Monday, December 24, 2007

 

महाभारत युद्धपश्चात्को अन्तरिम अवधि र त्यसबाट सिक्न सकिने पाठ

निर्मलमणि अधिकारी
(प्राची द्वैमासिकमा प्रकाशित, मिति २०६३ साउन, पूर्णाङ्क ५९। घटना र विचार साप्ताहिकमा पनि “महाभारत : नेपाली सन्दर्भमा पुनर्सान्दर्भिकरण” शीर्षकमा प्रकाशित, मिति २०६३ असोज २५ गते बुधवार। जनआवाज वार्षिकमा पनि “मूर्दाशान्तिविरुद्ध वास्तविक शान्ति” शीर्षकमा प्रकाशित, मिति २०६३ असोज । Also published in Palpaonline)

विषय प्रवेश:
महाभारत महायुद्ध सकिएको पाँच हजार वर्ष भन्दा पनि बढी समय बितिसकेको छ। सो महायुद्ध र त्यस अघि-पछिका घटनाक्रमबारे जान्ने आधिकारिक स्रोत महर्षि व्यासको कालजयी महाकाव्य ‘महाभारत’ हो। अहिलेको भू-राजनीतिक हिसाबबाट भन्नुपर्दा नेपालमा (नेपाल अधिराज्यको तनहुँ-जिल्ला-स्थित दमौलीमा) जन्मेका महर्षि व्यासको उक्त महाकाव्यमा अध्येताहरूले अनेक सन्दर्भमा अनेक कुरा भेटाएका छन्। एक दशक भन्दा बढी समयको हिंसात्मक द्वन्द्व र शताब्दीयौंदेखिको अन्तरविरोधपश्चात् हाल नेपालले गुजरान गरिरहेको अन्तरिम अवधिका लागि महाभारतबाट के सिक्न सकिन्छ भन्नेबारे यस लेखमा चर्चा गर्न खोजिएको छ । महाभारत : विश्वयुद्ध
‘महाभारत’ नामले प्रख्यात रहेको महायुद्धमा पाण्डवपक्षबाट सात अक्षौहिणी र कौरवपक्षबाट ११ अक्षौहिणी गरी जम्मा १८ अक्षौहिणी सेनाले प्रत्यक्ष युद्धमा भाग लिएको उल्लेख छ आदिपर्व २।२३-२६ मा बताइएअनुसार एक अक्षौहिणी सैन्यबलमा २१ हजार ८ सय ७० वटा रथ, उत्तिनै संख्यामा हात्ती, ६५ हजार ६ सय १० वटा घोडा र १ लाख ९ हजार ३ सय ५० जना पैदल सैनिक हुन्छन्। एउटा हात्तीमा एकजना माहुते र एकजना योद्धा गरी कम्तीमा दुईजना सवार हुन्छन्। एउटा रथमा पनि एकजना सारथी र एकजना योद्धा समेत कम्तीमा पनि दुईजना सवार हुन्छन्। कहिलेकाहिँ हात्ती तथा रथमा सवार हुनेहरूको संख्या दुईजना भन्दा बढी हुन पनि सक्छ। यस हिसाबबाट एक अक्षौहिणी सैन्यबलमा रथमा बसेका कम्तीमा ४३ हजार ७ सय ४० जना, हात्तीमा सवार रहेका पनि कम्तीमा ४३ हजार ७ सय ४० जना, घोडचढी सैनिक ६५ हजार ६ सय १० जना र पैदलयोद्धा १ लाख ९ हजार ३ सय ५० जनासमेत जम्माजम्मी २ लाख ६२ हजार ४ सय ४० जना संलग्न हुने देखिन्छ।
कौरवपक्षमा ११ अक्षौहिणी सैन्यबल रहेकाले योद्धाहरूको कूल संख्या २८ लाख ८६ हजार ८ सय ४० रहेको देखिन्छ। पाण्डवपक्षबाट सात अक्षौहिणी सैन्यबल युद्धमा सामेल रहेकाले योद्धाहरूको कूल संख्या १८ लाख ३७ हजार ८० रहेको देखिन्छ। तसर्थ, उक्त महायुद्धमा दुवैपक्षबाट गरी ४७ लाख २३ हजार ९ सय २० जना योद्धाहरू सामेल रहेको आँकडा आउँछ। तर यो न्यूनतम आँकडा हो। अनि यो संख्या प्रत्यक्षतः युद्ध मैदानमै उत्रने व्यक्तिहरूको मात्र हो।
मान्छेका साथसाथै त्यस महायुद्धमा ठूलो संख्यामा हात्ती तथा घोडाको प्रयोग भएको थियो। त्यसको न्यूनतम आँकडा मात्रै निकाल्ने हो भने पनि १८ अक्षौहिणी सैन्यबलका लागि ३ लाख ९३ हजार ६ सय ६० वटा हात्तीहरू चाहिने हुन्छ। उता, घोडाको संख्याचाहिँ यो भन्दा कता हो कता बढी हुन आउँछ। एक त, घोडचढी सेनाका लागि मात्रै पनि १८ अक्षौहिणी सैन्यबलमा ११ लाख ८० हजार ९ सय ८० वटा घोडाहरू रहेका हुन्छन्। अनि, एक अक्षौहिणी सेनाका सबै रथ तान्न १५ लाख ७४ हजार ६ सय ४० घोडाहरू आवश्यक देखिन्छ। यसरी उक्त महायुद्धमा कम्तीमा २७ लाख ५५ हजार ६ सय २० वटा घोडाहरू सामेल गराइएका हुनु पर्दछ ।
अब हामी विचार गरौं- ३ लाख ९३ हजार ६ सय ६० वटा हात्तीहरू र २७ लाख ५५ हजार ६ सय २० वटा घोडाहरूको हेरचाह गर्न कति मान्छेहरू खटिनु परेको हुँदो हो? उता ४७ लाख २३ हजार ९ सय २० जना योद्धाहरूलाई आवश्यक पर्ने रसद-पानीदेखि लिएर युद्ध-सामग्री सम्मको व्यवस्था मिलाउन कति संख्यामा परिचारकहरू चाहिए होलान्? यसरी महाभारतमा युद्ध-मैदानमै सक्रिय व्यक्तिहरूको संख्याले नै करोडको आँकडा नाघ्दछ। युद्धबाट पीडितहरूको संख्यामा तिनका अतिरिक्त अन्य व्यक्तिहरूलाई पनि ख्याल राख्नु पर्ने हुन्छ। एक पुरुषले एक भन्दा बढी विवाह गर्नेसमेत त्यतिबेलाको प्रचलनलाई ध्यानमा राख्दा र तिन्का बालबच्चाको संख्यातर्फपनि ध्यान पुर्‍याउँदा युद्धका कारण प्रभावित जनसंख्याको आँकडा धेरै करोड पुग्ने प्रष्टै छ।
महाभारत महायुद्ध कुरुक्षेत्र नामक भू-भागमा लडिएको बताइएको छ। तर त्यत्तिका सैनिक, हात्ती, घोडा र रथहरू सामेल रहेको महायुद्ध कुरुक्षेत्र वा कुनै स्थानविशेषमा मात्र सीमित नरहेर धेरै विस्तारित भू-भागमा लडिएको हुनु पर्दछ। मूल झगडिया पाण्डव-कौरवको आमुन्ने-सामुन्ने लडाइँ कुरुक्षेत्रमा भएको र युद्धको जीत-हारको फैसला पनि त्यहीँ भएको हुँदा काव्यिक-प्रस्तुतिकरणमा कुरुक्षेत्रमा लडाइँ भएको उल्लेख गर्नु अस्वाभाविक होइन। महायुद्ध विश्वव्यापी स्तरमा अनेकौं भू-भागमा लडिएको थियो, परन्तु त्यसको मूलथलो कुरुक्षेत्र भएकाले त्यसलाई ‘कुरुक्षेत्रको युद्ध’ पनि भनिएको हो भनेर बुझ्नु वैज्ञानिक बुझाइ हुनेछ ।
महाभारतयुद्ध-पूर्वको विश्वसमुदाय दुई धुरीमा बाँडिएको थियो। त्यसैले दुईइवटा अन्तर्राष्ट्रिय सैन्यगुट बनेका थिए। कतिपय राज्यहरू गुट-निरपेक्ष पनि रहेका थिए। जस्तै- महाभारतको लडाइँ मच्चिँदा बलराम र उनका सैनिकहरू तटस्थ बसेका थिए। अन्ततोगत्वा पाण्डव नेतृत्वको सैन्यबलमा जम्मा सात अक्षौहिणी र कौरव नेतृत्वको सैन्यबलमा जम्मा ११ अक्षौहिणी सैन्यशक्ति हुन पुगेको बुझिन्छ ।
आपसी शत्रुता भएका पाण्डव-कौरवको अग्रसरतामा ती सैन्यगुटहरू बनेका हुँदा जसै कौरव-पाण्डवबीचमा तनाव बढ्थ्यो, तब ती दुई गुटका सहभागी राज्यहरूबीचमा पनि स्वाभाविक रूपले तनाव बढ्थ्यो। युद्ध सुरु हुँदा त्यसको निहुँ कौरव-पाण्डवबीचको दुस्मनी रहेता पनि शनैः शनैः अरु राज्यहरू पनि युद्धमा तानिए। यसरी युद्ध कौरव-पाण्डवको मात्र नरही दुई अन्तर्राष्ट्रिय सैन्यगुटहरूको महायुद्ध बन्न पुग्यो। (गत शताब्दीमा भएका दुई विश्वयुद्ध सुरु हुँदाखेरीमा पनि एक्कैचोटी विश्वव्यापी स्तरको नरहेको, तर पछि विभिन्न राज्यहरू युद्धमा तानिँदै गएर युद्धले विश्वयुद्धको रूप लिएको उदाहरणतर्फ ध्यान दिने हो भने कुरा अझ राम्ररी छर्लङ्ग हुनआउँछ।)

नेपाली सन्दर्भमा पुनर्सान्दर्भिकरण
महाभारत युद्धपश्चात्को अन्तरिम अवधिबाट सिक्न सकिने कुरा खुट्ट्याउनुअघि त्यस बेलाको परिवेशलाई नेपालको वर्तमान परिवेशसँग तुलना गर्न सकिने गरी पुनर्सान्दर्भिकरण (रिकन्टेक्स्टुएलाइजेसन) जरुरी छ। नत्र कुरोको चुरोमा नपुगी अल्मलिने र अपव्याख्या हुने अवस्था रहन्छ ।
यस लेखका सन्दर्भमा राज्यशक्ति हतियारको बलले पाउने कि जनमतको बलले भन्ने सवाललाई नेपाली महाभारतको जड मानिएको छ। त्यसकारण विगतमा शस्त्रबल नै एक मात्र शक्तिको स्रोत हो भन्ने मान्ने राजा र माओवादी दुवैलाई यहाँ कौरवपक्ष मानिएको छ। लोकतन्त्र वा प्रजातन्त्रका पक्षमा निरन्तर संघर्षरत नेपाली कांग्रेसलगायतका अन्य दलहरू पाण्डवपक्ष मानिएका छन्। माओवादीसँगको सम्बन्धको कारणले जनमोर्चाको हैसियत दुर्योधनको भाइ विकर्ण (युयुत्सु पनि भनिने) को जस्तै भएको छ, जसले पाण्डवको साथ दिएको थियो। महाभारतका श्रीकृष्णको जस्तो लीला यतिखेर भारतसहितको अन्तर्राष्ट्रिय समुदायले खेलेको हामीले देख्यौँ। चीनजस्ता मुलुक बलरामको भूमिकामा रहे, जसको प्रच्छन्न सहानुभूति कौरवपट्ट रहे तापनि प्रकटमा भने तटस्थ भूमिका निर्वाह गरे।
महाभारत महायुद्धको फैसला केबल शस्त्रबलले भएको थियो। तर नेपालका पाण्डव (दलहरू) ले भने राजा र माओवादी दुवैको शस्त्रबल निर्रथक रहेको पुष्टि गराएर जीत हासिल गरे। त्यो महायुद्धमा पाण्डवपक्षमा सात र कौरवपक्षमा तीनजना रथीबाहेक १८ अक्षौहिणी सेना पूरै समाप्त भएको थियो। संसारमा प्रायः स्त्रीहरू मात्र बाँकी रहेका थिए। लासहरूलाई मांसभक्षी जीव-जन्तु, गिद्ध-समूह र कागहरूले लुछी लुछी खाइरहेको दृश्य सामान्य थियो। धृतराष्ट्र भन्छन् - “यहाँ त अन्येष्टिकर्म गर्नु पर्ने नै यति धेरै छन् कि कस-कसको मात्र गर्ने!”तर यहाँ देश पूरै ध्वस्त भने भएको छैन। विगतको संघर्षमा जो जहाँ रहेका भए तापनि संविधानसभाको यज्ञमार्फत पुनर्संस्कारित भई शान्तिपूर्ण सहअस्तित्वका लागि सबैलाई अवसर छ। अब माओवादीसँग भएको हतियारलाई उपयुक्त ढङ्गले थान्को लगाएर सबैले निर्भयतापूर्वक संविधानसभामा मत जाहेर गर्न पाउने परिस्थिति निर्माण गर्ने चुनौती अगाडि आएको छ।

मूर्दा शान्ति विरुद्ध वास्तविक शान्ति
नेपालमा एक दशक भन्दा लामो समय मच्चिएको हिंसा अहिले युद्धविरामका रूपमा स्थगन भएको छ। यो दिगो हुने हो वा क्षणभङ्गूर? टुङ्गो लागिसकेको छैन। त्यतिखेर पनि महायुद्धपश्चात् सहसा शान्तिको स्थिति देखिएको थियो। तर त्यो शान्ति हिंसाको आडमा आएको मूर्दा शान्ति मात्र थियो। ठूलो नरसंहारले समस्त मानवजाति वेदनामा चुर्लुम्म डुबेको हुनाले शान्तिको आभाष भएको थियो। वास्तवमा पराजित र विजयी दुवै पक्ष बदलाको भावनाले ग्रस्त थिए। हिंसात्मक द्वन्द्वले ल्याएको मूर्दा शान्तिलाई वास्तविक शान्तिले प्रतिस्थापन गर्ने चुनौती पाएका विजयी पक्ष अर्थात् पाण्डवले बुद्धिमत्तापूर्वक त्यो चुनौतीलाई फत्ते गरेका थिए ।
हाम्रो स्थिति फरक छ। नेपालमा लोकतन्त्र ‘पाण्डव’ वा ‘कौरव’ कसैलाई भौतिक निषेध गरेर आएको छैन, प्रत्युत राज्यशक्तिको स्रोत हतियार होइन र जनता मात्र हो भन्ने सत्य स्थापित भएर आएको छ। अब विगतका ‘पाण्डव’ र ‘कौरव’ (संसदवादी दलहरू र माओवादी) सबै मिलेर अगाडि बढ्नु छ। माओवादीले उठाएको हतियार र राज्यले गरेको त्यसको प्रतिकारका क्रममा क्षतिग्रस्त जनमनलाई यस क्रममा कसरी उपचार गरिन्छ भन्ने सन्दर्भमा पाण्डवको दृष्टान्तबाट सिक्न सकिने कुरा धेरै छन् ।
मुलुकमा मानवअधिकारको प्रत्याभूति नभई वास्तविक शान्तिको प्रत्याभूति हुन सक्दैन। हिंसात्मक द्वन्द्वपश्चात् समाजमा वास्तविक शान्ति ल्याउनका लागि केही पूर्व शर्तहरू छन्। उपयुक्त मेलमिलाप प्रक्रियाबिना समाजमा शान्ति आउला भन्ठान्नु मूर्दा शान्तिको पक्ष लिनु मात्र हो। द्वन्द्वकालमा भएका मानवअधिकार हननलाई लडाइँ सकिएपछि त्यसै बेवास्ता गर्नु हुँदैन। विगतको अपराधलाई राजनीतिक सहमतिका आधारमा सहजै रद्दीको टोकरी फाल्न पाइँदैन। खासगरी माओवादीपक्षले सर्वसाधारणलाई जवाफ दिनु पर्ने सवालको फेहरिस्त निकै लामो छ भन्ने तथ्यलाई ख्याल राखिनै पर्दछ।

पछ्याउनु पर्ने पाण्डवपथ
पाण्डवको न्यायपूर्ण शासनपद्धतिलाई अनुकरण गर्न प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सहकर्मी संसदवादी दलहरूलाई अवसर प्राप्त भइसकेको छ। अर्कातिर, अहिलेका माओवादी ‘पाण्डव’ होइनन् तापनि महायुद्धपश्चात् पाण्डवका व्यवहारबाट सिक्न सक्छन्।
(क) दोष स्वीकार /क्षमायाचना सदैव सत्यका पक्षधर रहेका र दुर्योधनद्वारा थोपरिएकाले मात्र युद्धमा सामेल भएका भनिएका पाण्डवले समेत युद्धका क्रममा आफूद्वारा गरिएका हिंसात्मक कृत्यका लागि बारम्बार माफी मागेको उदाहरण महाभारतमा व्यासजीद्वारा प्रस्तुत भएको छ। दुर्योधनको संहारपछि युधिष्ठिर श्रीकृष्णलाई तत्काल धृतराष्ट्र र गान्धारीसमक्ष पठाउँछन् र आफ्नो खेद स्पष्ट पार्दै क्षमायाचना गर्दछन्। यसको परिणाम के हुन्छ भने मानसिक व्यथाले दग्ध भएको कारणले पाण्डवको अनिष्ट सोचिरहेकी गान्धारी आफ्नो क्रोधको आवेश उत्रिएको बताउँछिन्। त्यस्तै, पाण्डवको विनयशीलताले धृतराष्ट्र र गान्धारीको क्रोधलाई निकास दिएको पनि उल्लेख्य छ।
हिंसात्मक द्वन्द्वको छायाबाट समाजलाई सधैंका लागि मुक्त गराउने हो भने विगतमा भएका दोष स्वीकार गर्दै परिवर्तनका लागि प्रतिबद्धता व्यक्त गर्नु पर्ने दायित्व सम्बन्धित पक्षले पूरा गर्नु पर्दछ भन्ने मान्यता द्वन्द्वपश्चातको मेलमिलाप प्रक्रियाका विज्ञहरूले अघि सारेको पाइन्छ। यो मान्यता पाण्डवपक्षबाट उतिबेलै पालना भएको देखिन्छ। आफ्नो गल्ती नहुँदा त दोष स्वीकार /क्षमायाचना गर्न पाण्डव तयार भए भने आफूले मच्चाएको हिंसाको दोष स्वीकार /क्षमायाचनाका लागि नेकपा (माओवादी) तत्पर नहुनु पर्ने कुनै कारण छैन। कुनै पनि पक्षले आफ्नो अपराध अस्वीकार गरेको खण्डमा मेलमिलापमा अवरोध खडा हुन्छ भन्ने तथ्यलाई बिर्सन मिल्दैन।
अझ महत्वपूर्ण कुरा त के भने, महाभारत युद्ध हुनुमा राजाको हैसियतमा धृतराष्ट्रको जवाफदेहिता थियो। सर्वसाधारण नेपाली जनता भने संविधानमा सार्वभौमसत्तासम्पन्न भनिए तापनि व्यवहारमा विगतको हिंसात्मक द्वन्द्वमा राजा र माओवादीका दुईखाले बन्दुकका शिकार भई निरीह अवस्थामा रहे। राजाले त जनआन्दोलन द्वितीयमार्फत् दण्ड पाए, तर के कुनै माओवादी नेताले आफ्नातर्फबाट हताहत भएका व्यक्तिका परिवारजनलाई भेटेर माफी माग्ने नैतिक साहस जुटाएका छन्?
(ख) त्रास र बदलाको भावको निराकरण जब मानिस त्रास र बदलाको भावनाले प्रेरित हुन्छ, तब केसम्मगर्न सक्छ भन्ने उदाहरण अश्वत्थामाको कृत्यले दिएको छ। त्यस्तै धृतराष्ट्र पनि भीमलाई मार्न चाहन्छन् र भीम भन्ठानेर लौह मूर्तिलाई चुर् चुर् पारिदिन्छन्। माओवादीबाट मारिएकाहरूका आफन्तमा यस्तो आक्रोश छैन भन्न सकिँदैन। किन भने माओवादीको विगत संसदवादी दलका कार्यकर्ताहरूको रगतले लत्पतिएको छ। यस्तो रक्तमुछेल विगतलाई त्रासको आधारमै किनारा लगाएको लगायै गरौँला भन्ठान्दा बदलाको भावको आगोमाथि घिउ खनिने छ। त्यसको निराकरण कसरी हुन सक्छ त? पाण्डवबाट सिक्न सकिन्छ।
अश्वत्थामाको जघन्य अपराधलाई पनि क्षमा दिएर पाण्डवले उनलाई जीवितै छाड्छन्। आफ्नो कृत्यप्रति पछुताएका अश्वत्थामा सुध्रिएर हिंस्रक लडाकाबाट सौम्य ऋषिमा रूपान्तरण हुन्छन्। कौरवको संहार र पाण्डवको विजयसँगै धृतराष्ट्र र गान्धारीसहित समस्त कौरवपक्षमा जुन त्रासभाव सञ्चार हुन्छ, त्यसलाई निराकरण गर्न पनि पाण्डवपक्षबाट सुरुदेखि नै पहल हुन्छ। युधिष्ठिर पक्ष-विपक्ष नछुट्ट्याई सबैको अन्त्येष्टि गर्ने प्रबन्ध मिलाउँछन्। धृतराष्ट्र र गान्धारीको स्याहार, सुसार, सेवा, सुश्रुषामा कुनै कमी हुँदैन। जब पुरानो र पराजित राज्यसत्ताका प्रमुखहरूप्रति त यति उदार व्यवहार हुन सक्दो रहेछ भने वर्तमान नेपाली राजनीतिका ‘पाण्डव’ संसदवादी दलका कार्यकर्ताहरूप्रति माओवादीको व्यवहार कस्तो हुनु पर्ला!(ग) अहिंसात्मक सहअस्तित्व विगतमा कारणवश हिंसात्मक द्वन्द्वमा सामेल हुनु परेको भए तापनि द्वन्द्वपश्चात् सबै पक्षले अहिंसात्मक सहअस्तित्वलाई आत्मसात् गर्नु पर्ने सन्देश पनि महाभारतमा निहीत छ। अहिंसात्मक सहअस्तित्वको सन्देश दिन सक्षम भएकैले युधिष्ठिरलाई सबैले सघाउँछन् र पूरै क्षतिग्रस्त राज्यलाई उनको नेतृत्वमा केही समयपछि नै अश्वमेध यज्ञ गर्न सक्ने हैसियतमा पुर्‍याउन सफलता मिल्छ । निशस्त्र संसदवादी दलसँग आफू चाहिँ सशस्त्र हैसियतमा प्रतिष्पर्धा गर्न पाउनु पर्ने तर्क गरिरहेको माओवादीले लोकतान्त्रिक नेपालमा संविधानसभारूपी अनुष्ठानको सफलताका लागि पनि अहिंसात्मक सहअस्तित्व अनिवार्य शर्त हो भन्ने बुझ्नु जरुरी छ।
महाभारतमा बताइएअनुसार, युधिष्ठिरको शासनकालमा सारा जगत् रोक-शोकरहित भएको थियो र राज्यमा कोहीले पनि भोक-प्यासको कष्ट भोग्नु परेन, राज्यमा कुनै पनि अपराध थिएन र सर्वत्र शान्ति छाएको थियो। महायुद्धपश्चातको अन्तरिम अवधिलाई बुद्धिमत्तापूर्वक सदुपयोग गर्न सकेको हुनाले नै उनलाई त्यस्तो सफलता मिलेको थियो। अस्तु ।


सन्दर्भ सामग्री
ज्ञानी, प्रो. शिवदत्त; भारतीय संस्कृति; बम्बई : राजकमल प्रकाशन, सन् १९४४ ।
निर्मल, आयोदधौम्य; आस्थाको शान्ति-युद्ध; विराटनगर : नेपाली भाषा-संस्कृति परिषद्, वि.सं. २०५७ ।
निर्मल, आयोदधौम्य; “नेपाली संस्कृति”; निर्माण संस्कृति विशेषाङ्क; सं. पवन चाम्लिङ ‘किरण’; सिक्किम : निर्माण प्रकाशन, सन् १९९९ ।
निर्मल, आयोदधौम्य; “महाभारत- कुरुयुद्ध कि विश्वयुद्ध?”; स्पेसटाइम दैनिक; काठमाण्डौ : वि.सं. २०५८ पुस २८ गते शनिवार ।
निर्मल, आयोदधौम्य; “महाभारत युद्ध र श्रीकृष्णको दोष”; स्पेसटाइम दैनिक; काठमाण्डौ : वि.सं. २०५८ माघ ६ गते शनिवार ।
सरस्वती, परमहंस स्वामी जगदीश्वरानन्द (अनु. तथा सं.); महाभारतम् (प्रथम, द्वितीय, तृतीय भाग); दिल्ली : विजयकुमार गोविन्दराम हासानन्द, सन् १९९८ ।

Comments: Post a Comment



<< Home

This page is powered by Blogger. Isn't yours?