Tuesday, January 20, 2009

 

विवेकको आदर

स्पेसटाइम दैनिक, वर्ष २ अंक २१६, वि.सं. २०५९ जेठ २५, शनिवार, पेज नं. ६ मा प्रकाशित
गर्गसंहिताको एक प्रसङ्गमा बडो घतलाग्ने कुरा छ । उक्त प्रसंगमा दुर्योधन भनाइ छकि म 'धर्म'लाई जान्दछु, तर त्यसमा मेरो प्रवृत्ति हुँदैन र 'अधर्म'लाई पनि जान्दछु, तर त्यसबाट मेरो निवृत्ति हुँदैन ("जानामि धर्मं न च मे प्रवृत्तिर्जानाम्यधर्मं न च मे निवृत्तिः ॥ गर्गसंहिता अश्वमेध। ५०।३६) ।
कस्तो विडम्बना ! थाहा छकि गरिरहेको कार्य गलत हो तर त्यसलाई त्याग्नेचाहिँ होइन । कथामा यस्तो समस्या दुर्योधनलाई परेको देखाइएतापनि यस प्रवृत्तिबाट पीडित हुनेहरुको संख्या कति छ कति ! कारण के त समस्या जति जटिल छ कारण त्यति जटिल छैन ।
अधिकांशतः मानिसहरु आफ्नो विवेकको, ज्ञानको अनादर गर्दछन् । कुनै चीज गलत हो भन्ने जान्दाजान्दैपनि त्यसलाई त्याग्न नसक्नु विवेकको, ज्ञानको अनादर हो । कसैले हामीलाई दुःख-कष्ट दियोभने हामीलाई अपि्रय हुन्छ र सुख मिलेमा पि्रय हुन्छ -तरपनि मान्छे बारम्बार अरुलाई दुःख-कष्ट दिइरहन्छ । युद्ध मानव समुदायकालागि त्याज्य छ भन्ने जान्दाजान्दै पनि बारम्बार युद्ध छेडिरहने प्रवृत्ति छ मान्छेमा । शान्तिको कुनै विकल्प छैन भन्ने जान्दाजान्दै पनि अशान्ति मच्चाइरहन्छ मान्छे । अधर्म असत्य अन्याय अपराध आदिमा मान्छेको प्रवृत्ति अज्ञानताको कारणले होइनकि बरु ज्ञानको अनादरको कारणले हो ।
यसबाट मुक्त हुने उपाय नभएको होइन छ । हाम्रा धर्मशास्त्रले ज्ञानप्राप्ति साथसाथै ज्ञानको आदर गर्ने उपाय पनि दिएका छन् । हामी विचार गरौं - यसो हेर्दा मान्छे एउटो छ तापनि ऊभित्र प्रवृत्तिगत हिसाबले थरीथरीका अस्तित्वहरु हुन्छन् । आफूभित्रका थरीथरीका सत्ताहरुमध्ये कुनलाई जाग्रत गराउने र कुनचाहिँलाई संहार गर्ने भन्ने निर्णय त व्यक्तिविशेषको आफ्नै हो ।
मान्छेको सभ्यता विचार स्थापित नैतिक मूल्यमान्यताले ऊभित्रका शैतानी राक्षसी भूताहा तथा पशुवत् मनोवृत्तिलाई निषेध गरेको हुन्छ र ती मेिटंदै गएका पनि हुन्छन् । तर त्यो सम्पूर्णतः मरिसकेको हुँदैन; जबसम्मकि मनुष्यत्वको स्तर बढेर मानव दार्शनिक तथा त्योभन्दा उच्चतर तहमा पुगिसकेको हुँदैन । सामान्य मानिसले पशुवत् वा राक्षसी वा पैशाचिक वा शैतानी प्रवृत्तिलाई निषेध गर्न कि त ऊ त्यस्ता इच्छाहरु जाग्रत हुने परिवेशबाट एकदमै पर रहनु पर्दछ; किचाहिँ मानव जीवनलाई सार्थकता प्रदान गर्ने नैतिक सिद्धान्तको अनुगामी बन्नुपर्दछ । अहिलेको तथाकथित आधुनिकता सभ्यता त यस्तो छ कि पाइला-पाइलामा कुनै पनि व्यक्तिभित्रको शैतान हाबी हुने परिवेश छ । यस्तोबेलामा स्थापित नैतिक मूल्यमान्यतालाई आत्मसात् गर्दै अन्तर्मन देखि नै त्यस्ता प्रवृत्तिका विरुद्ध इमान्दारीपूर्वक आफूलाई सचेत पारिराख्नु नै शैतानियतबाट पिचासप्रवृत्तिबाट बच्ने प्रभावकारी उपाय हो । आध्यात्मिक उज्यालोले हृदय उज्यालिएपछिमात्र बल्ल मानव सही अर्थमा मानव हुन्छ । समस्या मान्छेको भित्र भएकाले उपचार पनि त्यही तहमा गर्नुपर्दछ ।
समस्या एकातिर र समाधानको प्रयास अर्कोतिर भयोभने त्यसको परिणाम सार्थक नहुनु स्वाभाविक हो । निश्चयनै समाजलाई साक्षर/शिक्षित बनाउनु आधुनिकीकरण गर्नु वा कानुनी राज्य हुनु राम्रो कुरा हो । तर यतिले मात्रै हुँदैन- आध्यात्मिक उपचार धार्मिक उपचारले बल्ल समस्याको समाधान गर्न सकिनेछ । मान्छेको प्रज्ञालाई जाग्रत् नगराई; अनि उसले आफ्नो विवेकको आदर गर्ने परिस्थिति नभई मानव समाज सुखमय बन्न सक्दैन ।
प्राचीन भारतवर्षीय ऋषिमुनिहरु एवम् ईश्वरीय अवतारहरुले व्यावहारिक रुपमै प्रमाणित गरिसक्नु भएको छकि आफूभित्रका पशु राक्षस शैतान पिचासलाई संहार गर्न सकिन्छ र आफूमा दार्शनिकत्व देवत्व एवम् ईश्वरत्व जगाउन सकिन्छ । मान्छेभित्रका दार्शनिक तथा यसभन्दा उच्चतर प्रवृत्ति जाग्रत हुननसक्दा पनि कम्तीमा ऊभित्रको मानव ब्युँझदा समाजलाई उन्नति प्रगति विकासपथमा लम्काउन र शान्तिपूर्ण एवम् सुखमय समाजको प्राप्तितर्फ ठूलो फड्को हुनेछ । मान्छेले आफूभित्रको मानवलाई जगाउन आफ्नो ज्ञानको/विवेकको आदर गर्नैपर्दछ । अस्तु ।

Saturday, January 10, 2009

 

बोक्सीको बात

स्पेसटाइम दैनिक, वर्ष २ अंक २२३, वि.सं. २०५९ असार १ शनिवार, पेज नं. ६ मा प्रकाशित
कहिले मरनीदेवी, कहिले सुदामादेवी वा अन्य केही नामका देवीहरुलाई बोक्सीको बात लगाएर गरिएका अत्याचारहरु साचार-माध्यममा आइरहेका छन् । उता ठाउँ-ठाउँमा आमा दिदी बहिनीहरु प्रताडित भइरहँदा बोक्सीका नाममा नारी-अस्मिताको हुर्मत लिने यस्ता लज्जास्पद कार्यको विरुद्धमा ओठे प्रतिकि्रया बाहेक ठोस कार्य हुन नसकिरहेको स्थिति छ । न राज्यपक्षले पीडकहरुलाई दण्ड दिन सकेको छ; न त भविष्यमा अरुले यस्तो प्रताडना बेहोर्न नपरोस् भन्ने प्रतिरोधात्मक उपाय गर्ने छेकछन्द नै देखिन्छ ।
बोक्सी भएको आरोपकासाथ जब कोही अकल्पनीय यातनाको शिकार हुन्छिन् तबमात्र बल्ल वक्तब्यको लहर चल्ने वा पीडितलाई साचार माध्यम मेडियाको अगाडी उभ्याएर घाउ कोतर्ने; अनि एकादुई गोष्ठीमा बुद्धि-विलास गर्ने प्रवृत्तिमात्र यहाँ देखिएको छ । तर एउटी चेलीको घाउमा खाटा बस्दा-नबस्दै अर्की चेलीको हुर्मत लिएको खबर आइरहेको हुन्छ । यो ुबोक्सीको बातु नेपाली समाजको निधारमा लज्जास्पद धब्बाका रुपमा रहेको छ । जब बोक्सीको आरोपमा कोही व्यक्तिमाथि आक्रमण भइरहेको हुन्छ; तब प्रत्येक आक्रमणपिच्छे मानवता लज्जित भइरहेको हुन्छ । बोक्सीका नाममा अनाहकमा कसैमाथि जाइलाग्नु पूर्णतया पागलपन सिबाय केही होइन । अझ यस्तो कुकृत्यकोसाथमा धर्म संस्कृति परम्पराको दुहाइ दिनु त झनै गलत हो । हाम्रो सनातन हिन्दू धर्म संस्कृति परम्परा 'बोक्सी'को परम्परा होइन; यो त 'देवी'को परम्परा पो त !
यथार्थ जतिसुकै तीतो भएतापनि यथार्थता नै हो । शक्तिको पूजा अर्चना गर्ने हाम्रो संस्कार हाम्रो संस्कृतिमा जतिसुकै भरिभराउ रहेको भएतापनि नमिठो कुरा के छभने अहिले हाम्रो समाजमा नारीहरुको स्थिति सन्तोषजनक छैन । यो लुकाउने र छोपछाप पार्ने कुरो होइन । वर्षेनी हजारौं चेलीहरु वेश्यालयका कोठीहरुमा बेचिनेजस्तो कलङ्कपूर्ण स्थिति हाम्रैमा छ; घरेलु िहंसाबाट पिडित हुनु परिरहेछ यहाँका नारीहरुले; अनि आधारभूत स्वास्थ्य सुविधा समेत नपाएर अकालमा धेरै नारीहरुको ज्यान गुमिरहेको छ । नारीहरुलाई अपमान र तिरस्कार गरिएका घटनाहरु धेरै संख्यामा घटित भइरहन्छन् । एकातिर यस्तो भइरहेको छभने अर्कातिर शताब्दीयौं देखिनै महिलालाई देवी मानेर पूज्ने संस्कार हामीसँग छँदैछ । अचम्म लाग्छकि कसरी हामी उही नारीलाई देवी मानेर पूज्दा-पूज्दै फेरि बोक्सीको रुपमा पनि ठानिरहेका हौंला !
वास्तवमा नेपाली संस्कृति तथा यसको आमा-संस्कृतिको रुपमा रहेको वैदिक हिन्दू संस्कृतिमा नारीहरुको स्थान गरिमामय थियो । कालान्तरमा त्यो वैदिक परम्परा व्यवहारमा कायम राख्न सकेन यो समाजले; र धर्म संस्कृति तथा परम्पराले नारीहरुलाई महिमामण्डित गरेको भएतापनि सामन्ती राज्यसत्ताका क्रममा त्यो खण्डित हुनगयो । शासकहरु स्वयम् नै स्वेच्छाचारी-भोगी-विलासी बनेको बेलादेखि क्रमशः जनस्तरसम्म नै त्यो विकृति बढ्दै गयो र अल्लिपछि आफ्नो अनैतिक कार्यलाई धार्मिकताको जामा पहिर् याउँदै जाने प्रचलन बढ्यो । अनि त एउटै पुरुषले दुई-तीनवटादेखि लिएर जतिसक्यो धेरैवटी स्वास्नी भित्र्याउन थाले र मर्दका दशवटी भन्नेजस्ता उखान पनि चले । सामाजिकरुपमा महिलाहरुलाई संकुचित घेराबन्दीमा रहनुपर्ने भयो भने आर्थिक पराधिनता पनि चर्कोसँग बढ्यो । आफ्नै सन्तान मध्येमापनि छोरालाई काखा र छोरीलाई पाखा गर्ने अन्यायी एवम् अमानवीय कुसंस्कार हाम्रो समाज वैदिक परम्पराबाट पतन भएपछिको विकृति हो । यसको चरम विकृत स्वरुप मौलाउँदै जाँदा नारीको पवित्र जन्मलाई समेत धिक्कार्ने र ूछोरीको जन्म हारेको कर्मू भन्नेजस्ता उखानहरु जन्मे । तर यी विकृतिहरु हुन् र यस्ता विकृति त्याग्न कत्ति पनि हिच्किचाउनु हुँदैन ।
धर्मशास्त्रमा नारीलाई देवी भन्ने तर व्यवहारमाचाहिँ कसैलाई बोक्सी बनाएर हुर्मत लिने तथा कोठीहरुमा वर्षेनी हजारौं चेलीहरु बेचिने; "यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता" भन्ने तर व्यवहारमाचाहिँ नारीको भागमा अपमान र तिरस्कार पर्ने; "न गृहंगृहमित्याहुगृ्रहिणी गृह मुच्यते" अर्थात् घर त्यसै घर हुँदैन जहाँ गृहिणी रहन्छिन् त्यही घर भनिन्छ भन्ने तर व्यवहारमाचाहिँ उनै नारीलाई जतिबेला सनक चले पनि लोग्नेले घरबाट बिनाकुनै कसूर पनि घरबाट गलहत्याउने ! यी सबै देखिएका-जानिएका-भोगिएका यथार्थहरु हुन् । यो वैदिक संस्कृति एवम् परम्परा अनुरुपको व्यवहार पटक्कै होइन । यो त वैदिक हिन्दू धर्म संस्कृति परम्परा पालन नभएको अवस्थाको पतन हो ।
हाम्रो धर्म संस्कृति त त्यो हो जहाँ मान्यता छ कि "… यत्रैतास्तुं न पूज्यन्ते सर्वास्तत्राफलाः कि्रया" अर्थात्- जहाँ नारीहरु पुजिँदैनन् तिन्को अनादर हुन्छ त्यहाँ समस्त कि्रयाहरु व्यर्थ हुन्छन् ; जहाँ यस्तो विश्वास हुन्छ कि छोरी जन्मनु देवी जन्मनु हो; र जहाँ चेलीले आफ्नो जन्मलाई धिक्कार्नु पर्दैन । आमा दिदी-बहिनी बुहारी पत्नी देउरानी-जेठानी सासू नन्द-आमाजू फूपु भाउजु आदि कसैले पनि नारीको जन्मलाई हारेको कर्म ठान्नु नपरोस् । अहिले हाम्रो समाजमा नारीप्रतिको भेदभाव तिरस्कार उपेक्षा हेलत्वभाव तथा दमन उत्पीडन आदि सनातन हिन्दू धर्म-संस्कृति-परम्पराको कारणले होइन; प्रत्युत सनातन हिन्दू धर्म-संस्कृति-परम्परा अवलम्बन गर्न नसकेकोहुँदा आएको विकृति हो । वैदिक हिन्दू संस्कृति शुद्ध स्वरुपमा हुँदा नारीहरुको गरिमा गर्वयोग्य हुन्छ अस्मिता उँचो हुन्छ । यदि हाम्रो समाजमा नारी र पुरुषको हक-अधिकार समान पार्ने उस्तै गरिमापूर्ण स्थान बनाउने हो भने त्यसका निमित्त सही उपाय भनेको हाम्रो धर्म-संस्कृति-परम्परा अनुरुपको विधान नै हो । ऋषिमुनिहरुले यति राम्ररी विधान गरेर गएका छन् कि त्यो पालना गर्नासाथ महिलामाथि हुने गरेका भेदभाव तिरस्कार उपेक्षा हेलत्वभाव तथा दमन उत्पीडन आदिको गुाजायस नै रहँदैन ।
अर्थात् सनातन धर्म-संस्कृति-परम्पराको शुद्ध/ अविकृत स्वरुपको आत्मसातता स्वतः नारीहरुको सम्मानपूर्ण स्थितिको सुनिश्चितता ग्यारेण्टी हो । तर घोर विडम्बना ! देवीहरुलाई बोक्सीका बात लगाउने अधम्हरुले आफ्नो कुकृत्यलाई धर्म संस्कृति परम्पराको आडमा जायज ठहर् याउने दुस्प्रयास गरिरहेका छन्- कसैले धूर्ततावश र कसैले अज्ञानतावश । तर यथार्थता के होभने हाम्रो धर्म देवीलाई कदापि बोक्सी ठान्दैन । यतिबेला धर्मसम्बन्धी कार्यकालागि खोलिएका संस्था तथा धर्मका व्याख्याताहरुले स्पष्ट पार्नु पर्दछकि देवीलाई बोक्सीको बात लगाउनु पाप हो; यो पूर्णतया धर्म-विरुद्ध कार्य हो । अस्तु ।

Thursday, January 01, 2009

 

िहंस्रक मनोवृत्ति एवं युद्धोन्मादको उपचार

स्पेसटाइम दैनिक, वर्ष २ अंक १८८, वि.सं. २०५९ बैशाख २८, शनिवार, पेज नं. ६ मा प्रकाशित
संसारमा समय-समयमा हुने युद्ध, िहंसाको दुस्चक्र, नरहत्याको विभत्स त्रासदी बारेमा विचार गरौं त ! एकातिर मान्छे दार्शनिक बनेर सारा जगत्को कल्याण एवं शान्तिको वकालत गर्छ भने अर्कातिर युद्धमा खरबौं रुपैयाँ खरबौं डलर खर्चिन्छ र आफ्नै बन्धुको हत्या गरेर विजयको अभिमानमा अट्टाहास गर्न समेत भ्याउँछ । चाहे त्यो युद्ध जेसुकै नाममा लडिएको होस् वा जहाँसुकै गरिएको होस् र जुनसुकै कालखण्डमा मच्चाइएको होस् -त्यसबाट मानवता आहत भएकै छ । युद्धबाट पीडित अनाथ विधवा तथा शरणार्थीहरुको चित्कारमा मानवताको छटपटाहट नै त प्रतिबिम्बित भएको हो नि ! युद्धलाई समाप्त नपारुाजेल यस्ता त्रासदीहरुबाट मानव समाज भविष्यमा पनि बारम्बार घाइते भइरहने निश्चित छ । िहंस्रक मनोवृत्ति एवं युद्धोन्मादलाई समाप्त पार्नु अघि त्यसको जरो चिन्नु जरुरी छ । जरो नचिन्ने होभने फगत् 'शान्ति', 'शान्ति'को फलाकोलेमात्र केही हुनेवाला छैन ।
वास्तवमा लडाइ वा युद्ध सर्वप्रथम मान्छेको मनमा/मष्तिस्कमा पैदा हुन्छ । तसर्थ िहंस्रक मनोवृत्ति एवं युद्धोन्मादलाई समाप्त पार्नु छभने सर्वप्रथम उपचार मान्छेको मनमा/मष्तिस्कमा गर्नुपर्छ । प्रत्येक मानवको मानसिक सन्तुलन एवम् भावात्मक शान्ति कायम रहने होभने युद्ध गर्ने परिस्थिति नै रहने छैन । यदि मानव समाजमा पारस्परिक व्यवहार प्रेम शान्ति धैर्य सन्तोष दया त्याग आदि जस्ता गुणयुक्त हुने होभने अधिकांश समस्याहरु स्वतः निर्मूल हुने स्पष्टै छ । तर यी कुराहरु भन्न जति सजिलो छ; व्यवहारमा कार्यान्वयन गर्न त्यति सजिलो छैन । तर व्यवहारमा कार्यान्वयन गर्न पटक्कै नसकिने पनि त होइन । यदि हामीले चाहेमा पारस्परिक व्यवहारलाई प्रेम शान्ति धैर्य सन्तोष दया त्याग आदि जस्ता गुणयुक्त बनाउन सक्छौं । यसका निमित्त हामीले रोज्नुपर्ने बाटो भोगवादको होइन; योगवादको बाटो हो हामीले रोज्नुपर्ने त ।
योगको अर्थ हो- जोड्नु अथवा मिलन । आध्यात्मिक तवरले भन्नुपर्दा योगको अर्थ हो- आत्मालाई परमात्मासँग मिलन गराउनु । यसमा चित्तको वृत्ति-निरोध पनि एक जरुरी अंग हुँदै हो । आत्मबोध भएको मान्छेले सारा जगत्लाई परमात्म-स्वरुप अनुभूत गर्ने हुनाले वसुधैव कुटुम्बकम्लाई स्वतः आत्मसात् गरेको हुन्छ । अर्को प्राणीलाई पनि आफूजस्तै देख्ने हुनाले त्यहाँ परपीडा हुँदैन द्वेष हुँदैन क्रोध हुँदैन झै-झगडा र मारकाट हुँदैन िहंसा हुँदैन । परोपकार योगीको जीवनको स्वाभाविक कर्म हुन्छ । सर्वे भवन्तु सुखिनःको भावनाले भरिपूर्ण हुन्छ ऊ । योगवाद त मानवताको उच्चतम स्वरुप हो । तसर्थ त्यहाँ प्रेम शान्ति धैर्य सन्तोष दया त्याग आदि जस्ता गुणको नै उपस्थिति हुन्छ ।
योगवादी मनुष्य कसरी सुख-शान्तिको वाहक हुन्छ भन्ने सम्बन्धमा एकजना विद्वानको भनाइ यहाँ स्मरणीय छ । जसअनुसार योगवादी मनुष्यमा चार किसिमका गुणहरु हुन्छन्- गुणदर्शन धैर्य मैत्रीभाव र सन्तोष । पद्मपुराणमा भनिएको छ- हे मनुष्य हो तिमीहरु धर्मको सार सुन र सुनेर धारण गरकि जो हामी आफ्नालागि चाहँदैनौं त्यो अरुप्रति पनि नगर्नू (संस्कृत भाषामा- श्रूयतां धर्मसर्वस्वं श्रुत्वा चैवावधार्यतम् । आत्मनः प्रतिकूलानि परेषां न समाचरेत् ॥) यस श्लोकको भावना अनुरुपको व्यवहार सबै मनुष्यबाट गरिने होभने विश्वमा कहिँपनि लडाईं झगडा युद्ध आदि हुनेनै थिएन । तर अर्काबाट आफूलाईचाहिँ सुख मिलोस् भन्ठान्ने मान्छे बारम्बार अरुलाई दुःख-कष्ट दिइरहन्छ र युद्ध मानव समुदायकालागि त्याज्य छ भन्ने जान्दाजान्दै पनि बारम्बार युद्ध छेडिरहने प्रवृत्ति छ मान्छेमा । विश्वशान्ति चाहने होभने जो हामी आफ्नालागि चाहँदैनौं त्यो अरुप्रति पनि नगर्नु एकदमै उपयुक्त कदम हो । योगवादी मान्छेलेमात्रै यस्तो व्यवहार गर्न सक्छ । अधिकांशतः मानिसहरु आफ्नो विवेकको अनादर गर्दछन् । कुनै चीज गलत हो भन्ने जान्दाजान्दैपनि त्यसलाई त्याग्न नसक्नु विवेकको अनादर हो । जब विवेकको अनादर हुन्छ तब बुद्धिले गलत बाटो पक्डन्छ; अनि मान्छे भोगवादको खाडलमा खँगारिन्छ र यसको परिणाममा मान्छे युद्ध िहंसा द्वेषले विषाक्त हुनपुग्छ । अनि जब मानव बुद्धिले सही बाटो पक्डन्छ तबचाहिँ त्यसले योगवादी बनाउँछ मान्छेलाई र यसले परम् आनन्द शान्ति एवं सुख प्रदान गर्दछ ।
भोगवाद भन्दा योगवाद श्रेष्ठ हो भन्ने जान्दाजान्दैपनि खासगरी मानव समाजको अहिलेको प्रवृत्ति देख्दाखेरीमा त मानव जीवनको लक्ष्य भौतिकजगत्भित्रै रग्मगिने बढी सम्भावना स्पष्ट छ । तर मानव जीवनको लक्ष्य यत्तिकैमा सीमित रहनु सुहाउँदो लाग्दैन । आहार निद्रा भय र मैथुन -यी कुराहरु मनुष्य र पशुहरुमा समान छन् । मनुष्यमा विशेषता यो छकि उसमा ज्ञान अर्थात् विवेक पनि छ । ज्ञानहीन मनुष्य पशु समान नै मानिएको छ । मनुष्यलाई ज्ञान प्राप्त भएकाले उसको जीवन-दर्शन पनि अरु प्राणीका तुलनामा पृथक् किसिमको छ । मनुष्यको कर्तव्य एवं दायित्व पनि अरु प्राणीकोभन्दा विशेष छ । त्यो कर्तव्य एवं दायित्वलाई आत्मसात् गर्नैपर्छ । हुन त मानव मन प्रायः सांसारिकतामा रमाउने र भौतिकजगत्भित्रै सम्पूर्णता खोज्ने प्रवृत्तिले आक्रान्त रहेको छ । अधिकांश मान्छे आफ्नो मनका दास हुने हुन्छन् । अनि यो मनका बारेमा त माथिपनि चर्चा गरिएकै छकि वास्तवमा लडाइ वा युद्ध सर्वप्रथम मान्छेको मनमा/मष्तिस्कमा पैदा हुन्छ । यद्यपि हामीले चाहेमा मनलाई आफ्नो नियन्त्रणमा राख्न सक्दछौं । यसका अनेक विधि छन् । मानव मनलाई बुद्धिलाई सही मार्ग-निर्देशन गर्नकालागि उपायहरु छन् ।
िहंस्रक मनोवृत्ति एवं युद्धोन्माद जस्ता समस्या आन्तरिक प्रकृतिका समस्या हुन्; मानसिक एवं भावात्मक तहबाट उब्जने समस्या हुन् यी । तसर्थ यिनको उपचार पनि त्यही तहबाटै आरम्भ गर्नुपर्छ । यसकालागि आध्यात्मिक /धार्मिक तहमा नपुगी हुँदैन । भोगवादलाई त्यागेर योगवाद अवलम्बन गरेरमात्र िहंस्रक मनोवृत्ति एवं युद्धोन्माद जस्ता समस्याहरुबाट पार पाउन सकिन्छ । भोगवादको विरोध गर्नुको अर्थ भौतिक पदार्थको भोग नै त्याग्ने वा त्यसबाट भाग्ने भनेको होइन नि ! जबसम्म शरीरमा आत्मा छ तबसम्म शरीरकालागि गास वास कपास त चाहिन्छ नै । हो आफूलाई यी भौतिक पदार्थहरुको दास बनाउनु पक्कै हुँदैन र मनलाई निर्मल निर्विकार बनाउने र प्रेम शान्ति धैर्य सन्तोष दया त्याग आदि जस्ता गुणयुक्त हुनेतर्फ प्रवृत्त हुनैपर्छ । तबमात्र युद्धोन्मादको रामवाण उपचार हुन सम्भव छ । अस्तु ।

This page is powered by Blogger. Isn't yours?