Saturday, November 15, 2008

 

अवतारवाद

स्पेसटाइम दैनिक, वर्ष २ अङ्क ८३, २०५८ माघ १३ शनिवार, पेज नं. ४ मा प्रकाशित
अवतारवाद हाम्रो संस्कृतिको विशिष्ट अवधारणा हो । पुराण महाभारत तथा रामायण जस्ता ग्रन्थमा विभिन्न ईश्वरीय अवतारका कथा, गाथा प्रशस्त भेटिइन्छन् । बौद्ध जातककथाहरु पनि अवतारका विविध कथाहरुले भरिएका छन् । अवतारवादको कारणले हाम्रो संस्कृति एवं वाङमय समृद्ध बन्न सकेको पाइन्छभने यसकै कारणले कतिपय द्विविधा अन्यौलको स्थिति पनि नआएको होइन । धर्मशास्त्रमा वर्णित विविध अवतारका रहस्य बुझ्न नसकेर ती शास्त्रप्रतिनै अनास्था प्रकट गर्न भ्याउने मूर्खतापूर्ण कार्य गर्नेहरुपनि छन् । अर्कातिर धर्मशास्त्रका आधिकारिक विद्वान भनाउँदा महाशयहरुले जनसमुदायलाई त्यसको रहस्य छर्लङ्गयाउन जाँगर नचलाइदिँदा धर्मशास्त्रमा विश्वास राख्नेहरुको दिमाग पनि कम चक्कराउने गरेको छैन । यतिका अस्पष्टता एवं द्विविधा हुँदाहुँदैपनि न अवतारवादको अवधारणा कमजोर भएको छ न त जनसमुदायले ईश्वरीय अवतारहरुप्रतिको आफ्नो आस्थालाई तोडेको छ । हाम्रो धर्म-संस्कृतिलाई त्यस्सै सनातन भनिएको कहाँ हो र ।
पौराणिक वाङमयको अध्ययनगर्दा ईश्वरीय अवतारका विभिन्न स्वरुप मानिएको पाइन्छ । एक अवधारणा यो छकि सम्पूर्ण प्राणी पदार्थ तत्व सबैनै ईश्वरका अंश हुन् । यस अवधारणा अनुसार जसरी सलाईको काँटीमा अग्निको सत्ता सधैंनै हुन्छतापनि उसको प्रकाशशक्ति र तापशक्ति अप्रकट रहेसम्म सलाईको काँटीमा विद्यमान् आगोलाई हामी देख्दैनौं त्यसरीनै परब्रह्म परमात्मा परमेश्वर सम्पूर्ण देश काल वस्तु जीव आदिमा सधैं विद्यमान् हुनुहुन्छ तथापि जबसम्म उहाँ आफ्ना विशेष शक्तिकासाथ प्रकट हुनुहुन्न तबसम्म हामी उहाँसँग साक्षात्कार गर्न सक्दैनौं । उहाँ प्रत्येक मनुष्यको हृदयमा हुनुहुन्छ र बाहिरपनि हुनुहुन्छ । अर्थात् हामीले साक्षात्कार गर्न नसकेकोमात्र हो हुनचाहिँपरब्रह्म परमात्मा परमेश्वर सर्वव्यापी एवं सदा-विद्यमान् हुनुहुन्छ र यो सारा सृष्टि उहाँकै विभूति हो । हाम्रा पुराणमा मत्स्य, कूर्म, वराह, नृिसंह, हैहय आदिजस्ता अवतारहरुले यसै तथ्यलाई राम्ररी स्पष्ट पार्दछन् । यस वैदिक सनातनी हिन्दूधर्मको अवधारणालाई बौद्ध धार्मिक परम्परामा महायान सम्प्रदायले राम्ररी ग्रहण गरेको छ जसअनुसार सबै जागरुक प्राणी मोक्ष र बुद्धत्व प्राप्तिको अधिकारी छ । यसले यो सारा सृष्टि परब्रह्मको विभूति हो र प्रत्येक प्राणी आत्मज्ञान प्राप्त गरेर ब्रह्म-तत्वमा लय भई अहम् ब्रह्मास्मिको तहमा पुग्न सक्दछ भन्ने वैदिक मान्यतालाईनै अर्को शब्दमा दोहोर् याएको हो ।
ईश्वरीय अवतारको अर्कोखाले स्वरुपमा के हुन्छभने जन्मको बेलामा साधारण मनुष्यझैं उनको जन्म हुन्छ तर विशेष समय आउँदा उनमा निहित शक्ति प्रकटित हुन्छ र उनको अलौकिकता सिद्ध हुन्छ । यस सन्दर्भमा परशुराम अवतारको उदाहरण लिन सकिन्छ । पुराणहरुमा वर्णित भगवान् परशुरामको जीवनी अनुसार उहाँ जन्मेको धेरैपछिसम्मपनि उहाँ ईश्वरीय अवतार भएको तथ्य अप्रकटित हुन्छ । अनि वामन अवतारको बेलामापनि यस्तै भएको पाइन्छ । तर उपयुक्त समयमाचाहिँ उहाँहरुमा निहित विशेष शक्ति स्वाभाविक तवरले प्रकटित भएको पाइन्छ र उहाँहरुको ईश्वरत्वपनि स्वतः मान्य भएको बुझिन्छ ।
पुराणहरुमा कतिपय ईश्वरीय अवतारका सन्दर्भमा जन्मदेखिनै अलौकिक दिव्य शक्ति प्रकटित रहेको उल्लेखित भएको पाइन्छ । भगवान् श्रीराम बुद्ध जगद्गुरु शङ्कराचार्य आदिजस्ता ईश्वरीय विभूतिमा उहाँहरुका जन्मकालबाटनै दिव्य शक्ति स्पष्टसँग प्रकटित रहेको थियो । उदाहरणार्थ हामी यहाँ भगवान् बुद्ध सम्बन्धमा चर्चा गरौं । कपिलवस्तुबाट माइती देवदहनगर जान िहंडेकी महारानी मायादेवीले लुम्बिनीमा शालवृक्षमुनि पुत्र जन्माउनासाथ नवजात शिशु तत्कालै उठेर सात पाइला िहंडेको घटनाबाट भगवान् बुद्धको इहलीला आरम्भ हुन्छ । त्यस्तै कपिलवस्तु नजिकै पहाडमा तपस्यारत वेद-शास्त्रका ज्ञाता ऋषि कालदेवलले महाराजा शुद्धोदनका पुत्र जन्मेको थाहा पाउनुभई राजकुमारलाई हेर्न दरबारमा आउनुभएको र राजकुमार सिद्धार्थलाई देखेपछि ूओहो भगवान् बुद्ध हुनकानिमित्त अवतरित हुनुभइसकेछू भनेर शिशु सिद्धार्थलाई दण्डवत् प्रणाम गर्नुभएको घटनापनि प्रख्यात छ । त्यो देखेर शुद्धोदन र मायादेवीलेपनि आफ्ना पुत्रलाई दण्डवत् प्रणाम गर्नुभएको थियो । सोही घटना घटित भएदेखिनै राजकुमार सिद्धार्थलाई भगवान् विष्णुका अवतार एवं भावी बुद्धका रुपमा मानिन थालेको थियो । हामीलाई थाहा छ -बुद्धलाई भगवान् विष्णुका प्रमुख दशावतारमध्येका नवौं अवतार मानिन्छ । भगवान् श्रीरामचन्द्रलाई पनि उहाँकी आमा महारानी कौशल्या र उहाँका पिता महाराज दशरथले जन्मसमयमा साक्षुत् चतुर्बाहु श्रीविष्णु स्वरुपमा देखेकाले नवजात् शिशु अवस्थामै दण्डवत् प्रणाम गर्नुभएको थियो । उहाँलाई पहिलो नजर देख्दाखेरीमानै विदेह नरेश जनक, वनवासी कोल-भील्ल देखिलिएर खर-दूषणजस्ता राक्षसपनि चकित भएको वर्णन रामायणमा पाइन्छ ।
सबैभन्दा पृथक् तवरले भगवान् श्रीकृष्णलाई त ईश्वरीय पूर्णावतार नै मानिएको छ । जति अद्भूत अलौकिक लीला श्रीकृष्णबाट भएको छ त्यति अरु कसैबाट भएको छैन । जन्मनेबित्तिकै जेलका ढोका आफ्सेआफ् खुल्नुबाट आरम्भ भएको लीलाका क्रममा छैठीको दिनमा पूतनाको वध तीनमहिनाको अवस्थामा शकटासुरको वध एक वर्षको उमेरमा तृणावर्तको वध पाँचवर्षको उमेरमा अघासुरको वध गर्ने र सात वर्षको अवस्थामा गोवर्धन पर्वतलाईनै उचाल्दिने जस्ता अनेकन् लीलाहरु भएका उल्लेखित छन् । यति हुँदाहुँदैपनि साधारण मनुष्य जुन परिस्थितिमा हुन्छ त्यही परिस्थिति अनुकूल बिल्कुलै साधारण मनुष्यतुल्य लीला गरिन्छ ईश्वरीय विभूतिद्वारा । बडो रोचक कुरा छ -उनै श्रीकृष्ण सर्वशक्तिमान् पनि छन् फेरि उनै श्रीकृष्णले ग्वालबालसँग खेलमा हारेर सजायँ पनि खाइदिन्छन् अनि अर्जुनको आग्रहमा उनको सारथी बनेर घोडा हाँक्न र युधिष्ठिरको राजसूय यज्ञमा अतिथीहरुको खुट्टा धुन समेत स्वीकार गर्दछन् । भगवान् श्रीराम सर्वशक्तिमान् हुँदाहुँदैपनि सुग्रीवसँग वानर फौजको याचना गर्नुहुन्छ अनि सीता-वियोगमा डाँको छोडेर रुनुहुन्छ । भगवान् जगद्गुरु शङ्कराचार्य गोहीसँग आत्तिएर आमालाई पुकारा गर्नुहुन्छ । अनि बुद्धजस्ता परम् ऐश्वर्यवान् व्यक्ति सारा लोकसँग भिक्षा मागेर पेट भर्नुहुन्छ । बडा-बडा विद्वान भनाउँदाहरुको दिमाग चक्कराएको छ ईश्वरीय लीलाका रहस्यको भेउ पाउन नसकेर । कत्ति गरेपनि गाँठो फुस्के पो !
अवतारवादको रहस्य र हेतुलाई एकजना विद्वानले एक सामान्य उदाहरणबाट प्रष्ट्याउने प्रयास गर्नुभएको छ । जब हामी तोते बोली बोल्ने कुनै शिशुलाई केही कुरा सिकाइरहेका हुन्छौं तब त्यतिखेर उसकैजस्तो बोली बनाएर बुबु माम चाचा पापा आदि भनिरहेका हुन्छौं । त्यसबेला दूध नभनेर बुबु, भात नभनेर माम, खेलौना नभनेर चाचा, मासु नभनेर चीची आदि भनेको आफ्नो अज्ञानताका कारणले हो त ? आफूले नजानेको भएर त्यस्ता शब्द भनेका होइनौं हामीले । अनि बालकलाई वर्णमाला पढाउँदा कपुरी क, भित्र बाटुलो ख, …… भन्दै दोहोर् याइरहँदा हामी आफूले नजानेको भएर त्यसरी पढिरहेका हुँदैनौं । यथार्थता केहोभने बालककै स्थितिमा आएर बालकजस्तै बनेर सिकाउँदा उसलाई बुझाउँदा बालकले चाँडै ग्रहण गर्नसक्ने भएकाले उसको सुगमताकानिमित्त हामी शिशुवत् व्यवहार गरिरहेका हुन्छौं । बस् गाँठी कुरा यहीँनेर छ । मानव-कल्याणनै ईश्वरीय अवतारको हेतु हो । माथिको उदाहरणमा जसरी हामी स्वयम् सक्षम हुँदाहुँदैपनि शिशुकालागि आफूपनि शिशुवत् व्यवहार गरेर आनन्दित हुन्छौं त्यसरीनै भगवान्पनि हाम्रानिमित्त हामी सामान्य जनजस्तै बनेर अवतरित हुनुभई हाम्रैजस्तो परिस्थितिबाट हामीलाई शिक्षा दिनुहुन्छ । हो विशेष कहिँनकहिँबाट उहाँको विशेषता प्रष्टिइहाल्छ र मान्छेको भीडबीचबाट ईश्वरीय अवतारको पहिचान स्पष्टसँग छुट्टिइहाल्छ । अस्तु ।
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित

Comments: Post a Comment



<< Home

This page is powered by Blogger. Isn't yours?