Sunday, November 22, 2009

 

"मीमांसा-दर्शन निर्देशन" को तेस्रो प्रकरण

मीमांसा दर्शन निर्देशन
प्रकरण - तीन
मीमांसा-दर्शनले चिनाएको 'यज्ञ' र 'स्वर्ग'

मीमांसा-दर्शनले यज्ञलाई बडो महत्व दिएको छ । भनिएको छ ः "स्वर्गकामोयजेत" । यसमा यज्ञ-कार्यको सम्पादनको उद्देश्य स्पष्ट रुपले स्वर्गको कामना बताइदिएको छ । तब यो कुरा बुझ्नु अत्यन्त जरुरी छ कि यज्ञ तथा स्वर्ग भनेर मीमांसाकारले केलाई लक्षित गरेका छन् ? यज्ञ तथा स्वर्ग लाई जनसाधारणले जुन अर्थमा बुझेका छन् त्यो कति हद सम्म ठीक छ ?
यज्ञ भारतवर्षको जीवनको एक अति प्राचीन र सर्वव्यापी अंग हो । यो कुरा त सबैलाई थाहा छ कि संसारको सबैभन्दा पुरानो ग्रन्थ ऋग्वेद हो । ऋग्वेदभन्दा पुरानो कुनै ग्रन्थ छैन । यो भारतवर्षीय धर्मको मूल आधार हो । ऋग्वेदबाट थाहा लाग्छकि यज्ञ भारतवर्ष निवासीहरुको सर्वोच्च धार्मिक कर्म थियो । एक हिन्दूको जीवनमा जन्मदेखि मरणसम्म जति संस्कार हुन्छन् ती सबमा यज्ञ कुनै न कुनै रुपमा समावेश गरिएको छ । भगवद्गीताका अनुसार मनुष्यको जीवननै यज्ञमय छ । ऋग्वेदले यज्ञलाई मनुष्यको सर्वप्रधान धर्मकृत्य मान्दै यज्ञबाटनै जीवन सार्थक हुने बताएको छ । यज्ञका विविध स्वरुप छन् । गीताको "सहयज्ञाः प्रजाः सृष्ट्वा" वाला श्लोकको तात्पर्य यही होकि प्रजाको प्रगति र कल्याणका सबै कार्य यज्ञरुप हुन् । चाहे ऋत्विजहरुद्वारा अग्निहोत्रका रुपमा गरियोस् अथवा दैनिक जीवन-निर्वाहका क्रममा कर्तव्यपालनका रुपमा गरियोस् यी सबै कार्य यज्ञ हुन् । यस कुरामा प्रष्ट हुनकालागि मनुस्मृतिको सन्दर्भ उपयोगी हुनेछ । मनुस्मृतिमा वेदाध्ययनलाई ब्रह्मयज्ञ, तर्पणलाई पितृयज्ञ, होमलाई देवयज्ञ, अतिथि सन्तर्पणलाई मनुष्ययज्ञ भनिएका उदाहरणबाट स्पष्ट हुन्छकि मानव जीवनका सबै महत्वपूर्ण कर्तव्यहरुलाई यज्ञ नामले बुझाइएको छ । छान्दोग्य उपनिषद्मा मनुष्यलाई यज्ञ-स्वरुप भनिएको तथा मनुष्य-जीवननै यज्ञ भएको बताइएको छ । मीमांसा-दर्शनले यो कुरा आत्मसात् गरेको हामी पाउँछौं ।
एक अवधारणा यस्तो छकि जीवनको उत्थान देवशक्तिको कृपाले हुनसक्छ र देवशक्तिसँग सम्बन्ध स्थापित गर्ने मुख्य साधन यज्ञ हो । सांसारिक परिस्थितिमा रहेर जीवन निर्वाह गर्नेवाला हिन्दुकालागि देवाराधन मुख्य कर्तव्य हो र त्यसको माध्यम यज्ञ नै हो । गीतामा भगवान्ले भन्नुभएकै छ- यज्ञद्वारा देवता तिमीसँग प्रसन्न हुनेछन् र तिम्रो उन्नति तथा कल्याण गर्नेछन् । प्राचीनकालमा झैं दर्शपूर्णमास, ज्योतिष्टोम, अश्वमेध, राजसूय आदिजस्ता धूमधामका यज्ञहरु हुनेजस्तो स्थिति आज छैन ता पनि यज्ञको व्यापक अवधारणाले यो सदा सान्दर्भिक छ । यज्ञको व्यापक अवधारणा अनुसार मानव-जीवनका सबै महत्वपूर्ण कर्तव्यहरु यज्ञ हुन् ।
मनुष्यको आफ्नो कर्तव्यलाई सच्चा हृदयले आफ्नो सम्पूर्ण शक्ति लगाएर गर्नु नै वास्तविक यज्ञ हो । उदाहरणकालागि महाभारत शान्तिपर्वअनुसार प्रष्ट हुन्छकि समाजको अस्तित्व रक्षा र प्रगतिकालागि जति पनि आवश्यक कार्य छन् ती सब यज्ञरुप नै हुन् । यस दृष्टिले यज्ञको विरोध कुनै पनि बुद्धिमान व्यक्तिले गर्ने ठाउँ छैन र कुनै विवेकी व्यक्ति यज्ञका विरुद्धमा बोल्दैन । यज्ञकै नाम लिएर कतिपय गलत कार्य गरिएका वा गराइएका देखेर साराकासारा यज्ञप्रति नकारात्मक सोंच राख्नु बेठीक हो । गलत पक्ष हटाउन हिच्किचाउनु हुँदैन । तर यज्ञको महत्ता अस्वीकार गर्नु त मुर्खता हो । मुख्य कुरा भावनाको हो । जुनसुकै कर्म पनि यदि स्वार्थरहित भएर परोपकारार्थ गरिन्छ त्यसले मनुष्यलाई उच्चतातर्फ अग्रसर गराउँछ र सदैव कल्याणकारी हुन्छ । यही सदैव कल्याणकारी भावना नै हो यज्ञीय-भावना --- यसका साथमा साधारण कार्य पनि यज्ञकर्म हुन्छ१ । पूर्वमीमांसा-दर्शनबाट हामीलाई यो थाहा लाग्छ ।
अब हामी विचार गरौं- मीमांसाकारले यज्ञलाई नै प्राथमिकता किन दिए ?
यो संसारमा ज्ञान तथा योगका मार्ग अवलम्बन गर्न सक्षम व्यक्ति कमै हुन्छन् र अधिकाधिक व्यक्तिहरु त सामान्य भोग विलासमा नै रमाउने हुन्छन्; तिनीहरुकालागि वेदान्त दर्शनले बताएझैं तरिकाले ब्रह्मज्ञान एवम् आत्मज्ञान प्राप्त गर्नु कसरी सम्भव होला ! सांसारिक कर्ममा जेलिएकाहरुका निमित्त त देवाराधनको कर्मकाण्डद्वारा नै लौकिक-पारलौकिक कल्याण हुन्छ । यसै कारणलाई ख्याल राखी महर्षि जैमिनीले मीमांसा-दर्शनको आरम्भ ब्रह्म-जिज्ञासाबाट होइन, धर्म-जिज्ञासाबाट गर्नुभएको छ । लौकिक व्यक्तिहरुका निमित्त कर्मकाण्डमूलक धार्मिक-कृत्य नै उपयोगी छ र यसैबाट धर्म, अर्थ, काम, मोक्ष चारै पुरुषार्थ सिद्ध हुन्छ ।
यज्ञको अर्थ तथा उपादेयता बारेमा चर्चा गरिसकेपछि अब स्वर्गको बारेमा बुझ्नु आवश्यक छ । वेदमा "स्वर्गकामोयजेत" भनिएकोहुँदा यज्ञ र स्वर्गको सम्बन्ध अभिन्न रहेको स्पष्ट छ । मीमांसाकारले ठाउँ-ठाउँमा स्वर्गको बारेमा चर्चा गरेका छन् र स्वर्गको प्राप्तिकालागि विविध यज्ञहरुको विधान गरिएको छ ।
स्वर्ग भन्नासाथ मानिसहरु त्यसको अर्थ आकाशमाथिको अन्तरिक्षमा अवस्थित कुनै विशेष लोक भन्ठान्छन् । मीमांसा-दर्शनले स्वर्गको यस्तो अर्थ मानेको छैन । मीमांसा-दर्शनका भाष्यकार शवर स्वामीले स्वर्ग भनेको यस्तो विशेष लोक वा कुनै खास जमिन नभएको र निरतिशय सुखलाई नै स्वर्ग भनिएको हो भनेर स्पष्ट पारेका छन् । अर्थात् स्वर्ग प्राप्त गर्ने भन्नाको अर्थ कतिपय मानिसहरुले जुन किसिमले - मरेपछि पुण्यात्मा व्यक्ति स्वर्गमा पुगेर त्यहाँ अप्सराहरुका साथमा बसी सम्पूर्ण सुख-सुविधा भोग गर्न पाइन्छ आदिइत्यादि भन्ने गरेका छन् त्यो ठीक होइन । स्वर्गको जुन किसिमले बयान गरिने गरेको छ त्यो वास्तविक स्वर्ग-तत्वभन्दा निक्कै तुच्छ छ ।
ऋषिहरुले आफ्नो ज्ञानदृष्टिबाट वैदिक मन्त्रद्वारा प्रतिपादित धर्मलाई आत्मसात् गरी हामीलाई जुन उपदेश दिएका छन्- त्यसको उद्देश्य मरेपछि अर्को लोकमा गएर सोमरस पिउने अप्सराहरुसँग भोगविलास गर्ने धन-ऐश्वर्य उपभोग गर्ने भन्नु त ती महान् ऋषिजनप्रतिको अपमान हो किनकि यस्ता कार्य त यहीँ यसै लोकमा अधर्मीहरुले पनि गर्न सकेकै छन् नि ! भनेपछि धर्मकर्मको उद्देश्य यति सामान्य चीज पक्कै होइन -स्पष्टै छ । हाम्रा धर्मशास्त्रहरुले, हाम्रा ऋषिमुनिहरुले हामीलाई जुन उपदेश दिएका छन् त्यसको उद्देश्य समस्त मनुष्यको आत्मकल्याण हो । तसर्थ यिनले क्षणिक भौतिक सुखलाई गौण मानेका छन् र दुःखको समूल नाश अर्थात् दुःखको निवृत्तिलाई प्राथमिकता दिएका छन् । त्यही दुःखको निवृत्ति पश्चात्को निरतिशय सुखको अवस्थामा प्राप्त हुनुलाई नै स्वर्ग प्राप्ति भनिएको हो२ । यसरी मीमांसा-दर्शनको ुयज्ञु तथा ुस्वर्गु सम्बन्धी अवधारणा वैज्ञानिकताले परिपूर्ण रहेको हामी पाउँछौं ।

Friday, October 30, 2009

 

"मीमांसा-दर्शन निर्देशन" को दोस्रो प्रकरणको बाँकी अंश

इन्द्रिय तथा बाह्य पदार्थको संयोगले उत्पन्न हुनेवाला ज्ञान नित्य छैन; अनित्य छ र कुनै पनि बेला परिवर्तित हुनसक्छ । इन्द्रियहरुको शक्ति क्षीण हुँदा एकथोकलाई अर्कोथोक बुझ्ने तथा कुनै पनि इन्द्रियलाई भ्रम हुनसक्ने स्थितिलाई ख्याल गर्दा इन्द्रियहरुद्वारा जे अनुभूत गरियो त्यसलाई सत्य भनेर ठोकुवा गर्न सकिदैन ।
उदाहरणार्थ- यदि हामीले आफ्ना दुबै हातका चोर औंलालाई एकापसमा सम्मुख राखेर आफ्नो आँखा नजिक लग्यौंभने ती दुई औंलाका बीचमा एउटा औंलाको टुक्रो देखिन्छ; जबकि वास्तवमा त्यो हुँदैन । यसैगरी मरुभूमिमा यात्रा गर्दा हाम्रो आँखाले पानीको कुवा नभएको ठाउँमा पनि परबाट पानीको कुवा भएजस्तो देख्छ । यसबाट प्रष्ट हुन्छकि इन्द्रियद्वारा प्राप्त ज्ञानमा पूर्णतया भर पर्नु हुँदोरहेनछ । त्यस्तैगरी फगत् अनुमानका भरमा कुनै कुराको निर्णय लिनु पनि भएन । यसरी धर्मसंबन्धी निर्णयमा प्रत्यक्ष प्रमाण इन्द्रियबाटमात्र हुने ज्ञान अथवा त्यसको आधारमा उत्पन्न हुनेवाला अनुमान प्रमाणलेमात्र काम िदंदैन । कारण के भने प्रत्यक्ष प्रमाण तथा अनुमान प्रमाण दुबैनै भौतिक तथ्य एवम् त्यसका आधारमा गरिने कल्पनामा निर्भर रहन्छन्; जबकि धर्म पर् यो यस्तो विषय जो न त प्रत्यक्ष यी यै चीज हो भनेर देखिने चीज हो न खाँदा यस्तो स्वाद आउँछ भनेर अनुभव गर्ने वस्तु नै पर् यो । यस्तो होला वा उस्तो होला भनेर आकार-प्रकारको अनुमान गरेर पत्ता लगाउने कुरो पनि परेन धर्म । त्यसोहुँदा धर्मबारेको निर्णय यस्तो आधारमा हुनुपर् यो जसमा भ्रमको कुनै गुाजायस नहोस् । यस्तो प्रामाणिक निर्णय दिने कसीका रुपमा मीमांसाकारले वेदलाई मानेका छन् ।
मीमांसाकारको मत अनुसार भ्रमको कुनै गुाजायससम्म पनि नभएको प्रामाणिक निर्णय र आदेश त वेदको मात्र हुन सक्छ । बस् मीमांसा-दर्शनको गाँठी कुरा यसैमा छ ।
मीमांसा-दर्शनमा भनिएको छ कि वेदका प्रत्येक शब्द आफ्ना अर्थसँग स्वाभाविक सम्बन्ध राख्दछन् । यो ईश्वरोपदिष्ट धर्मको यथार्थ साधन हो । वेदको आदेश आफ्नो अर्थसत्यताका कारण स्वतः प्रमाण छ । वेदको कुनै पनि भाग अप्रामाणिक छैन धर्मसँग असंबन्धित छैन । वेद नै पुरुषार्थ चतुष्टय- धर्म अर्थ काम मोक्ष -प्राप्तिको एकमात्र साधन हो । जो व्यक्ति अर्थ बुझेर वेदको आशयलाई राम्ररी हृदयंगम गर्दछ उसलाई जीवनको सफलता सार्थकताको सच्चा मार्ग प्राप्त हुन्छ । अर्थात् वेद नै धर्मको सम्बन्धमा प्रमाण हो । तसर्थ वेदले निर्देशित गरेअनुसार कार्य गर्नु नै धर्म हो । अर्थात् चोदना लक्षणोऽर्थो धर्मः को कसी वेद हो भनेर मीमांसा-दर्शनले ठोकुवा गरेको छ ।
वेद नै धर्मको सम्बन्धमा प्रमाण हो र वेदले निर्देशित गरेअनुसार कार्य गर्नु नै धर्म हो भन्ने मीमांसा-दर्शनको भनाइ उपर कतिपयले प्रश्न उठाउन सक्छन्कि किन वेदलाई नै धर्मको सम्बन्धमा प्रमाण मान्ने के कारणले गर्दा यो प्रामाणिक भएको हो र अरु नभएका हुन् मीमांसाकारले यसको जवाफ दिएका छन् । वेदलाई नै प्रामाणिक मान्नुमा कारणहरु छन् ।

एक त वेदमा कुनै पनि वाक्य निरर्थक छैन । हो कसैले आफ्नो अयोग्यताका कारण वेदका कुरा बुझ्न नसक्नाले निरर्थक पनि भन्देला; तर त्यो त चमेराले सूर्य उदाउनुलाई निरर्थक भनेजस्तो हो । चमेराले निरर्थक ठान्दैमा सूर्योदय निरर्थक हुँदैन । वेद वाक्य सबै सार्थक छन् । अर्को कुरा वेदमा कुनै व्यक्ति विशेष वा राजा आदिको वर्णन गरिएको छैन र कुनै कालविशेषमा घटित घटनाको चर्चा पनि छैन । वेदमा जहाँकहिँ पनि व्यक्ति अथवा घटनाहरुको जुन कुरा छ त्यो वास्तवमा त्यस्तो होइन ती सब यौगिक र सामान्य अर्थवाला हुन् भन्ने मीमांसाकारको मत छ । हुनसक्छकि ती व्यक्तिका नामसँग मिल्दाजुल्दा होऊन् तब पाठकहरु भ्रममा पर्छन्कि हो न हो यो कुनै ऐतिहासिक व्यक्तिको नाम हो । भुज्य तुग्र सुदास इन्द्र आदि यस्तै हुन् ।१ यिनको अर्थ यौगिक रुपले गर्नु पर्दछ । वास्तविक अर्थ गर्न नसक्नेहरुकालागि वेदका शब्द एवं वाक्यका अर्थ नलाग्लान् वा उल्टा अर्थ लाग्ने पनि प्रबल सम्भावना हुन्छ;२ तर सही रुपले वेदको अर्थ लगाउन सक्ने सामथ्र्य भएकाहरुकालागि वेद-वाक्य सबै सार्थक छन् भन्ने मीमांसाकारको भनाइ हो ।
मीमांसा-दर्शनका अनुसार सबभन्दा मुख्य कुरा त वेद अपौरुषेय अर्थात् ईश्वरप्रदत्त हुनाले स्वतः प्रामाणिक ग्रन्थ हो३ । तर कतिपयले प्रश्न खडा गर्न सक्छन्कि वेद अपौरुषेय हो भन्ने के प्रमाण छ यस्तो प्रश्न गर्नेहरु जहाँ-तिहं भेटिनेछन् । यो प्रश्न आजमात्र गरिएको प्रश्न होइन । आचार्य कुमारिललाई पनि यो प्रश्न गरिएको थियो र शास्त्रार्थमा वेद अपौरुषेय भएको प्रमाणित गरेर नै उहाँले आफ्ना प्रतिद्वन्दीहरुलाई पराजित गर्नुभएको थियो । प्रथम मीमांसाकारका सामुन्नेमा पनि यस्ता प्रश्न पक्कै आएका हुँदाहुन् । ती प्रश्नहरुलाई तर्कपूर्वक शमन गरेरमात्र यो दर्शन सु-स्थापित भएको हो । स्वयम् ऋग्वेदमा मन्त्र-द्रष्टा ऋषिले यी सूक्तहरु हाम्रा खोज हुन् रचना होइनन् भनिराखेको अवस्थामा यथार्थ छर्लङ्गै छ ।
वेदका सम्बन्धमा के भ्रम फैलाइएको छ भने यसका ऋचाहरु ऋषिहरुद्वारा रचित भएकाले उनीहरुद्वारा रचित वेद अपौरषेय हुन सक्दैन । यो भ्रमित पार्ने तर्क अर्थात् कुतर्क मात्र हो । वास्तवमा वेद-मन्त्रहरुमा जति पनि ऋषिहरुको नाम दिइएको छ उनीहरु ती मन्त्रका ुकर्ताु वा स्रष्टा होइनन् कि ुद्रष्टाु हुन्; अर्थात् उनीहरु तत्तत् मन्त्रका विधिवत् प्रचारक थिए । जो स्वयम्भू सर्वव्यापक शुद्ध सनातन निराकार परमेश्वर छन्- उनैले सनातन जीवरुप प्रजाको कल्याणार्थ यथावत् रीतिपूर्वक वेदद्वारा सब विद्याहरुको उपदेश गर्दछन् भन्ने वैदिक वचन यहाँ स्मरणीय छ । वेदलाई ुश्रुतिु नामाकरण गरिनुले पनि यही तथ्यलाई पुष्टि गर्दछ । यसबाट विदित हुन्छकि ऋषिहरुले वेद-मन्त्र सुनेपछि लोकहितार्थ त्यसको प्रचार गरेका थिए; उनीहरुले वेदकै रचना गरेकाचाहिँ होइनन् । वेद वास्तवमा कहिल्यै कसैद्वारा रचिएको होइन र अनादिकालदेखि यसै स्वरुपमा मानवसमक्ष छ । वेदका प्रत्येक शब्द अनादि छन् र एक निश्चित अर्थलाई प्रकट गर्दछन् ।
आचार्य कुमारिलका शब्दमा ः-
सर्वेश्वर प्रणीतत्वे प्रामाण्यमपि सुस्थितम् ।
प्रमाण्यं विद्यतेनेति पौरुषेयेष्ायुज्यले ॥
वेदेवक्तुभावाच्च तद्वार्वापि सुदुर्लभा ।
वेदस्य नित्यता प्रोक्ता प्रामाण्येनापयुज्यते ॥
यसको भावार्थ यही हो कि ईश्वर प्रणीत भएकाले वेद पूर्णतः प्रामाणिक छ; वेद बनाउनेवाला कुनै व्यक्ति पाइँदैन; वेदलाई नित्य भनिन्छ र यही तिनलाई अपौरुषेय र प्रमाणस्वरुप मान्न पर्याप्त छ । यसरी वेद स्वयं परमात्मा परमेश्वरद्वारा रचित हो भन्ने प्रमाणित भएपछि वेद नै धर्मको सम्बन्धमा प्रमाण हो र वेदले निर्देशित गरेअनुसार कार्य गर्नु नै धर्म हो भन्ने मीमांसा-दर्शनको मत प्रतिष्ठित हुन्छ ।
संक्षेपमा भन्नुपर्दा धर्मको निर्णय र आचरण वेदको आधारमा मात्र गर्नुपर्दछ भन्ने मीमांसा-दर्शनको दृढ मत हो । वेदमा ईश्वरोपदिष्ट धर्मको यथार्थ स्वरुप छ । वेदको कुनै पनि भाग अप्रमाणित छैन एवम् धर्मसँग असम्बद्ध छैन । वेद वाक्य सबै सार्थक छन् । ईश्वरतत्वको प्राप्ति नै वेदको हेतु हो ।
मीमांसा-दर्शनको दृढ मत छकि वैदिक विधानहरुलाई बुझ्न तथा विस्तृत व्याख्या गर्नकालागि अन्य ग्रन्थहरु पनि उपयोग गर्न सकिन्छ ता पनि ती ग्रन्थहरु त्यति हदसम्ममात्रै मान्य हुन्छन् जबसम्म ती वेदानुकूल छन् । यदि कुनै कुरा वेदले एकथोक भन्दछ र अर्को ग्रन्थले अर्कैथोक भन्दछ भने वेदको विपरितचाहिँ कुरा अमान्य ठहर्छ । अर्थात् वेदका सामुन्ने अरुको प्रमाण चल्दैन; वेदले जे भन्दछ त्यही प्रमाण हो । तर वेदका शब्द तथा वाक्यहरुका अर्थ लगाउँदा विशेष सावधानीपूर्वक गर्नुपर्दछ । नत्र त आनकातान फरक पर्न गई अर्थको अनर्थ हुन्छ । मीमांसाकारले भनेका छन्कि वेदमा प्रायः रुपकबाट वर्णन भएको छ यदि त्यसलाई नबुझी अर्थ गर्ने हो भने त के के हुन्छ के के । आँखा भन्ने ठाउँमा सूर्य हुनसक्छ र सूर्य भनेर अर्थ गर्नुपर्ने ठाउँमा आँखा हुनसक्छ । सैन्धव भन्ने एउटै शब्दको अर्थ नून पनि हुन्छ र सिन्धुदेशीय घोडा पनि हुन्छ; अब तरकारी पकाउँदा सैन्धव मागेको छभने नून दिनुपर् यो र यात्राका निमित्त सैन्धव मागेको छभने घोडा दिनुपर् यो । यसरी अर्थ नगरेर जथाभावी अर्थ गर्दिने होभने त गडबड भइहाल्छ नि ! भएको पनि यस्तै छ । अहिले वेदउपर आक्षेप गर्नेहरुले यस्तै उल्टोपाल्टो अर्थ लगाएर वेदलाई बुझ्दैनबुझी अनेक दोष देखाउने गर्दछन् । यदि वास्तविक अर्थ बुझ्ने क्षमता हुने होभने वेदजति वैज्ञानिक एवम् प्रामाणिक अर्को केही छैन । वेद नित्य छ । वेद शाश्वत छ । वेद सनातन छ ।
क्रमशः

Tuesday, October 13, 2009

 

आयोदधौम्य निर्मलमणि अधिकारीकृत पुस्तक "मीमांसा-दर्शन निर्देशन" को दोस्रो प्रकरणबाट

(आयोदधौम्य निर्मलमणि अधिकारीकृत पुस्तक मीमांसा-दर्शन निर्देशन वि.सं. २०६२ मा प्रकाशित भएको थियो ।)
मीमांसा-दर्शनको दृष्टिमा धर्म र वेद

मीमांसा-दर्शनको प्रथमसूत्रमै अथातो धर्म जिज्ञासा भनिएको छ । यसरी धर्मबारेमा विचार गर्नु मीमांसा-दर्शनको पहिलो कार्य हो । त्यसपछि तत्कालै भनिएको छ - चोदना लक्षणोऽर्थो धर्मःु। शाब्दिक अर्थको पछिल्तिर लाग्नुअघि हामी यस सूत्रलाई बुझ्ने प्रयास गरौं ।
धर्म प्रत्येक व्यक्तिको आफ्नै मनखुशी इच्छा वा रुचिमा निर्भर चीज होइन यो त एक नैतिक नियम हो जसको पालना गर्नु समाजमा रहनेवाला मनुष्यकालागि आवश्यक छ । कुनै कार्य यस्ता हुन्छन् जो मनुष्यले प्राकृतिक प्रेरणाले विवश भएर गर्नु पर्दछ जस्तोकि खानु पिउनु सुत्नु शौच आदि कार्य । कुनै नियमचाहिँ यस्ता हुन्छन् जो मनुष्यले राज्य अथवा शासनको आज्ञाका कारणले मान्नु पर्दछ । कुनै नियम आफू रहेको समाजका सामाजिक तथा पारम्परिक विशेषताका कारण मानिएको हुन्छ । अर्काखाले कार्य यस्ता हुन्छन् जो प्राकृतिक अथवा राज्यका दबाबका कारणले नभएर नैतिक नियमवश गरिनकालागि प्रेरणा दिइन्छ; उदाहरणार्थ- दया परोपकार दान उदारता संयम क्षमा अिहंसा आदि । मान्छेको जीवनमा यी सबैखाले नियमहरुको विशेष महत्व छ । यी नियमहरुको पालना गर्ने सवालमा जैमिनीको भनाइ बडो युक्तियुक्त छ कि जो कार्य लोकोपकारी उपदेशकहरुको प्रेरणा या आदेशलाई मानेर गर्नुपर्दछ त्यो नै धर्म हो । तसर्थ भनियो कि प्रेरणा या उपदेशवाला अर्थ नै धर्म हो; - चोदना लक्षणोऽर्थो धर्मः ।
अब यहाँ प्रश्न उठ्छकि आफूलाई लोकोपकारी भन्ने दाबी गरेर उपदेश या प्रेरणा दिनेहरुमध्येबाट पनि फरक फरक उपदेश या प्रेरणा प्राप्त भएमा के गर्ने नि अनि कसैको मत लोकोपकारी हो वा होइन भनेर निर्णय कसरी गर्ने यसको जवाफ मीमांसाकारले दिएका छन् । ............. (क्रमश:)

Friday, September 04, 2009

 

मीमांसा-दर्शनको परिचय, महत्व तथा आवश्यकता

मीमांसा-दर्शनको परिचय, महत्व तथा आवश्यकता
(आयोदधौम्य निर्मलमणि अधिकारीकृत पुस्तक मीमांसा-दर्शन निर्देशन को पहिलो प्रकरण । यो पुस्तक वि.सं. २०६२ मा प्रकाशित भएको थियो ।)

मीमांसा-दर्शन हिन्दू-दर्शनहरुमध्येको एक महत्वपूर्ण दर्शन हो । सांख्य योग न्याय वैशेषिक तथा वेदान्त दर्शनजस्तै मीमांसा-दर्शन पनि सनातन धर्मको प्रमुख धरोहर हो । ती दर्शनका तुलनामा मीमांसा-दर्शन विस्तृत छ यसको सूत्रसंख्या २६४४ छ -जुनकि अरु पाँचै दर्शनहरुका सूत्रहरु सम्मिलित गर्दा हुनआउने संख्या जति छ । मीमांसा-दर्शनका प्रवर्तक महर्षि जैमिनीलाई वेदान्त-दर्शन ब्रह्मसूत्र का पुरस्सर महर्षि बादरायण व्यास का शिष्यका रुपमा पनि चिनिन्छ । मीमांसा-दर्शनलाई अरु दर्शनभन्दा फरक यस कारणले मानिएको छ कि यसमा कर्मकाण्डलाई धर्मको मूल साधन बताइएको छ ।१ जैमिनीको स्पष्ट मत छ कि धर्मको जुन व्याख्या वेदमा गरिएको छ त्यसलाई स्वीकार गर्नु र तदनुसार आचरण गर्नु मनुष्यको कर्तव्य हो र यसैबाट ऊ स्वर्ग तथा मुक्तिको अधिकारी हुनजान्छ । यस दर्शनले उठाएका विषय-वस्तु आजको युगमा समेत हाम्रालागि अत्यन्त महत्वपूर्ण भएकाले मीमांसा-दर्शनको पठनपाठन हुनु जरुरी छ ।
मीमांसा-दर्शनको चर्चा गर्दा श्रद्धेय आचार्य कुमारिल भट्टको नाम उल्लेख गर्नैपर्छ । किनकि मीमांसा-दर्शन बौद्ध-दर्शनभन्दा अघिको भएता पनि वर्तमान समयमा यसको जुन रुप प्राप्त छ त्यो आचार्य कुमारिलद्वारानै पुनःस्थापित भएको हो । कुमारिलले बौद्धमतको पूर्णज्ञान प्राप्त गरी शास्त्रार्थ गरेर त्यसबेलाका बडा-बडा बौद्ध विद्वानहरुलाई शास्त्रार्थमा पराजित गरी ठूलो प्रतिष्ठा एवं यश आर्जन गर्नुभयो । उहाँको योग्यता एवं परिश्रमले मीमांसा-दर्शनले पनि नयाँ जीवन प्राप्त गर् यो । भगवान् जगद्गुरु शंकराचार्यले आचार्य कुमारिललाई गुरुतुल्य मानेर अत्यन्त आदरपूर्वक नाम लिनुभएको छ । यसबाट पनि उहाँको महान् व्यक्तित्वको हामीलाई ज्ञान हुन्छ । म यशस्वी एवं प्रातःस्मरणीय आचार्य कुमारिल भट्टप्रति श्रद्धानत हुँदै मीमांसा-दर्शनको चर्चालाई अगाडी बढाउँछु ।
यो दर्शन कुन पृष्ठभूमिमा प्रवर्तित भएको थियो भन्नेकुरा हामीले बुझ्नुपर्दछ । भारतवर्षीय-संस्कृतिको इतिहासमा एक कालखण्ड यस्तो थियो जुनबेला ुयज्ञु यहाँको जनजीवनमा पूर्णतया आत्मसात् थियो; सर्वत्र धार्मिकता एवं यज्ञसंबन्धी उत्सवको चहलपहल थियो । तर समय बित्दैजाँदा यसमा पनि केही विकृति आयो र कालान्तरमा यज्ञको धार्मिक भाव र सात्विक वातावरण क्षय हुँदैगयो । एकातिर यज्ञ गर्दैनगर्नेको जमात त अर्कातिर यज्ञ गरेता पनि यसलाई ढाँेग पाखण्ड तथा हैसियत प्रदर्शनको माध्यम बनाउने विकृत स्थिति पनि आयो । मध्यकालमा यज्ञमा पशुिहंसा पस्यो र एक समयमा मूक पशुहरुउपर िहंसारुपी अत्याचार यति हदसम्म बढ्योकि ती पशुका करुण चित्कारले द्रवित भएर स्वयम् भगवान विष्णुले बुद्धअवतार लिनुभयो । नेपालकै लुम्बिनीमा प्रकटित हुनुभएर भगवान् विष्णुका प्रमुखतम् दशावतारमध्ये नवौं अवतारका रुपमा प्रतिष्ठित भगवान बुद्धले अिहंसाको प्रचार गर्नुभयो । त्यस कार्यले िहंसाको रोकथाममा ठूलो योगदान पुर् यायो । त्यतिखेर यज्ञमा िहंसाको दुस्प्रभाव यति धेरै बढेको थियो कि वेदको वचन- मा िहंस्यात् सर्वभूतानि लाई पालना गराउन स्वयम् भगवान्ले अवतरित भएर यज्ञ नै बन्द गराउने कार्य भयो । त्यो युगको आवश्यकता थियो ।
गौतम बुद्धभन्दा अल्लि अघि भगवान् महावीरले भगवान् विष्णुका प्रमुख अवतारहरुमध्येकै एक अवतार भगवान् ऋषभदेव जैनधर्मका प्रथम तीर्थङ्कर को परम्परालाई अगाडी बढाउँदै अिहंसाको सन्देश फैलाउनु भएको यहाँ स्मरणीय छ । बौद्ध जैन आदि धार्मिक सम्प्रदाय सनातन हिन्दू धर्ममा सुधार गर्न निकालिएका मार्गहरु हुन् । मीमांसा-दर्शनको प्रवर्तन पनि यज्ञका नाममा विकृतिहरु बढिरहेको पृष्ठभूमिमै भएको बुझिन्छ; तर यसले यज्ञको निषेध गरेर होइनकि यज्ञलाई वेदले निर्देशित गरेको शुद्ध एवं वास्तविक स्वरुपमा स्थापित गरेर त्यो विकृति हटाउन चाहेको हो ।
पहिलोपल्ट बुद्धभन्दा अगाडीको समयमै प्रवर्तित भएको यो मीमांसा-दर्शन दोस्रोपल्ट बुद्धभन्दापछि आचार्य कुमारिलद्वारा पुनः प्रतिष्ठित भएको थियो । यो पनि समयको माग अर्थात् युगको आवश्यकता थियो । भयो के भने जब सनातन हिन्दूधर्म को सुधार गर्न जन्मिएको बौद्धमतमा पनि समयक्रममा प्रशस्त विकृतिहरु आए र आफूलाई बुद्धका अनुयायी भन्नेहरुले वास्तविक बुद्धोपदेशलाई अतिक्रमण गरे; तब त्यसलाई सच्याउन श्रद्धेय आचार्य कुमारिलको अभ्युदय भयो र उहाँले मीमांसा-दर्शनको पुनः प्रतिष्ठा गर्नुभयो ।
मीमांसा-दर्शनको आविर्भाव हुनुपर्ने अर्को प्रमुख कारण के पनि थियोभने त्यतिखेर धर्मको नाममा कर्मबाट पर रहने प्रवृत्तिले पनि मौलाउन पाएको थियो र जनसंख्याको ठूलो हिस्सा अकर्मण्य निस्क्रिय बसिदिँदा समाजको आर्थिक-सामाजिक प्रणालीलाई नकारात्मक असर परिरहेको थियो । समाजमा धर्मप्रतिको आस्था अत्यधिक भएको त्यो समयमा मानिसहरुलाई कर्मरत रहिरहन धर्मकै माध्यमबाट प्रेरणा दिँदाखेरीमा बढी प्रभावकारी हुने निश्चित थियो । त्यसबेला धर्म केबल व्यक्तिगत आस्थाको कुरामात्र थिएन बरु यो त सम्पूर्ण समाजको समग्र प्रणाली थियो । त्यसो हुनाले धर्मगुरुहरुको दायित्व केबल पूजापाठ गर्ने र औपचारिकता निर्वाह गर्न प्रवचन दिनेमात्र थिएन । धर्मगुरुहरु समाजका हरेक पक्षमा नेतृत्व दिन समर्थ एवं सक्षम थिए । हरेक धार्मिक सुधारसँगसँगै सामाजिक राजनीतिक आर्थिक लगायतका सम्पूर्ण सुधार भएको हुन्थ्यो । समाजमा धर्मप्रतिको आस्था अत्यधिक भएको त्यो समयमा मानिसहरुलाई कर्मरत रहिरहन धर्मकै माध्यमबाट प्रेरणा दिँदाखेरीमा बढी प्रभावकारी हुने तथ्यलाई ध्यानमा राखेर मीमांसाकारले ुकर्मुलाई प्रमुखता दिएकोतर्फ हाम्रो ध्यान पुग्नु पर्दछ ।
मीमांसा-दर्शनको उद्देश्य यस्ता धार्मिक विषयहरु तथा समस्याहरुबारेमा विचार गर्नु हो जसका बारेमा लोकमा विभिन्न प्रकारका मतभेद तथा भ्रम फैलेका थिए । ुमीमांसाु शब्दको अर्थ नै ुविचार गर्नुु हो । विद्वानहरु भन्दछन् कि मीमांसा-दर्शनको ज्ञान प्राप्त नगरी वैदिक वाक्यहरुको वास्तविक अर्थ जानिँदैन । अहिले वेदका शब्दहरुका अर्थ नजान्नाले समाजमा समेत अनर्थ भएको छ । जस्तोकि ुआर्यु शब्दको गलत अर्थ प्रचार गरेर हाम्रो समाजमा ठूलो द्वेषभाव तथा विखण्डनको विष फैलाउनेहरु पनि छन् ।२ त्यस्तै प्रसंगवश कुरा गरौं ुहिन्दूु शब्दको अर्थ र बौद्ध जैन शिख लगायतका विभिन्न धार्मिक सम्प्रदायहरुको हिन्दुत्वसँगको अन्तस्रम्बन्ध बारेमा पनि गलत किसिमबाट प्रस्तुत हुनेहरुको संख्या पनि कम छैन ।३ यी सबको निदान गर्नकालागि मीमांसा-दर्शन उपयोगी हुने स्पष्टै छ ।
साँच्चैनै धर्मको वास्तविकतामा मान्छेहरु पुग्न नसक्नाले अनर्थ भइरहेको छ । आज मानिसहरुले ुयज्ञुको वास्तविक अर्थ ुस्वर्गुको वास्तविक अर्थ अनि ुदेवताुको वास्तविक अर्थ नबुझेको स्थिति छ । ुधर्मुको खास अर्थ नबुझेर संकीर्ण किसिमका परिभाषामा झगडिँदै गरेका छन् । उ पनिषद् पुराण रामायण महाभारत गीताआदिका गाजेमाजे अर्थ गरेका छन् कतिपयले । यो सब अनर्थ किन त भन्दा संस्कृत भाषासँग टाढिनुको दुस्परिणाम; ुमीमांसाु जस्ता दर्शनको अध्ययन नहुनुको दुस्परिणाम ! यदि मीमांसा-दर्शनको अध्ययन हुने हो भने यस दर्शनले हामीलाई वास्तविकता बोध गराउनेछ यथार्थ ज्ञान दिनेछ । अहिलेको समयमा यस दर्शनको महत्व तथा आवश्यकता झन् बढेको छ ।

पादटिप्पणी ः
१ छओटा दर्शनहरुले वास्तवमा एकै तत्वको प्रतिपादन गर्दछन् भन्ने तथ्य हामीले भुल्नु हुँदैन । एक संस्कृत श्लोकमा भनिएको छ- ूरुचिनां वैचित्र्याद्दजुकुटिल-नानापथजुषां । नृणामेको गम्यस्त्वमसि पयसामर्णव इव ॥ू अर्थात् रुचिको भिन्नता वा वैचित्र्यका आधारमा सोझा-सरल बाङ्गा-टिङ्गा र घुमाउरा आदि अनेकौं पथ पद्धति र धार्मिक परिपाटीमा बाँडिने मनुष्यहरुका लक्ष्यबिन्दु वा प्राप्य वस्तु एकमात्र तिमी हौ जस्तोकि विभिन्न प्रकारका रुपाकृतिमा बाँडिएर बग्ने अनेकौं नदीनालाहरुको पानीको एकमात्र गन्तव्यस्थल वा प्राप्य वस्तु एउटै समुद्र हो ।
विभिन्न दर्शनको साध्य एउटै हो भन्ने साक्ष्यमा गीताको तेह्रौं अध्यायका श्लोक २४-२५ मा ध्यानयोग ज्ञानयोग निष्काम-कर्मयोग र भक्तियोग सबै तरिकाले साधकले भवसारगर तर्न सक्ने बताइएको पनि स्मरणीय छ ।
महर्षि दयानन्द सरस्वतीको मतमा पनि छओटा दर्शनहरुले एकै तत्वका भिन्न भिन्न छ अवयवहरुबारेमा प्रतिपादन गरेका हुन् । जसरी घडा बनाउँदा कर्म समय माटो विचार संयोग-वियोगादिको पुरुषार्थ प्रकृतिको गुण र कुमाले कारण हुन्छ- त्यसरीनै सृष्टिको जो कर्म कारण छ त्यसको व्याख्या मीमांसामा समयको व्याख्या वैशेषिकमा उपादान कारणको व्याख्या न्यायमा पुरुषार्थको व्याख्या योगमा तत्वहरुको अनुक्रमपूर्वक परिगणनको व्याख्या सांख्यमा र निमित्तकारण परमेश्वर को व्याख्या वेदान्तमा भएको हो ।
राधाकृष्णन्ले आफ्नो पुस्तक ुभारतीय दर्शनुमा प्रबोधचन्द्रोदय नामक एक दार्शनिक नाटकलाई उद्धृत गर्दै लेखेको पाइन्छकि हिन्दू-विचारधाराका छ प्रमुख दर्शन परस्पर एक-अर्काबाट अलग छैनन् किन्तु विविध प्रकारका दृष्टिकोणबाट एकै स्वयम्भू ईश्वरको स्थापना गर्दछन् । यी सबै मिलेर यत्र-तत्र छरिएका प्रकाशकिरण ज्ञान लाई एक केन्दस्थलमा केन्द्रीत गर्दछन्; फलस्वरुप मानवले एकै तत्वबारेमा भिन्न भिन्न आयामबाट ज्ञान प्राप्त गर्दछ ।
२ यसबारेमा ुनेपाली भाषा-संस्कृति परिषद्ु द्वारा वि। सं। २०५६मा प्रकाशित मेरो पुस्तक ुचुच्चे-नेप्टेको सवाल र दशैं बहिस्कारुमा विस्तारपूर्वक चर्चा गरेको छु । साथै विभिन्न पत्रिकामा आफ्ना स्तम्भ अन्तर्गतका लेखहरुमा पनि यसबारेमा लेखेको छु । त्यसोहुँदा यससम्बन्धी थप चर्चा यहाँ नगरिएको हो ।
३ यस बारेमाचाहिँ मैले ुनेपाली भाषा-संस्कृति परिषद्ु द्वारा वि। सं। २०५७ मा प्रकाशित मेरो पुस्तक ुआस्थाको शान्ति-युद्धुमा विस्तारपूर्वक प्रष्ट्याएको छु । साथै माथि पादटिप्पणी संख्या १ मा भनिएझैं यसबारेमा पनि मद्वारा लिखित थुप्रै लेखहरु यत्रतत्र प्रकाशन भइसकेका छन् । तर तीमात्र सम्पूर्ण होइनन् । यस कार्यमा अझ बढी कार्य गरिनु आवश्यक देखिएको छ ।

विशेष टिप्पणी ः
भारतवर्षीय विश्वास अनुसार कुमारिलको समय ई।पूर्व नै हो । एक जैन ग्रन्थ ुजिन-विजयुमा बताइएअनुसार कुमारिल भट्टको जन्मकाल ई।पू। ५७७ तथा कुमारिलसँग शङ्करको भेट भएको वर्ष ई।पू। ४९४ बताइएको छ । ुशिव-रहस्यु र ुभविष्योत्तर पुराणु जो शंकराचार्यको आविर्भाव भन्दा अगाडि लेखिएको मानिन्छ मा भविष्यत् कालको वचनमा भनिएको छकि शंकरको जन्म कलियुगको दुई सहस्र बितेपछि हुनेछ । यसबाट पनि शंकराचार्य एवं पूर्ववर्ती आचार्य कुमारिलको जन्म ई।पू।मै भएको भन्ने भारतवर्षीय विश्वासलाई बल मिल्दछ ।
हेर्नू ः महादेवन टी।एम।पी।; शंकराचार्य अनु। सुमंगल प्रकाश; नेशनल बुक ट्रस्ट इण्डिया; दूसरी आवृत्ति सन् १९९९; पृ। ४ र पृ। १०

Thursday, August 06, 2009

 

आम्दानीको सदुपयोग


जनसंख्याको ठूलो हिस्सा बेरोजगारी वा अर्धबेरोजगारीको समस्याले पीडित भइरहेको स्थिति छ हाम्रोमा एकातिरभने अर्कातिर आम्दानी गर्न सक्नेहरुले त्यसको सदुपयोग गर्न नसकिरहेको स्थिति पनि छँदैछ । आर्थिक फाइदाकोलागि जेपनि गर्ने र त्यसरी उपार्जित धनलाई जेमापनि खर्चने प्रवृत्तिले धेरैजनालाई ग्रसित पारेको यथार्थता पनि हाम्रै सामुन्ने नभएको होइन । हाम्रा धर्मशास्त्रले आम्दानीको प्रकि्रया पवित्र हुनुपर्ने पक्षमा त जोड दिएका छन् नै; साथमा आम्दानीको सदुपयोग गर्नपनि सिकाएका छन् ।
मनुष्यको अधिकार केबल त्यतिमात्र धनमा छ जसबाट उसको भोक मेटियोस्; त्योभन्दा बढीलाई जसले आफ्नो मान्दछ त्यो चोर हो र दण्डको भागी हुन्छ अर्थात् संस्कृत भाषामा- यावद् भि्रयेत जठरे तावत् स्वत्वं हि देहिनाम् । अधिकं योऽभिमन्येत स स्तेनो दण्डमर्हति ॥ भनेर श्रीमद्भागवतमा भनिएको छ । धन कमाउने लालसा नबढाउन; अनि अन्याय गरी सम्पत्ति आर्जन नगर्न सचेत समेत गराइएको छ । अन्याय गरेर कमाएको धनले कसरी असल काम हुन्छ र त्यस्तो धनले न यो जन्ममा कीर्ति रहन्छ न त परलोकमा असल फल दिन्छ अर्थात् संस्कृत भाषामा- अन्यायोपार्जितो नैव द्रव्येन सुकृतं कृतं । नकीर्तिरिहलोकेच परलोकेच तत्फलं ॥ भनेर सद्मार्ग अवलम्बन गर्न प्रेरणा दिएइको त हो नि ! वेदमा मनुष्य जीवनको चार मुख्य लक्ष्य धर्म अर्थ काम मोक्षमा ुअर्थुलाई पनि स्थान दिइनुको तात्पर्य जीवनमा अभाव नहोस् समृद्धि होस् सुख होस् भन्ने हो र यसको प्राप्ति एवम् उपभोग प्रकृया पवित्र होस् भन्नेमा विशेष जोड दिइएको छ ।
सम्पत्ति प्राप्त गर्न सक्नुमात्र ठूलो कुरा होइन; आर्जित सम्पत्तिलाई सदुपयोग गर्न सक्नु झन् महत्वको कुरा हो । धनको सदुपयोग गर्न नसकिएमा त्यहीनै विष पल्टिनपनि केही बेर हुँदैन । सम्पत्तिको सदुपयोग कसरी गर्ने त भन्ने सम्बन्धमा पनि हाम्रा महर्षिहरुले विधान गरेकै छन् । हुनपनि हाम्रा धर्मशास्त्रहरुमा यति व्यापक दृष्टिकोण छकि तिन्को दृष्टिमा नपरेका विषय छँदैछैनन् । यस सन्दर्भमा वेदव्यासको भनाइ छ- धर्मार्थ यशसेऽर्थाय कामाय स्वजनाय च । पंचधा विभाजन् वित्तं इहामुभ च मोदते ॥ अर्थात् आम्दानी भएपछि त्यसलाई पाँच भागमा विभाजन गर्नु पर्दछ र त्यो धनलाई पाँच किसिमका कार्यहरुमा खर्चनु पर्दछ । जसमध्ये एक भाग धार्मिक कार्यमा दोश्रो भाग आफ्नो यश कीर्तिकोलागि तेश्रो भाग फेरि धन कमाउनकालागि लगानी गर्ने चौथो भाग घर-गृहस्थीको सुखकोलागि र पाँचौं भाग बन्धु-बान्धव नातागोता लगायत अन्य आशामुखीहरुकालागि छुट्ट्याउनु पर्दछ । यहाँ आफ्नो व्यक्तिगत आवश्यकता पारिवारिक दायित्व देखिलिएर सामाजिक कर्तव्य सम्मको ख्याल राखिएको छ ।
यहाँ त कसैका नाममा खरबौं सम्पत्ति ब्याङ्क ब्यालेन्स हुने; यता कसैलेचाहिँ आधारभूत मानवीय आवश्यकता समेत परिपूर्ति गर्न नसक्ने ! भनिन्छकि विश्वका २० प्रतिशत मानिसले संसारको ८० प्रतिशत साधनस्रोतमाथि कब्जा जमाएका छन् । हलिउडमा बन्ने एउटा सिनेमाको बजेट जति हुन्छ त्यति बजेट एउटा सिङ्गो देशको समेत नभएको अवस्थाका देशहरु संसारमा धेरैओटा छन् । अमेरिकाले शस्त्रास्त्रकालागि जति बजेट छुट्ट्याउँछ त्यति रकम लगानी गरिदिने होभने संसारमा कोही पनि भोको रहनुपर्ने थिएन । चीन भारत र पाकिस्तानले शस्त्रास्त्रको होडबाजीमा खर्चिरहेका रकम शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा खर्चिदिएको भए …॥ !
एउटा रिपोर्टमा भनिए अनुसार विश्वमा प्रत्येक वर्ष लाखौं टन खाद्यान्न समुद्रमा फालिन्छ ताकि अर्को वर्षको अर्थतन्त्र सन्तुलित नै रहोस्; र त्यतिनै बेला नेपालका हुम्ला देखिलिएर सोमालिया सम्मका कतिपय स्थानमा भोकमरी चलिरहेको हुन्छ । कहाँ हाम्रो वेदको सन्देश सहनौ भुनक्तु अर्थात् मिलेर भोजन गरौं; अनि कहाँ यो चाला ! अन्यत्रको के कुरा सार्कको खाद्यान्न भण्डारमा अन्न कुहिरहेको समाचार आइरहँदा सार्क राष्ट्रका कति नागरिक भोकले आकुलब्याकुल भइरहेका स्थिति हाम्रै सामुन्नेमा छँदैछ नि ।
एक पुरिया जीवनजल खान नपाएर कसैको ज्यानै जाने र कसैलेचाहिँ व्युटिपार्लरमा मात्र लाखौं खर्चने अवस्थालाई कुनै पनि मानवीय कोणबाट सही मान्न सकिँदैन । यो आम्दानीको सदुपयोग हुँदापनि होइन । सम्पत्तिको सदुपयोग त त्यतिखेर हुन्छ जबकि त्यो कसैको जीवनको आधार बन्न सक्दछ । त्यही भएर त व्यासजी भन्नुहुन्छकि आम्दानीलाई पाँच भाग लगाऊ र तीमध्ये एक भाग धार्मिक कार्यमा दोश्रो भाग आफ्नो यश कीर्तिकोलागि तेश्रो भाग फेरि धन कमाउनकालागि लगानी गर्ने चौथो भाग घर-गृहस्थीको सुखकोलागि र पाँचौं भाग बन्धु-बान्धव नातागोता लगायत अन्य आशामुखीहरुकालागि छुट्ट्याउनु पर्दछ । संसारका प्रत्येक मान्छेले यस्तो गरिदिनेहोभने कहाँ रहन्छ गरिबी कहाँ बस्न पाउँछ असमानता कहाँ हुन्छ भोक किन हुन्थ्यो युद्ध यदि व्यासजीको विधान अनुसार मानव चल्ने होभने कोही व्यक्तिले संसारका उत्तम भन्दा उत्तम सुख-सुविधा प्राप्त गर्ने र कोही व्यक्तिलेचाहिँ पशुभन्दापनि तुच्छस्तरको जीवन निर्वाह गर्नुपर्ने अहिलेको स्थिति हटी सर्वत्र समता सुख शान्ति आनन्द हुनेथियो । तब त आउँछ रामराज्य । यही हो सत्ययुगको आधारशीला ।
स्पेसटाइम दैनिक वर्ष २ अंक २५१, वि.सं. २०५९ असार २९ शनिवार पेज नं. ६ मा प्रकाशित

Monday, June 22, 2009

 

वेदान्त-दर्शन र द्वन्द्वात्मक भौतिकवाद

वेदान्त-दर्शन र मार्क्सीय-दर्शन बीचमा कुनै अन्तरसम्बन्ध खोज्नु सहज काम नहोला; तर रोचक काम चाहिँ निश्चयनै हो । एकथरीले अर्काथरीलाई जान्ने-बुझने प्रयासै नगर्ने र विचारको द्वन्दलाई शत्रुतापूर्ण भौतिक आक्रमण बनाउन कत्ति नहिच्किचाउने अहिलेको परिस्थितिमा यो कार्य थाल्नुअघि दुबैथरी अतिवादीका प्रहार खप्ने क्षमता नभई यसमा हात हाल्नु अझ खतरनाक हुन सक्दछ । खोजिपसेमा वेदान्त-दर्शन र मार्क्सीय-दर्शन बीचमा दार्शनिक बहसका अनेक पक्षहरू भेटिइने र त्यसले उपलब्धि हासिल हुने निश्चित छ ।
द्वन्दात्मक भौतिकवादी अवधारणा अनुसार यो जगत्मा नयाँ र पुरानोबीचमा द्वन्द चलिरहन्छ र पुरानोको निषेध नगरी नयाँ अस्तित्वमा आउँदैन । उदाहरणका निमित्त, जब बीज स्वयम् नष्ट हुन्छ, तबमात्र त्यसबाट अंकुर उत्पन्न हुन्छ; दूधको अस्तित्व मेटिएरमात्र दही बन्छ; यसरी 'कारण' स्वयम् नष्ट भएरमात्र 'कार्य' उत्पन्न हुन्छ । मार्क्सवादीहरूले निषेधको सिद्धान्त व्याख्या गर्दा अहिले भन्ने गरेजस्तो वास्तवमै 'निषेध' नै नभएर पहिले त्यसबाट 'रूपान्तरण'लाई बताउन खोजिएको थियो भन्ने कुरा स्पष्ट जस्तै छ ता पनि मार्क्सीय पण्डाहरूको कोकोहोलोमा त्यो व्यहोरा पछाडी परेको छ । पुरानोको ध्वंशलाई नयाँको आधारशीला मान्ने प्रवृत्तिचाहिँ मार्क्सवादको जामा लगाउन सफल भएको देखिन्छ ।
वेदान्त-दर्शन (ब्रहृमसूत्र)का सूत्रहरू लेखिँदा मार्क्सवादको अत्तोपत्तो थिएन तापनि त्यसबेला यस्तैखाले मत राख्नेहरू नभएका होइनन् । तिनको मत के थियो भने जसरी दूधको अस्तित्व मेटिएर दही बन्यो, त्यसरीनै 'अभाव'बाट नै 'भाव'को उत्पत्ति हुन्छ; अर्थात्, पुरानोको मरण- नयाँको जीवन । वेदान्त-दर्शनमा यस मतलाई "पुरानोको मरण र नयाँको जीवन" भन्ने तरिकाबाट होइनकि 'रूपान्तरण'को कोणबाट व्याख्या गरिएको छ । ब्रहृमसूत्र- २।२।२६ (नासतो˜दृष्टत्वात्) को आशय के होभने 'अभाव'बाट नै 'भाव'को उत्पत्ति हुन्छ -अर्थात्, पुरानोको मरण (नयाँको जीवन) भनेर मान्नु गलत हो र दूधबाट दही बन्दाखेरीमा दूधको अभाव हुने (वा दूध नष्ट भएको) होइनकि रूपान्तर भएको मात्र हो । यदि दूधमा दहीको अस्तित्व नरहेको भए दूधबाट दही प्राप्त गर्न सकिँदैनथ्यो – जस्तै पानीबाट दही कहिल्यै प्राप्त हुन सक्दैन; दूधमा दहीको अस्तित्व रहेको हुनालेनै दूधबाट दही प्राप्त गर्न सकिएको हो । यहाँ पुरानोको ध्वंश नयाँको आधारशीला होइन, पुरानोमा नयाँको अस्तित्व निहित रहेको र सापेक्षता अनुरूप रूपान्तरण भएको हो । यसमा परिवर्तनको विज्ञान-सम्मत नियमको सही व्याख्या देखिन्छ ।
अर्को उदाहरणबाट हेर्ने होभने, यदि बीजमा वृक्ष निहित नरहेको भए बीज रोपेर वृक्ष प्राप्त गर्न सकिने थिएन। बीज रोपण गरेर वृक्ष प्राप्त गर्न सकिनुको अर्थ यही होकि बीजमा वृक्ष निहित थियो । यहाँ वृक्ष बन्नुको अर्थ बीजको निषेध किन पनि होइन भने वृक्षमा पुनः बीज निहित छ नि त ! बीजबाट अंकुर तथा दूधबाट दही बन्नु त रूप-परिवर्तन मात्र हो । यहाँ बीजमा अंकुर वा वृक्षको अस्तित्व कसरी सदा विद्यमान हुन्छ; अथवा दूधमा दही कसरी निहित हुन्छ भन्ने बुझनकालागि स्थूल शरीर, सूक्ष्म शरीर, कारण शरीर जस्ता अवधारणालाई जान्नुपर्ने हुन्छ । संक्षेपमा वेदान्त दर्शनले "अभावबाट भावको उत्पत्ति हुँदैन" भनेर के स्पष्ट पारेको छभने नयाँ आउन पुरानोको समूल ध्वंश गर्ने होइनकि पुरानोलाई सही रूपान्तरण गर्न सक्नु पर्दछ । मार्क्सवादको आरम्भिक उद्घोषणताका निषेधको नियम बनाइँदा यही कुरा बताउन खोजिएको थियो होला । तर, जस्तोकि माथि भनिसकिएको छ( पुरानोको ध्वंशलाई नयाँको आधारशीला मान्ने प्रवृत्तिचाहिँ मार्क्सवादको जामा लगाउन सफल भएको देखिन्छ; यसैको कारणले आज जहाँ पनि मार्क्सवाद वा यसका उत्तरवर्ती माओवादका नाममा 'क्रान्ति' आरम्भ गरिइन्छ तब उनीहरू ध्वंशलाई अधिकाधिक् महत्व दिन्छन् । हाम्रो देश आज त्यही ध्वंशात्मक मनोवृत्तिबाट ग्रसित भएर त्रासदीमा खँगारिएको छ । एउटा दर्शनको व्याख्या गर्दा तलबितल पर्न गएमा कत्रो बिढंग पर्छ भन्ने तथ्यको यो जल्दोबल्दो उदाहरण हो ।
"अभावबाट भावको उत्पत्ति हुँदैन" भन्ने वेदान्त-दर्शनको अवधारणालाई अर्को एक प्रसंगमाचाहिँ मार्क्सपन्थीहरूले स्वीकार गरेका छन् । मार्क्सीय स्कूलहरूमा एउटा उदाहरण बारम्बार दिइन्छकि अण्डा कोरल्न बसेकी कुखुरीलाई अण्डा जस्तै देखिने ढुंगो वा अरु केही अण्डाकार वस्तु राखिदिने होभने उसले जतिसुकै कोरलेता पनि त्यसबाट चल्ला जन्मँदैन; चल्ला जन्मन त वास्तविक अण्डानै कोरल्नु पर्दछ । यस उदाहरणबाट उनीहरू के मान्यता स्थापित गर्दछन् भने कुनै पनि कार्य हुनकालागि कारण पनि त्यसैभित्र निहित हुन्छ । बस्, वेदान्त-दर्शनको मान्यता यही त हो नि ! वेदान्त-दर्शन र द्वन्दात्मक भौतिकवाद बीचको यो रोचक संयोगलाई सकारात्मक दिशातर्फअघि बढाउँदै 'पुरानोको ध्वंश' वा 'पुरानोको सही रूपान्तरण' भन्ने फरकपनलाई सुल्झाउन सकिएमा मानव समाजकालागि ठूलै उपलब्धि हासिल हुनेछ । मार्क्सवाद वा माओवाद वा अरु कुनै वादको नाममा पुरानोको ध्वंशकालागि ज्यान छाडेर लागेकाहरूलाई दार्शनिक अवधारणागत तहमै सच्याउन सकिएमा विश्वका अनेक भू-भागमा हिंस्रक युद्धोन्मादी 'क्रान्ति'मा खर्च भइरहेको उर्जालाई सकारात्मक क्रान्तिकालागि - समाजको सही रूपान्तरणकालागि खर्चन सकिने र यसबाट कालान्तरमा समस्त मानवता नै लाभान्वित हुने तथ्यतर्फहाम्रो ध्यान आकर्षित हुनुपर्दछ । अस्तु ।
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित

Wednesday, May 27, 2009

 

भोककै कारण छोरीहरुसहित आत्महत्या गर्न बाध्य आमाको देशमा

- निर्मलमणि अधिकारी
यो यही देश हो जहाँ भोककै कारण आठ महिना र सात वर्ष उमेरका दुई छोरीहरुसहित आत्महत्या गर्न बाध्य भइन् एक आमा । अखबारका पानामा संक्षिप्त समाचार छापिनुबाहेक उनीहरुको दुःखान्तले छोएन कसैलाई ।

सकेसम्म कोही चाहँदैन मर्न । मानिसलाई सबै भन्दा प्यारो लाग्ने नै आफ्नो जिन्दगी हो । त्यसमाथि प्रेम एवं करुणाकी प्रतिमूर्ति आमाले आफ्ना सन्तानलाई यति माया गर्छिन् कि त्यो अवर्णनीय छ । तर हाम्रै नेपालको सुदूरपश्चिममा एक आमाले आत्महत्या गरिन् आफ्ना दुई छोरीहरुसहित ।

अखबारले दिएको समाचार संक्षिप्त भए पनि कुरो बुझिन्छ । थुप्रै दिनदेखि ती तीनजनाको मुखमा अन्न परेको थिएन । केही नखाएपछि आमाको स्तनबाट दूध आओस् कसरी । रोइरहेका छोरीहरुलाई पानीसमेत पियाउन सकिनन् आमाले किनकि सुदूरपश्चिमको त्यो गाउँ हाम्रो देशका अनेकौँ यस्ता गाउँजस्तै थियो जहाँ पिउने पानी लिनसमेत निक्कै पर पुग्नु पर्ने हुन्छ ।

समाचार पढेर थाहा लाग्दैन तर अनुमान गर्न सकिन्छ कि आमाले केही माग्ने र छोरीहरुलाई बचाउने प्रयत्न पक्कै गरिन् । दरिद्रबस्तीमा सम्भवतः कसैसँग थिएन उनीहरुलाई दिनका लागि केही ।

अन्नपानी केही पनि नपाएपछि छोरीहरुको स्वरसमेत सुक्यो होला । पीडाले छटपटाइरहेका तर त्यसलाई समेत व्यक्त गर्न नसकिरहेका छोरीहरुको वेदनाको आघात कसरी सहन सक्थिन् आमाले । निरुपाय उनले छोरीहरुलाई पीडाबाट मुक्ति दिने एउटै मात्र उपाय देखिन् ।

हाम्रै देशमा भएको घटना हो यो । यो यस्तै अनेकौँ घटनाहरुको प्रतिनिधि मात्र हो ।
यो संसारमा यस्तो पनि देश छ र यो मेरै देश हो जहाँ भोकका कारण मानिस आत्महत्या गरिरहेका छन् जहाँ झाडापखाला लाग्दा सामान्य औषधी नपाएर कैयौँजना मरिरहेका छन् जहाँका मानिसहरु सामान्य गाँस बास कपासको आवश्यकता पूर्तिका लागि कुल्ली दर्बान भाडाका सैनिक घरेलु नोकर आदिका रुपमा बेचिनु परिरहेको छ जहाँ आफ्नै चेलीहरुलाई वेश्यावृत्तिका लागि बेचिन्छ जहाँ बोक्सीका नाममा आमा दिदी बहिनीहरुमाथि बर्बर िहंसा भइरहेको छ जहाँ हजारौँ मानिसको हत्या गर्ने िहंस्रकहरु राजनेता कहलाइन्छन् जहाँ राजनीति भनेकै जसरी पनि सत्ता शक्ति र सम्पत्ति हत्याउने साधन बनेको छ ।

यो यही देश हो जहाँ भोककै कारण आठ महिना र सात वर्ष उमेरका दुई छोरीहरुसहित आत्महत्या गर्न बाध्य भइन् एक आमा । के अधिकार छ त्यस्तो देशलाई एउटा स्वतन्त्र देश भएको भनेर गर्व गर्न के हक छ त्यस्तो देशको सरकारलाई जनतामाथि राज गर्न कुन स्वाभिमानले हो म बुझ्न सकिरहेको छैन कि आठ महिनाकी बच्चीलाई समेत अन्न पानी उपलब्ध गराउन नसक्ने मेरा देशका बहुसंख्यक मानिसहरु सधैँभरि राष्ट्रियताको नारा उरालिरहेका हुन्छन् ।


Saturday, May 09, 2009

 

अवैज्ञानिकता अस्वीकार्य

सवाल कुन चािहं रोज्ने भन्ने हो । धर्म रोज्ने कि अधर्म, सत्य रोज्ने कि असत्य, उज्यालो रोज्ने कि अँध्यारो, जीवन रोज्ने कि मृत्यु, क्षणिक सुख रोज्ने कि अक्षय सुख, योगवाद रोज्ने कि भोगवाद, पूर्व रोज्ने कि पश्चिम ?
हाम्रो रोजाइ असत्य होइन, सत्य हो; अँध्यारो होइन, उज्यालो हो; मृत्यु होइन, जीवन हो; भोगवाद होइन, योगवाद हो; क्षणिक सुख होइन, अक्षय सुख हो र पश्चिम होइन पूर्व हो । अवैज्ञानिकता हामीलाई अस्वीकार्य छ ।
हाम्रो सर्वाभ्युदयको उपाय के हुन सक्छ ? यस्तो प्रश्न मानवले उहिल्यैदेखि गर्दैआएको छ । आफ्नो उन्नति प्रगति अभ्युदयकालागि प्रयत्नशील रहनु चेतनशील मानवको स्वाभाविक प्रवृत्ति हो । आधुनिक युगमापनि सो प्रश्नको सान्दर्भिकता उत्तिकै छ । हरेक युगको मान्छेलाई आफ्नो जिन्दगीको सार्थकताको सवालले झक्झक्याइरहेको हुन्छ र हुनुपनि पर्छ । उत्तर चािहं व्यक्तिपिच्छे फरक फरक आउन सक्ने सम्भावना हुन्छ । यस स्तम्भकारले देखेको बाटो त उही हो- वैज्ञानिकतायुक्त धर्म एवम् धार्मिकतायुक्त विज्ञान --- धर्म र विज्ञानको समन्वय को बाटो । उही हामीले पहिल्यैदेखि भन्दैआएको ।
खासगरी हाम्रो हित हिन्दूदर्शनको पुनरुज्जीवनमा निहीत छ यानेकि सांस्कृतिक पुनर्जागरण । धर्मको नाममा व्यापार गर्ने तथा धर्मको नाममा नेतागिरीको व्यवसाय चलाउनेहरुले हिन्दू शब्दलाई तानातान पारेर जनमानसमा यसको अर्थ नै क्षतविक्षत तुल्याएका छन् । अर्थको अनर्थ गरेपछि त ताल बिगि्रहाल्छ नि ! ठीक ठाउँमा ठीक पुर्जा फिट गरे पो इन्जिन चल्छ । जता जता मन लाग्छ त्यता त्यता जे जे मन लाग्छ त्यै त्यै फिट गरेर इन्जिन चलाए पछि दूर्घटना हुँदैन त भइहाल्छ नि । त्यस्तै हो समाज पनि । समाजका हरेक पक्ष खल्बल्याए पछि परिणाम पनि खल्बलिन्छ । विष रोपेको ठाउँमा अमृत फल्दैन । सत् बाट मात्र सत्् जन्मन्छ । जब त्यो सत्लाई बेवास्ता गरेर असत्लाई सत्को जामा पहिराइन्छ अनि गडबड हुन्छ । त्यो गडबडी हामी यत्रतत्र देख्न सक्छौं । हिन्दू शब्दलाई लगेर जोडिदिएका छन् एउटा टे्रडमार्कमा । ठिक छ यदि ट्रेडमार्कहरु बिचबाटै छान्नुपर्ने हो भने राम्रै ट्रेडमार्क छानौं न यो मेरो आग्रह । त्यो राम्रँे ट्रेडमार्क भनेको कुन त मेरो जवाफ प्रष्ट छ - महान वैदिक सभ्यताको उत्तराधिकार जुन ट्रेडमार्कमा छ त्यही । अँध्यारोबाट उज्यालोतिर असत्बाट सत् तिर मृत्युबाट अमृततिर जाने बाटो देखाएको छ जुन दर्शनले त्यही हो मेरो रोजाइ ।
धर्म वा दर्शन जस्ता भावहरुलाई भौतिक जगत्मा हाम्रा भौतिक कि्रयाकलापहरुले प्रदर्शित गरिरहेका हुन्छन् । यहाँ दोहोरो सम्बन्ध छ । दार्शनिक रुपमा हामी उच्चस्तरको हुँदा हाम्रो भौतिक स्तर पनि उच्चतातर्फ हुन्छ भन्ो भौतिक रुपमा हामी उच्चस्तरमा हुँदा हाम्रो दर्शन पनि उच्चता तर्फ लागिरहेको हुन्छ । जस्तो कि पश्चिममा जुन मात्रामा भौतिक विकास बढ्दो छ उति नै हिन्दू दर्शन प्रति आकर्षण बढ्दो छ । हामीचािहं यसै महान् दर्शनका उत्तराधिकारी भएर पनि भौतिक रुपमा किन पिछडियौं त ? प्रश्न गहन छ ।
भयो के भने नाम मात्रै हिन्दू रह्यो र हिन्दू दर्शनको साक्षात्कार गर्दै नगरी केवल पाखण्ड ढोँग आडम्बरमा अल्झियौ । लेबल एउटा सामान अर्कै -अनि कसरी सही परिणाम आओस् । अब आवश्यकता के हो भने आन्तरीक तथा बाह्य दुवै तवरबाट हिन्दू दर्शन सँग हाम्रो साक्षात्कार होस् ।
हिन्दू हुन कुनै जाति विशेषमा जन्मनुले गर्दा निषेध छैन । जन्मँदा तपाईं मुसलमान वा कि्रश्चियन हुनुहुन्छ त के भो तपाईं हिन्दू हुन सक्नुहुन्छ । तपाईं जुनसुकै जात-जाति-समुदायको भए पनि हिन्दू हुन सक्नुहुन्छ । चीनिया होस् वा मंगोल होस् वा निग्रो हिन्दू हुने अधिकार सबैलाई छ । यस्तो हो सूर्यमाथि कुन चाहिँ मान्छेको बढि अधिकार छ त्यसको प्रकाश एवम् उर्जामाथि कसको बढी अधिकार छ सबैको । हो त्यसलाई उपभोग गर्न सक्नु-नसक्नु आफुमा भर पर्छ । सूर्य उदायो भने क भन्ने व्यक्तिका लागी उदाउने र ख भन्ने व्यक्तिका लागि नउदाउने हुन्छ ? हुँदैन्ा । त्यही सनातन सूर्य जस्तै हो सनातन धर्म दर्शन । कृण्वन्तु विश्वमार्यम् भन्छ हाम्रो वेद । सारा विश्वलाई आर्य बनाऊ । आर्यत्व भनेको के त ? अमृतस्य पुत्राः भनेको छ नि, उस्तै हो । ॐ असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्योर्मा अमृतं गमय । यही बाटो हो आर्यत्व । आर्य हुनु मानवताको सर्वाेत्तम पद हो ।
धर्मको अन्तदृ्रष्टि सहित विज्ञानलाई हामीले जीवनप्रकि्रयामा आत्मसात् नगरी सुखै छैन । धर्म मान्दै नमान्ने जमात आफ्नो ठाउँमा छँदैछ । धर्म मान्दैछौं भन्ठान्नेहरुमध्ये पनि अधिकांश धार्मिक सम्प्रदायगत ट्रेडमार्कमा रल्लिइरहेका छन् । अनि एउटा सम्प्रदाय विशेषको कुरा गर्दा पनि आ-आफ्नै तालका रितिमा अल्मलिएका देखिन्छ । अब त्यसरी नरल्लिऔं र सही बाटोमा लागौं भन्ने हाम्रो आह्वान हो । सन्दर्भलाई केन्द्रिकृत गर्दाखेरीमा सवाल कुन चािहं रोज्ने भन्ने हो । धर्म रोज्ने कि अधर्म, सत्य रोज्ने कि असत्य, उज्यालो रोज्ने कि अँध्यारो, जीवन रोज्ने कि मृत्यु, क्षणिक सुख रोज्ने कि अक्षय सुख, योगवाद रोज्ने कि भोगवाद, पूर्व रोज्ने कि पश्चिम ?
निश्चित रुपमा हामी धर्मका पक्षधर हौं । हाम्रो रोजाइ असत्य होइन, सत्य हो; अँध्यारो होइन, उज्यालो हो; मृत्यु होइन, जीवन हो; भोगवाद होइन, योगवाद हो; क्षणिक सुख होइन, अक्षय सुख हो र पश्चिम होइन पूर्व हो । अवैज्ञानिकता हामीलाई अस्वीकार्य छ । हाम्रालागि धर्म भनेको जीवनपद्धति हो -यस्तो जीवनपद्धति जस्लाई वैज्ञानिकताबाट पृथक् राख्न हुंदैन । अस्तु ।
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित

Wednesday, April 01, 2009

 

नारी

स्पेसटाइम दैनिक, वर्ष २ अंक ३४२, वि.सं. २०५९ असोज २६, शनिवार, पेज नं. ६ मा प्रकाशित
शक्तिको पूजा अर्चना गर्ने हाम्रो प्रचलन छ । तर शक्ति अर्थात् नारीको जति नै पूजा गरिएतापनि नमिठो कुरा के छभने अहिले हाम्रो समाजमा नारीहरुको स्थिति सन्तोषजनक छैन । यो लुकाउने र छोपछाप पार्ने कुरो होइनकि यहाँ वर्षेनी हजारौं चेलीहरु वेश्यालयका कोठीहरुमा बेचिनेजस्तो कलङ्कपूर्ण स्थिति छ; घरेलु िहंसाले पिडित हुनु परिरहेछ नारीहरुले; आधारभूत स्वास्थ्य सुविधा समेत नपाएर अकालमा धेरै नारीहरुको ज्यान गुमिरहेको छ । नारीहरुलाई अपमान र तिरस्कार गरिएका घटनाहरु धेरै संख्यामा घटित भइरहन्छन् ।
यस्तो किन भइरहेको छ भन्ने कुरालाई दुई किसिमबाट हेर्नुपर्ने हुन्छ । एक त हाम्रो समाजमा स्वयम् पुरुषहरु नै धेरै कुराहरुमा आफै पनि पिडित छन्; त्यसो हुँदा महिलाहरुलाई पनि त्यसको नकारात्मक असर परिरहेको छ । यस्ता समस्याहरु सल्ट्याउन सम्पूर्ण समाजको नै उन्नति प्रगति उत्थान हुनु जरुरी छ र यसका निमित्त नारी-पुरुष मिलेर सहकार्य नगरी हुँदैन । दोस्रो चाहिँ अहिले तत्कालै सल्ट्याउन सकिने खालका समस्याहरु पनि देशको सामाजिक तथा राजनीतिक नेतृत्वको अक्षमताका कारण ज्यूँकात्यूँ रहेका छन् र इच्छाशक्ति हुनासाथ समाधान पनि सहज छ ।
नेपाली संस्कृति तथा यसको आमा-संस्कृतिको रुपमा रहेको वैदिक हिन्दू संस्कृतिमा नारीहरुको स्थान गरिमामय थियो । ुसत्ययुगुमा महिलाको जुन स्थान थियो त्यो तत्पश्चात् कहिल्यै रहेको छैन र ुवैज्ञानिक सत्ययुगुको स्थापना भएपछिमात्र त्यस स्थितिको पुनरागमन हुनेछ । धर्म संस्कृति तथा परम्पराले नारीहरुलाई महिमामण्डित गरेको भएतापनि सामन्ती राज्यसत्ताका क्रममा त्यो खण्डित हुनगयो । कालान्तरमा त्यो वैदिक परम्परा माथि अतिक्रमण हुँदा नारीहरुलाई दोस्रा दर्जाका झैं गर्ने छोरी जन्मँदा नरमाइलो मान्ने जस्तो कुप्रवृत्ति फैलिएको हो । शासकहरु स्वयम् नै स्वेच्छाचारी-भोगी-विलासी बनेको बेलादेखि क्रमशः जनस्तरसम्म नै त्यो विकृति बढ्दै गयो र अल्लिपछि आफ्नो अनैतिक कार्यलाई धार्मिकताको जामा पहिर् याउँदै जाने प्रचलन बढ्यो । अनि त एउटै पुरुषले दुई-तीनवटादेखि लिएर जतिसक्यो धेरैवटी स्वास्नी भित्र्याउन थाले र ूमर्दका दशवटीू भन्नेजस्ता उखान पनि चले । सामाजिकरुपमा महिलाहरुलाई संकुचित घेराबन्दीमा रहनुपर्ने भयो भने आर्थिक पराधिनता पनि चर्कोसँग बढ्यो । आफ्नै सन्तान मध्येमापनि छोरालाई काखा र छोरीलाई पाखा गर्ने अन्यायी एवम् अमानवीय कुसंस्कार हाम्रो समाज वैदिक परम्पराबाट पतन भएपछिकै विकृति हो । यसको चरम विकृत स्वरुप मौलाउँदै जाँदा नारीको पवित्र जन्मलाई समेत धिक्कार्ने र ूछोरीको जन्म हारेको कर्मू भन्नेजस्ता उखानहरु जन्मे । तर यी विकृतिहरु हुन् र यस्ता विकृति त्याग्न कत्ति पनि हिच्किचाउनु हुँदैन ।
धर्मशास्त्रमा नारीलाई देवी भन्ने तर व्यवहारमा चाहिँ बम्बै-कलकत्ताका कोठीहरुमा वर्षेनी हजारौं चेलीहरु बेचिने; ूयत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताू भन्ने तर व्यवहारमाचाहिँ नारीको भागमा अपमान र तिरस्कार पर्ने; ून गृहंगृहमित्याहुगृ्रहिणी गृह मुच्यतेू अर्थात् घर त्यसै घर हुँदैन जहाँ गृहिणी रहन्छिन् त्यही घर भनिन्छ भन्ने तर व्यवहारमाचाहिँ उनै नारीलाई जतिबेला सनक चले पनि लोग्नेले घरबाट बिनाकुनै कसूर पनि घरबाट गलहत्याउने; यी सबै देखिएका-जानिएका-भोगिएका यथार्थहरु हुन् । यो वैदिक संस्कृति एवम् परम्परा अनुरुपको व्यवहार पटक्कै होइन । यो त वैदिक हिन्दू धर्म संस्कृति परम्परा पालन नभएको अवस्थाको पतन हो ।
हिन्दू संस्कृति त त्यो हो जहाँ मान्यता छ कि ू…। यत्रैतास्तुं न पूज्यन्ते सर्वास्तत्राफलाः कि्रयाू अर्थात्- जहाँ नारीहरु पुजिँदैनन् तिन्को अनादर हुन्छ त्यहाँ समस्त कि्रयाहरु व्यर्थ हुन्छन् ; जहाँ यस्तो विश्वास हुन्छ कि छोरी जन्मनु ुदेवीु जन्मनु हो; र जहाँ छोरीले आफ्नो जन्मलाई धिक्कार्नु पर्दैन आमाले रुनुपर्दैन; दिदी-बहिनी बुहारी पत्नी देउरानी-जेठानी सासू नन्द-आमाजूफूपु भाउजु आदि कसैले पनि नारीको जन्मलाई हारेको कर्म ठान्नु नपरोस् । अहिले हाम्रो समाजमा नारीप्रतिको भेदभाव तिरस्कार उपेक्षा हेलत्वभाव तथा दमन उत्पीडन आदि सनातन हिन्दू धर्म-संस्कृति-परम्पराको कारणले होइन; प्रत्युत सनातन हिन्दू धर्म-संस्कृति-परम्परा अवलम्बन गर्न नसकेकोहुँदा आएको विकृति हो । वैदिक हिन्दू संस्कृति शुद्ध स्वरुपमा हुँदा नारीहरुको गरिमा गर्वयोग्य हुन्छ अस्मिता उँचो हुन्छ । यदि हाम्रो समाजमा नारी र पुरुषको हक-अधिकार समान पार्ने उस्तै गरिमापूर्ण स्थान बनाउने हो भने त्यसका निमित्त सही उपाय भनेको हाम्रो धर्म-संस्कृति-परम्परा अनुरुपको विधान नै हो । ऋषिमुनिहरुले यति राम्ररी विधान गरेर गएका छन् कि त्यो पालना गर्नासाथ महिलामाथि हुने गरेका भेदभाव तिरस्कार उपेक्षा हेलत्वभाव तथा दमन उत्पीडन आदिको गुाजायस नै रहँदैन ।
अर्थात् सनातन धर्म-संस्कृति-परम्पराको शुद्ध अविकृत स्वरुपको आत्मसातता स्वतः नारीहरुको सम्मानपूर्ण स्थितिको ुग्यारेण्टीु हो । यसमा नारीको सामाजिक सुरक्षा छ व्यक्तिगत तथा सामूहिक सुखको प्राप्ति छ र महिमा गरिमा अस्मिताका कसीमा पनि अनुपम एवं उच्च स्थान छ । हाम्रो संस्कृतिमा जस्तो ममता आदर सम्मान प्रेम तथा सुरक्षाको विधान अन्यत्र कतै उपलब्ध छैन नारीलाई । तर यदि कुनै नियम पालन गर्न सकिएन भनेचाहिँ त्यो नियम हुनु र नहुनुको कुनै अर्थ रहँदैन । तसर्थ यहाँ आवश्यकता नयाँ नियम कानुन विधान बनाउनुको होइन कि वैदिक संस्कृतिको पूर्ण पालना पो हो आवश्यकता त । चाहे आधुनिकताको नाममा आएको होस् अथवा परम्पराको बहानामा आएको होस्- वास्तविक रुपले नारीलाई अहित गर्ने तत्वलाई अस्वीकार र हित गर्ने तत्वलाई स्वीकार गर्नु पर्दछ । दशैं जस्तो देवी-उपासनाको चाड यसबारेमा चिन्तन मननकालागि अत्यन्त उपयुक्त सन्दर्भ हो । दशैंमा शक्तिको आराधना गरिरहँदा हामी सबैले त्यो पूजा सार्थक छ वा फगत् देखावटी ढोँग भइरहेछ भनेर आफ्नो अन्तरात्मालाई सोध्नै पर्छ ।

Saturday, March 07, 2009

 

युग चाहन्छ एक चाणक्य

युग चाहन्छ एक चाणक्य
एक विशाल साम्राज्यको संस्थापक सर्वशक्तिमान् व्यक्तित्व भएरपनि 'पर्णकुटी'को बास र सत्तामोहबाट पूर्णतया मुक्त ! उनको एक इशारामा संसारका सब ऐश-आराम वैभव भौतिक सुख हाजिर हुने भएतापनि ती सबलाई त्याग्न सक्ने उनको जीवनचरित देख्दा आश्चर्य लाग्छकि यस्तापनि थिए हाम्रा राजनीतिज्ञ कुनै जमानामा । अहिले त एकादेशको कथा भइसकेको छ ।
आचार्य विष्णुगुप्त चाणक्यको सान्दर्भिकता आजको परिप्रेक्ष्यमा झन् बढेर गएको छ । वास्तवमा यतिखेर हाम्रो समाजको निमित्त चाणक्यको चरित्र अद्भूत आकर्षणको रहेको हामी पाउँछौं । भारतवर्षको शास्त्र-शक्ति र शस्त्र-शक्ति दुबैको पुनरुद्धार गर्ने ती महान् व्यक्तित्वले राजनीति सम्बन्धी सिद्धान्तको प्रतिपादन गर्दै शासन-प्रबन्धको पनि राम्रो मोडेल प्रदान गरेर गएका छन् । अर्थशास्त्र राजनीतिशास्त्र दर्शनशास्त्र कामशास्त्र- प्रत्येक क्षेत्रमा उनको विद्वत्ता अनुपम छ ।
भारतवर्षको विशाल भू-भागमा यवनहरुको साम्राज्य स्थापित भएको र बाँकी भू-भागमा पनि अनेकौं सस्याना राजा-रजौटाहरुको आपसी संघर्षले अशान्तिको साम्राज्य फैलिएको त्यस अवस्थामा भारतवर्षलाई विदेशी दासताबाट मुक्त गराई विशाल साम्राज्यका रुपमा संगठित गर्ने र शान्ति बहाल गर्ने ती महान् गुरुको स्थान भारतवर्षको इतिहासमा अद्वितीय रहेको छ । शास्त्रशक्ति र शस्त्रशक्ति दुबैको जति राम्रो संयोजन चाणक्यले गरेका छन् त्यस्तो उदाहरण अन्यत्र शायदै पाइएला । वास्तवमै 'युग-नायक' हुन् आचार्य चाणक्य ।
चाणक्यको जीवनीबाट प्रेरित भई अनेकौं पुस्तकहरु लेखिँदैआएका छन् । विष्णुपुराण मुद्राराक्षस कामन्दक नीतिसार पाचतन्त्र कादम्बरी दशकुमारचरित लगायत संस्कृत वाङ्मयका साथसाथै बौद्ध र जैन ग्रन्थहरुमा पनि यी महामानवको स्मृति सुरक्षित छ । वर्तमान समयमापनि भारतवर्ष तथा युरोप-अमेरिकाका अनेक विद्वानहरुको ध्यान चाणक्यतर्फ आकृष्ट भइरहेको देखिन्छ । चाणक्यको महान् ग्रन्थ अर्थशास्त्र संसारका धेरै भाषाहरुमा अनुवादित-प्रकाशित भइसकेको छ । चाणक्यनीति शाश्वत् तवरले मार्गनिर्देशन गर्न सक्षम नीतिशास्त्रका रुपमा मानवसमाजले प्राप्त गरेको छ ।
ऐतिहासिक शोधबाट प्राप्त जानकारी अनुसार आचार्य विष्णुगुप्त चाणक्य तक्षशिलाका निवासी प्रख्यात प्राध्यापक थिए । आर्थिक हिसाबले एक गरिब ब्राह्मणका छोरा थिए उनी; न उनीसँग सेना थियो न त सत्ताको शक्तिनै थियो । तथापि आफ्नो विद्वत्तारुपी पुरुषार्थले लाखौं सेना जम्मा पारेर विशाल साम्राज्यको स्थापना गर्न सक्षम भए चाणक्य । त्यागनै उनको सबभन्दा ठूलो धन थियो र बुद्धिनै सबभन्दा ठूलो शक्ति । चाहेको भए आफैं 'चक्रवर्ती सम्राट्' बन्न सक्ने शक्ति भएका ती महान् ब्राह्मणले सुयोग्य शिष्य चन्द्रगुप्तलाई सो पदवी प्रदान गरेर पूर्ववत् कुटीमा बसी शिक्षा-दीक्षा प्रदान गर्नमै सारा जीवन समर्पित गरेका थिए । उनको मतमा अध्यापक गुरु हुनु सम्राट वा महामन्त्री हुनुभन्दापनि उच्चतम् प्राप्ति थियो ।
उनले चन्द्रगुप्तलाई आफ्नो पि्रय शिष्य भएकै कारणलेमात्र सम्राट बनाएका थिएनन् । सुयोग्य गुरुका शिक्षा-दीक्षाले उनलाई त्यस पदकालागि योग्य बनाएको थियो । यदि चन्द्रगुप्त त्यस पदकालागि सर्वश्रेष्ठ नठहरिने स्थिति भएको भए चाणक्यले उनलाई अस्वीकृत गर्न कत्तिपनि हिच्किचाउने थिएनन् । सौभाग्यले सुयोग्य शिष्यलाई राजकाजको जिम्मा दिने अवसर पाएकाले सन्तोषपूर्वक तक्षशिलामा अध्यापनका निम्ति गुरु चाणक्य फर्केको इतिहासबाट ज्ञात हुन्छ । सत्तामद र सत्तामोह नातावाद कृपावाद आदिले धेरै व्यक्तिहरुलाई गाँजेको र त्यसको परिणाम स्वरुप सारा देशनै पीडित हुनुपरेको अनुभव हाम्रानिम्ति नौलो होइन । त्यसको पीडा हामीले भोग्दै आइरहेकै हौं । घुम्ने मेचमाथि पुग्नासाथ सत्ताको मदले अन्धो बन्ने प्रवृत्तिले समाज आक्रान्त भइरहेको उदाहरण जतिपनि पाइन्छन् । सर्वसत्तावादी चरित्रका नेताहरुको मार खप्दाखप्दै हाम्रो बेहाल भएको परिप्रेक्ष्यमा चाणक्य जस्ता राजनेताको हामीलाई कति खाँचो छ भन्ने चर्चा गरिरहनु नपर्ला ।
चाणक्यको संरक्षकत्व-अभिभावकत्व एवम् चन्द्रगुप्तको सुशासनमा भारतवर्षमा सुख शान्ति समृद्धिको जुन दौर आएको थियो- त्यो निश्चयनै हाम्रालागि आदर्श लक्ष्य का रुपमा रहन योग्य छ । त्यस युगमा भारतवर्ष राजनीतिक सामाजिक धार्मिक आर्थिक सांस्कृतिक हरेक पक्षबाट विकसित हुनुलेपनि गुरुवर चाणक्यको महत्व स्पष्ट हुन्छ । वास्तवमा नेपाल र वास्तवमा सम्पूर्ण भारतवर्षकालागि यतिखेर युगले अर्को एक चाणक्यको आशा राखेको छ भन्नु अत्युक्ति पक्कै होइन ।
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित

This page is powered by Blogger. Isn't yours?