Friday, June 12, 2026

 

(लघु निबन्ध) छाङ्ग पिपलटार, मेरो पिपलटार

छाङ्ग पिपलटार, मेरो पिपलटार

--- "आयोदधौम्य" निर्मलमणि अधिकारी

छाङ्ग पिपलटार, मेरो पिपलटार, मेरो जन्मथलो, मेरो प्यारो गाउँ ।
कतिले नाम पनि नसुनेका होलान् र देख्ने/ चिन्ने/ जान्नेको संख्या झन् कति पो होला ! मान्छेहरूका दृष्टिमा यसको विशिष्टता केही नहुन पनि सक्छ; किनकि संसारका लाखौं गाउँहरूभन्दा पृथक् कुनै खासकुरा यहाँ उनीहरूले नदेखेका हुनसक्छन् ।
कुरा स्पष्टै छ – यहाँ भगवान् श्रीकृष्ण अवतरित हुनुभएन, त्यसैले त यो व्रजभूमि भएन । यहाँ भगवान् श्रीराम अवतरित हुनुभएन, त्यसैले यो साकेत मानिएन ।
अँ, यो पेरिस होइन जहाँ मोनालिसाको मृदु मुस्कानमा मदहोस भएकाहरूले इफेल टावरको गर्व बोकून् । न त यो सदा वसन्त-बहारमा झुम्ने क्वेटा नै हो । यो सँग मोहनजदडो र हरप्पाको जस्तो यश-आर्जन पनि मान्छेले नदेख्लान् । मिश्रको पिरामिडमा आफ्नो प्रतिकृति चियाउने रहर पनि मेरो पिपलटारले लिएन । पिपलटारले सिकन्दर जन्माएर विजयी हुनुको अनुभूतिमा रम्न पाएन । सुकरात, अरस्तु, प्लेटो नजन्मेको मेरो गाउँ; फ्रायड, नित्से, माक्स्र नहुर्केको मेरो गाउँ; तर नजिकै दमौलीमा जन्मेका वेदव्यासलाई हाम्रै छिमेकी त हुन् नि भनेर सन्तुष्ट छ यो । भानुभक्तले रामायणको अरण्यकाण्ड रच्दैगर्दा यही बाटो गुन्गुनाउँदैहिँडेको सम्झेर मख्ख छ । शिवभूमि हुन पाएकैमा सन्तुष्ट छ मेरो पिपलटार । मान्छेहरूले थाहा पाउन नचाहेर पो त नत्र पिपलटारको आफ्नै गौरवमय अतीत नभएको कहाँ हो र !
कुनैबेला कश्यप गोत्रीय मेघ ऋषिको नामबाट यो चिनिन्थ्यो जब यहाँ मेघह्रद (मेघदह) थियो । शायद गजेन्द्रमोक्ष यहीँ भएथ्यो । वासुकी, अनन्त, कुलीर, कर्कट आदि इत्यादि नामका नागराजहरु यहाँ विहार गर्दाहुन् । छेउछाउतिर अनेक भँयर-झाँक्रीका थान हुँदाहुन् । थुम्काथुम्कीमा देवी-देवता बास बस्दाहुन् । अनि मेघदहको नीलो गहिराइभित्र के देखेर हो कुन्नि डुल्दै त्यहाँ आइपुगेका कश्यप गोत्रीय ऋषिवर छागलले त्यस दहको पानीलाई पश्चिमतर्फ निकास दिएछन् इन्द्रसँग वज्र मागेर ।
जब दहको पानी पश्चिमतर्फबाट बग्दैगयो तब मलिलो जमीन भएको फाँट अर्थात् आजको "म्याग्देफाँट" जन्म्यो । मेघनद (आजको म्याग्देखोला) ऋषिद्वय मेघ र छागलको गाथा गाउँदै दौडन थाल्यो र आजपनि हाम्रा पौरखी पुर्खाको कीर्ति सुनाउँदै बगिरहेकै छ म्याग्देखोलो – पिपलटारकै छेउबाट । सारा म्याग्देफाँटका प्राणीको जीवनाधारका रूपमा मेघनद हिजो पनि थियो र आजपनि छ । त्यसो त यदाकदा क्रोधित भएर गडगडाउन पनि यसले जानेको छ र त्यस्तोबेलामा धुरुक्क रुवाउँछ यसले ।
जे होस्, म्याग्देले हामीलाई बताइरहेको छ पिपलटारको गौरवमय अतीत । यहाँ भगवान् शिव रम्नु भयो, भैरव दगुरे, नन्दी-भृंगीहरू खुशीले उफ्रे । सृष्टिकालमा शक्ति र शक्तिमान्को प्रणयलीला यहाँ चल्योहोला । यही म्याग्देका सुसेलीमा लयबद्ध भइरहेका होलान् कति कथा-कुथुंग्रीहरू ।
पिपलटार वास्तवमा समाधिस्थ ऋषिझैं छ स्थितप्रज्ञ । चंगेजको दिग्विजयमा यो निर्विकार रह्यो; तैमुरले भारत तहसनहस पार्दा मेसो पाएनछ; सिकन्दरको उदय र अवशानमा यसले केही प्रतिक्रिया जनाएन । झाँसीकी रानीको शौर्यलाई उतिबेला चिन्न नपाएको, बलबाहु चीन जाँदा कोसेली पठाउने मेसो नपाएको, चाणक्यको संगत गर्ने अवसर गुमेको – यी कुराहरुप्रति पछुतो छ वा छैन मेरो पिपलटारलाई !
शंकराचार्य र बुद्धलाई भने चिनेको छ अरे मेरो पिपलटारले । अल्लि पहिले पृथ्वीनारायणको महान् एकीकरण अभियानका बेलामा उनको साथ दिन चाहिँ जागेको थियो; तापनि अधिकांशतः मेरो पिपलटार मूक र ध्यानस्थ रह्यो पद्मासनमानै रमायो ।
अट्टिला - जसले हरेक राज्य विजयसँगै एउटा बिहे गर् यो र त्यस्ता बिहेको संख्या चारसय पुगेको थियो - उसकोलागि डेन्युबको किनारा जति महत्वपूर्ण थियो; त्योभन्दा महत्वपूर्ण लाग्छ म्याग्देखोलाको किनारा । यहाँ क्षेयार्स जन्मेन, यहाँ हरक्युलिस जन्मेन, यहाँ शेक्सपियर जन्मेन, यहाँ हिटलर जन्मेन ।
यसको कुनै इतिहासको पानामा नाम नभेटिएला; कुनै धर्मग्रन्थमा यसको महात्म्य नपाइएला – तर दुःखमनाउ छैन । यसको पत्रे चट्टान मुन्तिर उधिन्ने होभने सृष्टिकै कथा छोपिएका हुन के बेर ! पिपलटारको थोरै तर साह्रै उब्जाउ जमीनकालागि कति भुरे-टाकुरे राजा-रजौटाको रगत बह्यो होला । यसको यथार्थ पुस्तकहरूमा खोज्ने होइन, हाम्रै म्याग्देलाई सोध्नुपर्छ ।
कुनैबेला औल लाग्छ भनेर गोठमात्रै पनि राखिएछ पिपलटारमा । दिउँसै बाघका गर्जन र मृगशावकका उछलकूद ! देउताले गर्थे रे रखवाली । बाटेकुवामा बाघका डमरु र मृगशावक सँगसँगै पानी पिउँथे रे । कालक्रमसँगै पिपलटारको मोहनी बढ्यो । मान्छेहरूले गोठका ठाउँमा घर बनाए । पत्रे चट्टानलाई बमको विष्फोटले उडाएर मलिला गरामाथि समेत गिटी ओच्छ्याइयो । त्यतिखेर नयाँ जीवनप्रतिको आशाले सबै चोटलाई उफ् सम्म पनि नभनी सह्यो मेरो पिपलटारले । तर म्याग्देखोलाको दुःखमाथि दुःख थपियो । बमको पड्काइले तर्सिएर कहालियो ऊ । आफूमाथि पुल अनि ठाउँ-कुठाउँमा तटबन्धले उँध्मुन्टियो बाँधियो । तर वास्ता गर्ने ध्याउन्नामा थिएन पिपलटार । आधुनिक हुनुमा मजा आएको थियो यसलाई त । परिवर्तनलाई कौतुकतापूर्वक अवलोकन गर्नु र सकेजति अपनाउनु यसैमा रमायो पिपलटार ।
जब म जन्में -- मेरो प्रथम भेट पिपलटारको माटोसँग भयो । त्यसदिन यहाँको हावाले मेरा फोक्साहरू भरिए । म्याग्देखोलाको पानीले मलाई धोइएको थियो । यहीँको माटोमा उब्जेको अन्नबाट म पोषित भएँ । पिपलटारको काखमा म्याग्देखोलाको "लोरी" सँगै मैले जीवनगीत गाएँ । मेघ र छागलजस्ता महान् पुर्खाको गाथा म्याग्देको सुसेलीमा सुनेको हुँ मैले । हिजो जब यो आफ्नो यौवनमा थियो त्यसबेला म यसमा पौडी खेल्थें, तर आज जब म यौवनमा छु ऊ मसँग केही फर्मायस गरिरहेको छैन । जबकि अधिकार हो उसको ।
मेरो जन्मभूमि पिपलटार कुनैपनि महानगरीभन्दा कम छैन मेरालागि । मेरी आमा र मेरा पिताजीको वात्सल्यसँगै पिपलटार पनि कदापि नमेटिने गरी मसँगसँगै छ । मेरो हृदयको पिपलटार वर्णन गरुँ भनेपनि शब्द पुग्दैन । नाइलको लम्बाइ र अमेजनको चौडाइ अरुहरूकालागि धेरै होला, मेरोलागि त म्याग्देखोलानै सबभन्दा लामो र चौडा छ । गंगा जत्तिकै पवित्र मान्छ मेरो हृदय यसलाई । मेरोलागि मेरो पिपलटार स्वर्गभन्दापनि ठूलो छ; पैगम्बरको जन्नत र येशू ख्रिस्ट (जिसस) को प्रमोदवन (हेवन) भन्दा मेरो पिपलटार नै ठूलो मान्छु म त । मलाई लाग्छकि सबैथोक हो मेरो मातृभूमि । मेरो पिपलटार मेरो मुटुको प्रत्येक धड्कनमा समाहित छ ।
[(रचना मिति :--- १६।१०।२०४८), (घटना र विचार साप्ताहिकमा वि.स. २०५७ सालमा प्रकाशित)]

This page is powered by Blogger. Isn't yours?