Sunday, February 12, 2023

 

विशेष वैचारिक अन्तरवार्ता

 सञ्चारयोग त्रैमासिकको लागि डा. निर्मलमणि अधिकारीसँग लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

पहिलो प्रकाशित सामग्रीको हिसाबले तपाईँले लेखन क्षेत्रमा ३२ वर्ष योगदान गरिसक्नुभएको छ । पहिलो पुस्तक कृति प्रकाशित भएको २५ वर्ष भइसकेछ । कुनै पनि व्यक्तिको जिन्दगीमा यो निकै लामो समय अवधि हो । आफ्ना प्रकाशित सामग्रीहरूलाई कसरी हेर्नुभएको छ ?
प्रारब्धवश भनौँ वा परिवारको वातावरणले भनौँ, शैशवकालदेखि नै मलाई पढ्ने, सुन्ने र ज्ञानमार्गमा अग्रसर हुने अवसर मिल्यो । आफ्ना मनमा लागेका वा मस्तिष्कमा खेलेका अनुभूति, धारणा वा विचारलाई लेखेर अभिव्यक्त गर्ने र तिनीहरूलाई प्रकाशित गर्ने अवसर पनि सानै उमेरदेखि मिल्यो । हालसम्मको लेखनयात्रामा अनेक आयाम रहे । प्रारम्भमा स्वान्तसुखाय लेखिन्थ्यो । यो चरणमा साहित्यिक भनिइने सामग्रीहरूको लेखन अधिक् भयो । दोस्रो, पत्रपत्रिका वा पुस्तकमा पढेका कुराको प्रतिक्रियामा लेखियो । पत्रपत्रिकाका सम्पादकलाई पत्र स्तंभमा नै मेरा सयौँ पत्रहरू प्रकाशित भएका थिए र स्वतन्त्र लेखका रूपमा प्रकाशित सामग्रीहरूमध्ये पनि धेरैको अन्तर्वस्तु अन्य व्यक्ति वा संस्थाका क्रियाको प्रतिक्रियामा केन्द्रित थियो । अहिले ती पत्रहरू र सोही समयमा प्रकाशित लेखहरू पढ्दा स्पष्ट हुन्छ — त्यो तीव्र गतिको सिकाइ, थाहा पाउने हुटहुटी, मार्गनिर्देशक सिद्धान्तको खोजी, प्रतिक्रिया, केही मात्रामा आवेग र आक्रोशको समय पनि थियो । तेस्रो, आत्मदर्शनका लागि लेखिएका धर्म, संस्कृति, संस्कार, दर्शन आदिमा केन्द्रित काव्य, लेख तथा पुस्तकहरू रहेका छन् । चौथो, वैयक्तिक वा पेसागत अवसरको परिप्रेक्ष्यमा पाठ्यपुस्तकहरूको लेखन पनि एउटा आयाम रह्यो । पाठ्यक्रममा आधारित पाठ्यपुस्तकको आफ्नै महत्त्व छ । पाँचौँ, समाज वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोग गरेर लेखिएका अर्थात् शोधपरक लेखहरू तथा पुस्तकहरू लेख्नु पनि महत्त्वपूर्ण पाटो रहेको छ । जीवन अनुभव र औपचारिक शिक्षाको परिपक्वता सँगसँगै शोध प्रवृत्ति र अनुसन्धान पद्धतिमा विज्ञताले ज्ञानमार्गको यात्रालाई थप व्यवस्थित बनाउन सम्भव भएको हो । यो आयमले प्राज्ञिक परिचय र वैश्विक तहसम्म योगदानको ढोका पनि खोल्यो । छैटौँ, केही मात्रामा पहिलो चरणदेखि नै रहेको र समयक्रममा झन् झन् प्रबल बनेको आयाम चाहिँ जीवन र जगत्प्रतिको जिम्मेवारी बोध गरेर लेखिएको सोद्देश्य लेखन हो । वि.सं. २०७२ पछि यो आयाम थप प्रबल बनेको छ । सातौँ, संस्थागत जिम्मेवारीका कारणले लेखिएका सामग्रीहरू पनि थुप्रै छन् । विगतमा नेपाली भाषा–संस्कृति परिषद् र युग निर्माण अभियान तथा वर्तमानमा जरोकिलो महाअभियान र सनातन धर्म महासङ्घको पदीय जिम्मेवारीको कारणले पनि कैयौँ सामग्रीहरू लेख्नु परेको छ, लेखिएको छ । आठौँ, मैले प्रत्यक्ष लेख्न नभ्याएका, तर विशेष सन्दर्भमा बोलेका कुराहरूको लिप्यन्तरण गरी पुस्तक वा लेखका रूपमा प्रकाशित गर्ने क्रम पनि केही वर्षदेखि चलेको छ । यी त भए म आफैँले आफ्ना लिखित एवं प्रकाशित सामग्रीहरूका अनेक आयाम बारे थाहा पाएका कुरा । शोधकर्ताहरूले व्यवस्थित अनुसन्धान गर्ने हो भने अर्कै आयामहरू पनि उजागर हुन सक्छन् ।

करिब तीन दशकको अथक् योगदानलाई आफू स्वयंले कसरी मूल्याङ्कन गर्नुभएको छ ?
करिब तीन दशकको यो लेखनयात्रामा जीवन र जगत्को विवरण, विश्लेषण र अर्थापनका अनेक घुम्तीहरू पार गरिएको छ । मैले लेखेका सामग्रीहरू मूलतः नेपाल र कतिपय चाहिँ सारा संसारलाई हेर्ने आँखीझ्याल जस्ता छन् । नेपाल जस्तो छ, संसार जस्तो छ र मैले अध्ययन, सोधखोज र अनुसन्धानबाट जस्तो देखेँ, त्यही यथार्थ मेरो लेखनी मार्फत् प्रस्तुत भएको छ । प्राज्ञिक तहबाट हेर्दा सञ्चारप्रक्रियाको मौलिक सिद्धान्तीकरणमा ठोस कार्य हुन सकेको छ । सञ्चारको साधारणीकरण ढाँचा, सञ्चारयोग सिद्धान्त एवं सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा दार्शनिक सिद्धान्तीकरण र सञ्चार ढाँचाको अभिनिर्माणलाई वैश्विक तहमा समेत प्राज्ञिक समुदायले प्रशंसा गरेको छ । यता नेपालमा आज नेपालमा जुन पुनर्जागरणको सचेतना फैलिएको छ, त्यसका लागि प्रत्यक्ष योगदान गर्न सकिएको अनुभूति छ । सहृदयता दर्शन, आधारशिला चतुष्टय, स्थितिगत्यात्मक प्रगतिवाद, राज्यराष्ट्र सिद्धान्त, सहृदयता अर्थतन्त्र, मौलिक शिक्षा प्रणाली, पारिस्थितिक सम्भाव्यताको नियम, सातत्य दृष्टिकोण, सम्मेयता, मौलिक नेतृत्व पद्धति आदिको अभिनिर्माणको आधार वा जग यही लेखनयात्रामा रहेको छ । आफ्ना लेखनीबाट जन्मेका कृतिहरूको आत्म–मूल्याङ्कन बेला बेलामा गर्ने गरेको छु र विचारमा आवश्यक स्थितिगत्यात्मक परिवर्तन पनि गरेको छु । बृहत्तर समाजले गर्ने मूल्याङ्कन समयक्रममा हुँदै जाला भन्ठानेको छु ।

सातत्य दृष्टिकोणको उल्लेख तपाईँले गर्नुभयो । सातत्य दृष्टिकोणको महत्त्व के छ ? दुईफक्लेटे (बाइनरी) दृष्टिकोण किन त्याज्य हो ?
द्वन्द्ववादी दुईफक्लेटे दृष्टिकोण पराई हो, सातत्यको दृष्टिकोण मौलिक हो । वैदिक, बौद्ध, जैन, किरात, बोन आदि परम्परामा सातत्य दृष्टिकोण रहिआएको छ । उक्त दृष्टिकोणहरूले मानिसको सोचाइ, हेराइ, व्यवहार सबैमा अन्तर पार्छन् ।
जस्तै ः– विज्ञान र धर्म अलग अलग वा विरोधी मान्नु दुईफक्लेटे दृष्टिकोण हो । सातत्यको दृष्टिकोणले चाहिँ मानव जीवनको पूर्णताका लागि स्थूल, सूक्ष्म र कारण शरीर तीनैवटालाई यथार्थ मान्छ, आधिभौतिक, आधिदैविक र आध्यात्मिक तीनवटै अभ्युदय आवश्यक ठहर्याउँछ र विज्ञान र धर्मलाई उपनिषद्ले अविद्या र विद्याको सातत्य सम्बन्धमा बताएझैँ अन्तःसम्बद्ध देख्छ । अर्को उदाहरण ः– दुईफक्लेटे दृष्टिकोणले व्यक्ति, समाज र राज्यलाई प्रतिस्पर्धी वा शत्रु देखाउँछ । एउटै समाजमा रहेका अनेक समुदायलाई सङ्कीर्ण कित्ताकाटमा विभाजन गर्ने दोषपूर्ण दृष्टिकोण त्यसले दिन्छ । यता सातत्य दृष्टिकोणले व्यक्ति, परिवार, कुटुम्ब, समाज, राज्य र वैश्विक संरचनाहरू सहृदयताको प्रणालीमा आबद्ध एवं अन्तःसम्बद्ध हुने विचार र व्यवहारको प्रवर्धन गर्छ । तेस्रो उदाहरण ः– दुईफक्लेटे दृष्टिकोणले राष्ट्रराज्य, द्विराष्ट्रियता, बहुराष्ट्रियता जस्तो मताग्रह देखाउँछ । यता सातत्यको दृष्टिकोणले चाहिँ देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक समाज छ, तर राष्ट्र त सबै समन्वित भई बन्ने समष्टिमूलक एउटै साझा राष्ट्रियता छ भन्ने तथ्य देखाउँछ (राज्यराष्ट्र सिद्धान्त) । दृष्टिकोणको तहमै मौलिकता सुनिश्चित गर्नको लागि सातत्य दृष्टिकोण लिनुपर्छ र दुईफक्लेटे दृष्टिकोण त्याग्नुपर्छ ।
तपाईँले आफ्ना पुस्तकहरू चुच्चे–नेप्टेको सवाल र दशैँ बहिष्कार (२०५६), आस्थाको शान्ति–युद्ध (२०५७) र ब्राह्मणवाद विरुद्ध घृणावाद (२०६५) मार्फत् गर्नुभएका विश्लेषण, आँकलन र प्रक्षेपण त्यसपछिका वर्षहरूमा नेपालमा सही प्रमाणित भएको देखियो । लेखक, विश्लेषक एवं अनुसन्धानकर्ताका लागि यस्तो प्रामाणिकता त ठूलो विश्वसनीयता हो । तपाईँले समय वा कालखण्डको कसीमा यसरी प्रामाणिक ठहरिने गरी त्यति बेला लेख्न सक्नुको कारण के हो त ? साथै, वैचारिक तहमा समयक्रमा ठूलो प्रतिमान परिवर्तन भएको पनि तपाईँले बताउने गर्नुभएको छ । यस बारे स्पष्ट पारिदिनुहोस् ।
यहीँको समाजमा जन्मेर यहीँ हुर्केको, बढेको, पढेको, देखेको र यहीँको मौलिक दृष्टिबिन्दुबाट लेखेको हुनाले तथ्य, तर्क, विश्लेषण, अर्थापन, आँकलन र अर्थापनमा प्रामाणिकता र विश्वसनीयता भएको हुनुपर्छ भन्ने मलाई लागेको छ । आफ्नो बलबुताले सकेसम्म तथ्य र तर्कमा वस्तुनिष्ठता अवलम्बन गर्न खोज्ने प्रवृत्ति मेरो छ । आधुनिक समाजवैज्ञानिक पद्धतिको अध्ययन गर्ने अवसर मिलेको हुनाले त्यसले ठूलो मद्दत पुगेको छ । दर्शनशास्त्रको अनुशीलनका कारणले प्रमाण–प्रमेय पद्धतिको जानकारी पनि हुन पाएको छ । पुराना सामग्रीहरूमा रहेका विवरण र विश्लेषण अहिले पनि धेरै हदसम्म तथ्यपूर्ण छन् । त्यहाँ गरिएका आँकलन, प्रक्षेपण वा पूर्वानुमान पनि मिलेका छन् । अब के गर्ने वा समाधान के हो भन्ने सवालमा अवश्यै मेरो दृष्टिकोण थप व्यवस्थित, वैचारिक स्पष्टताले पूर्ण एवं युगानुकूल विश्वदृष्टिकोण सहितको बनेको छ । चुच्चे–नेप्टेको सवाल र दशैँ बहिष्कार (२०५६), आस्थाको शान्ति–युद्ध (२०५७) र ब्राह्मणवाद विरुद्ध घृणावाद (२०६५) मा रहेका अन्तर्वस्तुको लेखन तथा प्रकाशनको समयमा जिज्ञासा, हुटहुटी, प्रतिक्रियाको ओज प्रबल थियो भने लगभग एक दशक यताको कालखण्डमा स्वक्रियात्मकता, दार्शनिक एवं सैद्धान्तिक अभिनिर्माण र वैश्वस्थानिक ज्ञानको आलोकको प्रबलता छ । मौलिक दृष्टिकोण पूर्ण विकसित भएको छ । सहृदयता दर्शन, आधारशिला चतुष्टय, स्थितिगत्यात्मक प्रगतिवाद, राज्यराष्ट्र सिद्धान्त, सहृदयता अर्थतन्त्र, मौलिक शिक्षा प्रणाली, पारिस्थितिक सम्भाव्यताको नियम, सातत्य दृष्टिकोण, सम्मेयता, मौलिक नेतृत्व पद्धति आदिको अभिनिर्माण भइसक्नुले वैचारिक तहमा प्रतिमान परिवर्तन सम्भव भएको हो ।
आजभन्दा धेरै वर्ष पहिले प्रकाशित भएको ब्राह्मणवाद विरुद्ध घृणावाद ः नेपालमा जातीय, भाषिक र साम्प्रदायिक सवाल (२०६५) कस्तो पुस्तक हो ? कसरी पुस्तकको स्वरूपमा तयार भयो ? यसको अन्तर्वस्तुको संरचना कस्तो छ ? यसमा कस्ता विषयवस्तु समावेश गरिएका छन् ?
अब सुरुमा जुन प्रश्न आयो यो कस्तो किताब हो भनेर भन्दा योचाहिँ पूर्व–प्रकाशित सामग्रीहरूको संकलन हो । यो पुस्तक २०६५ सालमै निक्लेको हो तर विक्रम सम्वत् २०५२ देखि २०६५ साल सम्म लेखिएका र विभिन्न पत्रपत्रिकामा प्रकाशित सामग्रीहरूको संकलन हो यो । मैले सुरुमा लेखेका सम्पादकलाई चिठीहरू, टिप्पणीहरू, प्रतिक्रियाहरूका साथसाथै स्वतन्त्र लेखहरू, कार्यपत्रहरू, प्रस्तावनापत्रहरू सहितका धेरै चिज यहाँ छन् । यो पुस्तकमा संकलित सामग्रीहरूले नेपालमा त्यो बेलामा पनि प्रखर भइसकेका जातीय, भाषिक तथा सम्प्रदायसँग सम्बन्धित द्वन्द्वका कुराहरू, अर्थात् पहिचानको राजनीतिसँग सम्बन्धित विभिन्न पक्षहरूबारे मेरो अवलोकन, विश्लेषण र अर्थापनलाई प्रस्तुत गरेका छन् । अलग अलग समयमा लेखिएका र प्रकाशित भएका ती सामग्रीहरूलाई कालान्तरमा हेर्दा तिनीहरूले मेरो वैचारिक उद्विकासलाई प्रतिनिधित्व गर्ने रहेछन् । समकालीन नेपालमा तिनीहरूको संकलन गरी एउटै पुस्तकमा प्रस्तुत गर्दा धेरै अध्येताहरूको लागि त्यो उपयोगी हुने देखियो । २०६५ सालमा पुगेर हेर्दा त ती सामग्रीहरूमध्ये कैयौँ सामग्री त असाध्यै चर्चित पनि भएका थिए । कसैले विवादित पनि भन्लान् । आफ्नो आफ्नो दृष्टिकोण हो । मैले पहिल्यै आँकलन वा पूर्वानुमान गरेका कुराहरू नेपालमा घटित भइरहेका देखेपछि धेरैजनालाई आश्चर्य पनि लाग्यो र पूर्व–प्रकाशित ती सामग्रीहरू २०६२—६३ पछि झन् सान्दर्भिक भएको महसुस उहाँहरूले गर्नुभयो । ती सामग्रीहरूको संकलन प्रकाशित हुनुपर्छ भनेर धेरैजनाले अनुरोध पनि गर्नुभयो । फलस्वरूप २०६५ मा यो पुस्तक जन्मियो ।
यो पुस्तकमा आठवटा खण्डमा ५२ वटा सामग्रीहरू राखिएका छन् । तिनीहरूले अनेकौँ विषयवस्तुलाई सम्बोधन गरेका छन् । नेपालमा जातीय समस्याको सवाल र समाधान बारे विस्तृत विवरण र विश्लेषण छ । जातीय पहिचानको सवाललाई कम्युनिष्ट पार्टीहरूले कसरी गिजोले र माओवादी भनिने गुटले कसरी दुरुपयोग गरेको थियो भन्ने तथ्य झल्काउने सामग्रीहरू पनि छन् । कम्युनिष्ट विचारधाराले देशलाई ढिलो वा चाँडो जातीय घृणा र द्वन्द्वमा फसाउने तथ्यलाई अन्तरराष्ट्रिय सन्दर्भबाट समेत स्पष्ट पारिएको छ । जनजाति, आदिवासी र आदिवासी जनजाति भनिने पहिचानको राजनीतिका अनेक पक्ष बारे लेखिएका सामग्रीहरू पनि यो पुस्तकमा संकलित छन् । क्षेत्रीयता (मधेशकेन्द्रित राजनीति), जातीयता र भाषासँग सम्बन्धित पहिचानको राजनीति बारे लेखिएका सामग्रीहरूले त्यो बेलाको चुनावी गणित र भोटब्याङ्क राजनीतिसँग सम्बद्ध सवालहरूलाई केलाएका छन् ।
धर्म, मजहब र रिलिजनको सङ्घर्ष बारे लेखिएका सामग्रीहरू पनि यो पुस्तकमा संकलित छन् । “धर्मपरिवर्तन” भनिने क्रियाकलापले नेपालमा कस्तो समस्या ल्याउनेवाला छ भन्ने आँकलन पनि कतिपय लेखहरूमा छ । नेपालको हिन्दू पहिचानको सवाल, हिन्दू अधिराज्यको सवाल र धर्मनिरपेक्षता र धर्मसापेक्षताको सवाल बारे लेखिएका सामग्रीहरू पनि पुस्तकमा संकलित छन् ।
मूल कुरोचाँहि के हो भने त्यो बेलामा सुरु भइसकेको तर अहिले झन् बढी प्रखर रूमा आइरहेका सवालहरूलाई यो पुस्तकले छुन्छ, सम्बोधन गर्छ । यद्यपि यो लेख्ने बेलामा त कुनै योजना गरेर लेखिएको पुस्तक थिएन । विभिन्न समयमा लेखिएका सामग्रीहरू संकलन गर्दा यो स्वरूमा पुस्तक बन्न पुगेको थियो । नेपालको राष्ट्रियताको बृहत्तर व्याख्या कसरी गर्ने र बृहत् नेपाली जातीयताको साझा आधार कसरी पहिल्याउने भन्ने चिन्ता र चिन्तन पनि यहाँ छ । यसरी समकालीन नेपाल देखाउने प्रतिनिधि पुस्तक बनेको छ यो ।

त्यो ब्राह्मणवाद विरुद्ध घृणावाद पुस्तक प्रकाशित भएको धेरै वर्ष भइसक्यो । त्यसमा पनि पुस्तक भित्रका लेखहरू पहिलो पटक कहिले प्रकाशित भएका थिए भन्ने विचार गर्दा त ती झन् पुराना छन् । त्यति पुराना लेखहरू भए तापनि तिनीहरूलाई मानिसहरूले किन पुनः पुनः पढिरहेका हुन् त ? कतिपय पत्रपत्रिका र अनलाइनहरूले अचेल पनि बेला बेलामा यसभित्रका सामग्रीहरू पुनः प्रकाशन गरिरहेको देखिन्छ । हजुरकै कतिपय वक्तव्य, कतिपय लेखमा तथा अन्य कतिपय महानुभावहरूका वक्तव्य वा लेखमा पनि यो पुस्तकको उल्लेख गरिएको देख्छु । खास के त्यस्तो कुरा यसमा छ जस्ले यो पुस्तकलाई यति धेरै वर्षपछि पनि सान्दर्भिक बनाइरहेको छ ?
मैले उति बेला आँकलन वा पूर्वानुमान गरेका कुरा ती लेखिएका केही वर्षपछि नै नेपालमा घटित भए । पहिलो उदाहरण हो हिन्दू अधिराज्य हटाएर धर्मनिरपेक्षता घोषणा गरेको घटना । नेपालमा त्योबेलामा हिन्दू अधिराज्य संविधानमा उल्लेखित थियो । तर त्यो चुनौतीविहीन थिएन । प्रकाशित सामग्रीहरू प्रमाण छन् — २०५२ देखि नै फाटफुट रूमा र २०५५ देखि सघन रूमा मैले आफ्नो लेखनी मार्फत् सावधान गराउँदै आएको थिएँ कि नेपालको हिन्दू पहिचानको विरुद्धमा विरोध र षडयन्त्र गरिरहेका छन्, चक्रव्यूह बनाइरहेका छन् । यो माथि प्रश्न उठेको छ र चाँडै नै यो पहिचान हटाउन सक्छन्, सरोकारवालाहरू सावधान होऊ भनेर स्पष्टतः लेखिदिएको थिएँ । हटाएको त २०६२—६३ सालको परिवर्तनपछि, पुनःथापित प्रतिनिधिसभाले औपचारिक रूमा हटाएको हो । तर त्यस्तो हुनसक्छ है भन्नेकुरा चाँहि मैले लगभग ५५ सालमै आँकलन गरिसक्या रहेछु । २०५७ सालमा निक्लेको आस्थाको शान्ति–युद्ध पुस्तकमा र त्यही समयतिर निक्लेका लेखहरूमा हेर्यो भने त्यो अझ प्रखर रूमा बताएको छु । यो पुस्तक ब्राह्मणवाद विरुद्ध घृणावाद ः नेपालमा जातीय, भाषिक र साम्प्रदायिक सवाल मा संकलित सामग्रीहरू पढ्ने हो भने पनि थाहा हुन्छ — हिन्दू अधिराज्य हटाउनेहरूले लामो समयसम्म र योजनाबद्ध तरिकाले तयारी गरेका थिए । हिन्दू अधिराज्य हटाएको अकस्मात् होइन, तिनीहरूले योजनाबद्ध तरिकाले देशका र विदेशकाले चलखेल गरिरहेका थिए । तिनीहरूका योजना र अभीष्ट बारे फण्डाफोर नगरिएको होइन । तर हिन्दू अधिराज्य जोगाउने जिम्मेवारी भएका सरोकारवाला संस्थाहरू निदाएर बसे वा बेवास्ता गरे ।
अर्को उदाहरण पनि हेरौँ । आजको विन्दुमा नेपालमा गणतन्त्र छ । हुन त असोज ३ गते संविधान दिवसको दिनमा राजतन्त्रै चाहियो अथवा राजसंस्था चाहियो भनेर मानिसहरूले जुलुस पनि निकाले, संविधान पनि जलाए । तर अहिले कानुनी हैसियतले गणतन्त्र बहाल छ र अहिले सम्मपनि राजतन्त्र र गणतन्त्रको सङ्घर्ष चलिरहेको छ । जुन बेलामा मैले ती सामग्रीहरू लेखेको थिएँ, त्यो बेलामा चाँहि गणतन्त्रको पक्ष लिनेहरू प्रबल भइसकेका थिएनन् । तर लामो समयदेखि उनिहेरुले गरिरहेका कार्य हेरेर के चाँहि आँकलन गरिएको थियो भने सोही तरिकाले गयो भने चाँडै नै ठूलो परिवर्तन हुनसक्छ । परिवर्तन कस्तो भयो, हामी सबैका अगाडि छ । लेखक, विश्लेषक, अनुसन्धानकर्ताका लेख वा पुस्तक पढेर आफ्ना लागि आवश्यक रणनीति बनाउने जिम्मेवारी त सम्बन्धित सरोकारवालाहरूको हुनु पथ्र्यो ।
अर्को पनि उदाहरण छ । त्यो बेलामा केही विदेशी सरकारी संस्थाहरू, क्रिश्चियन मिशनरीहरू, आईएनजीओहरू र एनजीओहरूले जनजाति, आदिवासी, आदिवासी जनजाति, मूलवासी वा अन्य कुनै नाममा जस्ताखाले ‘प्रोजेक्ट’हरूलाई धेरै ‘फण्डिङ’ गरिरहेका थिए, जनजातिकेन्द्रित पहिचानको राजनीति भनेर केही पार्टीहरू थिए, मङ्गोल र अहिन्दू भन्ने ‘प्रोपागाण्डा’ चलिसकेको थियो, मधेशकेन्द्रित द्विराष्ट्रियतावादी नेपाल सद्भावना पार्टी थियो र अर्को तरिकाबाट तत्कालीन नेकपा (माओवादी) ले विभिन्न जातिहरूलाई भ्रमित पारेर वा उरालेर जातीय स्वशासनको कुराहरू ल्याएको थियो, त्यसले बिथोलिएको नेपालमा कालान्तरमा जातीय हिंसा मच्चाउन उद्धत वा राष्ट्र विखण्डनकै माग राख्ने एवं द्विराष्ट्रियता, बहुराष्ट्रियतावालाहरू आउनेवाला छन् भन्ने आँकलन त्यति बेलै गरिएको थियो । मैले गरेको आँकलन वा पूर्वानुमान तथ्यपूर्ण रहेछ भन्ने प्रमाणित भएको छ । सङ्घीयताको जुन पाटो छ नि मानिसहरू अकस्मात् कहाँबाट आयो भन्छन् । तर मेरो पुस्तकमा संकलित लेखहरू हेर्यो भने सङ्घीयताका बारेमा पहिलेनै कुरो उठाइरहेका थिए भन्ने तथ्य जानकारी हुन्छ । त्यो बेला सत्तामा हालीमुहाली गरिरहेकाहरूले देशका कस्ता कस्ता सवालहरू खडा भइरहेका वा गरिएका छन् भन्ने थाहा पाउनु पथ्र्यो ।
ल है, जाग्रत हौँ है भनेर लेखिएका कुरा यहाँ छन् । ती लेखहरूमध्ये धेरै वटा लेखिँदाखेरिमा त मैले संस्थागत ढाँचामा रहेर, अभियान सञ्चालन गरेर, सङ्गठित भइरहेको बेलामा लेखेको होइन । एउटा पाठकले के के देख्यो र एउटा लेखकले विश्लेषण गरेर के विश्लेषण, के आँकलन गर्यो, त्यो लेखिएका कुराहरू यहाँ धेरै छन् । त्यहि बेलामा जे देखिएको थियो र जुन कुरा भनियो, त्यसको केही वर्षभित्रै ती कुराहरू भए । २०६५ सालपछाडि त अझ धेरै कुराहरू भएका छन् ।
जसले खासमा यो पुस्तकको उद्देश्य भनेको नेपाललाई जोड्ने हो, नेपालको विविधता कसरी समावेशी बनाउने हो, तर गर्ने तरिकाचाँहि घृणाको तरिका होइन कि सहृदयताको तरिका हो भन्ने बुझ्दछ उसले चाँहि यो पुस्तक अवश्य पढ्छ । पढेपछि उ पनि अचम्मित हुनेरहेछ कि त्यो बेलामै आज हामीले भोगिरहेका समस्याहरूको बारेमा प्रशस्त चर्चा परिचर्चा भएको रहेछ । त्यसले गर्दा नै होला मानिसहेरुले यसलाई बारम्बार उल्लेख गर्ने, पुनः पढिरहने र म स्वयंले पनि यसका बारेमा उल्लेख गर्नु पर्ने परिस्थिति भएको पक्कै पनि त्यही कारणले हो ।

उक्त पुस्तकमा समावेश गरिएका सामग्रीहरूले उठाएका आधारभूत सवाल आज पनि उत्तिकै जीवन्त छन् । त्यो बेलामा सतहमा प्रकट नभइसकेका, तर हजुरले इंगित गर्नुभएका समस्याहरू समयक्रममा सतहमा देखिएका धेरैवटा उदाहरण पुस्तकभित्र पाइने रहेछ । कैयौँ कुराहरू त स्पष्ट प्रक्षेपण नै गरिएको रहेछ र कालान्तरमा ती सही साबित भएका देखियो । यसरी यो पुस्तक मार्फत् गरिएका विश्लेषणको वैज्ञानिकता थप पुष्टि भएको छ । तर समाधान के हो भन्नेमा चाहिँ त्यो बेलाको मान्यता र अहिलेको मान्यता उस्तै छ वा प्रतिमान परिवर्तन भएको छ ? यसलाई थप स्पष्ट पारिदिनुहोस् न ।
यो पुस्तकमा संकलित सामग्रीहरू जुन बेलामा लेखिएका थिए, त्यो बेला र आजको अवस्थामा तात्विक अन्तर छ । समस्याको विश्लेषण त हिजो पनि गरेको हो र त्यो तथ्यपूर्ण रहेछ । समस्याको समाधान गर्नको लागि हिजो त युरोपेली प्रतिमान अनुसारका दर्शन, सिद्धान्त, वादहरूको प्रभुत्व भएकाले कता कता के के नमिलेको अवस्था थियो । त्यो बेला सहृदयता दर्शनको पूर्ण विकसित दृष्टिकोण बनिसकेको थिएन । सहृदयता दर्शन, आधारशिला चतुष्टय, स्थितिगत्यात्मक प्रगतिवाद, राज्यराष्ट्र सिद्धान्त, पारिस्थितिक सम्भाव्यताको नियम आदिको अभिनिर्माण एवं विकास भइसकेको आजको अवस्था छ । सहृदयता अर्थतन्त्रको खाका तयार पारिएको छ । अहिले नेपालका सबै जातीय समुदाय, सबै भाषिक समुदाय, सबै भौगोलिक क्षेत्रका मानिसहरू, जस्तोसुकै राजनीतिक दृष्टिकोण भएका मानिसहरू हुन्, ती सबै अटाउन सक्ने विचारधारा हामीसँग छ । नेपालमा जातीय, भाषिक, सांस्कृतिक, धार्मिक बहुलता एवं विविधता छ, तर राष्ट्र चाहिँ समष्टिमूलक भएको हुनाले सबैको एउटै साझा राष्ट्रियता छ भन्ने हाम्रो सैद्धान्तिक निष्कर्षले नेपालको धरातलीय यथार्थलाई सम्बोधन गर्न सक्छ । नेपालको भाषिक सवाललाई नेपाली भाषालाई सबैथरि नेपालीजनको साझा भाषा र नेपालका सबै भाषाहरूको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने भाषिक नीति हामीले बनाएका छौँ । वंशीयार र अंशीयार नीतिले नेपालका सबै जात, जाति, समुदायको उत्थान गर्ने र आपसमा सहृदयताको सम्बन्ध सुनिश्चित गर्ने नीति हामीले बनाएका छौँ । वैदिक सनातन हिन्दू, बौद्ध, किरात, बोन, जैन, प्रकृतिपूजक आदि यहाँका मौलिक रैथाने धार्मिक समुदायको संरक्षण, संवर्धन र प्रवर्धनका लागि स्पष्ट नीति हामीसँग छ । पहिचानको संस्कृति मानेर सांस्कृतिक अधिकार सुनिश्चित गर्ने र राजनीतिक सिद्धान्त आधारित राज्यतन्त्रले नागरिक तथा राजनीति अधिकार सुनिश्चित गर्ने विशिष्टिकृत पद्धति हामीले अघि सारेका छौँ । यसले समावेशी नेपालको मार्गचित्र स्पष्ट पारेको छ । मौलिक सङ्घीयता बारे सैद्धान्तिक स्पष्टता भएको छ । यी उदाहरणहरू हुन् । सबै आयाममा पूर्णतः हाम्रो मौलिक पद्धतिबाट र नेपालको विविधतालाइ जोड्ने गरी हामीले सिद्धान्त र नीति बनाएका छौँ । यसरी प्रतिमान परिवर्तन भएको छ । नेपालीजनलाई जोड्ने आधारहरू दर्शन, सिद्धान्त एवं नीतिकै तहदेखि नै स्पष्ट भएका छन् । यो सहृदयताको प्रतिमान, जरोकिलोको प्रतिमान जुन आयो यो ठूलो उपलब्धि हो ।

जरोकिलो महाअभियानको आधिकारिक दृष्टिकोणबाट मूल्याङ्कन गर्दा चुच्चे–नेप्टेको सवाल र दशैँ बहिष्कार (२०५६) आस्थाको शान्ति–युद्ध (२०५७) ब्राह्मणवाद विरुद्ध घृणावाद (२०६५) पुस्तकहरूलाई कसरी लिने त ? नयाँ पुस्तकहरू नेपालको पुनर्जागरणको अर्थ र आधार (२०७५), सहृदयता दर्शनको प्राक्कथन (२०७६), वैज्ञानिक सत्ययुगको आधारशिला (२०७६), राज्यराष्ट्र (२०७७), युगद्रष्टाको संकल्प (२०७७) जस्तै ती पुराना पुस्तकहरू पनि जरोकिलो महाअभियानको आधिकारिक दस्ताबेज हुन् त ? कि तिनीहरू सन्दर्भ सामग्री मात्र हुन् ?
अब यसलाई स्पष्टतः के बुझ्नुपर्छ भने प्रारम्भिक वैचारिक सिकाइको क्रममा लेखिएको, व्यक्तिगत दृष्टिकोणबाट लेखिएको र त्यति बेला जरोकिलो महाअभियानको संस्थागत स्वामित्व नभइसकेको अवस्था हुनाले पुराना पुस्तकहरूलाई चाहिँ सन्दर्भ सामग्रीको रूमा मात्रै हेर्नुपर्छ । वि.सं. २०७२ मा जरोकिलो महाअभियानको स्थापना भएको ऐतिहासिक तथ्यलाई विचार गर्नुपर्छ र पुराना सामग्रीलाई यो जरोकिलोको मौलिक दृष्टिकोणबाट पुनः परीक्षण गर्नुपर्छ ।
ती सन्दर्भ सामग्रीहरू देशका जल्दाबल्दा समस्या के थिए, के हुन् र आज हामी कसरी यहाँसम्म आइपुग्यौँ भन्ने तथ्य बुझाउनलाई बडो उपयोगी छन् । हामीले वैज्ञानिक विश्लेषण गर्दा रहेछौँ र हामीले गरेका आँकलन र पूर्वानुमान मिल्ने रहेछन् भन्ने प्रामाणिकता र विश्वसनीयताको पुष्टिका लागि हिजोका पुस्तकहरू जिउँदा प्रमाण हुन् । तसर्थ ती उपयोगी सन्दर्भ सामग्री हुन् । तर आज आधिकारिक दस्ताबेजको रूमा लिने अवस्थाका सामग्री तिनीहरू होइनन् । आजको आधिकारिक दृष्टिकोण दिने चाहिँ जरोकिलो महाअभियानको संस्थागत स्वामित्व भएका सामग्रीहरू हुन् किनभने वर्तमान र भविष्यको लागि, सारा समस्याहरूको समाधानका लागि जुन नयाँ आलोक चाहिने हो, त्यसका लागि सहृदयता दर्शनको प्राक्कथन, नेपालको पुनर्जागरणको अर्थ र आधार, राज्यराष्ट्र जस्ता नयाँ पुस्तकहरू लेखिएका हुन् । वैज्ञानिक सत्ययुगको आधारशिला मूलतः पहिल्यै लेखिएको भएतापनि नयाँ आलोकमा परिष्कार गरी दोस्रो संस्करण प्रकाशित भइसकेको कृति हो । संकल्प पुस्तक त जरोकिलो महाअभियानका आधिकारिक मञ्चबाटै बोलिएका कुराको संकलन नै हो । यसरी आधिकारिक दस्ताबेज कस्ता र कुन कुन हुन् भन्ने स्पष्ट छ ।
हिजो समाज भाँड्न खोज्नेहरूको क्रियाकलापको प्रतिक्रियाको पाटो प्रबल थियो भने आज नेपालको पुनःजागरणको संवाहकका हैसियतमा स्वक्रियात्मकता प्रबल छ । हिजो युरोपेली प्रतिमानको राष्ट्रराज्य सिद्धान्त मात्रै उपलब्ध भएको बेलामा र आज राज्यराष्ट्रको सिद्धान्त समेत उपलब्ध भएको बेलामा हेर्ने दृष्टिकोणमा त पक्कै फरक पर्छ । हिजो पहिचानको राजनीतिलाई अर्को पहिचानकै राजनीतिले जवाफ दिन खोजेको कुरा र आज चाहिँ पहिचानको राजनीति हैन रहेछ, पहिचानको संस्कृति र विचारधाराको, राजनीतिक सिद्धान्त अनुसारको राजनीति चाहिँ हो रहेछ भन्ने मान्यतामा आइसक्दा पक्कै फरक पर्छ । त्यसो भएको हुनाले आधिकारिक दृष्टिकोणको लागि चाहिँ जहाँ संस्थागत स्वामित्व भएका सामग्रीहरू छन् त्यहाँबाट हेर्ने र सन्दर्भ सामग्रीको रूपमा पुराना पुस्तकहरूलाई पनि हेर्ने विधिबाट अगाडि बढ्नुपर्छ ।



This page is powered by Blogger. Isn't yours?