Sunday, January 22, 2006

 

आम्दानीको सदुपयोग

स्पेसटाइम दैनिक वर्ष २ अंक २५१, वि.सं. २०५९ असार २९ शनिवार पेज नं. ६ मा प्रकाशित

जनसंख्याको ठूलो हिस्सा बेरोजगारी वा अर्धबेरोजगारीको समस्याले पीडित भइरहेको स्थिति छ हाम्रोमा एकातिरभने अर्कातिर आम्दानी गर्न सक्नेहरुले त्यसको सदुपयोग गर्न नसकिरहेको स्थिति पनि छँदैछ । आर्थिक फाइदाकोलागि जेपनि गर्ने र त्यसरी उपार्जित धनलाई जेमापनि खर्चने प्रवृत्तिले धेरैजनालाई ग्रसित पारेको यथार्थता पनि हाम्रै सामुन्ने नभएको होइन । हाम्रा धर्मशास्त्रले आम्दानीको प्रकि्रया पवित्र हुनुपर्ने पक्षमा त जोड दिएका छन् नै; साथमा आम्दानीको सदुपयोग गर्नपनि सिकाएका छन् ।
मनुष्यको अधिकार केबल त्यतिमात्र धनमा छ जसबाट उसको भोक मेटियोस्; त्योभन्दा बढीलाई जसले आफ्नो मान्दछ त्यो चोर हो र दण्डको भागी हुन्छ अर्थात् संस्कृत भाषामा- यावद् भि्रयेत जठरे तावत् स्वत्वं हि देहिनाम् । अधिकं योऽभिमन्येत स स्तेनो दण्डमर्हति ॥ भनेर श्रीमद्भागवतमा भनिएको छ । धन कमाउने लालसा नबढाउन; अनि अन्याय गरी सम्पत्ति आर्जन नगर्न सचेत समेत गराइएको छ । अन्याय गरेर कमाएको धनले कसरी असल काम हुन्छ र त्यस्तो धनले न यो जन्ममा कीर्ति रहन्छ न त परलोकमा असल फल दिन्छ अर्थात् संस्कृत भाषामा- अन्यायोपार्जितो नैव द्रव्येन सुकृतं कृतं । नकीर्तिरिहलोकेच परलोकेच तत्फलं ॥ भनेर सद्मार्ग अवलम्बन गर्न प्रेरणा दिएइको त हो नि ! वेदमा मनुष्य जीवनको चार मुख्य लक्ष्य धर्म अर्थ काम मोक्षमा ुअर्थुलाई पनि स्थान दिइनुको तात्पर्य जीवनमा अभाव नहोस् समृद्धि होस् सुख होस् भन्ने हो र यसको प्राप्ति एवम् उपभोग प्रकृया पवित्र होस् भन्नेमा विशेष जोड दिइएको छ ।
सम्पत्ति प्राप्त गर्न सक्नुमात्र ठूलो कुरा होइन; आर्जित सम्पत्तिलाई सदुपयोग गर्न सक्नु झन् महत्वको कुरा हो । धनको सदुपयोग गर्न नसकिएमा त्यहीनै विष पल्टिनपनि केही बेर हुँदैन । सम्पत्तिको सदुपयोग कसरी गर्ने त भन्ने सम्बन्धमा पनि हाम्रा महर्षिहरुले विधान गरेकै छन् । हुनपनि हाम्रा धर्मशास्त्रहरुमा यति व्यापक दृष्टिकोण छकि तिन्को दृष्टिमा नपरेका विषय छँदैछैनन् । यस सन्दर्भमा वेदव्यासको भनाइ छ- धर्मार्थ यशसेऽर्थाय कामाय स्वजनाय च । पंचधा विभाजन् वित्तं इहामुभ च मोदते ॥ अर्थात् आम्दानी भएपछि त्यसलाई पाँच भागमा विभाजन गर्नु पर्दछ र त्यो धनलाई पाँच किसिमका कार्यहरुमा खर्चनु पर्दछ । जसमध्ये एक भाग धार्मिक कार्यमा दोश्रो भाग आफ्नो यश कीर्तिकोलागि तेश्रो भाग फेरि धन कमाउनकालागि लगानी गर्ने चौथो भाग घर-गृहस्थीको सुखकोलागि र पाँचौं भाग बन्धु-बान्धव नातागोता लगायत अन्य आशामुखीहरुकालागि छुट्ट्याउनु पर्दछ । यहाँ आफ्नो व्यक्तिगत आवश्यकता पारिवारिक दायित्व देखिलिएर सामाजिक कर्तव्य सम्मको ख्याल राखिएको छ ।
यहाँ त कसैका नाममा खरबौं सम्पत्ति ब्याङ्क ब्यालेन्स हुने; यता कसैलेचाहिँ आधारभूत मानवीय आवश्यकता समेत परिपूर्ति गर्न नसक्ने ! भनिन्छकि विश्वका २० प्रतिशत मानिसले संसारको ८० प्रतिशत साधनस्रोतमाथि कब्जा जमाएका छन् । हलिउडमा बन्ने एउटा सिनेमाको बजेट जति हुन्छ त्यति बजेट एउटा सिङ्गो देशको समेत नभएको अवस्थाका देशहरु संसारमा धेरैओटा छन् । अमेरिकाले शस्त्रास्त्रकालागि जति बजेट छुट्ट्याउँछ त्यति रकम लगानी गरिदिने होभने संसारमा कोही पनि भोको रहनुपर्ने थिएन । चीन भारत र पाकिस्तानले शस्त्रास्त्रको होडबाजीमा खर्चिरहेका रकम शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा खर्चिदिएको भए …॥ !
एउटा रिपोर्टमा भनिए अनुसार विश्वमा प्रत्येक वर्ष लाखौं टन खाद्यान्न समुद्रमा फालिन्छ ताकि अर्को वर्षको अर्थतन्त्र सन्तुलित नै रहोस्; र त्यतिनै बेला नेपालका हुम्ला देखिलिएर सोमालिया सम्मका कतिपय स्थानमा भोकमरी चलिरहेको हुन्छ । कहाँ हाम्रो वेदको सन्देश सहनौ भुनक्तु अर्थात् मिलेर भोजन गरौं; अनि कहाँ यो चाला ! अन्यत्रको के कुरा सार्कको खाद्यान्न भण्डारमा अन्न कुहिरहेको समाचार आइरहँदा सार्क राष्ट्रका कति नागरिक भोकले आकुलब्याकुल भइरहेका स्थिति हाम्रै सामुन्नेमा छँदैछ नि ।
एक पुरिया जीवनजल खान नपाएर कसैको ज्यानै जाने र कसैलेचाहिँ व्युटिपार्लरमा मात्र लाखौं खर्चने अवस्थालाई कुनै पनि मानवीय कोणबाट सही मान्न सकिँदैन । यो आम्दानीको सदुपयोग हुँदापनि होइन । सम्पत्तिको सदुपयोग त त्यतिखेर हुन्छ जबकि त्यो कसैको जीवनको आधार बन्न सक्दछ । त्यही भएर त व्यासजी भन्नुहुन्छकि आम्दानीलाई पाँच भाग लगाऊ र तीमध्ये एक भाग धार्मिक कार्यमा दोश्रो भाग आफ्नो यश कीर्तिकोलागि तेश्रो भाग फेरि धन कमाउनकालागि लगानी गर्ने चौथो भाग घर-गृहस्थीको सुखकोलागि र पाँचौं भाग बन्धु-बान्धव नातागोता लगायत अन्य आशामुखीहरुकालागि छुट्ट्याउनु पर्दछ । संसारका प्रत्येक मान्छेले यस्तो गरिदिनेहोभने कहाँ रहन्छ गरिबी कहाँ बस्न पाउँछ असमानता कहाँ हुन्छ भोक किन हुन्थ्यो युद्ध यदि व्यासजीको विधान अनुसार मानव चल्ने होभने कोही व्यक्तिले संसारका उत्तम भन्दा उत्तम सुख-सुविधा प्राप्त गर्ने र कोही व्यक्तिलेचाहिँ पशुभन्दापनि तुच्छस्तरको जीवन निर्वाह गर्नुपर्ने अहिलेको स्थिति हटी सर्वत्र समता सुख शान्ति आनन्द हुनेथियो । तब त आउँछ रामराज्य । यही हो सत्ययुगको आधारशीला । अस्तु ।

Saturday, January 21, 2006

 

धर्म अर्थात् जीवन-पद्धती

स्पेसटाइम दैनिक वर्ष २ अंक १३२, २०५८ चैत ३ शनिवार पेज नं. ४ मा प्रकाशित

धर्मलाई अंग्रेजी शब्द रेलिजन (religion) को समानार्थक मानेर अनुवाद गर्ने गरिएतापनि वास्तवमा यो सही अनुवाद होइन । धर्म शब्दको खास अर्थ र रेलिजन शब्दको अर्थमा ठूलो भिन्नता छ । रेलिजनले एउटा सम्प्रदाय वा मजहब मात्र जनाउँछ; यता धर्मचाहिँ व्यापक अर्थ भएको शब्द हो । आरम्भमा धर्म-तत्व एउटै थियो तापनि कालान्तरमा मान्छेले धर्मका नाममा अनेक कर्महरु अपनाउँदै गयो; अनेक रीतिरीवाज विधि-विधान चाल-चलन प्रथाहरु प्रचलित हुँदैगए; अनि धर्मलाई तिनै भौतिक कि्रयाकलापका आधारमा छुट्ट्याउने; खुट्ट्याउने गर्न थाले । देश काल परिस्थितिमा अनेकता हुँदा कर्म रीतिरीवाज विधि-विधान चाल-चलन प्रथा आदि जस्ता भौतिक कि्रयाकलापमा पनि अनेकता आउन थाल्नु स्वाभाविकै भयो । तर जब मान्छेले वास्तविक धर्म-तत्वलाई बिसे्रर पछि विकसित गरिएका भौतिक कि्रयाकलापलाई नै धर्म ठान्न थाल्यो तबदेखिनै मतभेद पनि प्रकट भयो । धर्मको वास्तविक तत्वलाई भन्दापनि यिनै कुराहरुलाई महत्व दिने प्रवृत्तिले धर्मका नाममा संघर्ष शुरु गरायो । संसारमा धर्मका नाममा पटक-पटक िहंसा भड्केको छ; धर्मको निहुँमा मानव-रक्तको खोलो धेरैपल्ट बगेको छ । धर्म सम्प्रदायगत ट्रेडमार्कले छोपिएर मान्छे धर्मको भ्रममा सम्प्रदायगत ट्रेडमार्कमा जकडियो । अहिले त धर्म भन्नासाथ कुनचाहिँ धर्म अनि मेरो धर्म र तेरो धर्म भनेर आपसी लडाइँ मारकाट गर्ने बहाना बनाएका छन् धर्मलाई । यदि मानव समाजले असली धर्म-तत्व आत्मसात् गर्ने होभने धर्मका नाममा हुने गरेका सारा द्वन्दको औचित्य नै रहने छैन । यसकालागि सम्प्रदायगत ट्रेडमार्कको साँघुरो घेराबन्दीबाट उम्किन सक्नु पर्दछ । प्रारम्भमा धर्म-तत्व एउटै थियो; तब अहिले किन हुन सक्दैन अवश्य हुनसक्छ ।
विश्वको सर्वप्राचीन धर्मग्रन्थ ऋग्वेद भएकाले यसमा वर्णित धर्म-तत्वलाई मानव समाजको ुआदिधर्मु मान्नुपर्ने हुन्छ । हुनपनि वेदमा कहिएको धर्म सम्प्रदायगत ट्रेडमार्क भन्दा अलग्गै र सारा मानव-समाजकालागि समानरुपेण लागू हुनसक्ने छ । तसर्थ ऋग्वेद एवं यस परम्पराका विविध धर्मग्रन्थहरुमा वर्णित धर्म-तत्वलाई अवलम्बन गर्नासाथ धर्मका नाममा सृजित सारा समस्याहरु समाधान हुन सक्दछन् । धर्म यस्तो तत्व हो जसका कारणले मनुष्य पशु बन्नबाट जोगिएको छ । अर्थात् धर्मनै यस्तो चीज हो जसका कारण मान्छे अरु पशुहरुबाट पृथक् रहेको छ । धर्म नहुने होभने मान्छे र अन्य पशुबीचमा फरक हुने थिएन । धर्मले मान्छेको आध्यात्मिक आधिदैविक आधिभौतिक अभ्युदय गराउँछ ।
रेलिजनको; मजहबको चक्करमा नपर्ने होभने; तिन्लाईनै धर्म ठानेर भ्रममा नपर्ने होभने व्यर्थ हुनेछन् जेहाद र क्रुसेडहरु । धर्म लडाइँ गर्ने चीज होइन; यो त पवित्र जीवन-पद्धति हो । धर्म शब्द धृ धातु धारणा गर्नुबाट निष्पन्न भएको हो । यसबाट देखिन्छकि धर्मको अर्थ धारणा हो जसले हामीलाई जीवनकोलागि धारणाहरु प्रदान गर्दछ । ती धारणाहरुको फलस्वरुप मान्छेको जीवन पतनबाट बच्दछ । धर्मले हामीलाई नराम्रा काम-कुराबाट बच्ने ज्ञान दिन्छ । धर्मले मानवलाई राम्रा नियम राम्रा गुण असल विचार र दृष्टिकोण अपनाउन भन्छ; अनि नराम्रो काम गर्नबाट रोक्छ । धर्मज्ञानको धेरै भाग नैतिक-चारित्रिक शिक्षायुक्त छ । संसारमा जतिपनि धर्म छन् तिन्को एउटा मुख्य उद्देश्य मानवको चरित्रको उत्थान हो । जस्तोकि ऋग्वेदमा जीवनका शाश्वत मूल्यहरुको स्थापना एवं अवलम्बन गर्न धर्मले प्रेरणा दिन्छ । अनि मनुस्मृतिमा धर्मको लक्षण बताइएको छकि धैर्य क्षमा दम विषय-वासना हटाउनु अस्तेय शौच इंदि्रयनिग्रह धी बुद्धि विद्या सत्य र अक्रोध यी धर्मका दश लक्षण हुन् । यसमा कुनै सम्प्रदायवालाले आपत्ति जनाउनु पर्ने वा अस्वीकार गर्नुपर्ने के छ र ! महर्षि कणाद जब भनिरहेका हुन्छन्कि जसबाट अभ्युदय उन्नति या कल्याण हुन्छ तथा मुक्ति प्राप्ति हुन्छ त्यही धर्म हो यतोभ्युदयनिःश्रेयससिद्धिः स धर्मः -तब कहाँनेर छ विवाद; अस्वीकार गर्नुपर्ने ठाउँ
ऋग्वेदमा भनिएको छकि एक्लै खानेवाला पापी हो र बाँडेर खानेवाला पुण्यभागी हुन्छ धर्म पाउँछ । यस्तो मानवतावादी धारणालाई कुनै सम्प्रदायको भनेर कसैले आलोचना गर्न सक्छ वास्तवमा समस्त विश्वको साझा विश्व-धर्म बन्न वेदद्वारा निर्देशित गरिए अनुरुपको धर्ममात्र सक्षम छ । यदि विभिन्न सम्प्रदायगत ट्रेडमार्कहरुमध्येबाट रोज्नु परेमाचाहिँ जसले वेदको उत्तराधिकार बोकेको छ त्यहीतर्फ हामी फर्कनु पर्ने हुन्छ ।
धर्म अवलम्बन गर्नुको मतलब धर्मका नाममा मारकाट मच्चाउनु वा द्वेष फैलाउनु भनेको पटक्कै होइन । धर्मका नाममा लडाइँ मारकाट िहंसा शस्त्रास्त्रको उपयोग आदि-इत्यादि त राजनीति हो अर्थनीति हो; -धर्मनीति होइन । कहिलेकाहिँ तीपनि आवश्यक पर्लान्; तर तिन्लाईनै धर्म मान्नु गलत हो । धर्मयुक्त जीवनमा तीबाट प्रायः पर रहनु पर्दछ । कर्म रीतिरीवाज विधि-विधान चाल-चलन प्रथा आदि जस्ता भौतिक कि्रयाकलापमा अनेकता भएकै निहुँमा शस्त्रास्त्रको बलमा अरुलाई आफ्नो मतमा तान्न जेहाद र क्रुसेडहरु गर्नु धर्म होइन । एउटा धार्मिक व्यक्तिले अर्को व्यक्तिलाई पनि आफूजस्तै देख्ने हुनाले त्यहाँ परपीडा हुँदैन द्वेष हुँदैन क्रोध हुँदैन झै-झगडा र मारकाट हुँदैन िहंसा हुँदैन । परोपकार उसको जीवनको स्वाभाविक कर्म हुन्छ । सर्वे भवन्तु सुखिनःको भावनाले भरिपूर्ण हुन्छ धार्मिक व्यक्ति । धर्म मानवताको उच्चतम स्वरुप भएकाले वसुधैव कुटुम्बकम्लाई स्वतः आत्मसात् गरेको हुन्छ; हुनुपर्छ । तब कुटुम्ब-कुटुम्ब बीचमा पनि केको युद्ध
अस्तु ।

This page is powered by Blogger. Isn't yours?