Wednesday, November 26, 2008

 

स्वर्ग पाउन यज्ञ !

स्पेसटाइम दैनिक, वर्ष २ अंक ४८, २०५८ पुस ७ शनिवार, पेज नं. ४ मा प्रकाशित
यज्ञ शब्दसँग हामी परिचित छौं किनकि यो भारतवर्षको जीवनको एक अति प्राचीन र सर्वव्यापी अंग हो । तर के हामीलाई यसको वास्तविक अर्थको ज्ञान छ त ?
ऋग्वेदबाट थाहा लाग्छकि यज्ञ भारतवर्ष निवासीहरुको सर्वोच्च धार्मिक कर्म थियो । यो कुरा प्रमाणित भइसकेको छकि संसारको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेद हो- ऋग्वेदभन्दा पुरानो कुनै ग्रन्थ छैन । यो भारतवर्षीय धर्मको मूल आधार हो । यस्तो ग्रन्थमानै यज्ञको विधान गरिएकोबाट नै सनातन धर्म परम्परामा यस कर्मको महत्व स्वतः प्रमाणित छ । एक हिन्दूको जीवनमा जन्मदेखि मरणसम्म जति संस्कार हुन्छन् ती सबमा यज्ञ कुनै न कुनै रुपमा समावेश गरिएको छ । ऋग्वेदले यज्ञलाई मनुष्यको सर्वप्रधान धर्मकृत्य मान्दै यज्ञबाटनै जीवन सार्थक हुने बताएको छ । भगवद्गीताका अनुसार मनुष्यको जीवननै यज्ञमय छ । यति हुँदाहुँदैपनि हामीमध्ये कतिलाई यसको वास्तविक अर्थ थाहा छ त ?
वास्तवमा यज्ञ शब्दले व्यापक अर्थ प्रदान गर्दछ र यसका विविध स्वरुप छन् । यस कुरामा प्रष्ट हुनकालागि मनुस्मृतिको सन्दर्भ उपयोगी हुनेछ । मनुस्मृतिमा वेदाध्ययनलाई ब्रह्मयज्ञ तर्पणलाई पितृयज्ञ होमलाई देवयज्ञ अतिथि सन्तर्पणलाई मनुष्ययज्ञ भनिएका उदाहरणबाट स्पष्ट हुन्छकि मानव जीवनका सबै महत्वपूर्ण कर्तव्यहरुलाई यज्ञ नामले बुझाइएको छ । मीमांसा-दर्शनलेपनि यही कुरा आत्मसात् गरेको हामी पाउँछौं । गीताको सहयज्ञाः प्रजाः सृष्ट्वा ... वाला श्लोकको तात्पर्य यही होकि प्रजाको प्रगति र कल्याणका सबै कार्य यज्ञरुप हुन् । चाहे ऋत्विजहरुद्वारा अग्निहोत्रका रुपमा गरियोस् अथवा दैनिक जीवन-निर्वाहका क्रममा कर्तव्यपालनका रुपमा गरियोस् यी सबै कार्य यज्ञ हुन् ।
एक अवधारणा यस्तो छकि जीवनको उत्थान देवशक्तिको कृपाले हुनसक्छ र देवशक्तिसँग सम्बन्ध स्थापित गर्ने मुख्य साधन यज्ञ हो । सांसारिक परिस्थितिमा रहेर जीवन निर्वाह गर्नेवाला हिन्दुकालागि देवाराधन मुख्य कर्तव्य हो र त्यसको माध्यम यज्ञ नै हो । गीतामा भगवान्ले भन्नुभएकै छ- यज्ञद्वारा देवता तिमीसँग प्रसन्न हुनेछन् र तिम्रो उन्नति तथा कल्याण गर्नेछन् । प्राचीनकालमा झैं दर्शपूर्णमास, ज्योतिष्टोम, अश्वमेध, राजसूय आदिजस्ता धूमधामका यज्ञहरु हुनेजस्तो स्थिति आज छैन तापनि यज्ञको व्यापक अवधारणाले यो सदा सान्दर्भिक छ । यज्ञको व्यापक अवधारणा अनुसार मानव-जीवनका सबै महत्वपूर्ण कर्तव्यहरु यज्ञ हुन् । मनुष्यको आफ्नो कर्तव्यलाई सच्चा हृदयले आफ्नो सम्पूर्ण शक्ति लगाएर गर्नु नै वास्तविक यज्ञ हो । उदाहरणकालागि महाभारत शान्तिपर्वअनुसार प्रष्ट हुन्छकि समाजको अस्तित्व रक्षा र प्रगतिकालागि जतिपनि आवश्यक कार्य छन् ती सब यज्ञरुप नै हुन् । यस दृष्टिले यज्ञको विरोध कुनैपनि बुद्धिमान व्यक्तिले गर्ने ठाउँ छैन र कुनै विवेकी व्यक्ति यज्ञका विरुद्धमा बोल्दैन । यज्ञकै नाम लिएर कतिपय गलत कार्य गरिएका वा गराइएका देखेर साराकासारा यज्ञप्रति नकारात्मक सोंच राख्नु बेठीक हो । गलत पक्ष हटाउन हिच्किचाउनु हुँदैन- तर यज्ञको महत्ता अस्वीकार गर्नु त मुर्खता हो । जुनसुकै कर्म पनि यदि स्वार्थरहित भएर परोपकारार्थ गरिन्छ त्यसले मनुष्यलाई उच्चतातर्फ अग्रसर गराउँछ र सदैव कल्याणकारी हुन्छ । मुख्य कुरा भावनाको हो । यही सदैव कल्याणकारी भावना नै हो यज्ञीय-भावना, जसका साथमा साधारण कार्य पनि यज्ञकर्म हुन्छ ।
यज्ञको अर्थ तथा उपादेयता बारेमा चर्चा गरिसकेपछि अब स्वर्गको बारेमा बुझ्नु आवश्यक छ । किनभने वेदमा स्वर्गकामोयजेत् भनिएकोहुँदा यज्ञ र स्वर्गको सम्बन्ध अभिन्न रहेको छ । शास्त्रमा ठाउँ-ठाउँमा स्वर्गको बारेमा चर्चा गरिएका छन् र स्वर्गको प्राप्तिका लागि विविध यज्ञहरुको विधान गरिएको छ । स्वर्ग भन्नासाथ मानिसहरु त्यसको अर्थ आकाशमाथिको अन्तरिक्षमा अवस्थित कुनै विशेष लोक भन्ठान्छन् । के यस्तो धारणा ठीक छ त मीमांसा-दर्शनले स्वर्गको यस्तो अर्थ मानेको छैन । भाष्यकार शवर स्वामीले स्वर्ग भनेको यस्तो विशेष लोक वा कुनै खास जमिन नभएको र निरतिशय सुखलाई नै स्वर्ग भनिएको हो भनेर स्पष्ट पारेका छन् । अर्थात् स्वर्ग प्राप्त गर्ने भन्नाको अर्थ कतिपय मानिसहरुले जुन किसिमले - मरेपछि पुण्यात्मा व्यक्ति स्वर्गमा पुगेर त्यहाँ अप्सराहरुका साथमा बसी सम्पूर्ण सुख-सुविधा भोग गर्न पाइन्छ आदिइत्यादि भन्ने गरेका छन् त्यो ठीक होइन । स्वर्गको जुन किसिमले बयान गरिने गरेको छ त्यो वास्तविक स्वर्ग-तत्वभन्दा निक्कै तुच्छ छ । ऋषिहरुले आफ्नो ज्ञानदृष्टिबाट वैदिक मन्त्रद्वारा प्रतिपादित धर्मलाई आत्मसात् गरी हामीलाई जुन उपदेश दिएका छन्- त्यसको उद्देश्य मरेपछि अर्को लोकमा गएर सोमरस पिउने अप्सराहरुसँग भोगविलास गर्ने धन-ऐश्वर्य उपभोग गर्ने भन्नु त ती महान् ऋषिजनप्रतिको अपमान हो किनकि यस्ता कार्य त यहीँ यसै लोकमा अधर्मीहरुले पनि गर्न सकेकै छन् नि ! भनेपछि धर्मकर्मको उद्देश्य यति सामान्य चीज पक्कै होइन -स्पष्टै छ । हाम्रा धर्मशास्त्रहरुले, हाम्रा ऋषिमुनिहरुले हामीलाई जुन उपदेश दिएका छन् त्यसको उद्देश्य समस्त मनुष्यको आत्मकल्याण हो । तसर्थ यिनले क्षणिक भौतिक सुखलाई गौण मानेका छन् र दुःखको समूल नाश अर्थात् दुःखको निवृत्तिलाई प्राथमिकता दिएका छन् । त्यही दुःखको निवृत्ति पश्चात्को निरतिशय सुखको अवस्थामा प्राप्त हुनुलाई नै स्वर्ग प्राप्ति भनिएको हो । भगवान् बुद्धको शब्दमा यसैलाई निर्वाण भनिएको छ । सनातन-हिन्दू मीमांसा-दर्शनले यज्ञ तथा स्वर्ग सम्बन्धमा वैज्ञानिकताले परिपूर्ण अवधारणा दिइरहेको हामी पाउँछौं । तर जनसमुदायमा तिन्का सही अर्थ नभएर विकृत वा निम्नस्तरीय अर्थ प्रचलित रहेका छन् जसलाई मेटेर सही अर्थ बुझाउने कार्य निक्कै-निक्कै कठिन कार्य हो । तर जतिनै कठिन कार्य भएतापनि यो कार्य गरिनु जरुरी छ । जबसम्म मरेपछि स्वर्ग गएर सोमरस पिउने र अप्सराहरुसँग भोगविलास गर्ने भन्नेजस्ता तुच्छ धारणाहरु फैलिन पाइरहन्छन् तबसम्म वेदमा स्वर्गकामोयजेत् भनेर लक्षित गरिएको स्वर्गजस्तो महान् प्राप्तिको बेइज्जत भइनै रहनेहुँदा यसखाले भ्रान्तिलाई जतिसक्दो चाँडो हटाउनु पर्दछ ।
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित

Comments: Post a Comment

Links to this post:

Create a Link



<< Home

This page is powered by Blogger. Isn't yours?