Tuesday, January 04, 2011

 

वैदिक हिन्दू दर्शन र सहृदयता

वैदिक हिन्दू दर्शन र सहृदयता
Originally published in: http://www.dautari.org/2010/12/blog-post_16.html

- 'आयोदधौम्य' निर्मलमणि अधिकारी

'सहृदयता' को अवधारणाबारे संस्कृत काव्यशास्त्रमा विशद् चिन्तन गरिएको छ । मूलतः काव्यिक रसास्वादनको सन्दर्भमा प्रतिपादन गरिएको यो अवधारणालाई समस्त मानवीय सन्देश सम्प्रेषण प्रकि्रयालाई प्रतिनिधित्व गर्ने गरी सामान्यीकरण गरिसकिएको छ र यसका आधारमा एक संचारढाँचाविशेषसमेत निर्माण गरी उक्त ढाँचाको नामाकरण 'संचारको साधारणीकरण ढाँचा' भनेर गरिएको छ । चिन्तनको त्यस शृङ्खलालाई अझै अगाडि बढाउँदा सहृदयताको अवधारणालाई अझै विस्तृतिकरण एवं सामान्यीकरण गर्न सकिन्छ । "वसुधैव कुटुम्बकम्" को जुन मान्यता हिन्दू-जीवनदर्शनमा परिपूर्ण देखिन्छ त्यसलाई ख्याल गर्दा 'सहृदयता' लाई हिन्दू जीवनदर्शनको आधारभूत तत्वका रुपमा लिनु उपयुक्त हुने देखिन्छ ।
मानवीय व्यवहारमा सहृदयताको अनुपम रुपलाई जीवनका अनेक आयाममा देख्न सकिन्छ । उदाहरणका लागि ईश्वरीय भक्तिको सन्दर्भमा चर्चा गरौँ । "भारतीय विचारधारामा जहाँ हामी मानव र ईश्वरबीचमा निष्कपट संगति पाउँछौं उता अर्कोतिर पश्चिममा दुवैमा परस्पर-विरोध स्पष्ट रुपमा लक्षित हुन्छ । पश्चिमी देशका पौराणिक आख्यानहरु पनि यस्तै निर्देश गर्दछन् । … पश्चिमी संस्कृतिको मुख्य प्रवृत्ति मनुष्य र ईश्वरको बीचमा विरोधतर्फ अधिक् छ । त्यस संस्कृतिमा मनुष्य ईश्वरको शक्तिको मुकाबिला गर्दछ मनुष्यजातिको हितकोलागि ईश्वरको पासबाट आगो चोर्दछ । भारतमा मनुष्य ईश्वरद्वारा निर्मित वस्तु हो ।"१ एक हिन्दूका निमित्त ईश्वर माता पिता बन्धु एवम् सखा हो र ईश्वरनै उसको सर्वधन हो । "त्वमेव माता च पिता त्वमेव …" त्यसै भनिएको छैन । त्यसैले ऊ ईश्वरसँग डराउँदैन; प्रेम गर्छ र भक्तिरसमा चुर्लुम्म डुब्छ ।

यसरी ईश्वरलाई अतिशय प्रेम गर्ने हुनाले एक आदर्श हिन्दू सारा जगत्लाई प्रेम गर्दछ ।२ भक्तिनी मीरालाई विष खुवाइँदा पनि त्यसको असर परेन किनकि उनकालागि विष पनि ईश्वरकै प्रसाद थियो । एक आदर्श हिन्दूलाई विश्वास हुन्छकि "समस्त जगत्मा ईश्वर भित्र र बाहिर व्याप्त छ । समस्त जगत् उनको अभिव्यक्ति हो । यस्तो अवस्थामा एक वस्तुलाई मन पराउने र अर्कोलाई मन नपराउने हुनै सक्दैन ।"३ सबैप्रतिको प्रेमभाव४ले ऊ यस्तो विश्व-दृष्टिकोणवाला हुन्छ जसका कारण गीता ५।१८ मा भनिएझैं "समदर्शिनः" बन्ने सफलता पाउँछ । गीताकै छैटौं अध्यायमा भनिएको छ- "सम्पूर्ण प्राणीहरु आत्मामा र आत्मा त्यसरी नै सबै प्राणीमा छन् भनेर योगयुक्त समदर्शी योगीहरु समभावले देख्दछन् ।"५ समदर्शी बन्न सकेकैले त राजपाठ गुमाएर वनमा भौंतारिइरहेका रन्तिदेव भोक-प्यासले आफू मुर्छित हुनुअघि बचेको केही थोपा पानी मरणासन्न कुकुरलाई पियाउँछन् । सहृदयताको यो भन्दा उच्च दृष्टान्त कुन संस्कृतिमा हुनसक्छ ! परन्तु त्यस्तो प्रेम ुमोहु वा ुवासनाुको रुपमा हुँदैन ।
हिन्दू जीवनमा मोक्षप्रतिको अत्यधिक आग्रहको अर्थ भौतिक जगत्प्रतिको निरपेक्षता होइन । इन्द्रियजन्य मोह वा भ्रमप्रति अनिच्छा भएतापनि मानव चेतनाप्रति वैदिक मतमा अगाध श्रद्धा रहेको छ । "यथा पिण्डे तथा ब्रह्माण्डे" यस प्रसिद्ध भनाइझैं वैदिक ऋषिहरुले मस्तिष्कलाई संपूर्ण ब्रह्माण्डको लघु-प्रतिकृति सम्झिए । यसरी जब मानव शरीरभित्रै देव-तत्वको बास छभने मोक्षकालागि बाहिर भट्कनु पर्ने कुनै कारण हिन्दू जीवनमा रहँदैन । मोक्षकालागि आत्माले बाहिर हेरेर पक्कै हुँदैन; प्रत्युत उसले आभ्यन्तरलाई हेर्नु पर्दछ । यसको अर्थ केमात्र पनि होइन भने मोक्षका निमित्त मात्र हिन्दू जीवनमा आभ्यन्तरको महत्व रहेको हो; अपितु आभ्यन्तरलाई हेर्ने यो प्रवृत्ति आदर्श हिन्दूमा जुनसुकै बेला रहेको हुन्छ ।
उता मानव शरीरलाई मूलतः पापमय मान्ने पाश्चात्य अवधारणा रहेको छ । हिन्दू अवधारणामा पाचतत्वबाट बनेको शरीर त मोक्षको साधन हो; जुन साधन त्यति महान् लक्ष्यकालागि सहायक बन्नेवाला छ त्यस्लाई पापमय कसरी मान्न सकिन्छ र !६ क्षणभंगुर भएतापनि यसले मोक्षको प्राप्तिमा पुर् याएको सहयोगप्रति कृतज्ञता भाव रहेकै हुन्छ एक आदर्श हिन्दूमा । त्यसैले त मोक्षको प्राप्तिनेरै पुगिसक्दा पनि भतृ्रहरि भन्छन्- "हे माता पृथ्वी पिता वायु मित्र अग्नि सुबन्धु जल भ्राता आकाश ! तिमीहरुलाई मेरो यो अन्तिमपल्ट हात जोडी नमस्कार छ तिमीहरु सबैको साथबाट उत्पन्न पुण्यका आधिक्यले स्फुरित भएको निर्मल ज्ञानले मोहको सारा महिमालाई पार गरी म परब्रह्ममा लीन भइरहेको छु ।"७
यस्तो कृतज्ञता भाव रहन्छ हिन्दू जीवन पद्धतिमा । पुरुषार्थ-चतुष्टयका रुपमा मोक्ष चरम् प्राप्ति अवश्यै हो किन्तु त्यस शृंखलामा अर्थ काम र धर्म पनि छन् भन्ने हामीले भुल्नु हुँदैन । अर्थ र काम भौतिक उन्नतिको कसीका रुपमा रहेका छन् भने धर्म भौतिक र आध्यात्मिक उन्नतिको सेतुका रुपमा रहेको छ ।
संस्कृतका आदिकवि वाल्मीकिको कवि जीवनको प्रारम्भ पक्षीका भावनाको साधारणीकरणबाट भयो । सम्भोगरत क्रौाच पक्षीहरुलाई शिकारीले वाण हान्दा उनको हृदय द्रवित भएर नै सहसा शिकारीलाई धिक्कार्न पुगे उनी । पक्षीका पीडाको सह-अनुभूति उनको आभ्यन्तरले नगरेको भए उनीभित्रको करुणभाव कसरी बिउँझदो हो ! यसरी वनस्पति वृक्ष र लताहरु अनि मृगशावक र क्रौाच पक्षी सम्मलाई पनि तादात्म्य गराउन सक्नु भावको साधारणीकरणको अति उच्चस्तरको उदाहरण हो ।
प्रा.डा. दुर्गाप्रसाद भण्डारीका शब्दमा : "पश्चिमले शुरुदेखि नै विजय र पराजयको भाषामा प्रकृतिलाई हेर्न थाल्यो । पूर्वले शुरुदेखि नै प्रकृतिलाई प्रेम र तादात्म्यको भावले हेर्न थाल्यो । पूर्वीय दर्शन धेरै बढी रहस्यपूर्ण र गहिरो हुनुको कारण पनि अंशतः यहाँको प्रकृतिलाई हेर्ने दृष्टिकोणले गर्दा हो । आफ्नो तार्किक पूर्वाधार लिएर पश्चिम प्रकृतिमाथि विजय गर्न िहंड्यो आफ्नो सहज ज्ञान ुइन्ट्यूशनुको पूर्वाधार लिएर पूर्वले वनस्पति लगायत सम्पूर्ण प्रकृतिसित दातात्म्य र प्रेमसम्बन्ध जोड्न थाल्यो । विजय गर्न खोज्ने इच्छामा िहंसा अन्तर्निहित हुन्छ तादात्म्य राख्ने इच्छा एवं भावमा प्रेम र करुणा हुन्छ । पश्चिमी तर्कपद्धतिको विकास र पश्चिमी प्रकृति-विजयाकाङ्क्षाको कारण त्यहाँ विज्ञानले धेरै ठूलो उचाइ लियो । पूर्वीय सहजज्ञान ुइन्ट्यूशनु र यहाँको अन्तरमुखताको कारण पूर्वले आध्यात्मिक चेतनाको अन्तिम शिखर भेट्टायो । दुइवटा विपरीत दिशातिर लागे ः एउटाले प्रकृतिमाथि विजय पाउने प्रयास गर् यो; अर्कोले आफैंमाथि विजय पाउने प्रयास गर् यो । पूर्व आत्म-विजयलाई असली विजय भन्न थाल्यो । पश्चिम परविजय र प्रकृति-विजयलाई असली विजय भन्न थाल्यो । वनस्पतिसित पश्चिमले तादात्म्यता राख्न सकेन त्यसैले करुणापूर्ण नेत्रले हेर्न सकेन । भय र आक्रमणको भावले मात्र हेर्न सक्यो । सम्पूर्ण पश्चिमी साहित्य र कलामा कालिदासको अभिज्ञान शाकुन्तलम् मा पाइने वनस्पतिप्रेम र वनस्पति-तादात्म्य भेट्टाउनु असम्भव छ । प्रकृति-सौन्दर्य-सम्पन्न कण्व ऋषिको आश्रमबाट पतिगृहकोलागि प्रस्थान गर्नुभन्दा अघि पितृगृह-वियोग कल्पनामा विह्वल भएकी शकुन्तलाको हात समातेर कण्व ऋषि वनस्पतिलाई सम्बोधन गर्दै भन्छन् ुहे वनस्पति वृक्ष र लताहरु ! जो तिमीहरुलाई पानी नदिईकन तिमीहरुको स्याहार सुसार नगरीकन आफू भोजन गर्दैनथिइन् पानी पिउदैनथिइन्; तिनै शकुन्तला आज पतिगृह जाँदैछिन् तिमीहरु उसलाई आशिर्वाद देऊ । यहाँनिर शकुन्तलाले प्रकृतिसित तादात्म्य र प्रेमसम्बन्ध गाँसेको र बिदाइ हुने बेलामा आशिर्वाद र आज्ञा मागेको दृश्यबाट कुन सहृदय पाठक अश्रुपूर्ण नहोला त्यो भन्दा पनि बढी करुणारस पाइन्छ शकुन्तलाले आश्रम छोड्ने बेला उनले हुर्काएको मृगशावकले उनको वस्त्रको कुनालाई अत्यन्त भावुक मुद्रामा दाँतले समातेको दृश्यमा ।"
वैदिक हिन्दू-जीवनपद्धतिमा सम्पूर्ण प्रकृतिप्रति जुन प्रेमपूर्ण दृष्टिकोण छ त्यो अनुपम छ । आदर्श हिन्दू जनमानसले मानव मात्र होइन सम्पूर्ण चराचर जगत्प्रति नै 'सहृदयता'पूर्ण व्यवहार गर्नु पर्ने मान्यता राख्दछ । त्यसैले सहृदयताको अवधारणालाई समस्त हिन्दू जीवनदर्शनको आधारभूत तत्वका रुपमा मान्नु समीचीन हुन्छ ।

पाठान्त टिप्पणी :
१ राधाकृष्णन्, सर्वपल्ली; भारतीय दर्शन; अनु. नन्दकिशोर गोभिल प्रथम खण्ड; राजपाल एण्ड सन्ज दिल्ली; सन् १९९८; पृ. ३३
२ तुलनीय : "भक्तिमा त भक्त तद्रूप हुन्छ -स्वराड् हुन्छ । आत्मा र परमात्माको ऐक्यता हो भक्तिको प्राप्ति । भक्तिरसमा भक्तले सम्पूर्ण जगत्लाई ईश्वररुप देख्दछ । तसर्थ सच्चा भक्तको हृदयमा सारा जगत्प्रति प्रेमभाव हुन्छ । यही कारण होकि भक्त सबैको सुहृद् हुन्छ सबैको मित्र हुन्छ । आध्यात्मिकताको उज्यालोले हृदय प्रकाशित भएका भक्तहरु मानवताका प्रतिमूर्ति हुन् ।"
अधिकारी, पण्डित निर्मलमणि; निर्मल-भक्ति-मार्ग (प्रकरण-तीन); घटना र विचार साप्ताहिक; वि.सं. २०५९ माघ १; पृ. ५
३ सम्पूर्णानन्द, बाबु; उपनिषद् और कर्तव्याकर्तव्य विवेक; कल्याण उपनिषद् अङ्क; गीताप्रेस गोरखपुर; सन् १९४९; पृ. ३२-३३
४ तुलनीय : "यस्तु सर्वाणि भूतान्यात्मन्येवानुपश्यति । सर्वभूतेष्ा चात्मानां ततो न विजुगुप्सते ॥ यस्मिन् सर्वाणि भूतान्यात्मैवाभूद्विजानतः । तत्र को मोहः कः शोक एकत्वमनुपश्यतः ॥" ईशावास्य। ६-७
५ सर्वभूतस्थमात्मानं सर्वभूतानि चात्मनि । ईक्षते योगयुक्तात्मा सर्वत्रः समदर्शनः ॥ (श्रीमद्भगवद्गीता ६।२९)
६ यद्यपि नर-देहलाई 'झुट्टो' तथा 'कच्चा' भने भनिएको पाइन्छ । दृष्टान्तकालागि हेर्नू - प्रपन्नाचार्य, स्वामी (सम्पा.); महाप्रभु नारायणदास राई विरचित मन्मतिलहरी; डा. बलराम जोशी ज्ञान विज्ञान राष्ट्रिय पुरस्कार समिति काठमाण्डौं; वि.सं. २०५३; पृ. २७
७ संस्कृत श्लोक यस्तो छ : "मातर्मेदिनि तात मारुत सखे ज्योति सुबन्धो जल- भ्रातव्र्योम निबद्ध एव भवतामन्त्यः प्रणामााजलिः । युष्मत्सङ्गवशोपजातसुकृतोद्रेकस्फुटन्निर्मल- ज्ञानापास्तसमस्तमोहमहिमा लीये परे ब्रह्मणि ॥"
कीथ, ए.बी.; संस्कृत साहित्यका इतिहास; अनु. मङ्गलदेव शास्त्री; मोतीलाल बनारसीदास दिल्ली; सन् १९७८; पृ. २२६ मा उद्धृत
८ दीक्षित, मदनमणि; अमृतत्व र कारुणिकता; ज्ञानगुन साहित्य प्रतिष्ठान र एम्स एकेडेमी काठमाण्डौं; वि.सं. २०५३ को आमुखमा अभिव्यक्त विचार

Wednesday, September 01, 2010

 

वैयक्तिक स्वतन्त्रता : चाणक्य र जेएस मिलका दृष्टिकोण

वैयक्तिक स्वतन्त्रता : चाणक्य र जेएस मिलका दृष्टिकोण
निर्मलमणि अधिकारी
(First published in Prachi Bimonthly, 2063 B.S.)

विषय प्रवेश
जीवन र जगत्का बारेमा वैदिक हिन्दू अवधारणा र पश्चिमा अवधारणामा आधारभूत अन्तर छ भन्ने तथ्य सबैले मानिआएकै कुरा हो । यस्तो दार्शनिक पृथक्ताको प्रभाव गहन हुनु स्वाभाविकै हो । हामीले दैनन्दिन व्यवहारमा विशेष ख्याल नराखिकन स्वतः गरिरहेका साना साना कार्यहरुमा पनि हाम्रा सांस्कृतिक पृष्ठभूमि र तिनलाई पनि निर्देशन गर्ने दार्शनिक मान्यताहरुले भूमिका निर्वाह गरिरहेका हुन्छन् ।
हिन्दू संस्कृतिको मुख्य विशेषताका रुपमा मानिने आध्यात्मिकतासँग व्यक्तिको सामाजिक हैसियतको परिभाषा निरपेक्ष रहन सक्दैन भने आधुनिकता मोडर्निज्म भनिने 'प्याराडाइम' को सापेक्षता नहेरी पश्चिमा सोच प्रष्टिँदैन । कम्तीमा पनि कति चाहिँ भन्न सकिन्छ भने सहस्राब्दियौंदेखि प्रवाहमान मान्यताहरुलाई यथेष्ट नबुझी कुनै समाज विशेषमा व्यक्तिको भूमिकालाई कसरी परिभाषा गर्ने भन्ने सवालमा स्पष्टता आउँदैन । वैयक्तिक स्वतन्त्रताको हिन्दू मान्यता र पश्चिमा मान्यता आ-आफ्ना बृहद् परिप्रेक्ष्यबाट निरपेक्ष रहेर परिभाषित हुन सक्दैनन् ।
त्यसो त हिन्दू अवधारणा र पश्चिमा अवधारणा भन्ने शब्दावलीहरु आफैंमा निक्कै व्यापक अर्थ दिने शब्दावलीहरु हुन् । यिनका मूर्त परिभाषा दिनै पनि कम्ती गाह्रो छैन । तथापि यिनीहरु एक-आपसमा स्वायत्त अर्थ दिने शब्दावलीहरु भएको अस्पष्ट छैन । यहाँ चाणक्यको मतलाई हिन्दू अवधारणा तथा जेएस मिलको मतलाई पश्चिमा अवधारणा का प्रतिनिधि मानेर वैयक्तिक स्वतन्त्रताको अवधारणाको तुलनात्मक अध्ययन गरिएको छ ।

चाणक्य ः
दार्शनिक आचार्य चाणक्यलाई कौटिल्य विष्णुगुप्त तथा वात्स्यायन नामले पनि चिनिन्छ । उनको समय इशापूर्व ३५०-२७५ मानिएको छ । कौटिल्यको नामबाट लिखित अर्थशास्त्र चाणक्यको नामबाट लिखित नीतिशास्त्र एवं वात्स्यायनको नामबाट लिखित कामसूत्र विश्वभरि नै प्रसिद्ध छन् । उनी आचार्य चणकका छोरा हुन् । तक्षशीला विश्वविद्यालयका आचार्यका रुपमा युवावस्थामै ख्याति कमाएका चाणक्यले तत्कालीन समयमा हजारौं टुक्रामा विभाजित भारतवर्षको एकीकरण गराई एउटै बलियो केन्द्रीय सत्ताको मियोमा बाँधेका थिए ।
ग्रीसेली ऐतिहासिक दस्तावेजहरुका आधारमा उनी सिकन्दर महान् अलेजक्जाण्डर द ग्रेट भनिने सम्राटका समकालीन ठहरिएका छन् । सिकन्दरले भारतमाथि आक्रमण गर्नु पूर्व नै त्यसको सङ्केत पाएर चाणक्यले भारतवर्षको एकीकृत शक्ति बनाएर विदेशी आक्रमणकारीको प्रतिरोध गर्नु पर्नेमा जोड दिएका थिए । पाटलिपुत्रमा सत्तारुढ नन्दवंशी राजाले सिकन्दरविरुद्ध युद्धमा जान अस्वीकार गरेपछि चाणक्यले सर्वप्रथम नन्दवंशलाई सत्ताच्यूत गराएर आफ्नो विद्रोही अभियानलाई गति दिएका थिए । विश्वविजयी भनिएका सिकन्दरलाई परास्त गर्ने सेनाको गठन चाणक्यद्वारा नै भएको थियो । करिब सन् ३२७ तिर चाणक्यको सेनाले ग्रीसेली सेनालाई परास्त गरेको मानिन्छ ।
विजय पताका फहराएपछि चाणक्यले आफ्ना शिष्य चन्द्रगुप्त मौर्यलाई स्वाधीन एवं अखण्ड भारतवर्षको सम्राटका रुपमा प्रतिष्ठित गराए । त्यसपछिका केही वर्ष चाणक्य भारतवर्षका महामन्त्रीका रुपमा रही साम्राज्यलाई सुदृढ गराए र साम्राज्यको स्थिरतामा उनी आश्वस्त भएपछि अन्त्यमा तक्षशीलामै फर्केर अध्यापनमा रमाए । बहुआयामी व्यक्तित्वका धनी एवम् अद्वितीय विद्वान चाणक्यले सिद्धान्त र व्यवहार दुवैमा सफलता पाएको देखिन्छ । यस्तो दृष्टान्त प्रायः दार्शनिकको जीवनमा पाइँदैन ।
आचार्य चाणक्यलाई पश्चिमाहरु मेकियावेलीसँग तुलना गरेर बुझ्ने गर्छन् । तर यसरी तुलना गर्नु अनुपयुक्त भएको भारतवर्षीय दर्शनका ज्ञाताहरुको ठहर छ । जीसस क्राइस्टलाई 'लाइट् अफ् वल्र्ड' र भगवान् बुद्धलाई 'लाइट् अफ् एसिया' भनेर बुद्धलाई पश्चिमाहरुले न्यूनाङ्कन गरेजस्तै गलत मनशाय वा संस्कृत शब्द 'धर्म' को अंग्रेजी उल्था "religion" भनेर गरेजस्तै अज्ञानता चाणक्यलाई मेकियावलीसँग तुलना गर्नुमा पनि छ भन्ने गरिएको पाइन्छ । यस लेखको विषय-परिधि भन्दा बाहिर पर्ने भएकाले हामी त्यस बारेमा विस्तृत चर्चा गर्दैनौं । यहाँ हाम्रो चर्चाको केन्द्रबिन्दु चाणक्य नीतिशास्त्रमा आचार्यले वैयक्तिक स्वतन्त्रता र सामाजिक सम्बन्ध बारेमा सारा वैदिक दर्शनको सारलाई एउटै श्लोकबाट कसरी खिचेका छन् भन्ने चाहिँ हो । त्यस बारेमा उनको मतलाई प्रसिद्ध पश्चिमा दार्शनिक जोन स्टुआर्ट मिलको मतसँग तुलना समेत गरिएको छ ।

जेएस मिल ः
प्रसिद्ध अंग्रेज दार्शनिक जोन स्टुआर्ट मिल उपयोगितावाद तथा वैयक्तिक स्वतन्त्रता का मसीहाका रुपमा प्रसिद्ध छन् । दार्शनिक जेम्स मिलका छोराको रुपमा उनको जन्म सन् १८०६ मे २० तारिखमा र मृत्यु सन् १८७३ मे ८ तारिखमा भएको थियो । उनको शिक्षादीक्षा तीन वर्षकै उमेरमा सुरु भएकोमा १३ वर्ष पुग्दा नपुग्दै उनले अध्यापन कार्य प्रारम्भ गरेका थिए ।
दार्शनिक जेरेमी बेन्थमका अनुयायी तथा लण्डन रिभ्यू र वेस्टमिन्स्टर रिभ्यूका सम्पादकका रुपमा बौद्धिक जगतमा ख्याति कमाएका मिल १७ वर्षको उमेरमा इस्ट इण्डिया कम्पनीका कर्मचारी बने भने कम्पनी बन्द भएपछि राजनीतिमा प्रवेश गरी सांसद भएका थिए । सांसदका रुपमा उनको भूमिका उल्लेख्य रह्यो- उनले महिला मताधिकार मजदुर वर्गको हित र भूमिसुधार सम्बन्धमा विशिष्ट योगदान पुर् याए । बहुआयामी व्यक्तित्वका धनी यी दार्शनिकको बारेमा एकजना लेखकले भनेका छन् - उन्नाइसौं शताब्दीका सबै भन्दा बुद्धिमान र सबै भन्दा उदार व्यक्तिहरुमध्ये जेएस मिल एक हुन् ।
मिलको लेखनक्षेत्र विस्तृत रहेको देखिन्छ । राजनीतिशास्त्र अर्थशास्त्र तर्कशास्त्र न्यायशास्त्र आदि अनेक विधाहरुमा उनको कलम चलेको छ । पुस्तक अन लिबर्टी सन् १८५९ वैयक्तिक स्वतन्त्रताको पक्षमा सबै भन्दा महत्वपूर्ण आवाजका रुपमा प्रतिष्ठित छ । स्वतन्त्रता सम्बन्धमा संसारका कुनै पनि भाषामा लेखिएका पुस्तकहरुमध्ये उक्त पुस्तकलाई सर्वश्रेष्ठ मान्ने गरिएको छ ।

शरीर र मस्तिष्कमाथि व्यक्तिको सम्प्रभुता ः
मिल भन्छन्- कुनै पनि व्यक्तिको व्यक्तित्वको पूर्ण विकासका लागि स्वतन्त्रता अपरिहार्य हुन्छ । उनको दर्शनको सार हो - "प्रत्येक व्यक्तिको आफू आफ्नो शरीर र आफ्नो मस्तिष्कमाथि सम्प्रभुता हुन्छ ।" व्यक्तिको स्वतन्त्रतामाथि कुनै दैवी शक्ति कुनै व्यक्ति कुनै राज्य वा कुनै लोकपि्रय सरकारले समेत बाधा पुर् याउन नसक्ने भन्दै वैयक्तिको स्वतन्त्रताको पक्षमा मत उनले व्यक्त गरेका छन् ।
विभिन्न व्यक्तिको सुखानुभूति विभिन्न कुराबाट हुन्छ । यसमा अर्काले दमन गरेर वा लादेर हुने होइन । त्यसैले मिल भन्छन्- एकैजना व्यक्तिको पनि विचारलाई दमन गर्न पाइँदैन । वैचारिक स्वतन्त्रता व्यक्तिको मानसिक स्वास्थ्यका लागि अत्यावश्यक शर्त हो । यदि एकजना व्यक्तिबाहेक अरु सबैजनाको एकमत छ भने पनि त्यो फरक मत हुने व्यक्तिलाई बलपूर्वक मौन गराउने अधिकार छैन । विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रत्येक व्यक्तिको जन्मसिद्ध अधिकार हो ।
दार्शनिक मिलले आन्तरिक स्वतन्त्रता विचारको स्वतन्त्रता का साथै बाह्य स्वतन्त्रता कार्यको स्वतन्त्रता पनि अत्यावश्यक भएकोमा जोड दिएका छन् । मिलका अनुसार कार्य पनि उत्तिकै स्वतन्त्र हुनु पर्छ जतिकि विचार । वास्तवमा प्रत्येक व्यक्तिलाई आफ्नो विचारअनुसार कार्य गर्ने स्वतन्त्रता हुनै पर्छ । त्यसैले प्रत्येक व्यक्तिले आफ्नो सुखका लागि उपयुक्त कर्म गर्न पाउनु व्यक्तिको अधिकार हो भन्छन् यी दार्शनिक ।
उनले मनुष्यका सबै कार्यलाई दुई प्रकारमा विभाजन गरेका छन्- व्यक्तिगत कार्य र सार्वजनिक कार्य । यसमध्ये पहिलोको सम्बन्ध व्यक्तिको व्यक्तिगत जीवनसँग छ; जस्तै- लवाइखवाइ धार्मिक आस्था आदि । व्यक्तिगत कार्यमा सामान्यतया अपवादबाहेक व्यक्तिलाई असीमित स्वतन्त्रताको प्रत्याभूति हुनु पर्ने पक्षमा उनी रहेका छन् । उनी जोड दिन्छन्- प्रत्येक व्यक्तिलाई आफ्नो इच्छाअनुसार स्वतन्त्रतापूर्वक जीउन दिनु नै मानवजातिको लागि हितकर हुन्छ । वैयक्तिक स्वतन्त्रताको प्रत्याभूति व्यक्तिका लागि साथै समाजका लागि समेत हितकारी हुन्छ भन्नेमा उनी दृढ छन् ।
सार्वजनिक कार्यका सम्बन्धमा भने उनी असीमित स्वतन्त्रताका पक्षपाती होइनन् । मिल भन्छन्- "व्यक्ति आफ्ना कार्यका लागि त्यति हदसम्म मात्र स्वतन्त्र छ जबसम्म उसको कार्यले अन्य व्यक्तिलाई हानी पुर् याउँदैन ।" मिलको वैयक्तिक स्वतन्त्रताको आधार सुखसिद्धान्त हो भन्ने यहाँनेर हामीले ख्याल राख्नु पर्छ । उनले व्यक्तिले आफ्नो सुखका लागि स्वतन्त्र विचार राख्न पाउने र स्वतन्त्र कर्म गर्न पाउने अधिकारको पक्षमा पैरवी गरेजस्तै एक व्यक्तिले राखेको विचार र गरेको कर्मले समाजका अन्य व्यक्तिले दुःख नपाऊन् भन्नेमा पनि जोड दिएका छन् । यसरी हेर्दा उनले पैरवी गरेको वैयक्तिक स्वतन्त्रता नैतिक बन्धनयुक्त छ ।

सामाजिक कार्यमा समाजप्रधान व्यक्तिगत कार्यमा व्यक्ति प्रधान ः
चाणक्य भन्छन्- "कुलको भलाइकोलागि एउटालाई त्याग्नू गाउँकोलागि कुललाई त्यागिदिनू । देशको हित हुन्छभने लागि गाउँलाई त्याग्नू र आत्म-कल्याणकोलागि समस्त पृथ्वीको त्याग उचित हुन्छ ।"
यसआधारमा सरसरी हेर्दा हिन्दू विचारधारा समष्टि-प्रधान रहेको छ- किनभने यसले भन्दैछकि कुलको भलाइको लागि एउटालाई त्याग्नू गाउँको लागि कुललाई त्यागिदिनू तथा देशको हित हुन्छ भने त्यसका लागि गाउँलाई त्याग्नू । योभन्दा ठूलो समूह-प्राधान्य कहाँ हुनसक्छ ! तर "आत्म-कल्याणकोलागि समस्त पृथ्वीको त्याग उचित हुन्छ" भनेकोलाई कसरी हेर्ने नि ! यता मीमांसा-दर्शनको धारणा छकि सारा संसार एकातिर र वेदको आदेश एकातिर छभने पनि वैदिक मत नै मान्य हुन्छ । वैयक्तिकताका यस्ता साक्ष्यहरुलाई देख्दादेख्दै "पूर्व" समष्टि-प्रधान वा समूहवादी रहेको भन्ने मत प्रथम-दृष्ट्या उपयुक्त लागेपनि सारमा एकाङ्गी निष्कर्ष हुनेछ । वास्तवमा वैयक्तिकता र सामुहिकताको समन्वित रुप नै हिन्दूत्वमा रहेको हुन्छ । एकातिर सामाजिक व्यवहारमा हिन्दू संस्कृति समष्टि-प्रधान रहेको छभने अर्कोतिर आध्यात्मिक प्रयोजनमा यो सदैव व्यष्टि-केन्द्रित रहेर चिन्तन गर्दछ । यसको समुचित कारण छ ।
हामीले व्यवहारमा पनि बुझ्न सक्ने कुरा होकि एक जनाको कारणले सारा समाजलाई हानि पुग्न सक्दछ वा फाइदा पनि पुग्न सक्दछ; किनकि समाजका सदस्यका रुपमा हरेक व्यक्ति-व्यक्ति अन्तरनिर्भर र सम्बद्ध छन् । तर आध्यात्मिक प्रयोजनमा यस्तो हुँदैन । प्रत्येक जीवात्मा मोक्ष वा पतनकोलागि आफूमात्र जिम्मेवार हुन्छ । मनुस्मृतिमा भनिएको छ- "परलोकमा आमा-बुबा श्रीमती पुत्र वा हितैषी-मित्रजनहरु कोही पनि सहायक हुँदैनन्; केवल धर्म मात्र साथमा हुन्छ । यो जीव एक्लै आउँछ र यहाँबाट एक्लो नै जान्छ; एक्लैले पुण्य-पापको फल पनि भोग्दछ ।" त्यसैले आध्यात्मिक प्रयोजनमा वैयक्तिक स्वतन्त्रता पूर्णरुपेण प्रदान गरिएको हो ।
हिन्दू जीवनमा मानवको लक्ष्य धेरै जान्नु होइन उसको लक्ष्य त सत्य जान्नु हो । हिन्दूधर्मको लक्ष्य परम् सत्यको साक्षात्कार नै हो । यस क्रममा सत्यान्वेषणकोलागि इन्द्रियजन्य बोध सक्षम छैन भन्ने पनि उसलाई बुझाइएको हुन्छ । अझ भन्नुपर्दा इन्द्रिय-सुखले सत्य-साक्षात्कारको यात्रामा मानिसलाई दिग्भ्रमित पार्दछ भन्ठानिन्छ । गीतामा भनिएको छ- "इन्द्रियका इन्द्रियार्थमा राग र द्वेष दुवै छुपेका हुन्छन् ती दुवै मानिसका शत्रु हुन् तिनका वशमा नपर्नू ।" त्यसैले "जुन योगी बाह्य विषयहरुलाई त्यागेर आत्मसुखमा रमाउँछ त्यो ब्रह्मयोगयुक्त योगी अक्षय सुख पाउँछ ।" यहाँ इन्द्रियहरुलाई निषेध गरिएको होइन किन्तु तिनको अपूर्णतालाई सम्झाइएको हो ।
देह र आत्माको पृथक्ता, देहको अनित्यता र आत्माको नित्यता, आत्माको चैतन्यता तथा देहमाथि आत्माको शासन जस्ता मौलिक मान्यताहरुले वैदिक हिन्दू दर्शनलाई अन्य दर्शनहरु भन्दा पृथक् विशिष्ट स्वरुप दिएका हुन् । पश्चिमा अवधारणामा 'आत्मा'रुपी शरीरको शासक छैन जसले अचेतन वा अर्धचेतनमाथि समेत नियन्त्रण राखोस् । तर हिन्दू अवधारणामा आत्मा अचेतन वा अर्धचेतन मनद्वारा निर्देशित कि्रयाकलापमाथि समेत नियन्त्रण गर्न सक्षम छ र त्यहीको आत्माको शासनमा इन्द्रियलाई राख्नुपर्ने स्वच्छन्द छोड्नु नहुने हिन्दू मत रहेको छ । त्यस्तै हिन्दू सोच अनुसार आध्यात्मिक वा धार्मिक कर्म नै लक्ष्य हुनुपर्दछ किनभने आध्यात्मिक समुन्नतिको लागि लक्ष्य गर्दा त्यसबाट भौतिक लाभ त आनुषङ्गिक रुपमा स्वतः प्राप्त भइहाल्छ ।
व्यक्ति जस्तै समाज पनि अन्तर्मुखी र बहिर्मुखी हुन्छन् भन्ने मान्दा पश्चिमी सभ्यता मूलतः बहिर्मुखी सभ्यता हो भने पूर्वीय सभ्यता मूलतः अन्तर्मुखी सभ्यता हो । त्यसैले यहाँ आत्मिक उन्नतिमाथि जोड दिइयो उता वैज्ञानिक तार्किक विकासमाथि जोड दिइयो । हिन्दू विचारक विज्ञान पनि जान्दछ तर ऊ त्यसमा अल्झँदैन । विज्ञानलाई ज्ञान प्राप्तिको खुड्किलो बनाएर अमृतत्व पाउनु नै उसको अभीष्ट हुन्छ । श्वेताश्वतरोपनिषद्मा ब्रह्मतत्व भन्दा ठूलो जान्नुपर्ने, जान्नयोग्य तत्व नभएको बताइएको पनि यहाँनेर स्मरणीय छ । यस्तो परमतत्वको प्राप्तिका लागि लाग्ने भएकाले मुमुक्ष्ालाई संसारका कुनै नियमले नछुने निष्कर्षमा चाणक्य पुगेका हुन् । त्यसैले त उनले भने- आत्मकल्याणको लागि समस्त पृथ्वीको त्याग गर्न पनि तयार रहनू ।

निष्कर्ष ः
पृथक् पृष्ठभूमिका दार्शनिक भए तापनि वैयक्तिक स्वतन्त्रताका सम्बन्धमा चाणक्य र जेएस मिलका विचारहरु धेरै नै निकट रहेको हामीले देख्यौं । फरक कति मात्र होकि जेएस मिलले वैयक्तिक स्वतन्त्रताको सवाललाई व्यक्तिको भौतिक तह र मानसिक तहमा हेरेका छन् भने चाणक्यले त्यो भन्दा पल्तिर आध्यात्मिक तहसम्म दृष्टि पुर् याएका छन् । जुन सांस्कृतिक पृष्ठभूमि तथा धार्मिक मान्यतामा उनीहरु हुर्के त्यसलाई विचार गर्दा यो भिन्नता स्वाभाविक हो ।
उता पश्चिमा मतमा यताजस्तो 'मोक्ष' वा 'निर्वाण' सँग मिल्दोजुल्दो अवधारणा छैन; त्यहाँ उद्धार (साल्भेसन) को अवधारणासम्म चाहिँ पाइन्छ । त्यसैले दार्शनिक मिल शरीर र मस्तिष्कमाथिको सम्प्रभुतालाई जोड दिन्छन् । वैदिक हिन्दू जीवनमा मोक्ष एउटा अनिवार्य एवम् परम् तत्वको रुपमा रहेको छ; यद्यपि यसको प्राप्तिको प्रकि्रयाबारेमा मत-विविधता अवश्यै छन् । त्यसैले दार्शनिक चाणक्य वैयक्तिक स्वतन्त्रताको सर्वोत्कृष्ट सार्थकता मोक्षप्राप्तिमा देख्छन् । तर यहीँनेर ख्याल राख्नु पर्ने कुरा के छ भने हिन्दू जीवनमा मोक्षप्रतिको अत्यधिक आग्रहको अर्थ भौतिक जगत्प्रतिको निरपेक्षता होइन । इन्द्रियजन्य मोह वा भ्रमप्रति अनिच्छा भएतापनि मानव चेतनाप्रति वैदिक मतमा अगाध श्रद्धा रहेको छ । त्यसैले चाणक्य सामाजिक व्यवहारमा व्यक्तिको हितलाई भन्दा समाजको हितलाई महत्व दिन्छन् ।
अन्त्यमा प्रुेन्च दार्शनिक रोम्ााँ रोलाँलाई उद्धृत गर्दै बिट मारौं जसले भनेका छन्- "खासगरी केही वर्ष यता म युरोप एसियाको चेतनालाई एक-अर्काको निकट ल्याउनु पर्ने आवश्यकता महसुस गरिरहेको छु । चिन्तनका यी दुई गोलाद्र्ध हुन् । यी दुईलाई एक बनाउनु आउने युगको महान् उद्देश्य हुनु पर्छ ।"

Tuesday, June 29, 2010

 

प्राचीन प्रमाण पद्धती

मान्छे स्वाभाविक तवरलेनै शंकालु छ भनिन्छ । कसैले यसै हुन्छ भन्योभन्दैमा त्यत्तिकै स्वीकार नगरी जाँच-परख गर्न चाहन्छ ऊ । कुनैपनि तथ्य ठिक वा बेठिक साबित गर्नकालागि प्रमाण चाहिन्छ भन्नेमा प्रागैतिहासिक काल देखिनै दार्शनिकहरु सहमत छन् । आधुनिक विज्ञान त झन् प्रमाणको जगमा नै उभिएको छ । तर प्रमाण के-कस्तो हुनुपर्ने र कति हुनुपर्ने भन्ने पक्षमा दार्शनिकहरुको आ-आफ्नै मत रहेको थियो; र छपनि । प्राचीन दर्शन-पद्धतिहरुमा एक देखिलिएर नौओटासम्म प्रमाण मानिएको पाइन्छ ।
प्राचीन कालका भौतिकवादी चार्वाक फगत् एक प्रमाणमात्र मान्दछन्- प्रत्यक्ष प्रमाण । बौद्धले दुईओटा प्रमाण मान्दछन्- प्रत्यक्ष र अनुमान । यता वैशेषिक दर्शनले पनि प्रत्यक्ष र अनुमान गरी दुईओटै प्रमाण मान्दछन्; तर बौद्धको अनुमान प्रमाण र वैशेषिकको अनुमान प्रमाण फरक-फरक किसिमका छन् । सांख्य दर्शन यस संसारका सबै दर्शनहरुभन्दा पुरानो मानिन्छ र यसले प्रत्यक्ष अनुमान र शब्द- यी तीन प्रमाणहरु मानेको देखिन्छ । न्याय दर्शनमा चारओटा प्रमाणहरु मानिएका छन्- प्रत्यक्ष अनुमान उपमान र शब्द प्रमाण । मीमांसा-दर्शन अन्तर्गत प्रभाकरको मतमा पाँच प्रमाणहरु मानिएका छन्- प्रत्यक्ष अनुमान उपमान शब्द र अर्थापत्ति । वेदान्त दर्शन अनुसार प्रत्यक्ष अनुमान उपमान शब्द अर्थापत्ति र अनुपलब्धि गरी छ ओटा प्रमाणहरु रहेको देखिन्छ । यता मीमांसा दर्शनका आचार्य कुमारिल भट्टको मतमा पनि छ प्रमाण नै छन्- प्रत्यक्ष अनुमान शब्द उपमान अर्थापत्ति र अनुपलब्धि ।
पौराणिकले यी छओटामा संभव र ऐतिह्य दुई प्रमाण थपी जम्मा आठ प्रमाण मान्दछन्भने अर्को एक प्रमाण चेष्टालाई थप गरी आलंकारिकहरुले नौ प्रमाण मानेको देखिन्छ । दयानन्द सरस्वतीले ुसत्यार्थ प्रकाशु पुस्तकमा आठओटा प्रमाणहरु उल्लेख गर्नुभएको पाइन्छ । ती हुन्- प्रत्यक्ष अनुमान उपमान शब्द ऐतिह्य अर्थापत्ति सम्भव र अभाव । पण्डित रुद्रमणि अधिकारीले "हिन्दू-धर्म मर्म-विचार" पुस्तकमा पाँच ओटा प्रमाणहरु- शब्द प्रमाण प्रत्यक्ष प्रमाण अनुमान प्रमाण युक्ति प्रमाण र कार्य प्रमाण- को आधारमा तथ्यको छानबिन गर्नुभएको देखिन्छ । प्रमाणका संख्या जतिओटा र जे-जस्ता प्रकृतिका भएतापनि यिनको मुख्य उद्देश्य कुनैपनि तथ्यको छानबिन गरी सत्य खुट्ट्याउने नै हो ।
प्राचीन धार्मिक-दार्शनिक पद्धतिमा प्रमाणसँग प्रमाण जुधाउनुको तात्पर्य "वादे वादे जायते तत्वबोधः" लाई सार्थक पार्नुनै थियो । तर समयक्रममा प्रमाण जुटाउने काइदामा परिवर्तन हुँदै आएको देखिन्छ । तर्कको आधारमा भन्दापनि मुढेबलको आधारमा आफ्नो पक्ष स्थापित गर्न चाहनेहरु हिजोपनि थिए आजपनि छन् र शायद भोलिपनि हुनेछन् । विचारका नाममा द्वन्द दुई किसिमका भएका देखिन्छन् । एकखाले द्वन्दमा के देखिन्छ भने नाम विचारको परेतापनि खासमा द्वन्दचािहं शक्ति हत्याउनका लागि भइरहेको हुन्छ । अर्कोखाले द्वन्दमा वास्तवमै विचारको द्वन्द भइरहेको हुन्छ र यसमा िहंसाको कुनै उपस्थिति नरहने हुन्छ । अधिकांशतः राजनीतिक व्यक्तिहरुका द्वन्द विचारको मुखौटो लगाएको भएतापनि वास्तवमा शक्ति हत्याउनका लागि भइरहेको हुन्छ । त्यसोहुँदा िहंसात्मक मनोवृत्तिलाई प्राथमिकता मिल्ने हुन्छ । उदाहरणार्थ कार्ल मार्कसको यो भनाइ हेरौं- ूआलोचनाको हतियारले अवश्यपनि हतियारद्वारा गरिने आलोचनाको ठाउँ लिन सक्दैन ।ू यता आध्यात्मिक विचारकहरुका द्वन्दमा हार्दिकता हुन्छ र मैत्रीपूर्ण तवरमा "वादे वादे जायते तत्वबोधः" को मर्म आत्मसात् गरिएको हुन्छ ।
वैदिक परम्पराको दर्शनशास्त्रमा तथ्यको प्राप्ति अन्तदृ्रष्टिजन्य अनुभूतिद्वारा र पुष्टि तार्किक प्रमाणद्वारा हुने गरेको छ । तर पश्चिमी दर्शन-प्रकि्रया फरक छ । पश्चिमी विचारकहरुको विचार प्रकि्रया जसलाई हामी इन्द्रिय भन्दछौं तिनहरुमा निर्भर हुन्छभने भारतवर्षीय संस्कृतिमा आत्मज्ञानको तहसम्म विचारकहरु पुग्दछन् । तसर्थ प्राचीन प्रमाण पद्धतिमा पनि यो भेद हामी देख्न सक्छौं । किन पश्चिममा भौतिकशास्त्रको बढी विकास भयो भन्ने कुरालाई यसरीपनि स्पष्टतः बुझ्न सकिन्छ ।
भनिन्छकि मानव सभ्यताको उदयको धेरैपछिमात्र दर्शनशास्त्रको विकास भएको थियो । त्यसमापनि जतिखेर भारतवर्ष आर्यावर्तमा दर्शनशास्त्र आफ्नो उत्कर्षमा थियो त्यतिबेला पश्चिमाहरु त पाषाणयुगबाट उँभो लाग्ने छेकछन्द समेत थिएन भन्ने मत कतिपय इतिहासकारहरुको रहेको छ । अर्का खाले इतिहासकारहरु भन्छन्कि पूर्व र पश्चिममा दर्शनशास्त्रको समानान्तर विकास भएको हो । जे होस् प्राचीन कालदेखिनै मान्छेले जीवन र जगत्लाई अध्ययन गर्ने र त्यसका रहस्यहरुलाई बुझ्ने प्रयास गर्ने कार्यमा आफूलाई संलग्न गराउँदै आएको छ । एउटाको दृष्टिकोण र अर्कोको दृष्टिकोणमा विविधता रहेपछि मत मतान्तर थिपंदै गए । अनि आ-आफ्ना मतको पुष्टिकालागि प्रमाणपनि दिनैपर्ने भयो । वास्तवमा प्राचीन प्रमाण पद्धतिका सम्बन्धमा चर्चा गर्नुपर्दा तत्कालीन दार्शनिक पद्धतिहरुका बारेमा पनि चर्चा गर्नैपर्ने हुन्छ । कौटिल्यले दर्शन-शास्त्र आन्विक्षिकी-दर्शन अन्य सबै विधाकोलागि बत्ती जस्तो मार्गदर्शक भन्नुको तात्पर्य यहाँनेर स्मरणीय छ । अनि गीता- १०।३२ मा ूअध्यात्मविद्या विद्यानां वादः प्रवदतामहमू भनिनुको मानेपनि उही हो ।
बिना तर्क कुनै कुरा त्यसै स्वीकार नगर्ने विशेषता प्राचीनकालदेखिकै हो । "तस्मात्सर्वप्रमाणानां तर्कोऽनुग्राहकः स्थितः" अर्थात् सबै प्रमाणहरुको अनुग्राहक बनी तर्क रहेको छ भनिएको थियो । बीचमा- ऐतिहासिक कालमा- त्यसमा क्षय हुनाले अन्धविश्वास रुढीवाद पाखण्डले जरो गाड्न पाएको हो । आधुनिक कालमा वैज्ञानिकताको विकास सँगसँगै प्रमाणीकरणका वैज्ञानिक उपायहरुपनि हामीसँग छन् । प्राचीनकालदेखिनै चल्दै आएका प्रमाण पद्धतिलाई आधुनिक वैज्ञानिक चेतनाको मूलका रुपमा लिनुपर्ने हुन्छ ।
(स्पेसटाइम दैनिकमा आयोदधौम्य 'निर्मल' को नियमित स्तंभ "पृथक् विचार" मा प्रकाशित)

Wednesday, June 23, 2010

 

घर नै पहिलो पाठशाला

निर्मलमणि अधिकारी (आयोदधौम्य) द्वारा लिखित, अप्रकाशित-आत्मकथाबाट झिकिएको एक अंश

भनिन्छकि घर नै पहिलो पाठशाला हो । यो कुरा मेरोबारेमा राम्ररी लागू हुन्छ । मेरो वैचारिक यात्रा अर्थात् विचारको निर्मल-यात्राको आरम्भ विन्दुमा पुग्नकालागि मेरो पारिवारिक चर्चाबाटै कुरो शुरु गर्नुपर्ने हुन्छ । मेरो के विश्वास रहिआएको छभने प्रत्येक शिशु विशेष संभावनाहरुका साथमा जन्मेको हुन्छ र उसको सफलता वा असफलतामा यस धर्तीमा ऊ जन्मेपछि उसले पाउने अवसरहरुले पनि अत्यन्त महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । यदि म कुनै कुरामा सफल ठानिएँछु भने त्यसको श्रेय पिता-माता दाजु घर-परिवार तथा गुरुजनलाई नै दिन्छु म । असफलताहरुचाहिँ मेरा आफ्ना कमाइ हुन् र यिन्लाई म कदाचित् कसैसँग पनि भागबण्डा लगाउन चाहन्नँ ।
विचारको द्वन्द्वबाट पार नपाइकन कुनै विचारकले आफ्नो मौलिक विचार विकसित गर्न सकेको छैन र भविष्यमा पनि प्रत्येक विचारकले विचारको द्वन्द्वात्मक प्रकि्रयाबाट पार पाएपछिमात्र आफूलाई एउटा विचारकका रुपमा प्रस्तुत गर्न सक्नेछ । यसमा कुनै परमतत्व वा ईश्वरीय अनुकम्पाको अनुभूति पनि कोही-कोहीले गर्दछन् । म आफूलाई त्यस्तो भाग्यमानीका रुपमा पाउँदा गौरवान्वित छु । मेरो आफ्नो विचारयात्राको सन्दर्भमा कुरा गर्दा सौभाग्यवश पारिवारिक पृष्ठभूमिका कारणले गर्दा शैशवकाल देखि नै मेरो बाटो करिब-करिब यही थियो । हो यदाकदा केही आरोह-अवरोह नआएका होइनन् । कतिपय समयमा म आफ्नो मूलबाटोभन्दा केही टाढा रुमल्लिएको र नजाने गाउँको बाटोमा रल्लिएको थिइनँ भनेर ठोकुवा म गर्न सक्दिनँ । विचार-मन्थनको लामो प्रकृया पार गरेरै ममा दृढता आएको हो । पछुताउन पर्नेगरी बाटो नबिराएको भएतापनि विचारको द्वन्द्वमा खारिनचाहिँ परेकै हो । तर सौभाग्यवश मेरो पारिवारिक पृष्ठभूमिका कारण मैले उचित दिग्दर्शन पाइरहेँ र विचारको द्वन्द्वात्मक यात्रामा मेरो डुङ्गा डुबेन ।
बाटाहरु धेरै हुन्छन् । ती मध्ये कतिपय सुबाटा हुन्छन् भने कतिपय कुबाटा पनि हुन्छन् । यदि आन्तरिक प्रकाशको उज्यालोले हामी प्रकाशित भइसकेका छौं भने सुबाटाहरुमध्ये पनि सर्वाेत्तमचाहिँ बाटो रोज्न कठिनाइ पर्दैन । तर आन्तरिक रुपमा पनि अँध्यारोमा भ्रमित हुने अनि बाह्य तवरमा पनि गलत दिग्दर्शकका फेला परियो भने त खत्तमै हुनजान्छ । दिग्दर्शनको आवश्यकता मानिसलाई करिब-करिब उसको जन्मकालदेखिनै आवश्यकता पर्दछ । त्यसैले त घर-परिवारको महत्व अनुपमेय रहेको हो । कतिपय व्यक्तिहरु पारिवारिक कुसंस्कारवश गलत कार्य गरिरहेका भएतापनि सद्गुरुका कृपावश सही बाटोमा आइपुग्न पनि सक्छन् जस्तोकि वाल्मिकी तथा अंगुलिमाल जस्ता उदाहरण हामीसँग छन् । तर ती त भाग्यशाली थिए र पो पछि सद्गुरु फेला पारे । अन्यथा पारिवारिक वा सामाजिक संस्कार नमिलेको अवस्थामा सही दिग्दर्शक फेला पार्नु असंभवप्रायः नै हुन्छ । तसर्थ सकेसम्म घर-परिवारमै र त्यो सम्भव नभएतापनि पाठशाला यानेकि विद्यालयमा त नयाँ पुस्ताका निमित्त उचित संस्कारको समुचित शिक्षा दिनै पर्दछ ।
मेरो अनुभवमा त विद्यालय/क्याम्पसमा गएपछि पारिवारिक पृष्ठभूमिबाट प्राप्त संस्कार समेत बिग्रन सक्ने स्थिति मैले देखेको छु । मेरो र मेरा दाजु-भाइ-दिदीका व्यक्तिगत आचार-व्यवहारमा यदि िकंचित् मात्रपनि संस्कारहीनताको संकेत छभने त्यसलाई विद्यालय/क्याम्पस वा यस्तै सार्वजनिक स्थानमा पुगिसकेपछिको कमाइ भन्ने जाने हुन्छ । नत्र हाम्रो पहिलो पाठशाला अर्थात् हाम्रो घरबाट हामीले गलत संस्कार प्राप्त गर्ने क्षीण संभावना समेत थिएन । हामीलाई के सही र के गलत भनेर चिन्न सक्ने बनाइएको थियो ।

Saturday, May 22, 2010

 

वैदिक गणित : एक चर्चा

Retrieved from:
http://www.dautari.org/2010/05/blog-post_16.html

निर्मलमणि अधिकारी 'आयोदधौम्य'

गणित विषयमा सिर्जनात्मकता र कलालाई कत्तिको स्थान छ - गणितशास्त्र विज्ञानको आधारभूत अंग हो । गणितलाई मानव सभ्यताको आवश्यकताका रुपमा मानिने गरेको छ । तरपनि के भनिन्छभने प्रायः मानिसहरु यसलाई पढ्न मन पराउँदैनन् । खासगरी हाम्रो देशमा गणितलाई नीरस र साह्रै गाह्रो विषय मान्ने प्रवृत्ति देखिन्छ । विद्यालयमा अधिकांश विद्यार्थीहरु अंग्रेजी तथा गणित विषयमा अनुत्तिर्ण हुने र जान्ने भन्ठानिएका विद्यार्थीहरुपनि गणितलाई अरुभन्दा बढीनै मिहिनेत गर्नुपर्ने ठानेर कता कता भारी ठान्ने ! धेरैजसोकालागि त गणित भनेको संख्याको हिसाब अथवा
आधारभूत गणनाको शीप मात्र हो । तर उनीहरुले जेलाई गणित ठानेका छन्, त्यो त गणितशास्त्रको विस्तृत क्षेत्रको एक भाग 'अङ्कगणित' हो । त्यसभन्दा केही जाने-बुझेकाहरुले शुद्ध र प्रायोगिक गणितको अन्तर गर्दै विविध शाखासम्म पुग्छन् । तथापि, हाम्रा गणितका शिक्षकहरु सूत्र वा साध्य -थ्योरम) रटाउनमा व्यस्त र विद्यार्थीहरु तल्ला तहमा सूत्र लगाएर हल गर्न र माथिल्ला तहमा लामा लामा थ्योरम घोक्नमा व्यस्त हुँदै गर्दा यो विषयको सुरुचिपूर्ण जीवनोपयोगी स्वरुपचाहिं कता पुगेको छ कता । यसमा सिर्जनात्मकता र कलापनि हुन्छ भन्ने चर्चा सुन्दामात्रपनि आर्श्चर्य मान्नेहरु थुप्रै छन् ।

भौतिक विज्ञान, जीव विज्ञान, प्राकृतिक तथा सामाजिक विज्ञानको क्षेत्रमा आइपर्ने समस्या समाधानमा गणित एउटा महत्वपूर्ण साधनको रुपमा रहेको छ । तर हाम्रोमा गणितीय धारणाको प्रयोगात्मक पक्षलाई उपेक्षा गरिएकाले अमूर्त, अप्ठ्यारो, सिर्जनात्मकतालाई कत्तिपनि स्थान नभएको, सूत्र तथा साध्य रट्नैपर्ने, अरुचिपूर्ण आदि छवि बनेको छ यस शास्त्रको । पाठ्य पुस्तक र तिन्का 'गाइडबुक' बाहेक गणितसँग सम्बन्धित अन्य पाठ्यसामग्री नपाइनुले यस क्षेत्रमा वर्तमानमा हाम्रो दर्रि्रता नै झल्कन्छ ।
प्राचीन भारतवर्षा गणितशास्त्र एक कलात्मक, सृजनात्मक, व्यावहारिक ज्ञानले परिपूर्ण विधाको रुपमा रहेको थियो भन्ने तथ्य पछिल्ला दिनहरुमा गरिएका अध्ययनले प्रष्ट्याएका छन् । यद्यपि, यस क्षेत्रमा तुलनात्मक रुपमा थोरैमात्र अध्ययन भएका छन्, तर भएका अध्ययनको मद्दतबाट वैदिक गणितीय ज्ञान भौतिक जगत्को व्यावहारिकता साथसाथै आध्यात्मिक जगत्को वास्तविकतासम्म विस्तृत रहेको भन्ने अहिले आएर बुझिएको छ । प्राचीन भारतवर्षिय वैदिक गणितले मानिसका व्यावहारिक जीवनका समस्याहरुको समाधान गर्नुका साथसाथै काव्यात्मक भाषामा गणितको आध्यात्मिक प्रयोग गर्न समेत सिकाएको छ । हरेक विषयको एउटा सुनिश्चित उद्देश्य हुनुपर्छ र त्यसले मानवको आधिभौतिक, आधिदैविक एवम् आध्यात्मिक सबैखालको अभ्युदय गराउनु पर्छ भन्ने जुन आधारभूत मान्यता वैदिक दर्शनको मूलमा रहेको छ, वैदिक गणितपनि त्यही मान्यताबाट पूर्ण छ ।

श्रद्धेय स्वर्गीय जगद्गुरु भारतीकृष्ण तीर्थ महाराजले 'वैदिक गणित' (Vedic Mathematics, 1988) पुस्तकमा अथर्ववेदबाट विभिन्न सूत्रहरुको उल्लेख गर्दै तिनमा निहीत गणितीय ज्ञानको चर्चा गर्नुभएको छ । ती गणितका विभिन्न विधा जस्तै अंकगणित, ज्यामिती (Plane and Solid Geometry), बीजगणित, त्रिकोणमिति (Plane and Spherical Trigonometry), कोनिक्स (Geometrical and Analytical Conics), क्याल्कुलस (Differential and Integra Calculus), आदिमा प्रयुक्त हुने देखिएका छन् । गणितीय समस्याको हल गर्न अहिले आधुनिककालमा हामीले व्यवहारमा ल्याइरहेका भन्दा अझ सहज कतिपय तरिकाहरु त्यहाँ रहेका बताइन्छ । उदाहरणकालागि, १/२९ -एकका मुन्तिर उनन्तिस) संख्याको दशमलवमा मान निकाल्न आधुनिक पद्धतिबाट जम्मा २८ तह -स्टेप) सम्म गणितीय क्रिया गर्नुपर्ने हुन्छभने प्राचीन वैदिक पद्धतिबाट जम्मा एक तह -स्टेप)बाटनै त्यो मान आउने उदाहरणसहित उहाँले देखाउनु भएको छ ।

साथै, गणितीय काव्यका उदाहरणसमेत दिइएका छन् । कुनै विशिष्ट गणितीय मान निकाल्नकालागि अप्ठ्यारा गणितीय सूत्रको साटोमा सरल सुललित कविताको माध्यमबाट बोध गराउनमा वैदिक गणितज्ञहरुले निपूर्णता हासिल गरेका थिएभन्ने स्पष्ट भइसकेको छ । गणितीय तथ्यहरुलाई काव्यात्मक सूत्रमा प्रस्तुत गरिनाले एकातिर ती सुबोध भई विद्यार्थीले सहजै सिक्न सक्ने हुने र अर्कोतिर कलात्मकता, सृजनात्मकता एवम् काव्यात्मक आनन्दको त्रिवेणीपनि कायम रहने जस्ता विशिष्टता बुझन सकिन्छ । वैदिक ज्ञान प्रणालीमा मन्त्र एवम् ऋचाहरु मार्फ् आध्यात्मिक ज्ञानसँगै व्यावहारिक गणितीय ज्ञान प्रदान गरिन्थ्यो भन्ने स्पष्ट हुन आएको छ । यस विशिष्टतालाई प्रयोग गर्नतर्फहाम्रा आधुनिक गणितज्ञहरुको ध्यान जानु जरुरी छ ।

वैदिक गणितको पुनरुज्जीवन कति सम्भव छ भन्ने सवालमा विभिन्न मतहरु रहेका छन् । कसैले अब यो इतिहासको एक कालखण्डमा विलुप्त भइसकेको र त्यसको पुनरुज्जीवन सम्भव नरहेको निराशावादी टिप्पणी गर्ने गरेका छन् । तर अन्य कतिपयचाहिं वैदिक गणितको पुनरुज्जीवनले मानव समुदाय समष्टिमा लाभान्वित हुने हुनाले यसले विशेष प्राथमिकता पाउनुपर्नेमा जोड दिन्छन् । अझैपनि साधन-श्रोतको उपलब्धतामा वैदिक गणितको पुनरुद्धार गर्न सकिन्छ भन्नेमा आशावादी नहुनुपर्ने खण्ड छैन ।

Thursday, April 08, 2010

 

हाम्रो समाजमा नारी

अहिले हाम्रो समाजमा नारीप्रतिको भेदभाव, तिरस्कार, उपेक्षा, हेलत्वभाव तथा दमन उत्पीडन आदि सनातन हिन्दू धर्म-संस्कृति-परम्पराको कारणले होइन; प्रत्युत सनातन हिन्दू धर्म-संस्कृति-परम्परा अवलम्बन गर्न नसकेकोहुँदा आएको विकृति हो । वैदिक हिन्दू संस्कृति शुद्ध स्वरुपमा हुँदा नारीहरुको गरिमा गर्वयोग्य हुन्छ, अस्मिता उँचो हुन्छ ।

नेपाली संस्कृति तथा यसको आमा-संस्कृतिको रुपमा रहेको वैदिक हिन्दू संस्कृतिमा नारीहरुको स्थान गरिमामय थियो । 'सत्ययुग'मा महिलाको जुन स्थान थियो त्यो तत्पश्चात् कहिल्यै रहेको छैन । धर्म संस्कृति तथा परम्पराले नारीहरुलाई महिमामण्डित गरेको भएतापनि कालान्तरमा त्यो वैदिक परम्परा माथि अतिक्रमण हुँदा नारीहरुलाई दोस्रा दर्जाका झैं गर्ने, छोरी जन्मँदा नरमाइलो मान्ने जस्तो कुप्रवृत्ति फैलिएको हो ।

सामन्ती राज्यसत्ताका क्रममा त्यो वैदिक हिन्दू संस्कृति खण्डित हुनगयो । शासकहरु स्वयम् नै स्वेच्छाचारी-भोगी-विलासी बनेको बेलादेखि क्रमशः जनस्तरसम्म नै त्यो विकृति बढ्दै गयो र अल्लिपछि आफ्नो अनैतिक कार्यलाई धार्मिकताको जामा पहिर् याउँदै जाने प्रचलन बढ्यो । अनि त एउटै पुरुषले दुई-तीनवटादेखि लिएर जतिसक्यो धेरैवटी स्वास्नी भित्र्याउन थाले र ूमर्दका दशवटीू भन्नेजस्ता उखान पनि चले । सामाजिकरुपमा महिलाहरुलाई संकुचित घेराबन्दीमा रहनुपर्ने भयो भने आर्थिक पराधिनता पनि चर्कोसँग बढ्यो । आफ्नै सन्तान मध्येमापनि छोरालाई काखा र छोरीलाई पाखा गर्ने अन्यायी एवम् अमानवीय कुसंस्कार हाम्रो समाज वैदिक परम्पराबाट पतन भएपछिकै विकृति हो । यसको चरम विकृत स्वरुप मौलाउँदै जाँदा नारीको पवित्र जन्मलाई समेत धिक्कार्ने र "छोरीको जन्म हारेको कर्म" भन्नेजस्ता उखानहरु जन्मे । तर यी विकृतिहरु हुन् र यस्ता विकृति त्याग्न कत्ति पनि हिच्किचाउनु हुँदैन ।

शक्तिको पूजा अर्चना गर्ने हाम्रो प्रचलन छ । तर शक्ति अर्थात् नारीको जति नै पूजा गरिएतापनि नमिठो कुरा के छभने अहिले हाम्रो समाजमा नारीहरुको स्थिति सन्तोषजनक छैन । यो लुकाउने र छोपछाप पार्ने कुरो होइनकि यहाँ वर्षेनी हजारौं चेलीहरु वेश्यालयका कोठीहरुमा बेचिनेजस्तो कलङ्कपूर्ण स्थिति छ; घरेलु िहंसाले पिडित हुनु परिरहेछ नारीहरुले; आधारभूत स्वास्थ्य सुविधा समेत नपाएर अकालमा धेरै नारीहरुको ज्यान गुमिरहेको छ । नारीहरुलाई अपमान र तिरस्कार गरिएका घटनाहरु धेरै संख्यामा घटित भइरहन्छन् ।

धर्मशास्त्रमा नारीलाई देवी भन्ने तर व्यवहारमा चाहिँ बम्बै-कलकत्ताका कोठीहरुमा वर्षेनी हजारौं चेलीहरु बेचिने; ूयत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताू भन्ने तर व्यवहारमाचाहिँ नारीको भागमा अपमान र तिरस्कार पर्ने; ून गृहंगृहमित्याहुगृ्रहिणी गृह मुच्यतेू अर्थात् घर त्यसै घर हुँदैन जहाँ गृहिणी रहन्छिन् त्यही घर भनिन्छ भन्ने तर व्यवहारमाचाहिँ उनै नारीलाई जतिबेला सनक चले पनि लोग्नेले घरबाट बिनाकुनै कसूर पनि घरबाट गलहत्याउने; यी सबै देखिएका-जानिएका-भोगिएका यथार्थहरु हुन् । यो वैदिक संस्कृति एवम् परम्परा अनुरुपको व्यवहार पटक्कै होइन । यो त वैदिक हिन्दू धर्म संस्कृति परम्परा पालन नभएको अवस्थाको पतन हो ।

यस्तो किन भइरहेको छ ? एक त हाम्रो समाजमा स्वयम् पुरुषहरु नै धेरै कुराहरुमा आफै पनि पिडित छन्; त्यसो हुँदा महिलाहरुलाई पनि त्यसको नकारात्मक असर परिरहेको छ । यस्ता समस्याहरु सल्ट्याउन सम्पूर्ण समाजको नै उन्नति प्रगति उत्थान हुनु जरुरी छ र यसका निमित्त नारी-पुरुष मिलेर सहकार्य नगरी हुँदैन । दोस्रो चाहिँ अहिले तत्कालै सल्ट्याउन सकिने खालका समस्याहरु पनि देशको सामाजिक तथा राजनीतिक नेतृत्वको अक्षमताका कारण ज्यूँकात्यूँ रहेका छन् र इच्छाशक्ति हुनासाथ समाधान पनि सहज छ ।

हिन्दू संस्कृति त त्यो हो जहाँ मान्यता छ कि "यत्रैतास्तुं न पूज्यन्ते सर्वास्तत्राफलाः कि्रया" अर्थात्- जहाँ नारीहरु पुजिँदैनन् तिन्को अनादर हुन्छ त्यहाँ समस्त कि्रयाहरु व्यर्थ हुन्छन् ; जहाँ यस्तो विश्वास हुन्छ कि छोरी जन्मनु "देवी" जन्मनु हो; र जहाँ छोरीले आफ्नो जन्मलाई धिक्कार्नु पर्दैन आमाले रुनुपर्दैन; दिदी-बहिनी बुहारी पत्नी देउरानी-जेठानी सासू नन्द-आमाजूफूपु भाउजु आदि कसैले पनि नारीको जन्मलाई हारेको कर्म ठान्नु नपरोस् ।

अहिले हाम्रो समाजमा नारीप्रतिको भेदभाव तिरस्कार उपेक्षा हेलत्वभाव तथा दमन उत्पीडन आदि सनातन हिन्दू धर्म-संस्कृति-परम्पराको कारणले होइन; प्रत्युत सनातन हिन्दू धर्म-संस्कृति-परम्परा अवलम्बन गर्न नसकेकोहुँदा आएको विकृति हो । वैदिक हिन्दू संस्कृति शुद्ध स्वरुपमा हुँदा नारीहरुको गरिमा गर्वयोग्य हुन्छ, अस्मिता उँचो हुन्छ ।

यदि हाम्रो समाजमा नारी र पुरुषको हक-अधिकार समान पार्ने उस्तै गरिमापूर्ण स्थान बनाउने हो भने त्यसका निमित्त सही उपाय भनेको हाम्रो धर्म-संस्कृति-परम्परा अनुरुपको विधान नै हो । ऋषिमुनिहरुले यति राम्ररी विधान गरेर गएका छन् कि त्यो पालना गर्नासाथ महिलामाथि हुने गरेका भेदभाव तिरस्कार उपेक्षा हेलत्वभाव तथा दमन उत्पीडन आदिको गुाजायस नै रहँदैन । अर्थात् सनातन धर्म-संस्कृति-परम्पराको शुद्ध अविकृत स्वरुपको आत्मसातता स्वतः नारीहरुको सम्मानपूर्ण स्थितिको 'ग्यारेण्टी' हो । यसमा नारीको सामाजिक सुरक्षा छ व्यक्तिगत तथा सामूहिक सुखको प्राप्ति छ र महिमा गरिमा अस्मिताका कसीमा पनि अनुपम एवं उच्च स्थान छ ।

हाम्रो संस्कृतिमा जस्तो ममता आदर सम्मान प्रेम तथा सुरक्षाको विधान अन्यत्र कतै उपलब्ध छैन नारीलाई । तर यदि कुनै नियम पालन गर्न सकिएन भनेचाहिँ त्यो नियम हुनु र नहुनुको कुनै अर्थ रहँदैन । तसर्थ यहाँ आवश्यकता नयाँ नियम कानुन विधान बनाउनुको होइन कि वैदिक संस्कृतिको पूर्ण पालना पो हो आवश्यकता त । चाहे आधुनिकताको नाममा आएको होस् अथवा परम्पराको बहानामा आएको होस्- वास्तविक रुपले नारीलाई अहित गर्ने तत्वलाई अस्वीकार र हित गर्ने तत्वलाई स्वीकार गर्नु पर्दछ ।

Wednesday, March 10, 2010

 

उपचार

संसारमा समय-समयमा हुने युद्ध, िहंसाको दुस्चक्र, नरहत्याको विभत्स त्रासदी बारेमा विचार गरौं त ! एकातिर मान्छे दार्शनिक बनेर सारा जगत्को कल्याण एवं शान्तिको वकालत गर्छ भने अर्कातिर युद्धमा खरबौं रुपैयाँ खरबौं डलर खर्चिन्छ र आफ्नै बन्धुको हत्या गरेर विजयको अभिमानमा अट्टाहास गर्न समेत भ्याउँछ । चाहे त्यो युद्ध जेसुकै नाममा लडिएको होस् वा जहाँसुकै गरिएको होस् र जुनसुकै कालखण्डमा मच्चाइएको होस् -त्यसबाट मानवता आहत भएकै छ । युद्धबाट पीडित अनाथ विधवा तथा शरणार्थीहरुको चित्कारमा मानवताको छटपटाहट नै त प्रतिबिम्बित भएको हो नि ! युद्धलाई समाप्त नपारुाजेल यस्ता त्रासदीहरुबाट मानव समाज भविष्यमा पनि बारम्बार घाइते भइरहने निश्चित छ । िहंस्रक मनोवृत्ति एवं युद्धोन्मादलाई समाप्त पार्नु अघि त्यसको जरो चिन्नु जरुरी छ । जरो नचिन्ने होभने फगत् 'शान्ति', 'शान्ति'को फलाकोलेमात्र केही हुनेवाला छैन ।
वास्तवमा लडाइ वा युद्ध सर्वप्रथम मान्छेको मनमा/मष्तिस्कमा पैदा हुन्छ । तसर्थ िहंस्रक मनोवृत्ति एवं युद्धोन्मादलाई समाप्त पार्नु छभने सर्वप्रथम उपचार मान्छेको मनमा/मष्तिस्कमा गर्नुपर्छ । प्रत्येक मानवको मानसिक सन्तुलन एवम् भावात्मक शान्ति कायम रहने होभने युद्ध गर्ने परिस्थिति नै रहने छैन । यदि मानव समाजमा पारस्परिक व्यवहार प्रेम शान्ति धैर्य सन्तोष दया त्याग आदि जस्ता गुणयुक्त हुने होभने अधिकांश समस्याहरु स्वतः निर्मूल हुने स्पष्टै छ । तर यी कुराहरु भन्न जति सजिलो छ; व्यवहारमा कार्यान्वयन गर्न त्यति सजिलो छैन । तर व्यवहारमा कार्यान्वयन गर्न पटक्कै नसकिने पनि त होइन ।

Thursday, January 21, 2010

 

रामराज्य

रामराज्यको चर्चा गर्दा भनिन्छ कि भगवान् श्रीरामले शासकका रुपमा एघार हजार वर्षसम्म राज्य गर्नुभयो । यसको अर्थ के हो भने उहाँले बनाउनुभएको नियमानुसारको लोककल्याणकारी राज्यव्यवस्था जम्मा एघार हजार वर्षसम्म प्रभावी रह्यो र त्यसपछि मानव समाजको दुर्भाग्यले त्यसको ठाउँमा अन्यप्रकारका राज्यव्यवस्थाहरु अगाडी आए । त्यो वास्तविक साम्यवादको आयु एघार हजार वर्षमात्रै रहनुले मानवसमाजको लागि निराशाको संचार हुनुपर्ने म देख्दिनँ । त्यो प्रणाली त एक उत्तम आदर्शका रुपमा रहेर हामीलाई निरन्तर यात्रारत रहन प्रेरणा प्रदान गर्ने चीज भएको छ । अझैसम्म पनि लोककल्याणकारी राज्यको सर्वाधिक सफल स्वरुप रामराज्य नै हो । अब त झन् नयाँ किसिमबाट रामराज्यको सिको गरेर यसलाई अझ उत्तम बनाउन सकिन्छ । भगवान् श्रीरामको पालाकै जस्तो हुबहु अपनाउने कुरा असंभव छ । हामीले त्यसलाई त उदाहरण वा जाँचपरख गर्ने कसीका रुपमा स्वीकार गरेका हौं यानेकि कस्तो भन्ने सवाल आउँदा रामराज्य जस्तो भन्ने धारणा प्रष्ट होस् भन्ने हामीले चाहेकाछौं ।

अहिले बिनाकुनै सोँचविचार हाम्रो धर्म संस्कृति परम्परा रिति स्थापित नैतिकमूल्यमान्यता आदिउपर जथाभाबी बकबकाउनेहरु छ्याप्छ्याप्ति पाइन्छन् । ती षठहरु भगवान् श्रीराम उपरपनि आरोप लगाइदिन्छन् । उनीहरुले आरोप लगाउने आक्षेप गर्ने आलोचना गर्ने विषयहरु सीताजी -त्यागको प्रसंग शम्बूकबधको प्रसंग आदि नै हुन् । भगवान् श्रीराम उपरपनि आरोप लगाउन बाँकी नराख्नेहरुमध्ये कतिपय पढेका मूर्खहरु छन् कतिचाहिँ श्यालहुइयाँको पछिलागेर बुझ्नुनसुझ्नु बर्बराउनेहरु छन् अनि कोही सिल्लीहरु भगवान् श्रीरामको विरोध गरेपछि कतैबाट जुठोपुरो झरिहाल्छकि भनेर बतुराउँछन् र कोहीचाहिँ भगवान् श्रीरामसँग वैरभाव राख्ने खलपात्रहरुपनि छन् । हुनपनि हो अँध्याराका पक्षधरहरु उज्यालाका संवाहक प्रति अकारणैपनि वैरभाव राख्छन् । त्यस्ता खलपात्रहरुले हामीलाई पनि आरोप लगाउने आक्षेप गर्ने आलोचना गर्ने साथै सकेको दुःखपनि दिने छन् ।
यहाँनेर एउटा कुरा स्पष्ट हुनुपर्ने छ । रामायण लगायतका हाम्रा ग्रन्थहरु यसरी लेखिएका छन् कि यिन्का सबै कथानकको अर्थ जस्ताकोतस्तै बुझ्यौंभने दिग्भ्रमित भइन्छ । त्यहाँ त लाक्षणिक अर्थ छ आध्यात्मिक रुपक छ । सीताजीको अग्निपरीक्षा सीता -त्याग तथा शम्बूकबध आदि जतिपनि प्रसंग छन् ती आध्यात्मिक रुपक हुन् । पढेका मूर्खहरु स्यालहुइयाँको पछिलागेर बुझ्नुनसुझ्नु बर्बराउनेहरु तथा खलपात्रहरु जब आध्यात्मिक रुपकको अर्थ बुझदैनन् लक्षणाहरुको भेउ पाउँदैनन् तब चिच्याउँछन् कि लौ हेर……॥ रामले सीतालाई यसो गरे ………॥ शम्बूकलाई उसो गरे ……॥ । यी सब फेशनेबल कुरा हुन् र बेतुक छन् ।

हाम्रा धर्मशास्त्रका संदर्भमा कुनैकुराको निर्णय लिनुअघि हामी निकै सचेत हुनुपर्छ । हामीलाई थाहा छ कि हाम्रा धर्मशास्त्रहरुलाई श्रुति स्मृति भनिन्छ । यसो किन भनेको त जो श्रवण परंपराबाट चल्दैआयो त्यो श्रुति हो । जो स्मरणका आधारमा निरन्तरता पाउनेवाला हो त्योचाहिँ स्मृति हो । यी शब्दहरुले वैदिक शिक्षाप्रणालीबारेमा राम्ररी बताउँछन् । प्राचीन शिक्षापद्धतिमा ज्ञानको पुस्तादरपुस्ता हस्तान्तरण गर्दा कुनै लिखित दस्तावेजको जरुरत पर्दैनथ्यो किनकि गुरु शास्त्रको प्रकाण्ड ज्ञाता हुन्थ्यो र उसलाई शास्त्र कण्ठस्थ हुन्थ्यो । गुरुले चेलालाई प्रदान गरेको शिक्षा चेलाले उत्तिकै प्रामाणिकतवरमा कण्ठस्थ पारेको हुन्थ्यो र अर्को पुस्तामा हस्तान्तरण गथ्र्यो । यसरी श्रवण तथा स्मरणको परंपराबाट शास्त्रहरु पुस्तौं पुस्तासम्म निर्बाधरुपमा जान्थे । समयक्रममा त्यो महान् गुरुकुलीय शिक्षापद्धति क्षीण हुँदैगयो । यसरी क्षीण हुने क्रममा शनैः शनैः शास्त्रका स्वरुपमा पनि विकृति आउने संभावना रह्यो । खासगरी भारतवर्षमा बाहिरबाट बारम्बार आक्रमण भइरहने भएकाले समाजको अमनचैन खल्बलिइरहने स्थिति थियो । युद्धका कारण गुरुकुलको व्यवस्थापन ठीक नहुने र त्यसक्रममा शास्त्रको पठनपाठन चल्न नसक्ने हुँदैजाँदा शास्त्रनै विलुप्त हुने खतरा महशुश गरिएपछिचाहिँ शास्त्रहरुको लिखित स्वरुपको आवश्यकता बोध भयो । विद्वानहरुले देखेकि नयाँपुस्तामा स्मरणशक्ति ह्रासोन्मुख छ । यसकारणपनि शास्त्रहरुको लिखित स्वरुपको आवश्यकता झन् महशुश गरिएको थियोहोला । जे होस् तब लिखित स्वरुपमा आए हाम्रा धर्मशास्त्रहरु । श्रुति स्मृतिको परम्पराबाट लेखन परम्परासम्म आइपुग्दा बीचमा अनेक आरोह -अवरोह झेल्नु परेको छ तिन्ले । पाण्डुलिपि लेखकका आग्रह -पूर्वाग्रहवश अथवा बुझ्नेहरुका आआफ्नै शैलीले एउटै शास्त्रकापनि विविध टीका तथा भाष्य प्रचलनमा आए र आउँदैछन् । यस्तो परिप्रेक्ष्यमा हाम्रा धर्मशास्त्रहरुकोबारेमा निर्णय गर्नु कठिन कार्य हो । तर यो पूर्णतया असंभवचाहिँ छैन ।

भगवान् श्रीरामको जीवनी तथा उहाँको सिद्धान्तबारेमा बुझ्न निश्चयनै रामायणबाट ठूलो सहयोग प्राप्त हुनेछ तर फगत् बौद्धिक तर्कवितर्क वादविवाद गोष्ठीले त्यसको सही स्वरुप प्रष्टिनेवाला छैन । औपचारिक शैक्षिक योग्यताको बलमामात्र शास्त्रको मर्म बुिझंदैन । अहिलेको विडम्बना यही हो कि कागजे प्रमाणपत्रका प्रमाणित खोस्टो लिएको भरमा शास्त्रको अपव्याख्या गर्नेहरु परम्पराको अन्धविरोध गर्नेहरुको डाँको नै चर्को छ । तिन्को दुराग्रही जालोबाट मुक्त भएर सत्यताको बोध गर्नासाथ रामराज्य को वास्तविक स्वरुप थाहा लागिहाल्छ ।

वाल्मिकीरामायण तथा अन्य जतिपनि ग्रन्थमा श्रीरामबारेमा लेखिएको छ तिन्ले उहाँको जीवनको छोटो कालखण्डकोमात्रै चर्चा गरेकाछन् । विद्वानहरु भन्छन् कि श्रीरामको शुभविवाह सत्ताइस वर्षको उमेरमा भएको थियो । त्यसको केही समयपछिनै उहाँलाई चौधवर्षकालागि वनबास जानुपर्यो । वनबासको समाप्तिपछि राजिसंहासनारुढ हुन पाउँदानपाउँदै सीताजी परित्यागको घटना घटित भयो । यस घटनाको करिब एघार वर्ष पश्चात् अश्वमेध यज्ञ आयोजित गरिएको र त्यही यज्ञका सन्दर्भमा श्रीरामको आफ्ना दुईपुत्र लव कुश तथा धर्मपत्नी सीताजीसँग भेट भएको कुरा रामायणमा उल्लेखित छ । यसपछिको वृत्तान्त त्यति प्रष्ट छैन । यसरी करिब करिब बाउन्न वर्ष जतिको इतिहासमात्र विशेषरुपले वर्णित छ । तब भगवान् श्रीरामले एघार हजार वर्ष शासन गरेको भन्ने आधार के भनेर प्रश्न सोध्न सकिन्छ । हामीले यसको सोझोअर्थमात्रै होइनकि सांकेतिकअर्थ पनि बुझ्नुपर्छ ।

अब हामी विचार गरौं कि रामायणमा एकातिर भगवान् श्रीरामले एघार हजार वर्ष राज्य गरेको उल्लेख गर्नु अर्कातिर करिब करिब बाउन्न वर्षको घटनाक्रमको मात्र विस्तृत चर्चा हुनु यसको के रहस्य छ यसमा गूढ रहस्य छ । म उदाहरणबाट यसलाई प्रष्ट्याउन चाहूँला । कुनै दुईवटा गाउँ छन् जसमध्ये एउटा गाउँमा दोहोरो भीडन्त भई मान्छेहरु मारिए र अर्कोमाचाहिँ सबैजना मिलेर खेत रोपी थाकेका हुनाले आरामसँग सुतेभने भोलीपल्ट साचारमाध्यमहरुले कुन गाउँको चर्चा गर्लान् पक्कैपनि त्यही गाउँको चर्चा गर्छन् जहाँ मान्छेहरु मारिए । हामीले देखेजानेकै कुरा हो यो कि विश्वमा ती ती देश वा क्षेत्र चर्चामा हुन्छन् जहाँ जहाँ अशान्ति छ हिंसा छ तर ती ती देश वा क्षेत्र समाचार बन्दैनन् जहाँ शान्ति छ अमनचैन छ । केही वर्षअघिसम्म विश्वसाचारमाध्यममा नामनिशाना देख्न मुश्किल पर्ने हाम्रो देश अस्वाभाविक घटनाक्रमहरुपछि विश्वसाचारमाध्यममा छाएको हामीले देखेकै छौं । यसबाट प्रष्ट हुन्छकि मेडिया मा ती कुराहरु नै आउँछन् जुनचाहिँ सनसनीपूर्ण हुन्छन् । यो त मान्छेको शाश्वत प्रवृत्ति हो कि केही अस्वाभाविक वा अनौठो वा विशेष कुरालाई नै ऊ महत्व दिन्छ । भगवान् श्रीरामको जीवनवृत्तका संदर्भमा पनि यो लागू भएको छ र रामायणमा ती ती प्रसंगहरु नै खासगरी वर्णन गरिएकाछन् जसमाकि लोक आकर्षण छ र काव्यिक चमत्कार देखाउने ठाउँ छ । अर्थात् जुन सनसनीपूर्ण अस्वाभाविक अनौठो छ त्यसको बयान गर्नमा रुचि देखाइएको छ त्यहाँ । रामले रावणलाई संहार गरेको कुरामा जुन रोचकता छ काव्यिक चमत्कारी देखाउने जुन मौका छ रामराज्यमा प्रजा सुखी थिए भन्नमा कहाँ छ सुखी थिए त कुरा सकिइहाल्यो नि । रामले वानर र भालुलाई लिएर लडाइँ पो कसरी गरे हुनन् वा हनुमानले समुद्र कसरी तरे यो पो छ उत्सुकताको कुरा । श्रीरामको पाउ पर्नासाथ एउटा ढुंगा मान्छेमा रुपान्तरित भई अहल्या उद्धार भएको कुरामा जुन कौतुकता छ रामराज्यमा सर्वत्र शान्ति थियो भन्ने कुरामा भेट्टाउँदैन मान्छेले । शान्ति थियो त थियो त्यसको पनि के बयान हो यही मानवीय स्वभावका कारण रामायणमा करिब बाउन्नवर्षे जीवनप्रसंग नै विशेष बयान गरिएको हो भन्ने बुझ्न सकिन्छ । पछि त श्रीरामको जिन्दगी साथै सारा रामराज्य नै सुख शान्ति आनन्दमय भएकोहुँदा काव्यिक चमत्कारी देखाउने कुरै कहाँ रह्यो र मदिराको स्वादको बयान गरिएका सयौं कविता भेटिन्छन् तर पानीको स्वाद बयान गरिएका कविताहरु खोइ त यी कुराहरुले प्रष्ट हुन सकिन्छ कि रामायणमा करिब बाउन्न वर्षकोमात्रै विशेष बयान गरिएको भए तापनि रामराज्य चाहिँ पुराकापुरा एघार हजार वर्ष चलेको थियो भनेर मान्न नसकिने होइन सकिन्छ ।

तर हामीले हेक्का राख्नैपर्छकि भगवान् श्रीरामलाई मर्यादापुरुषोत्तम भनिएको तथा रामराज्यलाई वास्तविक साम्यवादको कसी एवं आदर्श शासनप्रणाली मानिएको यसकारणले होइनकि उहाँले रावणलाई संहार गर्नुभयो र अरुपनि अनेकौं निशाचर राक्षसहरुलाई मारिदिनुभयो । विजयी शासक भएकै कारणलेमात्र उहाँको बखान गरिएको हो भन्ठान्नेहरु मूर्ख हुन् भन्नेकुरामा मलाई रत्तिभर शंका छैन । मार्ने काट्ने जस्ता कार्य त्यत्रो सुयशका कार्य होइनन् । नरसंहार क्षमतालाई महानता मानिने भए त तैमुर बाबर औरंगजेब जस्ता खुनीहरु पोलपोट चाउचेस्कु जस्ता जनहत्याराहरु तथा कंस रावण हिरण्यकशिपु जस्ता हिंस्रकहरु नै महान् मानिने थिए । त्यस्तो हुँदैन । भगवान् श्रीरामलाई सम्मान गर्नुको कारणलाई सही तवरमा बुझ्नु जरुरी छ । रावणबधपश्चात् उहाँले कहिल्यै शस्त्रास्त्र उठाउनुभएको पाइँदैन । रावणबध अघि उहाँले ती आततायीहरुलाई सफाया गर्नु भएको थियो जो समाजका निम्ति खिल वा ट्युमर थिए । क्यान्सरको उपचार गर्दा ट्युमर काटेकोमा डाक्टरलाई गाली गर्न मिल्दैन । रावणबधपश्चात् श्रीरामले उसका जीवित अनुयायीहरुलाई बलपूर्वक होइन आत्मिक रुपान्तरण अथवा भावनात्मक परिवर्तन बाट तिनीहरुलाई आफ्ना अनुयायी बनाउनुभयो । तब के भयो भने संसारभरि शान्ति सुव्यवस्था कायम भयो शोक सन्ताप मेटिएर सबै सुखी भए । भोक रोग भय आदिबाट समाज मुक्त भयो । त्यहाँ कोही दरिद्र थिएन सबकासब समृद्ध । आफ्नो कर्तव्य पालन गर्नबाट कोही च्यूत थिएन । चोरी ठगी गुण्डागर्दीको समस्या थिएन रामराज्यमा । मान्छेमा इमान्दारी यति थियो कि तालाचाबीको प्रचलन नै थिएन । राज्यलाई प्रहरी र सेनाको बलमा चलाइएको थिएन स्थापित नैतिक मूल्यमान्यता ले निर्देशित भएर समाज गतिशील थियो । सबै गुणवान् थिए सबै शिक्षित थिए र कसैको कसैप्रति द्रोह वैरभाव थिएन । कोही धनी र कोही गरिब हुने अहिलेकोजस्तो अन्यायपूर्ण स्थिति थिएन रामराज्यमा । कुनै विषमता थिएन । एक राजघाट थियो जहाँ भगवान् राम देखि लिएर ऋषिवर वशिष्ठ अनि ब्राह्मण क्षत्रिय वैश्य शुद्र एकसाथ स्नान गर्दथे । मजदुर पनि थिए किसान पनि थिए कर्मचारी पनि थिए तर यो विभाजन कामकालागिमात्र थियो । एउटा मजदुरले पनि त्यत्तिकै मान पाउँथ्यो जतिकि एउटा उच्चपदस्थ अधिकारीले । एउटा शुद्र पनि त्यत्तिकै संमानित थियो जतिकि एउटा ब्राह्मण । प्रत्येक मजदुर प्रत्येक किसान उत्तिनै धनी थियो जतिकि महाराजाधिराज श्रीराम ।

यसहदको समानता केबल आध्यात्मिक साम्यवाद मा मात्र सम्भव छ । मार्क्सवादी कम्युनिज्म वा प्रजातान्त्रिकसमाजवादी भनिने व्यवस्थामा समानता फगत् नारामा मात्रै चर्को हुन्छ काम र कुराबीचमा तालमेल हुँदैन त्यहाँ । रामराज्यमा समानता व्यवहारमै लागू भएको थियो । कम्युनिष्टहरुले भन्ने साम्यवाद यानेकि कम्युनिज्ममा आध्यात्मिकताको निषेध गरिएकाले त्यो अन्धभौतिकतावादी त्रासदीमा पतन हुने स्थिति सदा विद्यमान हुन्छ । माक्स्रवादी कम्युनिज्म न यसअघि सफल भएको छ न त भविष्यमा सफल हुने सुनिश्चितता छ । प्रजातान्त्रिकसमाजवादी भनिने व्यवस्थाको कुरो पनि न यसअघि सफल भएको छ न त भविष्यमा सफल हुने स्थिति नै देखिन्छ । रामराज्य त सफलतापूर्वक एघार हजार वर्ष साचालित भइसकेको छ । एकचोटी सफलतापूर्वक साचालित भइसकेको रामराज्य अर्थात् वास्तविक साम्यवाद को पक्षधर नबनेर माक्स्रवादी कम्युनिज्म प्रजातान्त्रिकसमाजवादी भनिने व्यवस्था आदिको पक्षधर बन्नु मूर्खता हो र दुर्भाग्यजनक हो । राम र रावणबीचको संघर्ष त्यस्ता दुई शक्तिबीचको संघर्ष थियो जसमध्ये एउटाले उज्यालोको प्रतिनिधित्व गर्नुभएको थियो र अर्कोचाहिँले अँध्यारोको प्रतिनिधित्व गरेको थियो । उज्यालोले अँध्यारोलाई परास्त गरेरै छाड्ने शाश्वतसत्य अनुरुप रामको विजयश्री त अवश्यम्भावी थियो । सोही शाश्वतसत्य अनुरुप हाम्रो विजय पनि निश्चित छ ।

हिन्दूधर्मशास्त्रहरुमा वर्णित सत्ययुग तथा रामराज्य भन्दा उत्तम प्रणाली अर्को कुनै छभने उदाहरण दिनका निम्ति म चुनौती दिन्छु । हिन्दूधर्मशास्त्रहरुमा वर्णित सत्ययुग तथा रामराज्य भन्दा उत्तम अर्को प्रणाली छँदैछैन । तसर्थ हामी यसको पक्षधर बन्नु नै सही निर्णय हो । मानव समाजलाई अहिलेकोअहिल्यै सत्ययुग तथा रामराज्य मा पुर्याउन सकिहालिन्छ भन्ने दाबी मैले गर्याछैन । तर हाम्रो लक्ष्य निर्धारण गर्नेबेलामै हामीले चाहेको व्यवस्था कस्तो भन्ने सबालमा स्पष्टताकालागि सत्ययुग तथा रामराज्य जस्तो भन्ने धारणाले हाम्रो बाटो सुगम हुनेछ भन्ठान्छु म ।
रामराज्यको एघार हजार वर्ष भनिएकोलाई विविध किसिमले बुझ्न सकिन्छ । यदि श्रीरामलाई साक्षात् ईश्वरियअवतार मान्ने हो भने उहाँ एघारहजार वर्षसम्म यस संसारमा जीवित रहेर राज्य संचालन गर्नुभएको अर्थ स्वीकार्य हुनसक्छ । यदि साक्षात् ईश्वरियअवतार नमान्ने हो भनेपनि यति कुरा नमान्नुपर्ने कुनै कारण छैनकि उहाँको मार्गनिर्देशक सिद्धान्तअनुसारको व्यवस्था एघारहजार वर्षसम्म कायम रहन सफलभएको थियो । यति लामो समयावधिसम्म सफलतापूर्वक संचालित व्यवस्था अर्को छैन ।

Wednesday, January 20, 2010

 

सभ्यतागत विज्ञान र 'पेटेन्ट'को लडाइँ

सभ्यतागत विज्ञान र 'पेटेन्ट'को लडाइँ
- निर्मलमणि अधिकारी "आयोदधौम्य"

Retrieved from: http://www.dautari.org/2009/11/blog-post_3671.html


विज्ञान अविरल प्रवाहमान् धारा हो । यो क्रमबद्ध ज्ञान-संचयको श्रृंखला हो । हामीले बुझ्नुपर्ने कुरा के छभने औपचारिक प्रयोगशाला ल्याबोरेटरी मा बसेरमात्र वैज्ञानिक अनुसन्धान गरिने होइन; यो त हामी प्रत्येकको दैनिकी पनि हो । जस्तोकि प्रसिद्ध भारतीय वैज्ञानिक रघुनाथ अनन्त माशेलकर भन्नुहुन्छ- व्यावहारिक अनुभव पहिले हुन्छ र त्यसलाई व्याख्या गर्नेवाला वैज्ञानिक सिद्धान्त त्यसपछि बनिन्छन् । प्रायः प्रविधि पहिले आउँछ र विज्ञान तत्पश्चात् । हामीलाई पांग्रा बनाउन पहिल्यै आउँथ्यो र त्यसपछिमात्र गति विज्ञानको विकास भएको हो । वाष्प-ईन्जिजन पहिले बनेका थिए र थर्मोडाइनामिक्स त्यसपछिमात्र । शताब्दीयौं वा सहस्राब्दीयौं देखिनै मान्छेले प्राकृतिक जीवनको प्रयोगशालामा अनेकौं परीक्षण (Test), प्रयोग (Experiment), एवम् पर्यवेक्षण (Observation) गर्दै
आइरहेको छ र आफ्नो ज्ञानको परिधि निरन्तर विस्तार गरिरहेछ । अचेल त्यही परम्परागत ज्ञान प्रणालीलाई समानान्तर वा स्वदेशी वा सभ्यतागत भनेर नामाकरण गरिएको पाइन्छ । सभ्यतागत विज्ञानलाईपनि महत्व दिनुपर्छ भन्ने आवाजहरु मुखरित हुँदैछन । तथापि सामान्यतया परम्परागत विज्ञान र आधुनिक विज्ञानलाई एक-अर्काको प्रतिद्वन्द्वी ठान्ने जस्तो गलत धारणा अझैसम्मपनि हट्न नसकेको स्थिति छ ।

विज्ञान तथ्य (Fact) मा आधारित हुन्छ । यो वस्तुनिष्ठ (Objective) हुन्छ र यसलाई सत्यापन (Verification) गर्न सकिन्छ । परीक्षण प्रयोग एवम् पर्यवेक्षण गर्न सकिने हुनाले वैज्ञानिक ज्ञानलाई विश्वसनीय मानिन्छ । विज्ञानका यी गुणहरु आधुनिक वैज्ञानिक पद्धतिमा जति सहजै दृष्टिगोचर हुन्छन् यता परम्परागत पद्धतिमा समयक्रममा केही अवैज्ञानिकता घुसेको पनि हुनसक्छ । कतिपय अवस्थामा त परम्परागत पद्धतिमा रहेका वैज्ञानिकतालाई अवैज्ञानिकताले पुरै दबाइसकेकोपनि हुन्छ । त्यो अवैज्ञानिकताको पत्रलाई खुर्केर वैज्ञानिकतालाई उजागर गर्नुपर्नेमा प्रायः परम्परागत पद्धतिलाई अन्धविश्वास वा रुढीवाद मानेर अस्वीकार गर्ने प्रवृत्तिले सभ्यतागत विज्ञान र आधुनिक विज्ञानलाई एक-अर्काको प्रतिद्वन्द्वी ठान्ने गलत धारणालाईनै मलजल गरिरहेको छ ।

प्रसिद्ध वैज्ञानिक चिन्तक टी.एच. हक्सलीले सन् १८८१ मा भनेको कुरा अहिले झन् मननीय छ- आफ्ना पूर्वजहरुको उपहास गर्न सजिलै छ तर हाम्रालागि लाभकारी कुरोचाहिँ यो पत्तो पाउनुमा छकि हाम्रा पूर्वज -जो हामीभन्दा कम समझदार पक्कै थिएनन्- ले आजका दिनमा हामीलाई बेतुकका र निरर्थक प्रतीत हुने विचारहरु किन अवलम्बन गरेका हुँदाहुन् ! प्रसिद्ध भारतीय वैज्ञानिक माशेलकरले भनेझैंनै भूतकालको त्यो पद्धतिलाई आधुनिक विज्ञानको उपयोग गरी बुझ्ने प्रयत्न गर्नु बुद्धिमानीपूर्ण कार्य हुनेछ । प्राचीन विचार एवम् परिकल्पना र आधुनिक वैज्ञानिक खोजहरु बीचमा रहेको अर्थपूर्ण सह-सम्बन्ध पत्तो पाउनुपनि आजको वैज्ञानिक कर्मको एक प्रमुख प्राथमिकतामै पर्नु पर्दछ ।

आधुनिक विज्ञान र सभ्यतागत विज्ञान बीचमा अप्राकृतिक छेकबार खडा गरेर स्थानीय समुदायलाई उसको मूलबाट असम्बद्ध गराइदिने र यसैको परिणामस्वरुप आयातित प्रविधिमा हदैसम्म निर्भर हुन बाध्य तुल्याइदिने प्रकृया कथित भूमण्डलीकरण ग्लोबलाइजेसन सँगै अझ बढेको छ । स्थानीय समुदाय सभ्यतागत विज्ञान-प्रविधिबाट विमुख हुँदैगर्दा पूँजीवादी बजारका खेलाडीहरुचाहिँ पेटेन्ट दर्ता गराई स्थानीय सभ्यतागत ज्ञानलाई बलात् कब्जा गरिरहेका छन् । एक अमेरिकी कम्पनीले हलेदो हल्दीको पेटेन्टलाई यसरीनै हडपेपछि भारतले लडेको पेटेन्ट-लडाइँ भारतमा जसलाई हल्दी घाटीको दोस्रो लडाइँ पनि भन्ने गरिन्छ यहाँनेर स्मरणीय छ । भारतले प्राचीन संस्कृत साहित्य सहित सबै प्रमाणहरु पेश गरेपछि अमेरिकी पेटेन्ट कम्पनी बलियो प्रमाणका सामुन्ने पराजित भएको थियो । सो मुद्दामा हाम्रो देश नेपालकोपनि प्रत्यक्ष सरोकार हुनुपथ्र्यो किनकि हलेदो्/बेसारको प्रयोग हाम्रोपनि सभ्यतागत पद्धति हो । तर नेपालमा सरकार चलाएर बसेका तथा कर्मचारीतन्त्रमा रहेकाहरुसँग यस्तो सुद्धि-बुद्धि भइदिएको भए त हाम्रो देशको यो बेहाल किन हुँदो हो र ! धन्न भारतकै भएपनि बेलैमा होश खुल्यो र आधुनिक विश्व इतिहासमै शायद पहिलोपल्ट तेस्रो विश्वुको एक राष्ट्रले अमेरिकासँग सभ्यतागत विज्ञानको अधिकार प्राप्तिकालागि लडाइँ गरी विजय हासिल गरिछाड्यो । एवम्रितले नीम र बासमतीका पेटेन्ट सम्बन्धी संघर्षहरु पनि यहीँनेर स्मरणीय छन् ।

वल्र्ड इन्टेलेक्चुएल प्रोपर्टी अर्गनाइजेसन विश्व बौद्धिक सम्पदा संघले पारम्परिक ज्ञानको प्रयोग तथा स्थानीय बौद्धिक सम्पदा र प्रविधिलाई मान्यता दिनुपर्छ भन्ने स्वीकार गरिसकेको आजको अवस्थामा हाम्रो नेपालजस्तो शताब्दीयौं वा सहस्राब्दीयौं प्राचीन परम्परा भएको देशले पछि पर्नुपर्ने कुनै कारण छैन । आज भारत लगायत कतिपय राष्ट्रहरु तुलनात्मक रुपमा पहिलेभन्दा निक्कै सजग भएका छन्- आफ्नो सभ्यतागत प्रविधिलाई अमेरिकी वा युरोपेली लगायतका अन्यपनि कम्पनीहरुले पेटेन्टको जालमा पार्ने सम्बन्धमा । भारत सरकारले ट्रेडिसनल नलेज डिजीटल लाइब्रेरी सृजित गर्नेतर्फ कार्य शुरु गरेको बताइएको छ जसका कारण प्राचीन संस्कृत ग्रन्थका श्लोकमा निहीत ज्ञान र वाशिंगटनमा पेटेन्ट-परीक्षकको कम्प्युटर स्क्रीनको बीचमा रहेको पर्खाल भत्काउन मद्दत मिल्ने आशा उनीहरुले लिएका छन् । तर हाम्रो देश नि यहाँ कसलाई छ त यस्तो चिन्ता ?

Saturday, December 26, 2009

 

सगरमाथा, माउन्ट एभरेष्ट कि नौबन्धन ?

Retrieved from:
http://www.dautari.org/2009/12/blog-post_551.html

सगरमाथा, माउन्ट एभरेष्ट कि नौबन्धन ?
--- निर्मलमणि अधिकारी (आयोदधौम्य)
विश्वको सर्वोच्च शिखर 'सगरमाथा' हाम्रो हुनु हामीले गर्व गर्न मज्जाले मिल्ने कुरा हो । तर संसारभरि यसको नाममाथि अनधिकार एकजना बेलायती जर्ज एभरेस्टको ठप्पा लागेर 'माउण्ट एभरेस्ट' भनेर फैलनु उत्तिकै लाजमर्दो कुरो हो भन्ने मेरो ठहर छ । अनेक कुरा विदेशीबाट नक्कल गर्ने, तर गतिलो पक्ष चाहिँ लिँदै-नलिने मुर्ख्याइँ गर्नमै मजा मान्ने होभने त अर्कै कुरो; नत्र छिमेकी देशमा अर्काले थोपरिदिएको 'मद्रास' नामलाई मिल्काएर आफ्नै पुरानो परम्परागत 'चेर्न्नई' नाम राख्ने, त्यसरीनै 'बम्बइ' नाम मिल्काएर पुरानै 'मुर्म्बई' नाम प्रयोग गर्ने र 'क्यालकटा' जस्तो विकृत नाम हुर्‍याइदिएर 'कोलकाता' कै पुनः प्रयोग शुरु गर्ने जस्ता राम्रा अभियानबाट हामीले पनि सिक्न नहुने भन्ने के छ र ! अनि त्यसको शुरुवात हाम्रो शान सगरमाथा बाटनै गरे अझ राम्रो !

आफ्नो राष्ट्रिय परिचयलाई ठम्याउन र कायम राख्न नसक्ने मुलुकको स्वाधीनताको विशेष अर्थ रहँदैन । भारत बेलायती साम्राज्यवादीको पञ्जामा परेको बेलामा त्यहाँका र्सर्भेयर-जनरल एन्ड्रयु वाघले सनकको भरमा विश्वको सर्वोच्च शिखरलाई 'माउन्ट एभरेस्ट' नाम राखिदिएका थिए । त्यतिन्जेलसम्म 'पन्ध्रौं चुली' नामले र्सर्भेकर्ताहरुले चिनाउने गरेका विश्वको सर्वोच्च शिखरलाई एन्ड्रयु वाघले आफ्ना भू.पू. हाकिम जर्ज एभरेस्टको नामबाट बेलायतको 'माउन्ट एभरेस्ट' नाम राखिदिनु उनको स्वामीभक्ति थियोभने तत्कालीन भारतको इस्ट इण्डिया कम्पनी सरकारले त्यसलाई मान्यता प्रदान गर्नु साम्राज्यवादीहरुको धुर्तापूर्ण कार्य थियो । यस क्षेत्रबाट अंग्रेजहरु लखेटिएको यतिका वर्ष पछि सम्म पनि हाम्रो सर्वोच्च शिखरको नाम त्यही 'माउन्ट एभरेस्ट' नै भिरिरहनु चाहिँ पूर्णतया गुलाम मानसिकताको द्योतक हो र लाजमर्दो कुरो हो । जतिसक्यो यो ठप्पा मेट्नु र आफ्नै परम्परागत नाम विश्वभर प्रचलित गराउने प्रयास गर्नु पर्दछ हामीले ।

यसबारे मदनमणि दीक्षितले पहिले नै चर्चा गर्नु भएको पनि हो : विख्यात इतिहासविद् बाबुराम आचार्यले एभरेस्ट चुली भनिएकोलाई सगरमाथा भन्ने नाम दिनुभयो । त्यो चुचुरोको स्वामित्वबारे नेपाल र चीन बीच छैठौं दशकमा छलफल चल्दा र्सवदर्शनाचार्य चूडानाथ भट्टरायलाई उक्त शिखरसित सम्बन्धित पौराणिक कुरा वा तथ्य केही छन् कि भन्ने पत्ता लगाउन आग्रह गरिएको रहेछ । सो आग्रह अनुसार उहाँले काम गर्नुभएर हिमवत्खण्डमा उल्लिखित 'व्योमकूट' र 'सगरमाथा' एउटै हुन् भन्ने मन्तव्य दिनुभएको ...... । ..... तर महाभारतको वनपर्व पल्र्टाई हेर्दा अध्याय १८७ को ५० औं श्लोक मैले यस्तो पाएँ( नौर्मत्स्यस्य वचः श्रुत्वा श्रृङ्गे हिमवतस्तदा ।। तच्च नौबन्धनं नाम श्रृङ्गं हिमवतः परम् ।। अर्थात्, माछोको वचन सुनेर हिमालयको चुचुरोमा नाउलाई बाँधियो जसले गर्दा हिमालयको त्यो सर्वोच्च शिखरको नौबन्धन भन्ने नाम रहेको छ । मत्स्यावतारको कथा बताउँदा महाभारतमा आएको यो श्लोकको कथा पक्षलाई छोडेर हेर्दा सर्वोच्च हिमशिखरको नामबारे पौराणिक कालमा जिज्ञासा थियो र तिनले आफ्ना प्राचीन गाथासित त्यो जिज्ञासालाई जोडेर त्यो सर्वोच्च हिमशिखरलाई 'नौबन्धन' भन्ने नाउँ दिएका थिए भन्ने तथ्य र्छलङ्ग हुन्छ । .... बाबुराम आचार्यले सगरमाथा भन्ने नाम दिनुहुँदा उक्त महाभारतीय श्लोकप्रति किन ध्यान दिनुभएन ! -हेर्नु- त्यो युग, पृष्ठ नं. ११(१२) विश्वको सर्वोच्च शिखरको नाम पौराणिक कालमा 'नौबन्धन' रहेको र त्यसलाई 'व्योमकूट' पनि भनिने गरेको देखिन्छ ।

जस्का नामबाट हाम्रो सगरमाथालाई विश्वभर चिनाइँदै छ ती व्यक्ति र्-जर्ज एभरेस्ट) को बारेमा नालीबेली केलाउँदा के देखियोभने उनी सन् १७९० तिर बेलायतको ब्रेक्नोकसायरमा जन्मी विद्यालयस्तरको पढाइ सकी बुलविच भन्ने ठाउँको सैन्य शिक्षालयमा भर्ना भएका थिए । सेनाका लप्टन भएर भारत आएका जर्ज एभरेस्ट सन् १८१२ मा अहिलेको भारतको मध्यप्रदेश -त्यतिखेरको 'कालिन्जर') कब्जा गर्ने सैनिक टोलीमा सामेल थिए । पछि उन्लाई, भारतीय उपमहाद्वीपलाई क्वाप्पै खाने अंग्रेज रणनीतिको एक भागका रुपमा शुरु गरिएको भौगोलिक र्सर्भेमा खटाइएछ । त्यहीबेला एन्ड्रयु वाघ उन्का सहायकका रुपमा काम गर्थे । जर्ज एभरेस्टले उमेरको हदबन्दीले अवकाश पाएपछि उन्का सहायक एन्ड्रयु वाघ बन्न पुगे 'र्सर्भेयर-जनरल' र उनैले आफ्ना भू.पू. हाकिमको नाममा हाम्रो सर्वोच्च शिखरको नामाकरण गरिदिए । धूर्त साम्राज्यवादी 'इस्ट इण्डिया कम्पनी' सरकारले हत्तपत्त सो नामाकरणलाई मान्यता प्रदान गरिहाल्यो । त्यतिखेर नेपालमा शासनरत राणा शासकले यो कुरा थाहा पनि पाए कि पाएनन् कुन्नि ! थाहा पाएकै भएपनि अंग्रेजका गुलामीमा फसिसकेका राणाजीहरुले के खाएर गर्दा हुन् विरोध !

सगरमाथालाई 'माउन्ट एभरेस्ट'कै रुपमा रहिरहन दिनु साम्राज्यवादको नाङ्गो बलात्कारलाई स्वीकार गरिरहनु हो । यस धब्बालाई मेट्न ढिलाउनु हुँदैन । अब विश्वको सर्वोच्च शिखरको नामाकरण गर्ने क्रममा हामीसँग थुप्रै विकल्पहरु छन् । महाभारतकाल र त्यस अघिको नाम( 'नौबन्धन'; हिमवत्खण्डमा दिइएको नाम( 'व्योमकूट'; इतिहास-शिरोमणि बाबुराम आचार्यले राख्नुभएको नाम( 'सगरमाथा'; बेलायती साम्राज्यवादीहरुले थोपरिदिएको नाम( 'माउन्ट एभरेस्ट' र स्थानीय जनताले चलाउने गरेका अन्य नामहरु । यीमध्ये अरु जुन-कुनैपनि नाम प्रचलित हुँदा हाम्रो राष्ट्रिय परिचयको निमित्त उपयुक्त हुने देखिन्छ; तर माउन्ट एभरेस्ट नामलाई जतिसक्दो चाँडो त्याग्नु राम्रो ! अस्तु ।

This page is powered by Blogger. Isn't yours?