Saturday, November 22, 2008

 

एक र अनेक

स्पेसटाइम दैनिक, वर्ष २ अंक ६२, २०५८ पुस २१ शनिवार, पेज नं. ४ मा प्रकाशित
हिन्दूका तेत्तिस कोटी देवी-देवता छन् भनिन्छ । हुनपनि हिन्दूधर्मावलम्बीहरुले अनेक नाम र रुपका देवी-देवताको पूजा-आराधना गरेको देखिन्छ । आफ्नो देश-काल-परिस्थिति अनुकूल विविध ईश्वरीय विभूतिको उपासना अर्चना गर्ने संस्कार हिन्दू-समुदायमा राम्ररी विकसित भइसकेको छ । सनातन हिन्दू धर्मग्रन्थहरुको ठूलो भण्डारलाई अध्ययन गर्ने होभनेपनि यही तथ्य स्पष्टसँग देख्न सकिन्छ । निश्चयनै वैदिक परम्परामा विविध नाम र रुपका ईश्वरीय विभूतिको पूजा आराधना अर्चना उपासना गर्ने प्रेरणा दिइएको छ तर यसका साथसाथै ख्याल राख्नुपर्ने तथ्य के छभने त्यहाँ अनेकतामा एकताको अवधारणालाई विशेष जोड दिइएको छ । अर्थात् सबै ईश्वरीय विभूति एउटै ब्रह्म-तत्वको प्रकटीकरण हुन् । हिन्दू-संस्कृति यसरी एकमा अनेक र अनेकमा एक आत्मसात् गरेको संस्कृति हो ।
हाम्रो समाजमा दैवीशक्तिबारेमा अनेक किसिमका धारणाहरु प्रचलित रहेका हामी पाउँछौं । कतिपय व्यक्तिहरु जसरी स्वर्ग भन्नासाथ त्यसको अर्थ आकाशमाथिको अन्तरिक्षमा अवस्थित कुनै विशेष लोक भन्ठान्छन् अनि मरेपछि पुण्यात्मा व्यक्ति स्वर्गमा पुगेर त्यहाँ अप्सराहरुका साथमा बसी सम्पूर्ण सुख-सुविधा भोग गर्न पाइन्छ आदिइत्यादि भन्ने गरेका छन् त्यसरी नै देवता भन्नासाथ त्यही स्वर्ग भनाउँदो कुनै अलौकिक स्थानमा रहेका र चमत्कारिक क्षमता भएका व्यक्तिगत-सत्ता-विशेष ठान्दछन् । तर यस किसिमका भनाइले हाम्रो मूल धर्मशास्त्र वेदको वास्तविक आशयलाई क्षयीकरण गराएका छन् । तब सवाल खडा हुन्छकि वेदको वास्तविक आशय कसरी थाहा पाउने त कतिसम्म भएको छभने जहाँ वेदमा इन्द्रको महिमा र यशको वर्णन गरिएको छ उही नामको चरित्र पुराणहरुमाचाहिँ सत्तापिपासु स्त्रीलम्पट इष्र्यालु एवं भ्रष्टाचारी प्रवृत्तिको देखिन्छ । त्यसोहुँदा जनसाधारणचाहिँ भ्रममा पर्दछन्कि यथार्थता केहो केहो । अनि पौराणिक इन्द्रको कमी-कमजोरी वा गल्तीका निमित्त वैदिक इन्द्रले समेत अपयश खेप्नु परिरहेको स्थिति छ । राम्ररी अध्ययन गर्ने होभने यो तथ्य स्पष्ट छकि वेदमा वर्णित इन्द्र भन्ने व्यक्तित्व र पुराणहरुमा वर्णित इन्द्र भन्ने व्यक्तित्व पृथक् पृथक् व्यक्तित्वहरु हुन् । भिन्दाभिन्दै स्वभावका तर नामचाहिँ मिल्ने यस्ता अनेक चरित्रका कारण यसरीनै गज्याङमज्याङ भइरहेको छ । तर जनसामान्यलाई यस्तो तथ्य कुरा ज्ञान नभएकोहुँदा उनीहरुचाहिँ रनभुल्लमा परिरहेको देखिन्छ । यस्ता भ्रमलाई निवारण गर्ने दायित्व धर्मगुरुहरुको हो । तर नेपालमा अहिले धर्मशास्त्रसंबन्धी भ्रमलाई निवारण गर्ने कार्यमा धर्मगुरुहरुको ध्यान पुगिरहेको छैन ।
हिन्दू-समाजमा धर्मशास्त्रसंबन्धी भ्रम हटाएर सच्चा धर्म-तत्वको उद्घोषण गर्ने महान् व्यक्तित्वहरु समय समयमा आविर्भाव हुनुभएको हामी पाउँछौं । जस्तोकि दैवीशक्ति यानेकि देवी-देवताबारेमा मीमांसाकारको सहयोगले हाम्रो समाजमा व्याप्त भ्रमबाट पार पाउन सक्छौं । वैदिक मतानुसार दैवीशक्तिको जुन यथार्थता छ- त्यसलाई मीमांसा-दर्शनले सही तवरले प्रस्तुत गरेको छ ।यसको अध्ययनबाट हामीलाई ज्ञान हुन्छकि हाम्रा धर्मशास्त्रले देवताहरुको नाममा विभिन्न प्रकारका यज्ञहरुको प्रेरणा दिनुको उद्देश्य तरह-तरहका साना-ठूला व्यक्तिगत देवी-देवताहरुको मान्यता प्रचार प्रसार गर्नु होइन एकै ब्रह्म-तत्व नै यिनीहरुको लक्ष्य हो । अर्थात् इन्द्र वायु अग्नि आदि अनेक नाममा देवतालाई आहुति दिँदाखेरी यसको लक्ष्य एउटै दैवीशक्तिप्रति छ । वास्तवमा विष्णु शिव गणपति इन्द्र वायु अग्नि आदिइत्यादि नामले एकै परब्रह्म परमेश्वरका विविध गुणहरुका सम्बन्धमा निर्देश गरिएको थियो कालान्तरमा पछि सोही नामका व्यक्ति-विशेषको प्रताप एवं यशका कारण अत्यधिक प्रभावित भएका मानिसहरुले नाम-समानतालाई लिएर यसलाई नै बहुदेववादी अवधारणाका रुपमा बुझे र समय बित्दैजाँदा त्यही धारणालेनै पूर्ण स्थापित विश्वासको रुप ग्रहण गर् यो । साथै यो पनि याद गरिराख्नु पर्छकि यी विभिन्न शक्तिहरुको मूलमा एकै ब्रह्म-तत्व नै स्थित छ । नत्र देवता शब्दको अर्थ सही रुपमा हुँदैन । कर्मकाण्डमा यज्ञको आहुति जुन देवताहरुलाई दिइने विधान छ- त्यसको विवेचना गर्दै मीमांसा-दर्शनमा एक मुख्य कुरा यो भनिएको छकि देवताको अर्थ कुनै दूरवर्ती लोकमा रहेका सूक्ष्म या स्थूल शरीरधारी व्यक्ति विशेष होइन परमात्माका विविध शक्तिहरु तथा जुन पदार्थहरु/जीवहरुमा ती शक्तिको विशेष विकास भएको छ तीप्रति यसको अर्थ लक्षित छ । सूर्य चन्द्र अग्नि इन्द्र वायु आदित्य सोम अश्वनी वरुण प्रजापति गणपति आदि जुन-जुन देवताहरुको उल्लेख वेदमा बारम्बार पाउन सकिन्छ ती एउटै परमात्माका विभिन्न शक्तिहरु नै हुन् । पुराणहरुमा यी विभिन्न नामलाई कतिपय अवस्थामा वेदमाजस्तै एउटै ब्रह्म-तत्व बुझाउन अनि अन्य कतिपय अवस्थामाचाहिँ समान नामका कोही प्रतापी एवं यशस्वी अवतारी व्यक्तित्व सिद्ध महात्मा तथा प्रबुद्ध व्यक्तित्वका सन्दर्भमापनि ती नामहरु उल्लेखित छन् । यिनै प्रतापी एवं यशस्वी अवतारी व्यक्तित्व सिद्ध महात्मा तथा प्रबुद्ध व्यक्तित्वहरुलाई समेत ध्यान राखेर हिन्दूका तेत्तिसकोटी देवता मानिएको जस्तो लाग्दछ । यसरी तेत्तिसकोटी संख्यामा पूजनीय-श्रद्धेय-आदरणीय महान् आत्माहरुको परम्परा उत्तराधिकारमा प्राप्त हुनु हिन्दू-समाजकालागि एकदमै गौरवपूर्ण छ । यसमा सनातन धर्मावलम्बी हिन्दूहरुको अवतारवादको रहस्य छ ।
हाम्रो मान्यता अनुसार यदि परमात्माका शक्तिहरु विभिन्न पदार्थहरु तथा जीवहरुमा विशेष गुणका रुपमा प्रकट हुन्छन् भने तिनलाई पनि देवता भनिएको पाइन्छ, भन्न सकिन्छ । तात्पर्य केभने यो समस्त विश्व परमात्माकोनै विराट रुप हो तसर्थ प्रत्येक प्राणी परमेश्वरकोनै अंशरुप हो । त्यसमध्येमापनि यदि जहाँ-कहिँपनि कसैमा कुनै विशेष गुण या शक्ति -सामान्यतया जोकोहीमा नपाइने- देखियो भने त्यसलाई परमात्माको विशेष विभूति मानेर सम्मान गर्ने गरिएको पाइन्छ । विशिष्ट क्षमतावान्लाई सम्मान गरिनु स्वाभाविक नै हो । लोक-कल्याणकारी महान् आत्माहरुको सम्मान गर्नु मनुष्यको कर्तव्य हो । हिन्दू-समाजमा यो कुरा जीवनशैली नै बनेको छ र हिन्दू-समाज अवतारी व्यक्तित्व सिद्ध महात्मा तथा प्रबुद्ध व्यक्तित्वहरुमा इश्वरीय अंशावतार देख्दछ । त्यसोहुँदा त्यस्ता अवतारी सिद्ध महात्माहरुका उपदेशहरुलाई अनुशरण गर्दै विभिन्न सम्प्रदायको स्थापना समेत भएको हामी पाउँछौं । हुन त हिन्दू-इतर समाजमा पनि यो कुरा लागू हुन्छ जस्तोकि मोहम्मदलाई अल्लाहको पैगम्बर ठान्नु जीसस क्राइस्टलाई ईश्वर-पुत्र ठान्नु आदि ।
वेदमा भनिएको छकि जतिपनि देवता हुन् ती सब एक परब्रह्मका शक्तिका विभिन्न रुप हुन् । तसर्थ शिव विष्णु ब्रह्मा राम कृष्ण इन्द्र अग्नि वायु वरुण अश्वनी रुद्र आदि सब एकै परमात्माका नामहरु हुन् । हिन्दूका तेत्तिस कोटी देवी-देवता छन् भनिएतापनि समष्टिमा ती सबै एउटै परब्रह्म परमात्मा परमेश्वरका स्वरुप हुन् । अस्तु ।
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित

Comments: Post a Comment



<< Home

This page is powered by Blogger. Isn't yours?