Saturday, August 03, 2024
धर्म र विज्ञानको अन्तरसम्बन्ध जान्न सातत्य दृष्टिकोण एवं सम्मेयता गुण चाहिन्छ
विज्ञान बारे केही जिज्ञासा भएमा म चाहिँ सिधै विज्ञान सामग्री नै पढ्छु / वैज्ञानिकलाई नै सुन्छु । अर्कोतिर, धर्मशास्त्र बारे केही जिज्ञासा भएमा सिधै धर्मशास्त्र नै पढ्छु / आधिकारिक आचार्य (आप्त) लाई सुन्छु ।
पादरी, मुल्ला-मौलवी, भिक्षु-लामा, पुराण वाचक, भजन गायक, सम्प्रदायका प्रचारक, कथित अभियन्ता, कोही कोही त साहित्यका प्राध्यापक (तर प्रकृति विज्ञानमा चञ्चु-प्रवेश नै नभएका) समेतले पूरै असम्मेयता दोषयुक्त जिद्दी गर्दै विज्ञानको फुटानी लगाएको देख्दा / सुन्दा उनीहरूप्रति टिठ लाग्छ । विज्ञान के हो, रत्तिभर जानकारी नभएकाहरूले जेमा र जता पनि विज्ञान घुसार्दा एकातिर समाजको अहित हुन्छ (मानिसहरू भ्रमित भई विज्ञानको बुद्धिबाट वञ्चित हुन्छन्) भने अर्कोतिर विज्ञानातीत शास्त्रहरूको अपव्याख्या हुन्छ । अर्कोतिर, धर्मशास्त्र पढ्ने त के, पुस्तकको आवरणपृष्ठ नै नदेखेकाले तिनीहरूमा यस्तो छ / उस्तो छ भनेर गफ दिएको देख्दा / सुन्दा हास्यास्पद लाग्छ ।
विज्ञान (Science) लाई विज्ञानकै पद्धति, विधि, प्रक्रिया अनुसार बुझ्नुपर्छ । विज्ञान र धर्मको अन्तरसम्बन्ध पनि सम्मेयतापूर्वक जान्नु पर्छ । धर्मको दायरामा स्थूल, सूक्ष्म र कारण जगत् सबै पर्छन्, धर्मभित्र आधिभौतिक, आधिदैविक र आध्यात्मिक सबै समावेश छन्, धर्मले अर्थ, काम र मोक्ष सबै दिन्छ । यता विज्ञानको हालसम्मको दायरा स्थूल र सूक्ष्म जगत् हो, आधिभौतिक र आधिदैविक (मानसिक) हो, अर्थ र काम हो । धर्म त्रिआयामी हो भने विज्ञान द्विआयामी छ हालसम्म ।
आफ्नो दायरामा विज्ञान सबैभन्दा प्रामाणिक एवं विश्वसनीय छ । विज्ञानमा प्रामाणिकता-परीक्षण (Falsification/Verification) जहिल्यै खुला रहेको हुनाले विज्ञानको बाटो उपयुक्त छ । विज्ञानलाई जबर्जस्ती अपव्याख्या गर्नु मानव समाजविरुद्धको अपराध हो । विज्ञानको निन्दा गर्नु वा जनमानसलाई विज्ञानबाट विमुख गराउन खोज्नु अहितकर हो ।
धार्मिक-सांस्कृतिक भावनालाई विज्ञानको चास्नी समेत लगाएर दोहन गर्न पल्केकाहरू बढेका छन् । वेद, उपनिषद्, स्मृतिग्रन्थ, पुराण, रामायण, महाभारत, बौद्ध त्रिपिटक तथा जातक ग्रन्थ, मुन्धुम/मुन्दुम वा अन्य प्राचीन ग्रन्थहरूका भौतिक र मानसिक विषयवस्तुलाई अवश्य विज्ञानसँग तुलनात्मक अन्वेषण गर्न सकिन्छ, तर यसरी तुलनात्मक अन्वेषण गर्ने हो भने प्रामाणिकता-परीक्षण (Falsification/Verification) का लागि इमानदारीपूर्वक तत्पर रहनुपर्छ । पुराना ग्रन्थमा लेखिएका कुरा अप्रामाणिक ठहरिए तुरुन्तै त्याग्न तयार हुनुपर्छ । आफ्नो सम्प्रदायका अप्रामाणिक कथनलाई कुतर्कले विज्ञानको जलप लगाउने नियतले बेप्रसङ्ग विज्ञान विज्ञान विज्ञान प्रलाप गरिरहने व्यक्ति त धूर्त हो ।
मुख्य मननीय तथ्य चाहिँ यो हो :- आध्यात्मिक सवालहरूमा रङ्ग न ढङ्गसँग विज्ञान जोड्नु असम्मेयता हो । (अधिभूत, अधिदैव र अध्यात्मको सातत्य सम्बन्ध भएको हुनाले अन्त:सम्बद्धता पनि छ र पृथकता पनि छ । धर्म र विज्ञानको पनि सातत्य सम्बन्ध छ । भौतिक र मानसिक पाटोमा धर्म र विज्ञानको अन्तःसम्बद्धता छ, तर धर्मको तेस्रो आयाम - अध्यात्म र विज्ञानको कुनै अन्तःसम्बद्धता स्थापित गर्ने पद्धति, विधि, उपकरण उपलब्ध छैनन् ।)
तसर्थ पुराना ग्रन्थका आध्यात्मिक सन्दर्भमा व्याख्या गर्दा असान्दर्भिक, असम्मेय, मूर्खतापूर्ण तरिकाले विज्ञानसँग जोड्नु कुनै प्रशंसायोग्य क्रियाकलाप होइन । त्यस्तो प्रवृत्ति विज्ञान र पुराना शास्त्र दुइटैमाथि अवाञ्छित अतिक्रमण हो । धर्म र विज्ञानको अन्तरसम्बन्ध जान्न सातत्य दृष्टिकोण एवं सम्मेयता गुण चाहिन्छ ।
निर्मलमणि अधिकारी
(२०८१.०४.१९)