Tuesday, January 20, 2009

 

विवेकको आदर

स्पेसटाइम दैनिक, वर्ष २ अंक २१६, वि.सं. २०५९ जेठ २५, शनिवार, पेज नं. ६ मा प्रकाशित
गर्गसंहिताको एक प्रसङ्गमा बडो घतलाग्ने कुरा छ । उक्त प्रसंगमा दुर्योधन भनाइ छकि म 'धर्म'लाई जान्दछु, तर त्यसमा मेरो प्रवृत्ति हुँदैन र 'अधर्म'लाई पनि जान्दछु, तर त्यसबाट मेरो निवृत्ति हुँदैन ("जानामि धर्मं न च मे प्रवृत्तिर्जानाम्यधर्मं न च मे निवृत्तिः ॥ गर्गसंहिता अश्वमेध। ५०।३६) ।
कस्तो विडम्बना ! थाहा छकि गरिरहेको कार्य गलत हो तर त्यसलाई त्याग्नेचाहिँ होइन । कथामा यस्तो समस्या दुर्योधनलाई परेको देखाइएतापनि यस प्रवृत्तिबाट पीडित हुनेहरुको संख्या कति छ कति ! कारण के त समस्या जति जटिल छ कारण त्यति जटिल छैन ।
अधिकांशतः मानिसहरु आफ्नो विवेकको, ज्ञानको अनादर गर्दछन् । कुनै चीज गलत हो भन्ने जान्दाजान्दैपनि त्यसलाई त्याग्न नसक्नु विवेकको, ज्ञानको अनादर हो । कसैले हामीलाई दुःख-कष्ट दियोभने हामीलाई अपि्रय हुन्छ र सुख मिलेमा पि्रय हुन्छ -तरपनि मान्छे बारम्बार अरुलाई दुःख-कष्ट दिइरहन्छ । युद्ध मानव समुदायकालागि त्याज्य छ भन्ने जान्दाजान्दै पनि बारम्बार युद्ध छेडिरहने प्रवृत्ति छ मान्छेमा । शान्तिको कुनै विकल्प छैन भन्ने जान्दाजान्दै पनि अशान्ति मच्चाइरहन्छ मान्छे । अधर्म असत्य अन्याय अपराध आदिमा मान्छेको प्रवृत्ति अज्ञानताको कारणले होइनकि बरु ज्ञानको अनादरको कारणले हो ।
यसबाट मुक्त हुने उपाय नभएको होइन छ । हाम्रा धर्मशास्त्रले ज्ञानप्राप्ति साथसाथै ज्ञानको आदर गर्ने उपाय पनि दिएका छन् । हामी विचार गरौं - यसो हेर्दा मान्छे एउटो छ तापनि ऊभित्र प्रवृत्तिगत हिसाबले थरीथरीका अस्तित्वहरु हुन्छन् । आफूभित्रका थरीथरीका सत्ताहरुमध्ये कुनलाई जाग्रत गराउने र कुनचाहिँलाई संहार गर्ने भन्ने निर्णय त व्यक्तिविशेषको आफ्नै हो ।
मान्छेको सभ्यता विचार स्थापित नैतिक मूल्यमान्यताले ऊभित्रका शैतानी राक्षसी भूताहा तथा पशुवत् मनोवृत्तिलाई निषेध गरेको हुन्छ र ती मेिटंदै गएका पनि हुन्छन् । तर त्यो सम्पूर्णतः मरिसकेको हुँदैन; जबसम्मकि मनुष्यत्वको स्तर बढेर मानव दार्शनिक तथा त्योभन्दा उच्चतर तहमा पुगिसकेको हुँदैन । सामान्य मानिसले पशुवत् वा राक्षसी वा पैशाचिक वा शैतानी प्रवृत्तिलाई निषेध गर्न कि त ऊ त्यस्ता इच्छाहरु जाग्रत हुने परिवेशबाट एकदमै पर रहनु पर्दछ; किचाहिँ मानव जीवनलाई सार्थकता प्रदान गर्ने नैतिक सिद्धान्तको अनुगामी बन्नुपर्दछ । अहिलेको तथाकथित आधुनिकता सभ्यता त यस्तो छ कि पाइला-पाइलामा कुनै पनि व्यक्तिभित्रको शैतान हाबी हुने परिवेश छ । यस्तोबेलामा स्थापित नैतिक मूल्यमान्यतालाई आत्मसात् गर्दै अन्तर्मन देखि नै त्यस्ता प्रवृत्तिका विरुद्ध इमान्दारीपूर्वक आफूलाई सचेत पारिराख्नु नै शैतानियतबाट पिचासप्रवृत्तिबाट बच्ने प्रभावकारी उपाय हो । आध्यात्मिक उज्यालोले हृदय उज्यालिएपछिमात्र बल्ल मानव सही अर्थमा मानव हुन्छ । समस्या मान्छेको भित्र भएकाले उपचार पनि त्यही तहमा गर्नुपर्दछ ।
समस्या एकातिर र समाधानको प्रयास अर्कोतिर भयोभने त्यसको परिणाम सार्थक नहुनु स्वाभाविक हो । निश्चयनै समाजलाई साक्षर/शिक्षित बनाउनु आधुनिकीकरण गर्नु वा कानुनी राज्य हुनु राम्रो कुरा हो । तर यतिले मात्रै हुँदैन- आध्यात्मिक उपचार धार्मिक उपचारले बल्ल समस्याको समाधान गर्न सकिनेछ । मान्छेको प्रज्ञालाई जाग्रत् नगराई; अनि उसले आफ्नो विवेकको आदर गर्ने परिस्थिति नभई मानव समाज सुखमय बन्न सक्दैन ।
प्राचीन भारतवर्षीय ऋषिमुनिहरु एवम् ईश्वरीय अवतारहरुले व्यावहारिक रुपमै प्रमाणित गरिसक्नु भएको छकि आफूभित्रका पशु राक्षस शैतान पिचासलाई संहार गर्न सकिन्छ र आफूमा दार्शनिकत्व देवत्व एवम् ईश्वरत्व जगाउन सकिन्छ । मान्छेभित्रका दार्शनिक तथा यसभन्दा उच्चतर प्रवृत्ति जाग्रत हुननसक्दा पनि कम्तीमा ऊभित्रको मानव ब्युँझदा समाजलाई उन्नति प्रगति विकासपथमा लम्काउन र शान्तिपूर्ण एवम् सुखमय समाजको प्राप्तितर्फ ठूलो फड्को हुनेछ । मान्छेले आफूभित्रको मानवलाई जगाउन आफ्नो ज्ञानको/विवेकको आदर गर्नैपर्दछ । अस्तु ।

Comments: Post a Comment



<< Home

This page is powered by Blogger. Isn't yours?