ञीय मन्त्रहरुका अर्थ मांसपरक गरेको थियो । रामायणबाट थाहा लाग्दछकि त्यस समयमा रावण मेघनाद आदिले जतिपनि यज्ञ गर्दथे ती यज्ञमा मासु र रगत हवन गरिन्थ्योभने राजा जनक दशरथ आदिले गर्ने यज्ञमा पायसजस्ता वस्तुहरु हवन गरिन्थ्यो । वेदमा प्रयुक्त शब्दहरु बहु-अर्थी भएकाहुँदा मांस भक्षण गर्ने वा नगर्ने आफ्नो व्यक्तिगत आचरण अनुसार ती शब्दका अर्थलाई ग्रहण गरिएको थियो । यसरी कर्मकाण्डमूलक धर्ममा प्राचीनकालदेखिनै मांसबलि दिने र नदिने -दुबैखाले पद्धतिहरु प्रचलनमा रहेका बुझिन्छ । माथि उद्धृत गरिएको महाभारत शान्तिपर्वको श्लोकका आधारमा भन्दा त जो व्यक्तिहरु आफू व्यक्तिगत रुपमा मांसाहारी थिए उनीहरुले आफ्नो मांसाहार कार्यलाई तुच्छ नठानियोस् र मांसभक्षण गरेको कारणले इज्जत प्रतिष्ठामा धक्का नलागोस् भन्नाकाखातिर यज्ञमा समेत मांसबलिलाई घुसाएको हुनुपर्दछ । त्यही कुरा पछि समयक्रममा सर्वसाधारणमा शास्त्र-सम्मत भनेर फैलियो होला । स्वेच्छाचारी शासकले शास्त्रका भनाइलाई कसरी आफूखुशी तोड्ने मोड्ने गर्दछन् भन्ने उदाहरण नेपालमा राणा-शासन हुँदा प्रशस्त देखिएकै हो । नेपालका श्री३ महाराज भइखाएका राणाले त गर्न सकेको कुरा रावणजस्ता प्रतापी त्रिलोकविजयीले किन गर्न नसक्नु ! जनसामान्यमा शास्त्रका गहिरा कुराहरु बुझ्ने न त ल्याकत हुन्छ न सबैसँग त्यस्तो रुची नै हुन्छ -त्यसोहुँदा औपचारिक तवरमा जेजे व्याख्या गरिन्छन् तिन्लाईनै स्वीकार गर्ने गर्दछन् । यस्तै भएकाले धेरै कुराहरु कुनै धूर्तद्वारा प्रक्षिप्त गरिएकै भएतापनि केही समयपश्चात् पक्का शास्त्रीय मान्यताका रुपमा स्वीकृत हुन्छन् । भनिसकियोकि राणाकालीन नेपाली समाज यसको उदाहरण हो । तर यस सम्बन्धमा केही धूर्तहरुको करामतमात्रै दोषी छ भन्ठान्नुचाहिँ अर्ध-सत्य धारणा हुन्छ । नियत असल हुँदाहुँदैपनि शास्त्रबारेमा अर्थको अनर्थ हुन सक्दछ र यस्तो भएकोपनि छ । वेदमा प्रयुक्त शब्दहरु बहु-अर्थी भएकाहुँदा तिन्का अर्थको अनर्थ हुनसक्ने खतरा जतिखेरपनि विद्यमान छ । स्वाभाविकै होकि एउटै शब्दका विभिन्न अर्थ हुने अवस्थामा द्विविधा मतभिन्नता तथा विवादको सम्भावना बढी हुन्छ ।
बहु-अर्थी शब्दका कारण आइपर्ने अवस्थालाई हामी एउटा उदाहरणद्वारा हेरौं । संस्कृत ुअजु शब्दको अर्थ पुरानो चामल र बाख्रो पाठो दुइटै हुन्छ । एउटै शब्दले दुई भिन्न-भिन्न चीजलाई बुझाउने भएपछि अब यज्ञ गर्ने बेलामा अज मागियोभने व्यक्ति-विशेषको मनपर्दीले गडबडी हुनपनि सक्नेनै भयो । अजको माने मांसाहारी व्यक्तिले बाख्रो भन्ने अर्थ गरेर पशुबलि दिने र शाकाहारी व्यक्तिलेचाहिँ पुरानो चामल भन्ने अर्थ गरेर त्यो चामलको पायस बनाई हवन गर्ने -यसरी पृथक् पृथक् तवरबाट यज्ञ गरिने हुनसक्छ । शाकाहारी व्यक्तिको सोचाइ हुन्छकि यज्ञस्थान जस्तो पवित्र एवं शुद्ध स्थानमा मासु पोलिएको गन्ध उसकालागि त दुर्गन्ध नै फैलाएर आहुति कसरी दिनु ! यसरी उसले मांस हवन कार्य गर्ने त के कुरा त्यसको कल्पना गर्दाखेरीमानै उसलाई असहज लाग्दछ र अज भनेको चामलै हो भन्नेमा पूर्ण विश्वस्त हुन्छ । उता मांसाहारी व्यक्तिका दृष्टिमा मासु बढिया पौष्टिक पदार्थ हुँदैहो र मासु पोलिएको गन्ध उसकालागि त सुगन्धले उसको मन प्रफुल्ल हुनेहुँदा यज्ञमा मांस हवन गर्नु नै युक्तिसंगत ठान्दछ । वाह ! धर्म पनि हुने मासु खान पनि पाइने -यसरी सोँच्दछ ऊ ।
वास्तवमा मांस मनुष्यकानिमित्त अप्राकृतिक खाना हो । तरपनि जस्तोकि यस प्रकरणको आरम्भमै भनिएको थियो -यस संसारमा मांसाहारी मान्छेहरुको संख्या शाकाहारीहरुको तुलनामा धेरैगुना बढी छ होला । हुनपनि अरुको त के कुरा गर्ने वेदमा मांसाहार नगर्ने आदेश हुँदाहुँदैपनि थुप्रै हिन्दूहरु मांसाहारी रहेको स्थिति छ र बारम्बार अिहंसाकोबखान गरिरहने बौद्ध मतावलम्बीहरुसमेत जिब्रो फड्कारी फड्कारी मांस भक्षण गरिरहेका छन् । कति विडम्बनापूर्ण छ त ! मांसाहारीहरुले मांसाहारलाई ठिक साबित गर्न अनेक तर्क प्रस्तुत गर्नु पनि कुनै अस्वाभाविक कुरा भएन । यो विवादको यथायथ गर्ने बेलामा हामीले ख्याल राख्नैपर्ने तथ्य के होभने ुयज्ञु वैदिक-कर्म भएकोहुँदा यसबारेमा वेद-वाक्यनै मान्य हुन्छ र वेदवाक्यका अनुसार वैदिक यज्ञमा पशुबलि वा कुनैपनि पशुको मांसजस्ता वस्तुको प्रयोग वर्जित छ । हो पशुहरु दान दिने विधानचाहिँ छ ।
मनुष्यको शारिरीक बनावट चेतना तथा बौद्धिक स्तर एवं मानवोचित विवेक -सबै दृष्टिकोणबाट मांसाहार तुच्छ छ त्याज्य छ । तपाईं धर्म मान्ने व्यक्ति हुनुहुन्छभने यो तथ्य ख्याल राख्नोस्कि मांसभक्षण पूर्णतया पापकर्म हो । तपाईं धर्म मान्नुहुन्न भनेपनि यो कार्य अनैतिक भएकाले मानवीय नैतिकताको कारणले मांसाहार त्याज्य छ । मांसजन्य पदार्थहरु उपभोग गर्दा एकपल्ट सोचौंकि त्यो मासु प्राप्त गर्न अबोध मूक पशुलाई कति यातना दिइयोहोला ! त्यो निरपराध जीवको क्रन्दनलाई ध्यान दिनोस् त्यो निरीह जन्तुको आँखाबाट धर्धरी बगेको आँसुको धारालाई याद गर्नोस् त्यसको बिलौनालाई ख्याल राख्नोस्; तबपनि मासु खान मनलाग्योभने नर्कको ढोका आफ्नालागि खुलेछ भन्ठान्नुस् । मासु चपाइरहँदा हेक्का हुनैपर्दछकि मासुसँगसँगै पशुको श्रापको भागिदार भइरहिएको छ । यस्तो अधार्मिक अनैतिक एवं अमानवीय कर्म सबैजनाले त्याग्नै पर्दछ । अस्तु ।

Friday, February 03, 2006

 

यज्ञ

स्पेसटाइम दैनिक, वर्ष २ अंक २५८, वि.सं. २०५९ साउन ४ शनिवार पेज नं. ६ मा प्रकाशित
यज्ञ शब्दसँग हामी परिचित छौं किनकि यो भारतवर्षको जीवनको एक अति प्राचीन र सर्वव्यापी अंग हो । संसारको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदबाट थाहा लाग्छकि ुयज्ञु भारतवर्ष निवासीहरुको सर्वोच्च धार्मिक कर्म थियो । ऋग्वेदमानै यज्ञको विधान गरिएकोबाट सनातन धर्म परम्परामा यस कर्मको महत्व स्वतः प्रमाणित छ । जसरी वेदले यज्ञलाई मनुष्यको सर्वप्रधान धर्मकृत्य मान्दै यज्ञबाटनै जीवन सार्थक हुने बताएको छ त्यही अनुरुप भगवद्गीतामा भनिएको छकि मनुष्यको जीवननै यज्ञमय छ । हाम्रा शास्त्रीय मान्यता एवम् विधान हेर्दाखेरीमा एक मानवको जीवनमा जन्मदेखि मरणसम्म जति संस्कार हुन्छन् ती सबमा यज्ञ कुनै न कुनै रुपमा समावेश गरिएको छ । समयक्रममा यज्ञका स्वरुपमा परिवर्तन त आइरहेकै छ; साथमा यज्ञका सम्बन्धमा औचित्य वा अनौचित्यको सवाल खडा गराउनेहरुको संख्यापनि कम छैन । अहिले एकातिर ठाउँ-ठाउँमा यस्ता यज्ञ र उस्ता यज्ञ सम्पन्न भए भनेर समाचारहरु आइरहेकै छन् त अर्कातिर यज्ञको आलोचना वा कहिलेकाहिँ त विरोधै पनि गर्नेहरु पनि नभएका होइनन् । तर न यज्ञ गर्ने वा गराउनेले यज्ञको वास्तविक स्वरुपलाई प्रस्ट्याउन जाँगर चलाएका छन्; न त यज्ञको विरोध गर्नेहरुले यसको वास्तविक स्वरुप जान्न बुझ्न प्रयास नै गरेका छन् ।
वास्तवमा यज्ञ शब्दले व्यापक अर्थ प्रदान गर्दछ र यसका विविध स्वरुप छन् । यस कुरामा प्रष्ट हुनकालागि मनुस्मृतिको सन्दर्भ उपयोगी हुनेछ । मनुस्मृतिमा वेदाध्ययनलाई ब्रह्मयज्ञ तर्पणलाई पितृयज्ञ होमलाई देवयज्ञ अतिथि सन्तर्पणलाई मनुष्ययज्ञ भनिएका उदाहरणबाट स्पष्ट हुन्छकि मानव जीवनका सबै महत्वपूर्ण कर्तव्यहरुलाई यज्ञ नामले बुझाइएको छ । मीमांसा-दर्शनलेपनि यही कुरा आत्मसात् गरेको हामी पाउँछौं । गीताको सहयज्ञाः प्रजाः सृष्ट्वा वाला श्लोकको तात्पर्य यही होकि प्रजाको प्रगति र कल्याणका सबै कार्य यज्ञरुप हुन् । चाहे ऋत्विजहरुद्वारा अग्निहोत्रका रुपमा गरियोस् अथवा दैनिक जीवन-निर्वाहका क्रममा कर्तव्यपालनका रुपमा गरियोस् यी सबै कार्य यज्ञ हुन् ।
एक अवधारणा यस्तो छकि जीवनको उत्थान देवशक्तिको कृपाले हुनसक्छ र देवशक्तिसँग सम्बन्ध स्थापित गर्ने मुख्य साधन यज्ञ हो । सांसारिक परिस्थितिमा रहेर जीवन निर्वाह गर्नेवाला हिन्दुकालागि देवाराधन मुख्य कर्तव्य हो र त्यसको माध्यम यज्ञ नै हो । गीतामा भगवान्ले भन्नुभएकै छ- यज्ञद्वारा देवता तिमीसँग प्रसन्न हुनेछन् र तिम्रो उन्नति तथा कल्याण गर्नेछन् । प्राचीनकालमा झैं दर्शपूर्णमास, ज्योतिष्टोम, अश्वमेध, राजसूय आदिजस्ता धूमधामका यज्ञहरु हुनेजस्तो स्थिति आज छैन तापनि यज्ञको व्यापक अवधारणाले यो सदा सान्दर्भिक छ । यज्ञको व्यापक अवधारणा अनुसार मानव-जीवनका सबै महत्वपूर्ण कर्तव्यहरु यज्ञ हुन् । मनुष्यको आफ्नो कर्तव्यलाई सच्चा हृदयले आफ्नो सम्पूर्ण शक्ति लगाएर गर्नु नै वास्तविक यज्ञ हो । उदाहरणकालागि महाभारत शान्तिपर्वअनुसार प्रष्ट हुन्छकि समाजको अस्तित्व रक्षा र प्रगतिकालागि जतिपनि आवश्यक कार्य छन् ती सब यज्ञरुप नै हुन् । यस दृष्टिले यज्ञको विरोध गर्नुपर्ने वा गर्ने ठाउँ छैन ।

यज्ञको व्यापक अवधारणाको अलावा लौकिक शास्त्रीय कर्मका रुपमा सम्पन्न गरिने उत्सव महोत्सवहरुलाई पनि लौकिक जीवनमा ुयज्ञुकै मान्यता मिलेको जुन अवस्था छ यसलाई चाहिँ सांस्कृतिक वैभवका रुपमा सहजतापूर्वक स्वीकार गर्नुनै बुद्धिमत्ता ठहर्नेछ । तर यतिनै बेला ख्याल राख्नुपर्दछकि सहजतापूर्वक स्वीकार गर्ने भन्नाको मतलब यससँग जोडिएर आउनसक्ने कस वा मयल काइ लेउ ऐँजेरु सबकासबलाई शिरोपर गर्ने भनेको होइन । वैज्ञानिकतायुक्त धर्म र धार्मिकतायुक्त विज्ञानको कसीमा खरो उत्रन नसक्ने तत्व स्वीकार्य हुन सक्दैनन् । शास्त्रको आड लिएर वा यज्ञको पर्दा राखेर यसलाई गर्नुसम्म दुरुपयोग गरिएका उदाहरण पनि नभएका होइनन् । यदि यज्ञलाई दुरुपयोग गरिएको छभने त्यसलाई सच्याउनु अवश्यै पर्दछ; त्यसका साथसाथै यज्ञकै नाम लिएर कतिपय गलत कार्य गरिएका वा गराइएका देखेर वास्तविक ुयज्ञ-तत्वुप्रति नकारात्मक सोंच राख्नु बेठीक हो । जाँच-परख गर्दाखेरीमा कुनै गलत पक्ष भेटिएछन् भने तिनलाई हटाउन हिच्किचाउनु हुँदैन; तर कस वा मयल काइ लेउ ऐँजेरु आदिलाईमात्र हेरी वास्तविक यज्ञ-तत्वको महत्ता अस्वीकार गर्नुचाहिँ मुर्खता हो । बरु यज्ञको जुन व्यापक अवधारणा छ त्यसचाहिँलाई अघि बढाउँदा त्यसको असर मानव समाजमा सकारात्मक रुपले पर्ने पो देखिन्छ । जुनसुकै कर्म पनि यदि स्वार्थरहित भएर परोपकारार्थ गरिन्छ त्यसले मनुष्यलाई उच्चतातर्फ अग्रसर गराउँछ र सदैव कल्याणकारी हुन्छ । मुख्य कुरा भावनाको हो । यही सदैव कल्याणकारी भावना नै हो यज्ञीय-भावना, जसका साथमा साधारण कार्य पनि यज्ञकर्म हुन्छ । तबपनि यज्ञको औचित्य वा अनौचित्यको गन्थन गर्नुको कुनै औचित्य होला र ! देश काल परिस्थिति अनुरुप पुनव्र्याख्यान संस्करण परिमार्जन वा परिस्कार स्वीकार गर्न सक्नै पर्दछ र कसीमा जँचेर स्वीकारिन सक्ने चुनौतीबाट भाग्नपनि हुँदैन । हाम्रो यज्ञीय-अवधारणा कुनैपनि कोणबाट दुर्बल नभएको यथार्थता हामीलाई ज्ञात हुँदाहुँदै डराउनु पो किन पर् यो र ! अर्थात् वास्तविक ुयज्ञीय-भावनाु स्पष्ट हुनासाथ यज्ञको औचित्य पनि स्वतःसिद्ध हुन्छ ।

This page is powered by Blogger. Isn't yours?