Saturday, March 07, 2009

 

युग चाहन्छ एक चाणक्य

युग चाहन्छ एक चाणक्य
एक विशाल साम्राज्यको संस्थापक सर्वशक्तिमान् व्यक्तित्व भएरपनि 'पर्णकुटी'को बास र सत्तामोहबाट पूर्णतया मुक्त ! उनको एक इशारामा संसारका सब ऐश-आराम वैभव भौतिक सुख हाजिर हुने भएतापनि ती सबलाई त्याग्न सक्ने उनको जीवनचरित देख्दा आश्चर्य लाग्छकि यस्तापनि थिए हाम्रा राजनीतिज्ञ कुनै जमानामा । अहिले त एकादेशको कथा भइसकेको छ ।
आचार्य विष्णुगुप्त चाणक्यको सान्दर्भिकता आजको परिप्रेक्ष्यमा झन् बढेर गएको छ । वास्तवमा यतिखेर हाम्रो समाजको निमित्त चाणक्यको चरित्र अद्भूत आकर्षणको रहेको हामी पाउँछौं । भारतवर्षको शास्त्र-शक्ति र शस्त्र-शक्ति दुबैको पुनरुद्धार गर्ने ती महान् व्यक्तित्वले राजनीति सम्बन्धी सिद्धान्तको प्रतिपादन गर्दै शासन-प्रबन्धको पनि राम्रो मोडेल प्रदान गरेर गएका छन् । अर्थशास्त्र राजनीतिशास्त्र दर्शनशास्त्र कामशास्त्र- प्रत्येक क्षेत्रमा उनको विद्वत्ता अनुपम छ ।
भारतवर्षको विशाल भू-भागमा यवनहरुको साम्राज्य स्थापित भएको र बाँकी भू-भागमा पनि अनेकौं सस्याना राजा-रजौटाहरुको आपसी संघर्षले अशान्तिको साम्राज्य फैलिएको त्यस अवस्थामा भारतवर्षलाई विदेशी दासताबाट मुक्त गराई विशाल साम्राज्यका रुपमा संगठित गर्ने र शान्ति बहाल गर्ने ती महान् गुरुको स्थान भारतवर्षको इतिहासमा अद्वितीय रहेको छ । शास्त्रशक्ति र शस्त्रशक्ति दुबैको जति राम्रो संयोजन चाणक्यले गरेका छन् त्यस्तो उदाहरण अन्यत्र शायदै पाइएला । वास्तवमै 'युग-नायक' हुन् आचार्य चाणक्य ।
चाणक्यको जीवनीबाट प्रेरित भई अनेकौं पुस्तकहरु लेखिँदैआएका छन् । विष्णुपुराण मुद्राराक्षस कामन्दक नीतिसार पाचतन्त्र कादम्बरी दशकुमारचरित लगायत संस्कृत वाङ्मयका साथसाथै बौद्ध र जैन ग्रन्थहरुमा पनि यी महामानवको स्मृति सुरक्षित छ । वर्तमान समयमापनि भारतवर्ष तथा युरोप-अमेरिकाका अनेक विद्वानहरुको ध्यान चाणक्यतर्फ आकृष्ट भइरहेको देखिन्छ । चाणक्यको महान् ग्रन्थ अर्थशास्त्र संसारका धेरै भाषाहरुमा अनुवादित-प्रकाशित भइसकेको छ । चाणक्यनीति शाश्वत् तवरले मार्गनिर्देशन गर्न सक्षम नीतिशास्त्रका रुपमा मानवसमाजले प्राप्त गरेको छ ।
ऐतिहासिक शोधबाट प्राप्त जानकारी अनुसार आचार्य विष्णुगुप्त चाणक्य तक्षशिलाका निवासी प्रख्यात प्राध्यापक थिए । आर्थिक हिसाबले एक गरिब ब्राह्मणका छोरा थिए उनी; न उनीसँग सेना थियो न त सत्ताको शक्तिनै थियो । तथापि आफ्नो विद्वत्तारुपी पुरुषार्थले लाखौं सेना जम्मा पारेर विशाल साम्राज्यको स्थापना गर्न सक्षम भए चाणक्य । त्यागनै उनको सबभन्दा ठूलो धन थियो र बुद्धिनै सबभन्दा ठूलो शक्ति । चाहेको भए आफैं 'चक्रवर्ती सम्राट्' बन्न सक्ने शक्ति भएका ती महान् ब्राह्मणले सुयोग्य शिष्य चन्द्रगुप्तलाई सो पदवी प्रदान गरेर पूर्ववत् कुटीमा बसी शिक्षा-दीक्षा प्रदान गर्नमै सारा जीवन समर्पित गरेका थिए । उनको मतमा अध्यापक गुरु हुनु सम्राट वा महामन्त्री हुनुभन्दापनि उच्चतम् प्राप्ति थियो ।
उनले चन्द्रगुप्तलाई आफ्नो पि्रय शिष्य भएकै कारणलेमात्र सम्राट बनाएका थिएनन् । सुयोग्य गुरुका शिक्षा-दीक्षाले उनलाई त्यस पदकालागि योग्य बनाएको थियो । यदि चन्द्रगुप्त त्यस पदकालागि सर्वश्रेष्ठ नठहरिने स्थिति भएको भए चाणक्यले उनलाई अस्वीकृत गर्न कत्तिपनि हिच्किचाउने थिएनन् । सौभाग्यले सुयोग्य शिष्यलाई राजकाजको जिम्मा दिने अवसर पाएकाले सन्तोषपूर्वक तक्षशिलामा अध्यापनका निम्ति गुरु चाणक्य फर्केको इतिहासबाट ज्ञात हुन्छ । सत्तामद र सत्तामोह नातावाद कृपावाद आदिले धेरै व्यक्तिहरुलाई गाँजेको र त्यसको परिणाम स्वरुप सारा देशनै पीडित हुनुपरेको अनुभव हाम्रानिम्ति नौलो होइन । त्यसको पीडा हामीले भोग्दै आइरहेकै हौं । घुम्ने मेचमाथि पुग्नासाथ सत्ताको मदले अन्धो बन्ने प्रवृत्तिले समाज आक्रान्त भइरहेको उदाहरण जतिपनि पाइन्छन् । सर्वसत्तावादी चरित्रका नेताहरुको मार खप्दाखप्दै हाम्रो बेहाल भएको परिप्रेक्ष्यमा चाणक्य जस्ता राजनेताको हामीलाई कति खाँचो छ भन्ने चर्चा गरिरहनु नपर्ला ।
चाणक्यको संरक्षकत्व-अभिभावकत्व एवम् चन्द्रगुप्तको सुशासनमा भारतवर्षमा सुख शान्ति समृद्धिको जुन दौर आएको थियो- त्यो निश्चयनै हाम्रालागि आदर्श लक्ष्य का रुपमा रहन योग्य छ । त्यस युगमा भारतवर्ष राजनीतिक सामाजिक धार्मिक आर्थिक सांस्कृतिक हरेक पक्षबाट विकसित हुनुलेपनि गुरुवर चाणक्यको महत्व स्पष्ट हुन्छ । वास्तवमा नेपाल र वास्तवमा सम्पूर्ण भारतवर्षकालागि यतिखेर युगले अर्को एक चाणक्यको आशा राखेको छ भन्नु अत्युक्ति पक्कै होइन ।
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित

Comments:
quite interesting blog you have.
 
Post a Comment

Links to this post:

Create a Link



<< Home

This page is powered by Blogger. Isn't yours?