Wednesday, December 10, 2008

 

इतिहासको शुद्धिकरण

स्पेसटाइम दैनिक, वर्ष २ अंक ३४, २०५८ मंसिर २३, शनिवार, पेज नं. ४ मा प्रकाशित
आर्यहरुकालागि निक्कै महत्व राख्ने उपलब्धि हासिल भएको सन्दर्भमा यसपालि हाम्रो चर्चा केन्द्रित छ । तर कुरोको चुरोमा पुग्नुअघि केही चर्चा आवश्यक छ ।
मानव सभ्यताको विकास कहाँ र कसरी भयो भन्नेबारेमा मतभिन्नताहरु कायमै छन् । सृष्टिको प्रारम्भ कहाँ भएको थियो भन्ने सवालको सर्वमान्य जवाफ पनि अहिलेसम्म अघि आएको छैन । त्यसैगरी भारतवर्षको इतिहास सम्बन्धमा पनि धेरै विवादहरु कायमै छन् । भारतवर्ष सृष्टिको प्रारम्भ भएको महान् भूमि हो र आर्य यहाँका मूलवासी एवं आदिवासी हुन् भन्ने एउटा मत छभने अर्कोचाहिँ आर्यहरु अन्यत्रबाट यहाँ प्रवेश गरेका र यहाँका मूलवासीहरुलाई लडाइँमा जितेर आफ्नो सभ्यता विकास गरेका हुन् भन्ने मत छ । स्पष्ट शब्दमा भन्नुपर्दा सनातन-हिन्दूधर्मका प्राचीन ग्रन्थमा बताइए अनुसार नै हिन्दू धर्मावलम्बीहरु साथै गैर-हिन्दू भएतापनि इमानदार विद्वानहरु के विश्वास गर्छन्भने आर्यहरु भारतवर्षमा कतै बाहिरबाट आएका होइनन् आर्यको जन्मभूमि यही हो । अर्कातिर यस्ता व्यक्ति तथा संस्थापनाहरु छन् जसको उद्देश्य नै भारतवर्षको इतिहास विकृत गर्नु र जसरी हुन्छ हिन्दू-आर्यहरुलाई अपमानित गर्ने दुस्प्रयास गर्नु रहेको छ । निक्कै रोचक कुरा छकि इसाई-मिसनरी, पूँजीवादी साम्राज्यवादी तथा कम्युनिष्टहरु यस सम्बन्धमा एउटै स्याल-हुइँयामा रमाउँछन् । इसाई-मिसनरी, पूँजीवादी साम्राज्यवादी तथा कम्युनिष्टहरुको साझे योगदानले भारतवर्षको ऐतिहासिक तथ्यको दोहोलो काडिएको छ । विश्वका अन्य देशका त के कुरा भारत जस्ता देशमा पनि शैक्षिकक्षेत्रमा इसाई-मिसनरी, पूँजीवादी साम्राज्यवादी तथा कम्युनिष्टहरुले वर्षौं देखि फैलाउँदै आएको स्याल-हुइयाँकै दबदबा छ । हाम्रो देश नेपाल यद्यपि कहिल्यै कसैको उपनिवेश नभएकोमा हामी गर्व गर्छौं तापनि यसबाट मुक्त छैन । फगत् औपचारिक-कागजे-प्रमाणपत्र कमाउने यानेकि पहिले आफू पुरा मुर्ख बनिसकेर अनि अरु थुप्रैलाई मुर्ख बनाउनमा जीवन व्यतित गर्ने प्रमाणित-विद्वान महोदयहरु नै विश्वविद्यालय लगायतका शिक्षानीति निर्धारण गर्ने सम्पूर्ण स्थानमा आसीन भएको अहिलेको अवस्थामा हाम्रो देशमा त्यस्तो स्याल-हुइयाँबाट मुक्त हुनुपर्छ है भन्ने सोंचमात्रैपनि कहिले विकसित हुने हो भविष्यकै गर्भमा छ । तर भारतमा डा. मुरलीमनोहर जोशी जस्ता सत्पात्र मानव-संसाधन विकास मन्त्रालयमा आसिन हुनासाथ भारतवर्षको इतिहासलाई भ्रष्टीकरणबाट मुक्त गर्ने र वास्तविक ऐतिहासिक तथ्यलाई पाठ्यक्रममा राख्ने कार्य आरम्भ भएको छ । एउटा व्यक्ति यदि आफ्नो जिम्मेवारीप्रति इमान्दार र आफ्नो निष्ठामा अविचलित रह्योभने उसले पाएको अवसर सारा समाजका निमित्त हितकारी हुन सक्दोरहेछ भन्ने तथ्यको उदाहरण डा। जोशीजी हुनुभएको छ । यद्यपि जसरी हिजो भारतवर्षको इतिहास तोडमरोड एवम् भ्रष्टीकरण गर्ने बेलामा इसाई-मिसनरी पूँजीवादी साम्राज्यवादी तथा कम्युनिष्टहरु एकगठ भएका थिए उसरीनै भारतमा सेकुलरको खोल ओडेका पाखण्डीहरु आज डा। मुरलीमनोहर जोशीको विरुद्धमा एकजुट भएका छन् । यदि तिनीहरु असफल भएभनेमात्र भारतवर्षको इतिहासको वास्तविक तथ्य प्रकाशित हुनेछ र त्यसको सकारात्मक असर नेपालमा पनि अवश्य पर्नेछ ।
खासगरी उन्नाइसौं शताब्दीको मध्यतिरबाट मानवजातिको ऐतिहासिक अध्ययनमा निक्कै ठूलो मात्रामा गडबडी गरिएको छ । रोयल एशियाटिक सोसाइटीको जन्मसँगै भारतवर्ष हिन्दू धर्म एवम् आर्यका इतिहासमा भ्रष्टीकरण गर्ने कार्य तिनीहरुले योजनाबद्ध तबरले अघि बढाए । त्यो संस्था भारतवर्षीय इतिहास संस्कृति आदिको गलत व्याख्या गर्ने विशेष उद्देश्यका साथ जन्माइएको थियो । यसलाई भारतीय इतिहास र संस्कृतिको अध्ययन-अनुसन्धान गर्ने काम सुम्पिइएको थियो र यसकोलागि खर्चचाहिँ बेहोथ्र्याे - इष्टइण्डिया कम्पनीले । हजुर, त्यही इष्टइण्डिया कम्पनी जसले भारत माथि कब्जा जमाएर यसलाई बेलायतको उपनिवेश बनाएको थियो ।
जतिखेर भारतवर्षीय सभ्यता संस्कृति एवं गौरवसँग इष्र्यालु पश्चिमाहरुले रोयल एशियाटिक सोसाइटी मार्फत् तथा मेकालेको कुख्यात शिक्षानीति मार्फत् कपटी चाल चलेका थिए- त्यतिखेर दुर्भाग्यवश त्यसको सशक्त प्रतिकार गर्ने स्थितिमा हिन्दू-विद्वानहरु भएनन्। अनि उनीहरुको झुट्टा कुरा स्थापित गराइयो । पछि भारतबाट अंग्रेज तथा इसाई मिसनरीहरुको दबदबा घटेतापनि दुर्भाग्यपूर्ण स्थिति कायमै रह्यो किनभने शैक्षणिक संस्थानमा कि त कम्युनिष्टहरुको हालीमुहाली चल्यो अथवा सेकुलरको बर्को ओडेका कांग्रेसीहरुको रजाइँ रह्यो -जसले भोटको लोभले धार्मिक-अल्पसंख्यकहरुलाई अनावश्यक हदसम्म बुई चढाए । खास गरी सन् १९६९मा जब कांग्रेस पार्टी विभाजित भयो र सत्तामा जमिरहनकालागि श्रीमती इन्दिरा गान्धीलाई कम्युनिष्टहरुको समर्थन नभइ नहुने स्थिति आइपर् यो तब श्रीमती गान्धीले कम्युनिष्टहरुसँग लेनदेन गरीन् - परिणाम स्वरुप शैक्षणिक संस्थानमा कम्युनिष्टहरुलाई असाध्य हाबी गराइयो । शिक्षाको बागडोर प्रोफेसर नुरुलहसन जस्ता व्यक्तिका हातमा भएको अवसरलाई पुरा दुरुपयोग गर्दै कम्युनिष्टहरुले भारतवर्षीय इतिहासलाई स्टालिनको आँखाबाट हेरेर यहाँको प्राचीन इतिहास संस्कार संस्कृति तथा सामाजिक तथ्य आदिलाई अपव्याख्या गर्नसम्म गरे । पहिले बंग्याइएका कुरा सच्याउनु पर्नेमा उल्टै झन् नयाँ-नयाँ गलत कुराहरु पाठ्यपुस्तकमा समावेश गराए कम्युनिष्टहरुले । त्यसरी भारतवर्षको इतिहास तोडमरोड एवम् भ्रष्टीकरण गर्ने कार्यमा इसाई-मिसनरी पूँजीवादी साम्राज्यवादी तथा कम्युनिष्टहरुको अस्वाभाविक गठबन्धन रहेको देखिन्छ ।
अहिलेपनि अरु देशका त के कुरा भारत पाकिस्तान बंगलादेश देखिलिएर नेपालमा समेत गलत तथ्य पढाइँदै छकि आर्य भनेको एउटा जाति-विशेष हो; यो भारतवर्षमा अन्यत्रबाट आएको जाति हो; आर्य अर्थात् आजका हिन्दूका पुर्खाहरु सिन्धुघाटीबाट प्रवेश गरेका घुमन्ते लडाकाहरु थिए आदि आदि । इतिहासप्रतिको यहाँभन्दा ठूलो गद्दारी शायदै भेटिएला । तर अब सधैं यस्तै चलिरहनेवाला चाहिँ निश्चय नै छैन । जस्तोकि माथि प्रसंग आइसकेको छकि भारतवर्षको इतिहासलाई भ्रष्टीकरणबाट मुक्त गर्ने र वास्तविक ऐतिहासिक तथ्यलाई पाठ्यक्रममा राख्ने कार्य प्रारम्भ भइसकेको छ । यसै परिप्रेक्ष्यमा थुप्रै विद्वान, पुरातत्वशास्त्री, इतिहासकार, नृ-शास्त्री अनुसन्धान अन्वेषण तथा आविष्करण कार्यमा दत्तचित्त भइरहेका छन् । यसक्रममा यसअघि दबाइएका तथ्यहरु पनि उद्घाटित हुँदैछन् । नयाँ-नयाँ तथ्यहरु प्रकाशित भइरहेका छन् । यस लेखको शुरुमै भनिएको कुरोको चुरो यहीँनेर छ ।
हालै प्रकाशित तथ्यानुसार हरप्पाको सभ्यता यसअघि धुवाधार तवरले प्रचारित गरिएझैं गैर-आर्य-सभ्यता नभएर आर्य-सभ्यता हो । अलिगढ मुस्लिम विश्वविद्यालयका विद्वान प्रोफेसर एम. डी. एन. साहीले इण्डियन काउ_िन्सल अफ हिस्टोरिकल रिसर्च अन्तर्गत गरेको अन्वेषणबाट यो तथ्य प्रकाशित भएको हो । साथै केपनि प्रकाशित भएको छभने हरप्पाको सभ्यता भन्दापनि पुरानो प्रारम्भिक सभ्यता उत्तर प्रदेशमा रहेको थियो- जसको विकसित स्वरुप नै हरप्पाको सभ्यता रहेछ । यसरी नयाँ तथ्य प्रकाशित भएपछि यसअघि गढिएका काइते इतिहासको आधारमा पहिरो गएको छ । किनकि नव-प्रकाशित तथ्यले आर्य अर्थात् आजका हिन्दूका पुर्खाहरु सिन्धुघाटीबाट प्रवेश गरेका घुमन्ते लडाकाहरु थिए; भारतवर्षमा बाहिरबाट आएका आक्रमणकारी थिए भन्नेजस्ता इसाई मिसनरी तथा कम्युनिष्टहरुका दाबीलाई खुइल्याइदिएको छ । हरप्पाको सभ्यता आर्य-सभ्यता भएको एवम् हरप्पा-सभ्यता भन्दापनि पुरानो सभ्यता उत्तर प्रदेशमा रहेको र त्यसैको विकसित स्वरुप नै हरप्पा भएको तथ्य प्रमाणित हुनाले अब स्पष्ट भएको छकि आर्य भारतवर्षका मूलवासी-आदिवासी हुन् र मानव सभ्यता यहीँबाट प्रारम्भ भएर क्रमशः पश्चिमतर्फ सर्दै गएको हो । हिन्दूहरुका निमित्त यस उपलब्धिको ठूलो महत्व छ । तसथ्र लेखको शुरुमै आर्यहरुकालागि निक्कै महत्व राख्ने उपलब्धि हासिल भएको भनिएको हो । यस्ता अध्ययन अन्वेषण अनुसन्धान नेपाली-भूमिमा पनि हुनु जरुरी छ र यदि हुनसकेमा त्यसको परिणाम हाम्रालागि यशस्कर हुने निश्चित छ ।
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित

Comments: Post a Comment



<< Home

This page is powered by Blogger. Isn't yours?