Wednesday, January 05, 2022
समाज संरचना र वैयक्तिकता बारे वैदिक दृष्टिकोण
समाज संरचना र वैयक्तिकता बारे वैदिक दृष्टिकोण
डा. निर्मलमणि अधिकारी
सहप्राध्यापक, काठमाडौँ विश्वविद्यालय
परिवार, कुल, कुटुम्ब, ग्राम, गण आदि संरचनाहरू राज्यको तुलनामा निकै प्राचीन हुन् । सामाजिक र राजनीतिक संस्थाहरूको क्रमिक विकास बताउने साक्ष्य वेद एवं वैदिक वाङ्मयमा भेटिन्छ । सामाजिक एवं राजनीतिक संरचना बारे वैदिक वाङ्मयमा गरिएका चिन्तनमा व्यक्ति र दम्पतिको अस्तित्त्वलाई सामाजिक सम्बन्धको प्रारम्भ मानिएको देखिन्छ । अथर्ववेदका अनुसार, सबै भन्दा पहिले बनेको संस्था परिवार थियो । विवाह, दाम्पत्य जीवन र परिवार सम्बद्ध मन्त्रहरू ऋग्वेदमा पनि प्रशस्त छन् । परिवार संस्थालाई अथर्ववेदमा ‘गार्हपत्य’ भनिएको छ । दाम्पत्य जीवन एवं परिवारको अस्तित्त्वले निजी सम्पत्तिको प्रावधानलाई जन्म दियो । गार्हपत्य वा पारिवारिक संगठनपछि आहवनीय संस्थाको विकास भयो । आहवनीय शब्दको अभिप्राय आह्वान गरिएको अवस्थामा जम्मा हुने संस्था वा संगठन हो । सम्भवतः आहवनीय भनेको ग्राम संगठन (गाउँ सभा) जस्तो संस्था थियो । आहवनीय संस्थापछि दक्षिणाग्नी संस्थाको विकास भयो । यो जनपद तहको संस्थाको रूपमा देखिन्छ, जहाँ ग्रामका प्रतिनिधिहरू (ग्रामणी) एकत्र हुन्थे । जनपदको साझा पहिचानलाई ’गण’ भनिएको बुझिन्छ ।
ऋग्वेदमा धेरै उल्लेखित संस्था विदथ देखिन्छ । यो महिला र पुरुष दुवै सहभागी हुने संस्था थियो । परिवार वा कुलको सदस्य संख्या धेरै भएको अवस्थामा सबै परिवारजन एकै स्थानमा भेला भई महिला र पुरुषको समान सहभागितामा पारिवारिक विषयवस्तुमा विचार विमर्श गर्ने, उपभोग्य वस्तुको वितरण गर्ने, क्रीडा गर्ने, धार्मिक क्रियाकलाप गर्ने एवं युद्धको तयारी गर्ने संस्था विदथ थियो भन्ने अध्येताहरू बताउँछन् । यो अथर्ववेदको गार्हपत्य र आहवनीय संस्थाहरूसँग तुलनीय देखिन्छ ।
ऋग्वेदमा ‘जन्मन’, ‘विश’ र ‘जन’ को पनि उल्लेख छ । ‘जन्मन’लाई गोत्र अर्थात् एउटा परिवारको गोष्ठी भन्न सकिन्छ । त्यस्ता कतिपय ‘जन्मन’हरू मिलेर ‘विश’ बन्थ्यो र ‘विश’हरू मिलेर ‘जन’ बन्थ्यो । सभा, समिति, परिषद, सेना आदि पनि वेद संहितामै उल्लेखित छन् । यसरी परिवार, ग्राम, जनपद हुँदै सभा र समिति जस्ता राष्ट्रिय संस्थाहरूको उद्भव र विकास भएको देखिन्छ । वैदिक वाङ्मयमा ‘राष्ट्र’ भनेको राजनीतिक रूपले संगठित जन (वा विशः) लाई जनाउने संज्ञा हो । राज्यको अस्तित्त्वले राष्ट्रियताको भावना आउँछ र समिति, सभा, परिषद्, सेना, राजाको वा गणमुख्यको चयन र राज्याभिषेकबारे वेद संहिता एवं ब्राह्मण ग्रन्थहरूमा धेरै सामग्री पाइन्छ ।
महाभारत ग्रन्थको शान्तिपर्वबाट थाहा हुन्छकि अति प्राचीन कालमा राज्य, राजा, दण्ड (आजको परिप्रेक्ष्यमा कानुन) थिएनन् । सम्पूर्ण प्रजा धर्मद्वारा नै परस्परको रक्षा गर्थे एवं सबै मनुष्य (नर) हरू धर्मद्वारा नै परस्पर पालित र पोषित हुन्थे भनिएको छ । समयक्रममा राज्यको विकास भयो । पहिल्यैदेखि विद्यमान परिवार, कुल, कुटुम्ब, ग्राम, गण आदि संरचनाहरूलाई मानेर नै राज्य अघि बढेको देखिन्छ ।
कुनै पनि व्यक्तिको व्यक्तित्व कस्तो हुन्छ भन्ने कुरामा देश, काल (समय) तथा परिस्थितिको प्रत्यक्ष प्रभाव परेको हुन्छ भन्ने मान्यता देखिन्छ । यसमा समाजका सबै सदस्यहरूले पालना गर्नु पर्ने साधारण कर्तव्यहरू र व्यक्तिको पात्रता, जिम्मेवारी र आवश्यकता अनुसार निर्धारण हुने कर्तव्यहरूको समष्टिबाट व्यक्तिको व्यक्तित्व निर्माण हुन्छ । यसलाई व्याख्या गर्न वैदिक हिन्दू, बौद्ध तथा जैन धर्म दर्शनमा साधारण धर्म र विशेष धर्मको अवधारणा रहेको पाइन्छ । यहाँ चरित्र वा आचारलाई धेरै महत्त्व दिइएको छ । संस्कार, संस्कृति र सदाचारको पालनाले असल पात्रता हुने र कर्तव्यको पालनाले अधिकार प्राप्त हुने मान्यता देखिन्छ । मानिसको चोला पाएपछि जीवनको अन्तिम लक्ष्य मोक्ष हो भन्ने उपदेश हिन्दू र जैन शाास्त्रहरूको छ र बौद्ध मतमा निर्वाणलाई परम् लक्ष्य मानिएको छ । हिन्दू जीवन पद्धतिमा जीवात्माको स्थूल, सूक्ष्म र कारण शरीर हुने र जीवनमा धर्म, अर्थ, काम र मोक्ष (पुरुषार्थ चतुष्टय) को लक्ष्य अनुसार कर्म गर्नु पर्ने उपदेश रहेको छ । मानिस जन्मिनासाथ ऋषि ऋण, देव ऋण र पितृ ऋण लाग्ने र ज्ञान आर्जन, उपासना र कर्म मार्फत् कर्तव्य पूरा गरेमा ती ऋणबाट उऋण होइने बताइएको छ । दैनिक जीवनमा कर्मठता, दया, करुणा, परोपकार जस्ता गुण धारण गरी कर्मरत रहनु पर्छ । परोपकार नै पुण्य हो र परपीडन पाप हो । मानिसका साथसाथै अन्य प्राणीहरूको पनि कल्याण गर्नु पर्छ र उनीहरूप्रति पनि दया, करुणा, मैत्रीको भाव राख्नु पर्छ । मन, वचन र कर्ममा पवित्रता हुनु पर्छ । आफूलाई मन नपर्ने वा प्रतिकूल हुने कार्य अरुलाई पनि गर्नु हुँदैन । आफ्नो क्षमता अनुसार इष्टापूर्त (दान एवं परोपकार) गरिरहनु पर्छ । हिंसा, क्रोध, द्वेष, लोभ जस्ता अवगुणहरू त्याग्नु पर्छ । परिवार, कुल, कुटुम्ब, राज्य (राष्ट्र) एवं पृथिवी (भूमि) प्रतिको कर्तव्य पूरा गर्नु पर्छ । यस्ता उपदेशहरूले वैयक्तिक कर्तव्यको चेतना दिन्छन् ।
समाजमा रहेका व्यक्तिहरूको आपसी सम्बन्धका विभिन्न आयाम हुन्छन् । सामाजिक व्यवहारमा नेपाली संस्कृति समष्टि–प्रधान रहेको छ भने आध्यात्मिक प्रयोजनमा यो सदैव व्यष्टि–केन्द्रित रहेर (वैयक्तिकता प्रधान) चिन्तन गर्दछ । सामाजिक व्यवहारमा समाजलाई प्राथमिकता दिने र आध्यात्मिक व्यवहारमा व्यक्तिलाई प्राथमिकता दिने गरिएकोमा समुचित कारण छ । एक जनाको कारणले सारा समाजलाई हानि पुग्न सक्दछ वा फाइदा पनि पुग्न सक्दछ; किनकि समाजका सदस्यका रूपमा हरेक व्यक्ति–व्यक्ति अन्तःनिर्भर र सम्बद्ध छन् । तर आध्यात्मिक प्रयोजनमा यस्तो हुँदैन । प्रत्येक जीवात्मा मोक्ष वा पतनकोलागि आफूमात्र जिम्मेवार हुन्छ । शास्त्रहरूमा बताइएको छ– परलोकमा आमा–बुबा श्रीमती पुत्र वा हितैषी–मित्रजनहरू कोही पनि साथमा हुँदैनन्, केवल धर्म मात्र साथमा हुन्छ । जीव एक्लै आउँछ र यहाँबाट एक्लो नै जान्छ; एक्लैले पुण्य–पापको फल पनि भोग्दछ । त्यसैले आध्यात्मिक सन्दर्भमा व्यक्तिलाई पूर्ण वैयक्तिक स्वतन्त्रता दिइएको हो । यसरी समाजको आधारभूत एकाइको रूपमा रहेको व्यक्तिलाई आधिभौतिक, आधिदैविक र आध्यात्मिक सबै आयामबाट व्यक्तित्वको पूर्ण विकास गराई सामाजिक सम्बन्धका लागि तयार पार्ने पद्धति यहाँ देखिन्छ । कर्तव्य पूरा गरेर अधिकार प्राप्त गर्नु पर्छ भन्ने मान्यता नेपाली समाजको विशेषता हो ।
युरोपेली सभ्यतामा व्यक्ति र समाजको सम्बन्ध बारे दुई बिल्कुलै विपरित मान्यताहरूको सङ्घर्ष देखिन्छ । त्यहाँ एकातिर व्यक्तिलाई केन्द्रमा राख्ने वैयक्तिकतावादी (Individualist) दृष्टिकोण देखिन्छ भने अर्कातिर सामाजिक तथा राजनीतिक संरचनालाई बढी महत्त्व दिने समुदायवादी (Communitarian) दृष्टिकोण रहेको छ । ती दुईमध्ये कुन विचारधारा अवलम्बन गरिएको हो, सोही अनुसार सामाजिक सम्बन्धको स्वरूपमा फरक पर्ने हुन्छ । नेपाली संस्कृतिमा समन्वय एवं सामञ्जस्यलाई जोड दिइने हुनाले युरोपेली सन्दर्भको जस्तो व्यक्तिवादी वा समुदायवादी भन्ने दुई फक्लेटे विभाजन (Binary division) छैन । माथि चर्चा गरिएझैँ सामाजिक व्यवहारमा समाजलाई प्राथमिकता दिने र आध्यात्मिक व्यवहारमा व्यक्तिलाई प्राथमिकता दिने पद्धति यहाँ रहिआएको छ ।
सामाजिक संरचनाको आधारभूत एकाइ व्यक्ति र परिवार हुन् । त्यसपछिको संरचना कुल हो । आफ्नो कुलका मानिसहरू र आफन्तहरू सहितको समुदायलाई कुटुम्ब भनिन्छ । सामाजिक राजनीतिक हिसाबले सबैभन्दा सानो एकाइ ग्राम मानिएको देखिन्छ । महाभारतमै रहेको विदुर नीतिमा कुलभन्दा ग्राम ठूलो एकाइ रहेको बताउने श्लोक रहेको छ । चाणक्य नीतिको एउटा श्लोकले कुलभन्दा ग्राम ठूलो एकाइ रहेको र एउटा ग्राममा अनेक कुलहरू रहने देखाउँछ । ग्रामभन्दा जनपद ठूलो एकाइ थियो । ‘कुल’ जन्मसँग सम्बद्ध र ‘गण’ जनपदसँग सम्बद्ध रहेको थियो ।
प्राचीन सामाजिक संरचनाका बहुआयामिक देखिन्छ । परिवार, कुल र कुटुम्बको अन्तर्सम्बद्धता महत्त्वपूर्ण मानिन्थ्यो । साथै, ग्राम र जनपदमा रहेका अन्य कुलसँगको सम्बन्ध र सामाजिक अन्तरनिर्भरता पनि कम महत्त्वको थिएन । गोष्ठी (गुठी, बडघर) जस्ता संरचनाले सामाजिक अन्तरनिर्भरतालाई व्यवस्थित गर्थे । गुरुकुल तथा आश्रमहरूले विभिन्न कुल, विभिन्न ग्राम, विभिन्न जनपद र ज्यादै टाढा रहेका देशहरूका मानिसलाई आपसमा सम्वाद र सहकार्य गर्ने अवसर सिर्जना गर्थे । धार्मिक आस्था अनुसारका सम्प्रदायहरूको पनि समाजमा ठूलो महत्त्व थियो । व्यावसायिक समूहहरू (जस्तै ः– शिल्पिहरूको श्रेणि र व्यापारीहरूको निगम तथा पूग नामका संस्थाहरू, त्यस्तै सार्थ समवाय, संव्यवहारिक, सम्भूय समुत्थान नामका ठूला व्यापारिक संस्थाहरू) ले पनि सामाजिक संरचनामा प्रत्यक्ष प्रभाव पार्थे । प्राचीन राजनीतिक संरचना राज्य (राष्ट्र) र राष्ट्र मण्डलको पनि सामाजिक अन्तरनिर्भरतामा प्रभाव रहन्थ्यो ।
मानिस सामाजिक प्राणी भएको हुनाले सृष्टिको उषाकालदेखि सामाजिक अन्तरनिर्भरता मानव जीवनको स्वाभाविक पाटो हो भन्न सकिन्छ । सामाजिक अन्तरनिर्भरतालाई व्यवस्थित गर्न प्राचीन कालमा वर्ण र आश्रमको व्यवस्था गरिएको थियो । गुण र कर्मको आधारमा वर्णको व्यवस्था गरिएको थियो भने उमेर अवस्था अनुसार आश्रमको व्यवस्था गरिएको थियो । वर्ण व्यवस्थामा शिक्षादीक्षा एवं ज्ञानमा केन्द्रित रहने समूह, शासन–प्रशासन, व्यवस्थापन र आवश्यकता अनुसार युद्धमा भाग लिने समूह, कृषि, पशुपालन, शिल्प, व्यापार आदि कार्य गर्ने समूह र सेवामूलक कार्य गर्ने समूह गरी चार समूहहरू थिए । मानिसको आयुलाई कूल १ सय वर्षको मानेर चार भागमा बाँडी पहिलो भागलाई ब्रह्मचर्य आश्रम, दोस्रो भागलाई गृहस्थ आश्रम, तेस्रो भागलाई वानप्रस्थ आश्रम र चौथो भागलाई संन्यास आश्रम मानिएको थियो । पहिलो आश्रममा शिक्षादीक्षा एवं ज्ञान र शीप हासिल गर्ने मुख्य कर्तव्य मानिन्थ्यो । दोस्रो आश्रममा विवाह गरी घरको जिम्मेवारी सम्हाल्ने, धन–सम्पत्ति आर्जन गर्ने, सन्तान जन्माउने–हुर्काउने, परोपकार गर्ने आदि कार्यहरूलाई प्राथमिकता दिइन्थ्यो । तेस्रो आश्रममा समाजसेवा तथा आध्यात्मिक साधनामा जोड दिइन्थ्यो । अन्तिम आश्रममा पूर्णतया आध्यात्मिक साधनामा केन्द्रित हुने नियम थियो ।