Saturday, October 18, 2008

 

भक्ति-योग

स्पेसटाइम दैनिक, वर्ष २ अंक ११८, वि.सं. २०५८ फागुन १८ शनिवार, पेज नं. ४ मा प्रकाशित
मान्छेले विवेक त्याग्योभने उसको बुद्धिले उसलाई गलत दिशातर्फ निर्देशित गरिदिन्छ र विवेकहीन बुद्धिले बेलगाम छाडा तवरले बुर्कुसी मार्दै कुन बेला कहाँ पुगेर के उपद्रो गर्ने हो -केही पत्तो हुँदैन । प्राचीनतम धार्मिक ग्रन्थ तथा आधुनिक विज्ञान दुबैथरीले मानवलाई प्राणी जगत्को सर्वोच्च स्थानमा राखेका छन् । मानवसँग भएको बुद्धि तथा विवेकले गर्दानै उसले आफूलाई सृष्टिको सर्वश्रेष्ठ प्राणीका रुपमा पाउन सकेको हो । अन्य प्राणीको तुलनामा मान्छेको चेतनाको स्तर सबैभन्दा विकसित भएको मानिन्छ । तर जस्तोकि माथिनै भनियो यदि मान्छेले विवेक त्याग्योभने उसको बुद्धिले उसलाई गलत दिशातर्फ निर्देशित गरिदिन्छ । जस्तोकि आणविक उर्जासँग खेलवाड गर्न सक्नुमा मान्छेको बुद्धि देखिन्छभने हिरोशिमा-नागासाकीमा आणविक बमको त्रासदीले उसको विवेकहीनता छताछुल्ल हुन्छ । मान्छेले मृगलाई पासोमा पारेर मार्न सक्नुमा उसको बुद्धि त झल्किएला; परन्तु विवेकको कसीमा यो राम्रो कार्य भएन -यो त विवेकहीन कार्य हो । बुद्धिको सही उपयोग नगरेर दुरुपयोग गर्दा मान्छेले थुप्रै गल्तीहरु गरेको छ अपराध गरेको छ र परिणाम स्वरुप आफैले पनि दुःख पाएको छ र अरुलाई पनि दुःख दिएको छ । शक्तिको हिसाबले मान्छेभन्दा धेरै गुना शक्तिशाली प्राणीहरु यस सृष्टिमा नभएका होइनन् । तर पनि आफ्नो बुद्धिका आडमा ती सबमाथि रजाइँ गरेको छ मान्छेले । अरु त अरु स्वयं प्रकृतिसँग समेत पौँठेजोरी खेल्ने लालसाले उत्प्रेरित भइदिन्छ मान्छे । आफ्नो बुद्धिको प्रयोग गरेर निरन्तर परिवर्तनशील संसारका निमित्त आफूलाई सुयोग्य साबित गरेर अघि बढिरहेको छ मान्छे । तर विवेकहीनताले आफ्नै छातिमा बज्रमुक्का प्रहार गर्ने पनि यही मान्छेनै हो । संसारका विभिन्न भू-भागमा मान्छेले मान्छेमाथि मच्चाएको िहंस्रक आतङ्क देख्दा स्पष्ट हुन्छ विवेकको अधिनमा नभएको बुद्धिको करामत ।
मान्छेको विवेकलाई ऊभित्रको चेतनालाई ढाकिदिने तत्वहरु अनेक छन् । अनि उसको विवेकलाई जाग्रत् राख्ने उपायहरु पनि नभएका होइनन् । ज्ञानवान् मनुष्यले विवेकहीनताबाट मुक्ति पाउने हुन्छभने यदि ज्ञान-प्राप्तिमा अपूर्णतानै छभनेतापनि स्थापित-नैतिक-मूल्य-मान्यताको अनुशरण गर्ने होभने धेरै हदसम्म विवेकहीनता माथि विजय प्राप्त गर्न सकिन्छ । अझ अगाडी बढ्दा भक्ति-तत्वको कुरा आउँछ । ज्ञानवान् हुनु निश्चयनै राम्रो कुरा हो; तर भक्तियोग सबभन्दा उत्तम हो । भक्तिमा यस्तो गुण छकि यसको आत्मसातताले मानवलाई तथा उसको जीवनलाई सार्थकता प्रदान गर्दछ । हामीलाई थाहा छकि मानव जीवनको परम लक्ष्य हो- मुक्ति अर्थात् मोक्ष । त्यो मोक्ष प्राप्त गर्ने विभिन्न उपायहरु छन् । तीमध्ये सबैभन्दा सहज उपाय हो- भक्तियोग ।
बुद्धि तथा ज्ञानको आत्यन्तिक लयमा भक्तिलाई प्रतिष्ठित मानिएको छ । हुनपनि बुद्धि तथा ज्ञानद्वारा हामीले कुनै चीजलाई परिक्षण गर्दा त्यहाँ शङ्का पनि हुन्छ द्वेषभाव पनि हुनसक्छ पूर्वाग्रह पनि हुनसक्छ र त्यही कारणले हामी उक्त चीजसँग झन् झन् टाढिन पनि सक्दछौं । हिरण्यकशिपुसँग बुद्धि तथा ज्ञानको कमी कहाँ थियो र ! ऊसँग बुद्धि ज्ञान साथसाथै बल पनि अत्यधिक थियो; थिएन त विवेक थिएन भक्ति थिएन -जसका कारण ऊ दिन-प्रतिदिन ईश्वरीय तत्वप्रति द्रोही तथा द्वेषी बन्दै गयो र शत्रुताको भावनाले विषाक्त हुँदै गयो । रावण पनि बल बुद्धि ज्ञानले सम्पन्न हुँदाहुँदै पनि विवेकहीनताको रोगले ग्रसित हुनालेनै गलत कार्यमा दत्तचित्त हुन पुगेको थियो । यसबाट स्पष्ट हुन आउँछ कि बुद्धि तथा ज्ञान हुँदैमा भक्ति-तत्व प्राप्त हुन्छ भन्ने कुनै निश्चितता ग्यारेण्टी हुँदो रहेनछ । हुन त ज्ञान तथा भक्ति दुबै हुनु; परमात्मा परब्रह्मको तत्वबोध हुनु र त्यसमा परमभक्ति हुनु -यी दुइटै हुन सके त आहाऽऽ ! तर ज्ञान र भक्तिमध्ये कुनै एउटामात्र रोज्नु परेमा अवश्यमेव भक्तिलाईनै रोज्नु पर्दछ ।
परमात्मासँग आत्माको तद्रुपता नै हो मुक्ति । भक्तियोगले हामीलाई त्यही मुक्ति प्रदान गर्दछ । परमात्मा परब्रह्म यस्तो तत्व होइन जोकि परिक्षण वा जाँच-परखबाट भेटिइहालोस् । प्रयोगशालामा बसेर विज्ञानको विद्यार्थीले अ_िक्सजन खुट्ट्याएजस्तो परिक्षण यो होइन । हाम्रो बुद्धि तथा ज्ञान सीमित छभने परमात्मा परब्रह्म चाहिँ असीमित अपरिमित सर्वव्यापी । सीमित ज्ञानको घेरोलाई असीमित अपरिमित सर्वव्यापी स्तरसम्म विकसित नगरी ज्ञानको माध्यमबाट ब्रह्मतत्व-साक्षात्कार हुँदैन । यता भक्तिको बाटो सहज छ सुगम छ । परमात्मासँग साक्षात्कार हेतु भक्तिनै बहुजनका निमित्त सर्वश्रेष्ठ उपाय हो । भक्ति त यस्तो सम्बन्ध-सूत्र हो जसले गर्दा परमात्मासँग आत्माको तार जोडिन्छ । भक्तिको परम् स्वरुप ुपराभक्तिुमा भक्त परमात्मासँग तद्रुप हुन्छ । भक्त अनन्य प्रेमको आनन्दानुभूतिमा सुखी हुन सक्दछ किनकि भक्तिमा अनन्य प्रेम हुन्छ ।

अधिकांशतः मानिसहरु आफ्नो विवेकको अनादर गर्दछन् । कुनै चीज गलत हो भन्ने जान्दाजान्दैपनि त्यसलाई त्याग्न नसक्नु विवेकको अनादर हो । जब विवेकको अनादर हुन्छ तब बुद्धिले गलत बाटो पक्डन्छ -जसको परिणाम मान्छे युद्ध िहंसा द्वेषले विषाक्त हुनपुग्छ । अनि जब मानव बुद्धिले सही बाटो पक्डन्छ तबचाहिँ त्यसले भक्तिको ढोकासम्म डोर् याउँछ मान्छेलाई । केबल ढोकासम्म मात्र; त्यसपछि त बुद्धिको आत्यन्तिक लय हुन्छ र भक्तिले जीवलाई पराभक्तितर्फ लैजान्छ र पराभक्तिले मोक्षसम्म पुर् याउँछ ।
भौतिक जगत्मा हेर्दा भक्तिले मानवलाई मानवतावादी विश्व-दृष्टिकोण आत्मसात् गराउँछ । सनातन धर्म दर्शनको महान् देन यसमा निहीत छ । भक्तिको आत्मबोध भएको मान्छेले सबै जीवलाई ईश्वररुप देख्दछ र उसले यसरी सारा जगत्लाई परमात्म-स्वरुप अनुभूत गर्ने हुनाले वसुधैव कुटुम्बकम्लाई स्वतः आत्मसात् गरेको हुन्छ । अर्को प्राणीलाई पनि आफूजस्तै देख्ने हुनाले त्यहाँ परपीडा हुँदैन द्वेष हुँदैन क्रोध हुँदैन झै-झगडा र मारकाट हुँदैन िहंसा हुँदैन । परोपकार भक्तको जीवनको स्वाभाविक कर्म हुन्छ । सर्वे भवन्तु सुखिनःको भावनाले भरिपूर्ण हुन्छ भक्त । भक्ति-योग त मानवताको उच्चतम स्वरुप हो । आध्यात्मिकताको उज्यालोले हृदय प्रकाशित भएका भक्तहरु मानवताका प्रतिमूर्ति हुन् । अस्तु ।

Comments:
Nice blog on computer programming and others.

We have introduced a new Nepali social bookmarking site goreto.co.cc. Its like other social bookmarking sites like digg and reddit but its targeted on Nepalese where they post articles related to Nepal or of some interest to Nepalese.

You can submit your blog posts, other stores, vote for other stories and do plenty of things. I hope this can help your blog too. So, please join this site http://goreto.co.cc.
 
Post a Comment

Links to this post:

Create a Link



<< Home

This page is powered by Blogger. Isn't yours?