Friday, February 03, 2006

 

यज्ञ

स्पेसटाइम दैनिक, वर्ष २ अंक २५८, वि.सं. २०५९ साउन ४ शनिवार पेज नं. ६ मा प्रकाशित
यज्ञ शब्दसँग हामी परिचित छौं किनकि यो भारतवर्षको जीवनको एक अति प्राचीन र सर्वव्यापी अंग हो । संसारको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेदबाट थाहा लाग्छकि ुयज्ञु भारतवर्ष निवासीहरुको सर्वोच्च धार्मिक कर्म थियो । ऋग्वेदमानै यज्ञको विधान गरिएकोबाट सनातन धर्म परम्परामा यस कर्मको महत्व स्वतः प्रमाणित छ । जसरी वेदले यज्ञलाई मनुष्यको सर्वप्रधान धर्मकृत्य मान्दै यज्ञबाटनै जीवन सार्थक हुने बताएको छ त्यही अनुरुप भगवद्गीतामा भनिएको छकि मनुष्यको जीवननै यज्ञमय छ । हाम्रा शास्त्रीय मान्यता एवम् विधान हेर्दाखेरीमा एक मानवको जीवनमा जन्मदेखि मरणसम्म जति संस्कार हुन्छन् ती सबमा यज्ञ कुनै न कुनै रुपमा समावेश गरिएको छ । समयक्रममा यज्ञका स्वरुपमा परिवर्तन त आइरहेकै छ; साथमा यज्ञका सम्बन्धमा औचित्य वा अनौचित्यको सवाल खडा गराउनेहरुको संख्यापनि कम छैन । अहिले एकातिर ठाउँ-ठाउँमा यस्ता यज्ञ र उस्ता यज्ञ सम्पन्न भए भनेर समाचारहरु आइरहेकै छन् त अर्कातिर यज्ञको आलोचना वा कहिलेकाहिँ त विरोधै पनि गर्नेहरु पनि नभएका होइनन् । तर न यज्ञ गर्ने वा गराउनेले यज्ञको वास्तविक स्वरुपलाई प्रस्ट्याउन जाँगर चलाएका छन्; न त यज्ञको विरोध गर्नेहरुले यसको वास्तविक स्वरुप जान्न बुझ्न प्रयास नै गरेका छन् ।
वास्तवमा यज्ञ शब्दले व्यापक अर्थ प्रदान गर्दछ र यसका विविध स्वरुप छन् । यस कुरामा प्रष्ट हुनकालागि मनुस्मृतिको सन्दर्भ उपयोगी हुनेछ । मनुस्मृतिमा वेदाध्ययनलाई ब्रह्मयज्ञ तर्पणलाई पितृयज्ञ होमलाई देवयज्ञ अतिथि सन्तर्पणलाई मनुष्ययज्ञ भनिएका उदाहरणबाट स्पष्ट हुन्छकि मानव जीवनका सबै महत्वपूर्ण कर्तव्यहरुलाई यज्ञ नामले बुझाइएको छ । मीमांसा-दर्शनलेपनि यही कुरा आत्मसात् गरेको हामी पाउँछौं । गीताको सहयज्ञाः प्रजाः सृष्ट्वा वाला श्लोकको तात्पर्य यही होकि प्रजाको प्रगति र कल्याणका सबै कार्य यज्ञरुप हुन् । चाहे ऋत्विजहरुद्वारा अग्निहोत्रका रुपमा गरियोस् अथवा दैनिक जीवन-निर्वाहका क्रममा कर्तव्यपालनका रुपमा गरियोस् यी सबै कार्य यज्ञ हुन् ।
एक अवधारणा यस्तो छकि जीवनको उत्थान देवशक्तिको कृपाले हुनसक्छ र देवशक्तिसँग सम्बन्ध स्थापित गर्ने मुख्य साधन यज्ञ हो । सांसारिक परिस्थितिमा रहेर जीवन निर्वाह गर्नेवाला हिन्दुकालागि देवाराधन मुख्य कर्तव्य हो र त्यसको माध्यम यज्ञ नै हो । गीतामा भगवान्ले भन्नुभएकै छ- यज्ञद्वारा देवता तिमीसँग प्रसन्न हुनेछन् र तिम्रो उन्नति तथा कल्याण गर्नेछन् । प्राचीनकालमा झैं दर्शपूर्णमास, ज्योतिष्टोम, अश्वमेध, राजसूय आदिजस्ता धूमधामका यज्ञहरु हुनेजस्तो स्थिति आज छैन तापनि यज्ञको व्यापक अवधारणाले यो सदा सान्दर्भिक छ । यज्ञको व्यापक अवधारणा अनुसार मानव-जीवनका सबै महत्वपूर्ण कर्तव्यहरु यज्ञ हुन् । मनुष्यको आफ्नो कर्तव्यलाई सच्चा हृदयले आफ्नो सम्पूर्ण शक्ति लगाएर गर्नु नै वास्तविक यज्ञ हो । उदाहरणकालागि महाभारत शान्तिपर्वअनुसार प्रष्ट हुन्छकि समाजको अस्तित्व रक्षा र प्रगतिकालागि जतिपनि आवश्यक कार्य छन् ती सब यज्ञरुप नै हुन् । यस दृष्टिले यज्ञको विरोध गर्नुपर्ने वा गर्ने ठाउँ छैन ।

यज्ञको व्यापक अवधारणाको अलावा लौकिक शास्त्रीय कर्मका रुपमा सम्पन्न गरिने उत्सव महोत्सवहरुलाई पनि लौकिक जीवनमा ुयज्ञुकै मान्यता मिलेको जुन अवस्था छ यसलाई चाहिँ सांस्कृतिक वैभवका रुपमा सहजतापूर्वक स्वीकार गर्नुनै बुद्धिमत्ता ठहर्नेछ । तर यतिनै बेला ख्याल राख्नुपर्दछकि सहजतापूर्वक स्वीकार गर्ने भन्नाको मतलब यससँग जोडिएर आउनसक्ने कस वा मयल काइ लेउ ऐँजेरु सबकासबलाई शिरोपर गर्ने भनेको होइन । वैज्ञानिकतायुक्त धर्म र धार्मिकतायुक्त विज्ञानको कसीमा खरो उत्रन नसक्ने तत्व स्वीकार्य हुन सक्दैनन् । शास्त्रको आड लिएर वा यज्ञको पर्दा राखेर यसलाई गर्नुसम्म दुरुपयोग गरिएका उदाहरण पनि नभएका होइनन् । यदि यज्ञलाई दुरुपयोग गरिएको छभने त्यसलाई सच्याउनु अवश्यै पर्दछ; त्यसका साथसाथै यज्ञकै नाम लिएर कतिपय गलत कार्य गरिएका वा गराइएका देखेर वास्तविक ुयज्ञ-तत्वुप्रति नकारात्मक सोंच राख्नु बेठीक हो । जाँच-परख गर्दाखेरीमा कुनै गलत पक्ष भेटिएछन् भने तिनलाई हटाउन हिच्किचाउनु हुँदैन; तर कस वा मयल काइ लेउ ऐँजेरु आदिलाईमात्र हेरी वास्तविक यज्ञ-तत्वको महत्ता अस्वीकार गर्नुचाहिँ मुर्खता हो । बरु यज्ञको जुन व्यापक अवधारणा छ त्यसचाहिँलाई अघि बढाउँदा त्यसको असर मानव समाजमा सकारात्मक रुपले पर्ने पो देखिन्छ । जुनसुकै कर्म पनि यदि स्वार्थरहित भएर परोपकारार्थ गरिन्छ त्यसले मनुष्यलाई उच्चतातर्फ अग्रसर गराउँछ र सदैव कल्याणकारी हुन्छ । मुख्य कुरा भावनाको हो । यही सदैव कल्याणकारी भावना नै हो यज्ञीय-भावना, जसका साथमा साधारण कार्य पनि यज्ञकर्म हुन्छ । तबपनि यज्ञको औचित्य वा अनौचित्यको गन्थन गर्नुको कुनै औचित्य होला र ! देश काल परिस्थिति अनुरुप पुनव्र्याख्यान संस्करण परिमार्जन वा परिस्कार स्वीकार गर्न सक्नै पर्दछ र कसीमा जँचेर स्वीकारिन सक्ने चुनौतीबाट भाग्नपनि हुँदैन । हाम्रो यज्ञीय-अवधारणा कुनैपनि कोणबाट दुर्बल नभएको यथार्थता हामीलाई ज्ञात हुँदाहुँदै डराउनु पो किन पर् यो र ! अर्थात् वास्तविक ुयज्ञीय-भावनाु स्पष्ट हुनासाथ यज्ञको औचित्य पनि स्वतःसिद्ध हुन्छ ।

Comments: Post a Comment



<< Home

This page is powered by Blogger. Isn't yours?