Wednesday, November 05, 2008

 

वास्तविक साम्यवादको बाटो

स्पेसटाइम, वर्ष १ अंक २५५, २०५८ असार ३० शनिवार, पेज नं. ७मा प्रकाशित
साम्यवाद, कम्युनिज्म शब्द आउनासाथ कार्लमार्कसलाई सम्झने प्रचलन देखिन्छ । आफूलाई मार्कसवादका अनुयायी बताउने कम्युनिष्टहरु संसारभरिनै छरिएका छन् । त्यतिका वर्षदेखि साम्यवाद साम्यवाद चिच्याइरहे तापनि उनीहरुको साम्यवादको कहिँकतै साइँशब्द सुनिँदैन । कम्युनिष्टहरुको साम्यवाद एउटा त्यस्तो लक्ष्य साबित भएको देखिन्छ जो न यसअघि हासिल भएको छ न त भविष्य नै सुनिश्चित छ । अर्कातिर मार्कसवादकै जगमा उभिएको तर आफूलाई कम्युनिष्ट भन्न नरुचाउने र प्रजातान्त्रिकसमाजवादी भन्न मन पराउनेहरुको प्रजातान्त्रिकसमाजवाद पनि छेउटुप्पो नमिलेर बसेको छ र अब यसबाट आशा गरिरहने ठाउँ छैन । सामन्तवाद पूँजीवादजस्ता प्रणाली पनि मानवसमाजका निमित्त अग्राह्य साबित भइसके वा हुँदैछन् । सामन्तवाद हराइसक्नलाग्यो भने पूँजीवादको पतन अवश्यम्भावी छ । इस्लामी शरियतका आधारमा संचालित हुने कठमुल्लावादी शासन तथा इसाई मठाधिश पोपका स्वेच्छाचारी शासन पनि मानवसमाजलाई उपयुक्त नभएको देखिसकियो । यस्तो अवस्थामा सर्वोत्कृष्ट प्रणाली के हुनसक्छ भन्ने विचार विमर्श आवश्यक भइसकेको छ । र खुशीको कुरा के भने त्यस्तो प्रणालीको आधार हामीसँग छ । त्यो उत्कृष्ट प्रणालीकासाथ सही नेतृत्वपनि दिएर नेपाललाई विश्वको आशाको केन्द्र बनाउन सक्छौं हामी ।
वास्तविक साम्यवादलाई हामी रामराज्य भन्न मन पराउँछौं । रामराज्य को पनि उच्चतर स्वरुपलाई हिन्दूधर्मशास्त्रहरुको सत्ययुग भनेकाछन् । मानवसमाजको परमलक्ष्य परमप्राप्ति सत्ययुग हो । यतिबेला म रामराज्यकाबारेमा केही चर्चा गर्न चाहन्छु ।
रामराज्यको चर्चा गर्दा भनिन्छ कि भगवान् श्रीरामले शासकका रुपमा एघार हजार वर्षसम्म राज्य गर्नुभयो । यसको अर्थ के हो भने उहाँले बनाउनुभएको नियमानुसारको लोककल्याणकारी राज्यव्यवस्था जम्मा एघार हजार वर्षसम्म प्रभावी रह्यो र त्यसपछि मानव समाजको दुर्भाग्यले त्यसको ठाउँमा अन्यप्रकारका राज्यव्यवस्थाहरु अगाडी आए । त्यो वास्तविक साम्यवादको आयु एघार हजार वर्षमात्रै रहनुले मानवसमाजको लागि निराशाको संचार हुनुपर्ने म देख्दिनँ । त्यो प्रणाली त एक उत्तम आदर्शका रुपमा रहेर हामीलाई निरन्तर यात्रारत रहन प्रेरणा प्रदान गर्ने चीज भएको छ । अझैसम्म पनि लोककल्याणकारी राज्यको सर्वाधिक सफल स्वरुप रामराज्य नै हो । अब त झन् नयाँ किसिमबाट रामराज्यको सिको गरेर यसलाई अझ उत्तम बनाउन सकिन्छ । भगवान् श्रीरामको पालाकै जस्तो हुबहु अपनाउने कुरा असंभवप्रायः छ भन्नेकुरा मलाई थाहा छ । हामीले त्यसलाई त उदाहरण वा जाँचपरख गर्ने कसीका रुपमा स्वीकार गरेका हौं यानेकि कस्तो भन्ने सवाल आउँदा रामराज्य जस्तो भन्ने धारणा प्रष्ट होस् भन्ने हामीले चाहेकाछौं ।
भगवान् श्रीराम तथा उहाँबारेमा जान्नकानिम्ति वाल्मिकीरामायण नै भरपर्दो श्रोत हो । हामी देख्नसक्छौं वाल्मिकीरामायण तथा अन्य जतिपनि ग्रन्थमा श्रीरामबारेमा लेखिएको छ तिन्ले उहाँको जीवनको छोटो कालखण्डकोमात्रै चर्चा गरेकाछन् । विद्वानहरु भन्छन् कि श्रीरामको शुभविवाह सत्ताइस वर्षको उमेरमा भएको थियो । त्यसको केही समयपछिनै उहाँलाई चौधवर्षकालागि वनबास जानुपर्यो । वनबासको समाप्तिपछि राजिसंहासनारुढ हुन पाउँदानपाउँदै सीताजी परित्यागको घटना घटित भयो । यस घटनाको करिब एघार वर्ष पश्चात् अश्वमेध यज्ञ आयोजित गरिएको र त्यही यज्ञका सन्दर्भमा श्रीरामको आफ्ना दुईपुत्र लव कुश तथा धर्मपत्नी सीताजीसँग भेट भएको कुरा रामायणमा उल्लेखित छ । यसपछिको वृत्तान्त त्यति प्रष्ट छैन । यसरी करिब करिब बाउन्न वर्ष जतिको इतिहासमात्र विशेषरुपले वर्णित छ । तब भगवान् श्रीरामले एघार हजार वर्ष शासन गरेको भन्ने आधार के भनेर प्रश्न सोध्न सकिन्छ । हामीले यसको सोझोअर्थमात्रै होइनकि सांकेतिकअर्थ पनि बुझ्नुपर्छ ।
हाम्रा धर्मशास्त्रका संदर्भमा कुनैकुराको निर्णय लिनुअघि हामी निकै सचेत हुनुपर्छ । हामीलाई थाहा छ कि हाम्रा धर्मशास्त्रहरुलाई श्रुति स्मृति भनिन्छ । यसो किन भनेको त जो श्रवण परंपराबाट चल्दैआयो त्यो श्रुति हो । जो स्मरणका आधारमा निरन्तरता पाउनेवाला हो त्योचाहिँ स्मृति हो । यी शब्दहरुले वैदिक शिक्षाप्रणालीबारेमा राम्ररी बताउँछन् । प्राचीन शिक्षापद्धतिमा ज्ञानको पुस्तादरपुस्ता हस्तान्तरण गर्दा कुनै लिखित दस्तावेजको जरुरत पर्दैनथ्यो किनकि गुरु शास्त्रको प्रकाण्ड ज्ञाता हुन्थ्यो र उसलाई शास्त्र कण्ठस्थ हुन्थ्यो । गुरुले चेलालाई प्रदान गरेको शिक्षा चेलाले उत्तिकै प्रामाणिकतवरमा कण्ठस्थ पारेको हुन्थ्यो र अर्को पुस्तामा हस्तान्तरण गथ्र्यो । यसरी श्रवण तथा स्मरणको परंपराबाट शास्त्रहरु पुस्तौं पुस्तासम्म निर्बाधरुपमा जान्थे । समयक्रममा त्यो महान् गुरुकुलीय शिक्षापद्धति क्षीण हुँदैगयो । यसरी क्षीण हुने क्रममा शनैः शनैः शास्त्रका स्वरुपमा पनि विकृति आउने संभावना रह्यो । खासगरी भारतवर्षमा बाहिरबाट बारम्बार आक्रमण भइरहने भएकाले समाजको अमनचैन खल्बलिइरहने स्थिति थियो । युद्धका कारण गुरुकुलको व्यवस्थापन ठीक नहुने र त्यसक्रममा शास्त्रको पठनपाठन चल्न नसक्ने हुँदैजाँदा शास्त्रनै विलुप्त हुने खतरा महशुश गरिएपछिचाहिँ शास्त्रहरुको लिखित स्वरुपको आवश्यकता बोध भयो । विद्वानहरुले देखेकि नयाँपुस्तामा स्मरणशक्ति ह्रासोन्मुख छ । यसकारणपनि शास्त्रहरुको लिखित स्वरुपको आवश्यकता झन् महशुश गरिएको थियोहोला । जे होस् तब लिखित स्वरुपमा आए हाम्रा धर्मशास्त्रहरु । श्रुति स्मृतिको परम्पराबाट लेखन परम्परासम्म आइपुग्दा बीचमा अनेक आरोह -अवरोह झेल्नु परेको छ तिन्ले । पाण्डुलिपि लेखकका आग्रह -पूर्वाग्रहवश अथवा बुझ्नेहरुका आआफ्नै शैलीले एउटै शास्त्रकापनि विविध टीका तथा भाष्य प्रचलनमा आए र आउँदैछन् । यस्तो परिप्रेक्ष्यमा हाम्रा धर्मशास्त्रहरुकोबारेमा निर्णय गर्नु कठिन कार्य हो । तर यो पूर्णतया असंभवचाहिँ छैन ।
भगवान् श्रीरामको जीवनी तथा उहाँको सिद्धान्तबारेमा बुझ्न निश्चयनै रामायणबाट ठूलो सहयोग प्राप्त हुनेछ तर फगत् बौद्धिक तर्कवितर्क वादविवाद गोष्ठीले त्यसको सही स्वरुप प्रष्टिनेवाला छैन । औपचारिक शैक्षिक योग्यताको बलमामात्र शास्त्रको मर्म बुिझंदैन । अहिलेको विडम्बना यही हो कि कागजे प्रमाणपत्रका प्रमाणित खोस्टो लिएको भरमा शास्त्रको अपव्याख्या गर्नेहरु परम्पराको अन्धविरोध गर्नेहरुको डाँको नै चर्को छ । तिन्को दुराग्रही जालोबाट मुक्त भएर सत्यताको बोध गर्नासाथ रामराज्य को वास्तविक स्वरुप थाहा लागिहाल्छ र हामीले भनेको वास्तविक साम्यवाद को स्वरुप बुझ्नपनि सहयोग पुग्नेछ ।
अब हामी विचार गरौं कि रामायणमा एकातिर भगवान् श्रीरामले एघार हजार वर्ष राज्य गरेको उल्लेख गर्नु अर्कातिर करिब करिब बाउन्न वर्षको घटनाक्रमको मात्र विस्तृत चर्चा हुनु यसको के रहस्य छ यसमा गूढ रहस्य छ । म उदाहरणबाट यसलाई प्रष्ट्याउन चाहूँला । कुनै दुईवटा गाउँ छन् जसमध्ये एउटा गाउँमा दोहोरो भीडन्त भई मान्छेहरु मारिए र अर्कोमाचाहिँ सबैजना मिलेर खेत रोपी थाकेका हुनाले आरामसँग सुतेभने भोलीपल्ट साचारमाध्यमहरुले कुन गाउँको चर्चा गर्लान् पक्कैपनि त्यही गाउँको चर्चा गर्छन् जहाँ मान्छेहरु मारिए । हामीले देखेजानेकै कुरा हो यो कि विश्वमा ती ती देश वा क्षेत्र चर्चामा हुन्छन् जहाँ जहाँ अशान्ति छ िहंसा छ तर ती ती देश वा क्षेत्र समाचार बन्दैनन् जहाँ शान्ति छ अमनचैन छ । केही वर्षअघिसम्म विश्वसाचारमाध्यममा नामनिशाना देख्न मुश्किल पर्ने हाम्रो देश अस्वाभाविक घटनाक्रमहरुपछि विश्वसाचारमाध्यममा छाएको हामीले देखेकै छौं । यसबाट प्रष्ट हुन्छकि मेडिया मा ती कुराहरु नै आउँछन् जुनचाहिँ सनसनीपूर्ण हुन्छन् । यो त मान्छेको शाश्वत प्रवृत्ति हो कि केही अस्वाभाविक वा अनौठो वा विशेष कुरालाई नै ऊ महत्व दिन्छ । भगवान् श्रीरामको जीवनवृत्तका संदर्भमा पनि यो लागू भएको छ र रामायणमा ती ती प्रसंगहरु नै खासगरी वर्णन गरिएकाछन् जसमाकि लोक आकर्षण छ र काव्यिक चमत्कार देखाउने ठाउँ छ । अर्थात् जुन सनसनीपूर्ण अस्वाभाविक अनौठो छ त्यसको बयान गर्नमा रुचि देखाइएको छ त्यहाँ । रामले रावणलाई संहार गरेको कुरामा जुन रोचकता छ काव्यिक चमत्कारी देखाउने जुन मौका छ रामराज्यमा प्रजा सुखी थिए भन्नमा कहाँ छ सुखी थिए त कुरा सकिइहाल्यो नि । रामले वानर र भालुलाई लिएर लडाइँ पो कसरी गरे हुनन् वा हनुमानले समुद्र कसरी तरे यो पो छ उत्सुकताको कुरा । श्रीरामको पाउ पर्नासाथ एउटा ढुंगा मान्छेमा रुपान्तरित भई अहल्या उद्धार भएको कुरामा जुन कौतुकता छ रामराज्यमा सर्वत्र शान्ति थियो भन्ने कुरामा भेट्टाउँदैन मान्छेले ।
शान्ति थियो त थियो त्यसको पनि के बयान हो यही मानवीय स्वभावका कारण रामायणमा करिब बाउन्नवर्षे जीवनप्रसंग नै विशेष बयान गरिएको हो भन्ने बुझ्न सकिन्छ । पछि त श्रीरामको जिन्दगी साथै सारा रामराज्य नै सुख शान्ति आनन्दमय भएकोहुँदा काव्यिक चमत्कारी देखाउने कुरै कहाँ रह्यो र मदिराको स्वादको बयान गरिएका सयौं कविता भेटिन्छन् तर पानीको स्वाद बयान गरिएका कविताहरु खोइ त यी कुराहरुले प्रष्ट हुन सकिन्छ कि रामायणमा करिब बाउन्न वर्षकोमात्रै विशेष बयान गरिएको भए तापनि रामराज्य चाहिँ पुराकापुरा एघार हजार वर्ष चलेको थियो भनेर मान्न नसकिने होइन सकिन्छ ।
तर हामीले हेक्का राख्नैपर्छकि भगवान् श्रीरामलाई मर्यादापुरुषोत्तम भनिएको तथा रामराज्यलाई वास्तविक साम्यवादको कसी एवं आदर्श शासनप्रणाली मानिएको यसकारणले होइनकि उहाँले रावणलाई संहार गर्नुभयो र अरुपनि अनेकौं निशाचर राक्षसहरुलाई मारिदिनुभयो । विजयी शासक भएकै कारणलेमात्र उहाँको बखान गरिएको हो भन्ठान्नेहरु मूर्ख हुन् भन्नेकुरामा मलाई रत्तिभर शंका छैन । मार्ने काट्ने जस्ता कार्य त्यत्रो सुयशका कार्य होइनन् । नरसंहार क्षमतालाई महानता मानिने भए त तैमुर बाबर औरंगजेब जस्ता खुनीहरु पोलपोट चाउचेस्कु जस्ता जनहत्याराहरु तथा कंस रावण हिरण्यकशिपु जस्ता िहंस्रकहरु नै महान् मानिने थिए । त्यस्तो हुँदैन । भगवान् श्रीरामलाई सम्मान गर्नुको कारणलाई सही तवरमा बुझ्नु जरुरी छ । रावणबधपश्चात् उहाँले कहिल्यै शस्त्रास्त्र उठाउनुभएको पाइँदैन । रावणबध अघि उहाँले ती आततायीहरुलाई सफाया गर्नु भएको थियो जो समाजका निम्ति खिल वा ट्युमर थिए । क्यान्सरको उपचार गर्दा ट्युमर काटेकोमा डाक्टरलाई गाली गर्न मिल्दैन । रावणबधपश्चात् श्रीरामले उसका जीवित अनुयायीहरुलाई बलपूर्वक होइन आत्मिक रुपान्तरण अथवा भावनात्मक परिवर्तन बाट तिनीहरुलाई आफ्ना अनुयायी बनाउनुभयो । तब के भयो भने संसारभरि शान्ति सुव्यवस्था कायम भयो शोक सन्ताप मेटिएर सबै सुखी भए । भोक रोग भय आदिबाट समाज मुक्त भयो । त्यहाँ कोही दरिद्र थिएन सबकासब समृद्ध । आफ्नो कर्तव्य पालन गर्नबाट कोही च्यूत थिएन । चोरी ठगी गुण्डागर्दीको समस्या थिएन रामराज्यमा । मान्छेमा इमान्दारी यति थियो कि तालाचाबीको प्रचलन नै थिएन । राज्यलाई प्रहरी र सेनाको बलमा चलाइएको थिएन स्थापित नैतिक मूल्यमान्यता ले निर्देशित भएर समाज गतिशील थियो । सबै गुणवान् थिए सबै शिक्षित थिए र कसैको कसैप्रति द्रोह वैरभाव थिएन । कोही धनी र कोही गरिब हुने अहिलेकोजस्तो अन्यायपूर्ण स्थिति थिएन रामराज्यमा । कुनै विषमता थिएन । एक राजघाट थियो जहाँ भगवान् राम देखि लिएर ऋषिवर वशिष्ठ अनि ब्राह्मण क्षत्रिय वैश्य शुद्र एकसाथ स्नान गर्दथे । मजदुर पनि थिए किसान पनि थिए कर्मचारी पनि थिए तर यो विभाजन कामकालागिमात्र थियो । एउटा मजदुरले पनि त्यत्तिकै मान पाउँथ्यो जतिकि एउटा उच्चपदस्थ अधिकारीले । एउटा शुद्र पनि त्यत्तिकै संमानित थियो जतिकि एउटा ब्राह्मण । प्रत्येक मजदुर प्रत्येक किसान उत्तिनै धनी थियो जतिकि महाराजाधिराज श्रीराम ।
यसहदको समानता केबल आध्यात्मिक साम्यवाद मा मात्र सम्भव छ । माक्स्रवादी कम्युनिज्म वा प्रजातान्त्रिकसमाजवादी भनिने व्यवस्थामा समानता फगत् नारामा मात्रै चर्को हुन्छ काम र कुराबीचमा तालमेल हुँदैन त्यहाँ । रामराज्यमा समानता व्यवहारमै लागू भएको थियो । कम्युनिष्टहरुले भन्ने साम्यवाद यानेकि कम्युनिज्ममा आध्यात्मिकताको निषेध गरिएकाले त्यो अन्धभौतिकतावादी त्रासदीमा पतन हुने स्थिति सदा विद्यमान हुन्छ । माक्स्रवादी कम्युनिज्म न यसअघि सफल भएको छ न त भविष्यमा सफल हुने सुनिश्चितता छ । प्रजातान्त्रिकसमाजवादी भनिने व्यवस्थाको कुरो पनि न यसअघि सफल भएको छ न त भविष्यमा सफल हुने स्थिति नै देखिन्छ । रामराज्य त सफलतापूर्वक एघार हजार वर्ष साचालित भइसकेको छ । एकचोटी सफलतापूर्वक साचालित भइसकेको रामराज्य अर्थात् वास्तविक साम्यवाद को पक्षधर नबनेर माक्स्रवादी कम्युनिज्म प्रजातान्त्रिकसमाजवादी भनिने व्यवस्था आदिको पक्षधर बन्नु मूर्खता हो र दुर्भाग्यजनक हो । राम र रावणबीचको संघर्ष त्यस्ता दुई शक्तिबीचको संघर्ष थियो जसमध्ये एउटाले उज्यालोको प्रतिनिधित्व गर्नुभएको थियो र अर्कोचाहिँले अँध्यारोको प्रतिनिधित्व गरेको थियो । उज्यालोले अँध्यारोलाई परास्त गरेरै छाड्ने शाश्वतसत्य अनुरुप रामको विजयश्री त अवश्यम्भावी थियो । सोही शाश्वतसत्य अनुरुप हाम्रो विजय पनि निश्चित छ ।
हिन्दूधर्मशास्त्रहरुमा वर्णित सत्ययुग तथा रामराज्य भन्दा उत्तम प्रणाली अर्को कुनै छभने उदाहरण दिनका निम्ति म चुनौती दिन्छु । हिन्दूधर्मशास्त्रहरुमा वर्णित सत्ययुग तथा रामराज्य भन्दा उत्तम अर्को प्रणाली छँदैछैन । तसर्थ हामी यसको पक्षधर बन्नु नै सही निर्णय हो । मानव समाजलाई अहिलेकोअहिल्यै सत्ययुग तथा रामराज्य मा पुर्याउन सकिहालिन्छ भन्ने दाबी मैले गर्याछैन । तर हाम्रो लक्ष्य निर्धारण गर्नेबेलामै हामीले चाहेको व्यवस्था कस्तो भन्ने सबालमा स्पष्टताकालागि सत्ययुग तथा रामराज्य जस्तो भन्ने धारणाले हाम्रो बाटो सुगम हुनेछ भन्ठान्छु म ।
रामराज्यको एघार हजार वर्ष भनिएकोलाई विविध किसिमले बुझ्न सकिन्छ । यदि श्रीरामलाई साक्षात् ईश्वरियअवतार मान्ने हो भने उहाँ एघारहजार वर्षसम्म यस संसारमा जीवित रहेर राज्य संचालन गर्नुभएको अर्थ स्वीकार्य हुनसक्छ । यदि साक्षात् ईश्वरियअवतार नमान्ने हो भनेपनि यति कुरा नमान्नुपर्ने कुनै कारण छैनकि उहाँको मार्गनिर्देशक सिद्धान्तअनुसारको व्यवस्था एघारहजार वर्षसम्म कायम रहन सफलभएको थियो । यति लामो समयावधिसम्म सफलतापूर्वक संचालित व्यवस्था अर्को छैन ।
अहिले बिनाकुनै सोँचविचार हाम्रो धर्म संस्कृति परम्परा रिति स्थापितनैतिकमूल्यमान्यता आदिउपर जथाभाबी बकबकाउनेहरु छ्याप्छ्याप्ति पाइन्छन् । ती षठहरु भगवान् श्रीराम उपरपनि आरोप लगाइदिन्छन् । उनीहरुले आरोप लगाउने आक्षेप गर्ने आलोचना गर्ने विषयहरु सीताजी -त्यागको प्रसंग शम्बूकबधको प्रसंग आदि नै हुन् । भगवान् श्रीराम उपरपनि आरोप लगाउन बाँकी नराख्नेहरुमध्ये कतिपय पढेका मूर्खहरु छन् कतिचाहिँ श्यालहुइयाँको पछिलागेर बुझ्नुनसुझ्नु बर्बराउनेहरु छन् अनि कोही सिल्लीहरु भगवान् श्रीरामको विरोध गरेपछि कतैबाट जुठोपुरो झरिहाल्छकि भनेर बतुराउँछन् र कोहीचाहिँ भगवान् श्रीरामसँग वैरभाव राख्ने खलपात्रहरुपनि छन् । हुनपनि हो अँध्याराका पक्षधरहरु उज्यालाका संवाहक प्रति अकारणैपनि वैरभाव राख्छन् । त्यस्ता खलपात्रहरुले हामीलाई पनि आरोप लगाउने आक्षेप गर्ने आलोचना गर्ने साथै सकेको दुःखपनि दिने छन् ।
यहाँनेर एउटा कुरा स्पष्ट हुनुपर्ने छ । रामायण लगायतका हाम्रा ग्रन्थहरु यसरी लेखिएका छन् कि यिन्का सबै कथानकको अर्थ जस्ताकोतस्तै बुझ्यौंभने दिग्भ्रमित भइन्छ । त्यहाँ त लाक्षणिक अर्थ छ आध्यात्मिक रुपक छ । सीताजीको अग्निपरीक्षा सीता -त्याग तथा शम्बूकबध आदि जतिपनि प्रसंग छन् ती आध्यात्मिक रुपक हुन् । पढेका मूर्खहरु श्यालहुइयाँको पछिलागेर बुझ्नुनसुझ्नु बर्बराउनेहरु तथा खलपात्रहरु जब आध्यात्मिक रुपकको अर्थ बुझदैनन् लक्षणाहरुको भेउ पाउँदैनन् तब चिच्याउँछन् कि लौ हेर……॥ रामले सीतालाई यसो गरे ………॥ शम्बूकलाई उसो गरे ……॥ । यी सब फेशनेबल कुरा हुन् र बेतुक छन् । रामचरित्रमा एउटा पक्ष पनि त्यस्तो छैन जसका आधारमा भगवान् श्रीरामको आलोचना गरियोस् उहाँ त वास्तविक अर्थमा मर्यादापुरुषोत्तम हुनुहुन्छ । तसर्थ उहाँले देखाएको बाटो नै हो हामीले अपनाउनुपर्ने । मैले पश्चिम होइन पूर्वतिर उद्घोष गरेर त्यही पथमा आउन आह्वान गरेको छु ।
यदि तपाईं आफूलाई इमान्दार कम्युनिष्ट मान्नुहुन्छभने तपाईंको कर्तव्य हुनआउँछकि वास्तविक साम्यवादको पक्षमा अर्थात् रामराज्यको पक्षमा दह्रोसँग लाग्नोस् । म र मेरा साथीहरुले अवलम्बन गर्नथालेको बाटो नै वास्तविक साम्यवादसम्म पुग्ने बाटो हो । यदि तपाईं हामीसँग हातेमालो आउनुहुन्नभने तपाईंले आफूलाई कम्युनिष्ट भन्नु ढोँग हो पाखण्ड हो ।
यदि तपाईं आफूलाई इमान्दार प्रजातान्त्रिकसमाजवादी मान्नुहुन्छभने प्रजातान्त्रिकसमाजवादले चाहेजस्तो लोककल्याणकारी व्यवस्थापनि म र मेरा साथीहरुले अवलम्बन गर्नथालेको बाटोबाट सुनिश्चित भएकाले हामीसँग हातेमालो गर्नु तपाईंको कर्तव्य हो ।
यदि तपाईं आफूलाई लोकतन्त्रको जनतन्त्रको पक्षधर मान्नुहुन्छभने लोकतन्त्रको जनतन्त्रको सुनिश्चितताको निम्ति सबैभन्दा उत्तम प्रणाली हामीसँग भएकाले हामीसँग हाम्रो महाअभियानमा लाग्नु तपाईंको कर्तव्य हो ।
अनि तपाईं आफूलाई धार्मिक मान्नुहुन्छ भने त झन् रामराज्यको पक्ष लिनैपर्छ । किनकि धर्मले लक्षित गरेको मानव कल्याणलाई व्यावहारिकरुपमै सत्य साबित गर्ने हो भने रामराज्य नै एकमात्र साधन हो । रामराज्य को पक्षधर हुनु तथा सत्य को प्राप्तिका निम्ति जीवन समर्पित गर्नु ठूलो पुण्यको कुरा हो ।
यसरी तपाईं अहिले चाहे जुनसुकै कित्तामा रहेको भएतापनि यदि मानवताप्रति सचेत तथा इमान्दार हुनुहुन्छभने तपाईंले हाम्रो समर्थन गर्नैपर्छ र हामीलाई सहयोग गर्नु तपाईंको कर्तव्य हो ।
म मानवसमुदायलाई त्यही बाटो तर्फ त्यही जीवन तर्फ त्यही सत्य तर्फ अग्रसर गराउन चाहन्छु जहाँ मानवजीवनको सार्थकता छ ।
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित

Comments: Post a Comment

Links to this post:

Create a Link



<< Home

This page is powered by Blogger. Isn't yours?