Wednesday, March 29, 2023

 

सञ्चारयोग त्रैमासिकको तेस्रो अंकमा प्रकाशित अन्तर्वार्ता

 २०७६ सालमा सञ्चारयोग त्रैमासिकको तेस्रो अंकमा प्रकाशित अन्तर्वार्ता

(प्रस्तोता :- बलराम प्रजापति र बिना अधिकारी वाग्ले)


हामीसँग भेट हुने धेरै मानिसहरु तपाइँको शिक्षा, पढाइलेखाइ बारे धेरै जिज्ञासा राख्छन् । यति धेरै ज्ञान कहाँबाट पाउनु भयो होला भन्ने प्रश्न जहिले पनि आइरहेको हुन्छ ।

कति धेरै ज्ञान भन्ने त कसरी मापन गर्ने र । सम्मान भाव भएपछि कस्तो हुन्छ भने मलाई पनि हाम्रा पिताजीलाई ज्ञान नभएको त कुनै कुरा नै छैन होला जस्तो लाग्थ्यो । तर, सबैजनाले संसारका सबै कुरा सिक्न, बुझ्न, जान्नलाई त यो जीवनको आयु नै अपर्याप्त छ । सकेसम्म धेरै विधा वा विषयवस्तुको जानकारी र कम्तीमा एउटा विधाको विशेषज्ञता हुनु पर्छ भन्ठान्छु । अनेक विधाको विज्ञ बन्न सक्नु त झन् राम्रो ।
ज्यादै सानो उमेरदेखि पिताजीको पछि लाग्ने, पिताजी वा दाइसँग जिज्ञासा राखेको राख्यै गर्ने एवं भेटेजति मानिसहरुसँग सम्वाद गर्ने र पाएजति पुस्तक पढिहाल्ने बानीले सूचनाका समृद्ध स्रोतसँग जोडिन पाएँ । वैदिक ऋषिको वंश परम्परामा जन्मेको र सोही परम्पराको ज्ञान पद्धतिको उत्तराधिकारी भएकाले पनि सहज भयो ।
मेरो औपचारिक अक्षरारम्भ नहुँदै, पिताजीले पाठ गर्नु भएको सुनेर कवच, कीलक र अर्गला स्तोत्र कण्ठस्थ भएको देखेर पिताजी निकै प्रसन्न हुनु भएको आजै जस्तो लाग्छ । छापा अक्षर पढ्न सक्ने भएपछि त पुस्तक राख्ने दराजको तालाचाबी नै हात परिहाल्यो ।
पिताजीको संकलनमा गीता प्रेस (गोरखपुर, भारत) र अन्य प्रकाशनका पुस्तकहरुको भण्डार थियो । वेद, उपनिषद्, दर्शन, स्मृति ग्रन्थहरु, पुराण, महाभारत, रामायण, कल्याणका विशेषांकहरु र नियमित अंकहरु पढ्न घरमै पाएँ । बुद्ध, बौद्ध दर्शन र बुद्धकालीन इतिहासबारेका पुस्तकहरु पनि हाम्रो घरमा भएकाले सानै उमेरमा पढ्न पाएँ । दाइको संकलनमा कविता, कथा, उपन्यास लगायतका विधाका पुस्तकहरु थिए । आधुनिक साहित्य, दर्शन, विज्ञान आदिबारे पढ्ने मौका पनि घरमै मिलेको थियो केही हदसम्म । थर्पु बजारमा एउटा पुस्तकालय सञ्चालनमा आएको थियो (प्राथमिक शिक्षा परियोजनाको जस्तो लाग्छ) । म पढ्ने विद्यालय (श्री मीन मा.वि.) परिसरको पुस्तकालय अव्यवस्थित थियो, तर रसिया, चीन र उत्तर कोरियाको स्रोतबाट प्रकाशित पुस्तकहरु पढ्न पाइन्थ्यो । जन्मथलोमा रहँदा मेरा बालक र किशोर अवस्थामै चार भाषा (नेपाली, हिन्दी, संस्कृत र अंग्रेजी भाषा) मा पढ्न पाउनु, त्यो पनि हजारौँ संख्यामा पुस्तकहरु पढ्न पाउनु ठूलै सौभाग्य थियो ।
आई.एस्सी. पढ्न पोखरा गएपछि पृथ्वीनारायण क्याम्पस, सिद्धार्थ पुस्तकालय र नगर पुस्तकालयमा पहुँच भयो । पृथ्वीनारायण क्याम्पसको पुस्तकालयमा विज्ञान, साहित्य, संस्कृति, इतिहास, भूगोल जस्ता विधाका पुस्तकहरु मेरो रुचीभित्रका थिए । सिद्धार्थ पुस्तकालयमा ओशोका पुस्तकहरु ठूलो संख्यामा थिए । नगर पुस्तकालयमा नियमित पढ्न पाइने पत्रपत्रिकाको संख्या धेरै थियो । उक्त तीनवटा पुस्तकालयमा नपाइएका पुस्तकहरु भाडामा लिएर पढ्ने गरिन्थ्यो । निश्चित रकम (डिपोजिट् भनिन्थ्यो) पसलेलाई दिएपछि रु. ५ मा एउटा पुस्तक डेरामा लगेर पढी फर्काउन पाइन्थ्यो । अति छिटो पढ्ने भएकाले गाउँ (तनहुँ) र पोखरा (कास्की) मा रहँदासम्म पाठ्य सामग्री जति भेटियो, ती मसँग उपलब्ध समय कटाउन अपर्याप्त नै हुन्थे । कति हजार पुस्तक पढेँ भनेर एक एक गणना त गरिएन, तर पुस्तकको मुखपृष्ठ र शीर्षक देख्दा पढौँ जस्तो लागेका जुनकुनै पनि पुस्तक पढेरै छोड्ने प्रवृत्ति थियो ।
वि.सं. २०५७ मा एम.एस्सी. पढ्न त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा भर्ना भएर कीर्तिपुर बस्न थालेपछि बल्ल कति धेरै पुस्तक र अन्य पाठ्य सामग्री देख्न पाइयो अनि देखेर आकर्षित भइएका सबै पुस्तक पढ्न नसक्ने अवस्था आयो । काठमाडौँ आएपछि के पढौँ, के पढौँ भनेर खोज्नमा समय खासै लगाउनु नपर्ने, सजिलै पाठ्यसामग्रीहरु प्राप्त हुने अवस्था आयो । त्रि.वि. पुस्तकालय (कीर्तिपुर), नेपाल भारत पुस्तकालय (आर.एन.ए.सी.), केशर पुस्तकालय, राष्ट्रिय पुस्तकालय, इन्सेकको मानवअधिकार पुस्तकालय आदिमा पहुँच भयो । साथै, पुस्तकहरु आदानप्रदान गरी पढ्ने साथी समूह पनि कीर्तिपुर र काठमाडौँमा पनि बनेको थियो ।
जागिर भनिने नियमित आय स्रोत र आफू स्वयंले लेखेका पुस्तकहरुको लेखकस्व पनि आउन थालेपछि त आफ्नै क्रयशक्ति पनि बढ्यो । मन परेका कैयौँ पुस्तक किन्न सहज भयो । काठमाडौँ विश्वविद्यालयमा प्रवेश गरेपछि त्यहाँको पुस्तकालय पनि पहुँचमा रहने नै भयो । समयक्रममा अनलाइन स्रोतमा पहुँच बढ्दै जाँदा डिजिटल पाठ्यसामग्री पनि निकै पढ्न पाइयो ।
गाउँ (तनहुँ) र पोखरा रहँदासम्म नेपाली र हिन्दी भाषाका पाठ्यसामग्री अत्यधिक् र केही मात्रामा संस्कृत भाषाका पढ्न पाइएको थियो र काठमाडौँ आएपछि अंग्रेजी भाषामा पठनपाठन गर्नु पर्ने अवस्था बढी भयो । बहुभाषिक पठनपाठनको ठूलो फाइदा मैले आफ्नै जीवनमा अनुभव गर्न पाएको छु ।
औपचारिक शिक्षा नै बहुविधात्मक भएकाले लेखपढको दायरा बृहत्तर बनाउन थप अनुकूल परिस्थिति बन्यो । बहुविधात्मक, बहुसांस्कृतिक, बहुप्रतिमानात्मक पठनपाठनको अवसर पाएको हुनाले बोलाइ र लेखाइमा त्यो देखिएको हुन सक्छ ।

तपाइँको औपचारिक शिक्षा बहुविधात्मक भएको प्रसंग आयो । योबारे थप बताइदिनुहोस् ।
तनहुँ जिल्ला, तत्कालीलन छाङ् गाउँ पञ्चायत (बहुदल आएपछि छाङ् गा.वि.स. र अचेल म्याग्दे गाउँपालिका), थर्पु बजारस्थित श्री मीन मा.वि.मा १० कक्षासम्म पढेपछि पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा आई.एस्सी. र बी.एस्सी. पढेँ । त्यो एस.एल.सी.मा प्रथम श्रेणीमा उत्तीर्ण हुनु ठूलो कुरा मानिने समय थियो र प्रथम श्रेणी ल्याएकाले पढ्ने त विज्ञान नै हो भन्ठान्ने प्रचलन थियो । विज्ञानको त्यो औपचारिक पठनपाठनले आजसम्म पनि मलाई फाइदा भएको छ ।
काठमाडौँ आएको एम.एस्सी. पढ्ने उद्देश्यले थियो । तसर्थ, त्रिभुवन विश्वविद्यालय (कीर्तिपुर) मा वि.सं. २०५७ मा एम.एस्सी. भर्ना भइयो । एम.ए. (आमसञ्चार र पत्रकारिता) गरेको पूर्वाञ्चल विश्वविद्यालयबाट र एम.फिल्. (अंग्रेजी) गरेको पोखरा विश्वविद्यालयबाट हो । विद्यावारिधि (पीएच.डी.) गरेको नेपाल संस्कृत विश्वविद्यालयबाट हो ।
भौतिक विज्ञान, तथ्यांकशास्त्र, समाज विज्ञान, मानविकी, साहित्य, दर्शनशास्त्र, अध्यात्म आदि अनेकौँ विधाहरुका साथसाथै प्राविधिक विषयवस्तुलाई पनि औपचारिक शिक्षाका क्रममै अध्ययन, अन्वेषण, परिशीलन गर्न पाउनु सौभाग्य नै हो । यो सबै पृष्ठभूमिका कारणले बहुविधात्मकता मेरो औपचारिक शिक्षाको स्वाभाविक विशेषता रह्यो । लेख्दा वा बोल्दा आवश्यक पर्ने तथ्य, तथ्यांक, उदाहरणका लागि स्रोत वा भण्डारको बहुलता हुनु पक्कै पनि बौद्धिक समृद्धिका लागि अनुकूल हो । त्यो अनुकूल परिस्थिति बनाउन अहिलेको युगमा सजिलो छ ।

कुनै बेला तपाइँ पीएच.डी. गर्नका लागि हार्वर्ड विश्वविद्यालय जाने भनेर अंग्रेजी र जर्मन भाषाको समेत टेस्ट् पूरा गरिसक्नु भएको हामीले सुनेका थियौँ । तर तपाइँले पीएच.डी. नेपाल संस्कृत विश्वविद्यालयबाट गर्नु भयो । किन ?
पिताजी पं. रुद्रमणि अधिकारी र कविवर भानुभक्त पोखरेललाई मैले दिएको वचन अनुसार मेरो शरीरले ५० वर्ष उमेर पूरा गरेपछि मात्र महाअभियान प्रारम्भ गर्ने सुरुको योजना थियो । त्यो योजना अनुसार मसँग पाँच सात वर्ष विदेशमा बस्नका लागि पनि समय पुग्थ्यो । मलाई स्नेह गर्ने विदेशी प्राध्यापकहरुले युनिभर्सिटी अफ् लिभरपुल, युनिभर्सिटी अफ् टोरन्टो, हवाइ युनिभर्सिटी र हार्वर्डमा पहुँच पुर्याएका थिए । भारतीय र चिनीया विश्वविद्यालयबाट पनि प्रस्ताव थियो, तर अमेरिका नै पहिलो प्राथमिकतामा राख्नु पर्छ भन्ने विशेष आग्रह थियो । तर नेपालको परिस्थिति कसरी बिग्रिँदै गयो भने मैले महाअभियानलाई योजना गरेको भन्दा करिब ११ वर्ष पहिल्यै प्रारम्भ गर्नु पर्ने भयो । महाअभियानको तयारी मुख्य कर्तव्य ठानियो । तसर्थ विदेश गएर बस्ने समय नपुग्ने भयो । सबै भन्दा छिटो (कम समयमा) पीएच.डी. सक्ने सम्भावना नेपाल संस्कृत विश्वविद्यालयमा देखेकाले हो । सोधपुछ गर्दा झन् थोरै समयमा सक्न पाइने विश्वविद्यालय पाएको भए म त्यो विश्वविद्यालयबाट गर्थेँ होला । जे भयो, निकै राम्रो भयो । मेरो पीएच.डी.को मुख्य शोध अन्तर्वस्तु वैदिक परम्पराको मीमांसा दर्शन हो र यो विषयवस्तुका लागि नेपाल संस्कृत विश्वविद्यालय उपयुक्त संस्था हो ।
पीएच.डी. सक्नासाथ माखनलाल चतुर्वेदी विश्वविद्यालय (भारत) ले भरतमुनि चेयर रिसर्च फेलोशिप प्रदान गर्यो, जसका लागि मैले नेपालमै रहेर मात्र कार्य गर्न शर्त राखेको थिएँ । उनीहरुले माने । सोही अनुसार नेपालमै बसेर कार्य सम्पन्न गरियो ।

विदेशका प्रतिष्ठित विश्वविद्यालयहरुले पूर्णकालीन प्राध्यापक, अनुसन्धानविद्, थिंक्ट्यांक जस्ता ज्यादै आकर्षक जागिरका लागि निम्ता गर्दा पनि नगएर नेपालमै बस्नु भएको छ । विदेशका पत्रपत्रिकामा तपाइँबारे प्रकाशित समाचार पढेर पनि थाहा पाइन्छकि कतिपय राष्ट्रका त सरकार प्रमुखकै तहबाट पनि तपाइँलाई विशेष अनुरोध आएका छन् र ती देशका उच्च संस्थाहरुले तपाइँको अनुसन्धान, सिद्धान्तलाई पढाउन विशेष कोर्स नै डिजाइन गरेका थिए । त्यति ठूल्ठूला अवसरलाई पनि त्याग्न सक्ने त्याग शक्तिको रहस्य के हो ?
रहस्य नै भन्नु पर्ने केही छैन । थाहा नभएको वा लुकाउनु पर्ने कुरा भए पो रहस्य हुँदो हो । मेरो निर्णयको कारण स्पष्ट छ । नेपालभित्रै रहेर कार्यरत हुन पूरा समय मिलाउने निश्चयका कारणले विदेशका प्रस्तावले आकर्षण नगरेका हुन् ।
जरो किलो महाअभियान वि.सं. २०७२ मा प्रारम्भ गरेपछि महाअभियानको क्रियाकलापसँग नजोडिएका तथा मलाई महाअभियानको जिम्मेवारी पूरा गर्न रोक्ने कुनै पनि अवसरलाई नलिइएको हो । महाअभियान सुरु नहुँदैको अवस्थामा भएको भए स्वीकार गरिन्थ्यो होला । अब जे गर्ने हो, वैश्विक तहको कार्य गर्दा पनि नेपालमै केन्द्र बनाएर गर्ने हो ।
स्वदेशमै बसेर कार्य गर्ने वा विदेश जाने भन्ने निर्णय विभिन्न कारणले हुन्छन् । म स्वदेशमा बसेँ, अरु कोही कुनै कारणवश विदेश पुगे । विदेश गएकाहरुले त्यहीँबाट पनि नेपालीजन र सारा संसारकै हित हुने कार्य गर्न सक्छन् । नेपालमै बसेर नेपाली एवं नेपालीजन र सारा मानव समाजलाई घात गर्नेहरु पनि छन् । जहाँ भएपनि सत्कर्म गरौँ । कर्म गर्नु, कर्तव्य पूरा हुनु प्राथमिक हो ।

केही दिन पहिले तपाइँका दुइटा पुस्तक लोकार्पित भए ः सञ्चार सिद्धान्तीकरण र वेदको सामान्यज्ञान । करिब ६ महिना पहिले तपाइँको पुस्तक सहृदयता दर्शनको प्राक्कथन लोकार्पित भएको थियो । हामीलाई थाहा भएअनुसार, ४३ वर्षको उमेरमा ४६ वटा पुस्तक, अनुसन्धान लेख ७५ वटा तथा फुट्कर लेख, रचना, टिप्पणी त २ हजार ६ सयको संख्यामा प्रकाशित छन् । थप केही पुस्तकहरु चाँडै नै प्रकाशित हुनेवाला छन् । तपाइँका करिब २ सय वटा भिडियोहरु युट्युबमा उपलब्ध छन् । अनुसन्धान परियोजनामा नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय तहमा समेत नेतृत्त्व गर्नु भएको छ । अनुसन्धान गर्नु, गराउनु र प्रतिवेदन लेख्नु जस्ता जिम्मेवारीमा पनि निकै समय लाग्छ । विश्वविद्यालयमा प्राध्यापक हुनुन्छ, जुन जागिरका लागि त झन् दिनको धेरै घण्टा बितेको हुन्छ । अहिले तपाइँका तत्त्वावधानमा १० वटा त संस्थाहरु सञ्चालनमा छन्, जसका गतिविधिमा पक्कै पनि समय दिनै पर्ने हुन्छ । अनेकौँ सार्वजनिक कार्यक्रमहरु, गोष्ठी, सभा, सत्संगमा पनि उपस्थित हुनु भएको देखिन्छ । देश र विदेशको भ्रमणमा पनि समय गएको छ । यत्रो व्यस्ततामा कतै अस्तव्यस्तता देखिँदैन । तपाइँको समयनिष्ठता ९उगलअतगबष्तिथ० त प्रसिद्धै छ । यत्रो कामकाजका लागि समय व्यवस्थापन भइरहेछचाहिँ कसरी ? दिनमा जम्मा २४ घण्टा नै त हो हुने ।
हो, हामी सबैलाई उपलब्ध समय दैनिक २४ घण्टा मात्रै हो । जे जति गर्ने हो, यही समयमै हो । त्यो पनि शरीर स्वस्थ रहुन्जेल । वैदिक परम्पराको मीमांसा दर्शनले कर्मको जुन पद्धति विकास गरेको छ, त्यो पद्धतिको अवलम्बन मुख्य आधार हो, जसले मेरो दृष्टिकोण, क्रियाकलाप एवं दिनचर्या व्यवस्थित हुन सकेको छ । नियमित ध्यान, मन्त्र जप, विशेष अनुष्ठान र साधना उपर्युक्त पद्धतिका प्राथमिक तत्त्वहरु हुन् । साथै, उचित प्रकारको खानपिन र व्यायाम पनि निर्णायक तत्त्व नै हुन् । समय सदुपयोगको वैज्ञानिक पद्धतिमा यो पनि आवश्यक छकि आफ्नो जिम्मेवारी अनुसार प्राथमिकता निर्धारण गरी सो प्राथमिकता क्षेत्रमा नपरेका कुरामा नअल्मलिइयोस् । आफू स्वयंलाई चिन्ने, आफ्नो कर्तव्य थाहा पाउने, कर्म गर्न कृतसंकल्प हुने र कर्ममा रमाउने बानी बस्यो भने उपलब्ध थोरै समयमा पनि अधिकतम् कार्य गर्न सकिन्छ । अधिकतर मानिसहरुले कर्म (जिम्मेवारी) र मनोरञ्जनलाई अलग अलग मान्ने हुनाले कर्मलाई बोझ मान्छन्, तसर्थ धेरै कार्य गर्न नसकेर छिट्टै थाक्छन्, तर हामी मीमांसा दर्शनको कर्म पद्धतिलाई क्रियान्वयन गर्नेहरुले प्रत्येक कर्म (जिम्मेवारी) बाटै आनन्द प्राप्त गर्ने हुनाले मनोरञ्जनका लागि छुट्टै समय लगाइरहनु पर्दैन, तसर्थ सामान्यतया पनि अरुको तुलनामा दोब्बर वा झन् धेरै परिमाण हुनु स्वाभाविकै हुन्छ । सारमा, विज्ञान र धर्मको समन्वयबाट निर्मित जीवन पद्धति बाँचिरहेको हुनाले अहिलेसम्म जे जति गर्न सकेँ, त्यो गर्न सकेको हो ।

सम्प्रति तपाइँ काठमाडौँ विश्वविद्यालयमा सहप्राध्यापक हुनुहुन्छ । विगतमा धार्मिक पुरोहित, माध्यमिक विद्यालयको शिक्षक, उच्च मा.वि.को अध्यापक, पत्रकार (रिपोर्टर, कपि एडिटर, फिचर एडिटर, न्यूज एडिटर, सम्पादक), अनुवादक, इन्टरप्रेटर, ट्रान्सक्राइबर, प्रुफरिडर, मानवअधिकार प्रलेख अधिकृत, तथ्यांक संकलक, तथ्यांक विश्लेषक, प्रशिक्षक, परियोजना कन्सल्टेन्ट्, परामर्शदाता, अनुसन्धान निर्देशक र अन्य पनि धेरै कार्यानुभव तपाइँको रहेको छ । यो सब जिविकोपार्जनको खोजीका क्रममा भएको हो वा कुनै योजनाबद्ध रोजाइ हो ?
जिविकोपार्जनको खोजीका क्रममा होइन किनभने आजसम्म कुनै पनि जागिर वा अल्पकालीन जिम्मेवारी (जस्तै ः प्रशिक्षण, अनुसन्धान, परामर्श, कन्सल्टेन्सी आदि) म आफैले खोजी खोजी गरेको भन्दा पनि सम्बन्धित व्यक्ति वा संस्थाको अनुरोधमा गरिएको नै छ । कतिपय कार्य आफ्नो जन्म, वंशपरम्परासँग जोडिएको हुनाले कर्तव्य मानेर गरिएको पनि छ । कतिपय कार्य आफू आबद्ध संस्थाको कार्यक्षेत्रका कारणले जिम्मेवारीमा पर्न आएर गरिएको हो । कतिपय कार्य चाहिँ कुनै विषयवस्तु वा विधामा कार्यानुभव सहितको ज्ञान लिनु वाञ्छनीय ठानेर गरियो । तसर्थ, कर्मपथमा अघि बढ्दै जाँदा स्वतः आइपरेका कार्य, जिम्मेवारी गर्दै आइएको हो भन्नु पर्छ ।

वर्तमान नेपालको खास समस्या कपूतन्त्र हो भनेर तपाइँले बारम्बार भन्नु भएको छ । तर तपाइँको पेशागत जीवनमा धेरै समय कपूतन्त्रकै अनुयायीहरुसँग सहकार्य गर्नु भएको देखिन्छ । मदन भण्डारी मेमोरियल कलेजमा तपाइँले सात वर्ष लामो अवधि पढाउनु भयो । पासांग ल्हामु मेमोरियल कलेजमा पनि तपाइँले करिब दुई वर्षसम्म पढाउनु भयो । इन्सेकमा करिब दुई वर्ष कार्य गर्नु भयो । अनेकौँ एन.जी.ओ., आई.एन.जी.ओ. र यु.एन. एजेन्सी समेत तपाइँको विज्ञताबाट लाभान्वित भए । यसरी धेरैजसो कम्युनिस्ट भनिनेहरुसँग र कतिपय कार्यमा कांग्रेस वा प्रजातन्त्रवादी भनिनेहरुसँग तपाइँको पेशागत गतिविधि जोडिएको देखिन्छ । जोसँग विचारै मिल्दैन, तिनीहरुसँग सहकार्य गर्न असहज हुँदैन ?
पहिलो त, मेरो स्वाभाविक प्रवृत्ति गुणग्राही र समन्वयकारी भएको हुनाले मसँग भेट, कुराकानी, सहकार्य गर्ने मानिसहरु जुनसुकै पृष्ठभूमिका भएतापनि सहज मससुस गर्छन् । सहृदयता दर्शन मान्ने व्यक्ति भएको हुनाले म कसैलाई पनि घृणा गर्दिनँ । जोसँग जहाँसम्म सँगसँगै जान सकिन्छ, त्यो सीमासम्म समन्वय र सहकार्य गर्ने मेरो पद्धति छ । अरुले आक्रमण गरेको अवस्थामा निराकरणका लागि उपाय गर्ने मात्र हो, सामान्यतया मेरो प्रवृत्ति सर्वेषाम अविरोधेन कार्य गर्ने नै हो । जात नसोध्नू जोगीको भन्ने नेपाली उखानको तात्पर्य बडो घत लाग्दो छ ।
अर्को कुरा, म जहाँ जहाँ कार्यरत रहेँ, त्यहाँ मलाई पूर्ण प्राज्ञिक, बौद्धिक, क्रियात्मक स्वतन्त्रता थियो । मेरो विचार उनीहरुसँग मिल्दैन भन्ने पूरा जानकारी हुँदाहुँदै पनि कुनै कार्यविशेषका लागि मेरो विज्ञता चाहिएको हुनाले उनीहरुले मसँग सहकार्य गर्न चाहेका थिए । कुनै खास परियोजना वा क्रियाकलापका लागि मात्र सहकार्य भएको हुनाले बृहत्तर वैचारिक प्रतिस्पर्धा, मनोमालिन्य, द्वन्द्व हुने अवस्था आएन । कतिपय संस्थाहरुले मेरो सहजताका लागि आफ्ना संरचना तथा नियममा परिवर्तन समेत गरेका थिए । ती संस्थाका व्यक्तिहरुको राजनीतिक पार्टीगत आबद्धता जता भएतापनि उनीहरुले मलाई गरेका व्यवहार बडो राम्रो रहेको थियो ।
सबै भन्दा महत्त्वपूर्ण कुरा, हामीले आफ्नो समाजमा, देशमा, छरछिमेकमा वा संसारमा जस्ता खालका मानिस छन्, उनीहरुसँग नै सहकार्य गर्ने हो । चन्द्रमाबाट वा मंगलग्रहबाट कसैलाई निम्त्याएर गर्ने त होइन । आजको नेपालमा कम्युनिस्ट, कांग्रेस, राप्रपा, राजावादी, मधेशवादी, पहिचानवादी, वैकल्पिक वा केही नामका ट्रेडमार्कका सदस्यहरु नै जताततै छन् र तिनीहरु नै भेटिने हुन् । मेरो पेशागत कार्यहरु सुरु हुँदाको समयमा जो भेटिए, उनीहरुसँगै सहकार्य भयो ।
करिब १३ वर्षदेखि म कार्यरत रहेको संस्था हो काठमाडौँ विश्वविद्यालय । यहाँ पनि अनेक विचारधाराका मानिसहरु छन्, तर मैले सात वर्ष अध्यापन गरेको मदन भण्डारी मेमोरियल कलेज जस्तो संस्थाको नाम भन्नासाथ एक निश्चित खालको मताग्रह आधारित छवि भएको संस्था काठमाडौँ विश्वविद्यालय होइन । विश्वविद्यालयमा त झन् धेरै प्राज्ञिक, बौद्धिक, क्रियात्मक स्वतन्त्रता हुन्छ । हाम्रो प्राज्ञिक, शैक्षणिक कार्यमा विचारधाराका कारणले द्वन्द्व नआओस् भनेर सबै सचेत हुन्छौँ जस्तो लाग्छ ।
हालसालैका वर्षमा चाल, चरित्र, विचार, व्यवहार सबै मिल्नेहरुसँगको सहकार्य बढ्दो छ । हामी जरो किलो परिवारलाई विस्तार गरिरहेका छौँ र भविष्यमा ठूलो जनसमुदाय यो परिवारमा समावेश हुनेछन् ।

खाने कुरा, पिउने कुरा, पहिरिने लुगाका कुरा कत्तिको महत्त्वपूर्ण हुन् ? योबारे तपाइँको केही सुझाव वा सन्देश छ कि ?
अति महत्त्वपूर्ण हुन् नि । व्यक्तिको चाल, चरित्र, व्यवहारको निर्माणमा खाने कुरा, पिउने कुरा, पहिरिने कुरा, बासस्थान, कुराकानी, संगत आदिको निर्णायक प्रभाव हुन्छ । उपभोक्तावादी व्यक्ति लोभी, भ्रष्ट, अपराधी हुने सम्भावना ज्यादै बढी हुन्छ । जसको खानपिन सात्विक छ, पहिरन सादा छ, बासस्थान सामान्य छ, कुराकानीका विषयवस्तु सकारात्मक छन् र जसको संगत पनि सज्जनहरुसँग छ, त्यो व्यक्तिको प्रवृत्ति नै उपकारी, गुणी, समन्वयकारी, सहृदयी हुने सम्भावना बढी हुन्छ । के कस्तो खाने, के कस्तो पिउने, के कस्तो पहिरिने आदि निर्णय व्यक्तिको स्वतन्त्रताभित्र पर्ने भएको हुनाले उपदेश वा आदेश त मैले गर्ने गरेको छैनँ, तथापि हितकारी वस्तुहरु मात्र उपभोग गरियून् र उपभोक्तावादी प्रवृत्तिले कसैलाई ग्रसित नपारे हुन्थ्यो भन्ने चाहिँ लाग्छ ।
साथै, गुरुको मार्गनिर्देशनमा प्राणायाम, सामान्य ध्यान, योग, मन्त्र जप र अजपा ध्यान गर्नु सबैका लागि राम्रो हो । पुनः जोड दिन्छुकि उक्त प्रक्रियामा गुरुको प्रत्यक्ष मार्गनिर्देशन आवश्यक हुन्छ । स्वाध्याय, पैदल भ्रमण र प्रशस्त पानीको सेवन गर्न पनि सुझाव दिन्छु ।

हामीले देखेको र याद गरेको कुरा, तपाइँले कहिल्यै पनि खाना थपेको देखिएको छैन । खाना घटाएको त देखिएको छ, तर जति थोरै दिइएको अवस्थामा पनि कहिल्यै खाना नथप्नुको पनि केही रहस्य छ कि ?
नियम बनाउने भनेर, विशेष प्रयत्न गरी गरी यस्तो गरेको होइन । तर हाम्रा पिताजीले आहारविहारबारे बारम्बार भन्ने कुराले प्रभाव पारेको पक्कै हो । पिताजी भन्नुहुन्थ्योकि मानिसको पेटको एक चौथाइ भाग पानीले, अर्को एक चौथाइ भाग कन्दमूल, फलफूल आदिले र अर्को एक चौथाइ भाग अन्न, गेडागुडी, सागपात आदिले भर्नु र बाँकी एक चौथाइ भाग चाहिँ खाली रहनु राम्रो हुन्छ ।
हाम्री आमाले बताउनु भए अनुसार, शिशु अवस्थादेखि नै खाना र निद्रा अत्यल्प (थोरै) ले पुग्ने, खानेकुराका लागि कहिल्यै नपिरोल्ने, खान बोलाउन बिर्सेको अवस्थामा आफै झिकेर नखाने, आमाले दिएपछि मात्र खाने बानी थियो । कन्दमूल, फलफूल, गेडागुडी र पानी विशेष रुचाउने स्वभाव यो शरीरको रहेछ । आमा अहिले पनि भन्नु हुन्छकि तरुल, गिट्ठा, पिँडालु, आलु, मुला, गाजर, मकै, चिउरा, रोटी, केरा, मेवा आदि नै मैले रुचाउने मुख्य आहारा थियो । हाम्रो गाउँमा घर वरपर मेवा, नासपाती, शंखत्र, ज्यामिर, केरा, आँप, आरु, काफल, बँयर, बेलौती (अम्बा), उखु आदि प्रशस्त पाइने र ती फलफूलको मौसममा भात खान भन्दा ती फलफूल खान बढी मन गर्ने प्रवृत्ति बन्यो । कटहर, भुइँकटहर, लिची पनि मौसममा पाइन्थे । गेडागुडी पाइने भनेको बोडी, मस्याम, गहत, भट्ट, कुटिलकोसा आदि थिए । दूध, दही, घ्यु, मही, मह आदि पनि हाम्रा गाउँले जीवनका अभिन्न तत्त्वहरु थिए । परिवारमा सबै भन्दा धेरै मात्रामा पानी पिउने पनि उति बेलादेखि नै म रहेछु । आहारविहारको सोही स्वभाव अहिलेसम्मै रहेको हो ।
खानपिनका लागि कुनै विशेष आग्रह छैन । सात्विक गुणको जेसुकै खानेपिउने चिज प्राप्त भयो भने शरीरलाई आहारा हुन्छ । साधना बढाउँदै पानी र हावाले मात्र शरीरलाई पुग्ने बनाउनु छ ।

नेपालको परम्परागत ब्राह्मण समाज त मांसाहारी थियो । तपाइँ कसरी शाकाहारी हुनुभयो ?
देवीको पूजा शाक्त पद्धतिले, शिवको पूजा शैव पद्धतिले, विष्णुको पूजा वैष्णव पद्धतिले, मष्टको पूजा मष्ट पद्धतिले र अन्य पनि यथारितले गर्ने सनातनी, समन्वयी, उदार पद्धति नेपालको परम्परागत ब्राह्मण समाजको मौलिक स्वभाव हो । अचेल विभिन्न सम्प्रदायहरुको आगमनपछि, ती सम्प्रदायहरुको प्रतिस्पर्धा बढेको एवं कुनै निश्चित पद्धति, विधि, चलनलाई मात्र समात्ने र अरुको निन्दा गर्ने प्रवृत्ति पनि बढेको हो । सामान्यतया नेपालमा एउटै परिवारमा पनि वैविध्य रहने गरेको हो । हाम्रो परिवारमा पनि उपर्युक्त वैविध्य थियो । मेरो जन्म भगवान् शिवको आराधना, उपासना, अनुष्ठानका कारणले भएको भन्ने विश्वास हाम्रा मातापितामा रहेको हुनाले म जन्मेदेखि नै मासु तथा अन्य तामसी मानिने खाने र पिउने वस्तुहरु मेरो मुखमै नपरुन् भन्ने प्रबन्ध गरिएको रहेछ । अन्य व्यक्तिले उनीहरुका आहारविहारको स्वभाव अनुसार के खानपिन गर्छन्, त्यो निन्दाचर्चा नगर्ने, तर आफूले आफ्नो स्वभाव अनुसार नै आहारविहार गर्ने स्वभाव बन्यो ।

हामीले नै तपाइँलाई देखिरहेको पनि डेढ दशक समय भइसकेछ । त्यो बेला हामीलाई पढाउने समयमा पहिरिने लुगाहरु पनि अहिलेसम्मै लगाइरहनु भएको देखिन्छ । अरु पनि धेरै पुराना, सामान्य, सस्ता लुगा पनि लगाएर कार्यालय तथा राष्ट्रिय अन्तर्राष्ट्रिय तहका औपचारिक कार्यक्रमहरुमा समेत उपस्थित हुनु भएको देखिन्छ । अचेल त युट्युबमा तपाइँका प्रशस्त भिडियोहरु रहेका हुनाले त्यसबाट पनि देखिन्छ । विश्वविद्यालयको जागिर, अनुसन्धान परियोजनाहरुबाट आउने पारिश्रमिक, प्रशिक्षकका रुपमा पाउने पारिश्रमिक, पुस्तकबाट आउने रोयल्टी आदिलाई विचार गर्दा आर्थिक कमीले त त्यस्तो गर्नु भएको होइन जस्तो लाग्छ । यो पनि कुनै संकल्पको कारणले हो कि ?
नयाँ लुगा पनि लगाइरहेको हुन्छु नि । कुनै बेला नयाँ लुगा जुन लगाइन्छ, समय बित्दै गएपछि सोही लुगा पुरानो हुने त हो । अति कम अपवाद बेलामा बाहेक मैले आफ्नो लागि लुगा, कपडा किनेको छैनँ । सानोमा मातापिता र दाइले, पछि दाइ र दिदीहरुले र बिहेपछि श्रीमतीले दिने लुगा लगाउने गरिएको छ । बीचमा केही समय भाइ, भतिजा, आफन्त, शिष्य आदिले लुगा उपहार दिएर ती उपभोग गर्न सकस पर्ने अवस्था हुन थालेपछि मैले उपहार नदिन अनुरोध गर्नु पर्ने स्थिति समेत आयो । अहिले त्यो समस्या छैन । मेरो शरीरमा लुगा बडो टिक्छ, हत्तपत्त फाट्दैन । अति पुरानो भयो भनेर श्रीमतीजीले कुनै लुगा लुकाइदिने, त्यो लुगालाई पेलेर चट्टा आदि बनाइदिने वा नफाट्दैमा कसैलाई दान दिने कारणले कुनै लुगा भेटिनँ भने मात्र हो, नत्र जति पुरानो भएतापनि त्यो लुगा लगाइरहने बानी छ । कुनै संकल्पको कारणले भन्नु भन्दा पनि स्वभाव नै यस्तो हो भनौँ । हाम्रा पिताजीले सधैँ सन्तोषं परमं सुखम् भनिरहनु हुन्थ्यो, सोही प्रभावले होला ।
आर्थिक कमी छ वा छैन भन्ने परिप्रेक्ष्यमा पहिले, मेरो दैनिकीको धेरै समय आर्थिक उपार्जनमा व्यतीत हुने अवस्थामा, जरो किलो महाअभियान प्रारम्भ नगरिएको अवस्थासम्म र अहिलेको अवस्था एउटै होइन । अहिले मेरो दैनिकीको अति कम समय मात्र अर्थोपार्जनका लागि उपयोग हुन्छ र धेरै समय निःशुल्क (अर्थोपार्जन नहुने) कार्यमा व्यतीत हुन्छ । तसर्थ बडो मितव्ययी भएर घर व्यवहार चलाउनु पर्छ ।
वैदिक संस्कृतिमा तेन त्यक्तेन भुञ्जिथा (अर्थात्, त्यागपूर्वक् भोग गर्ने) भनिएको छ । प्रेय मार्ग (उपभोक्तावादी) होइन, श्रेय मार्ग अवलम्बन गर्नू भनेर हाम्रा ऋषि ऋषिकाहरुले उपदेश दिनु भएको छ । मेरो आहाविहार, लवाइखवाइमा सादा जीवन चरितार्थ हुन सकेको छ भने सोही श्रेय मार्ग अवलम्बन भएछ भन्ठान्छु । अमेरिका र युरोपतिर अचेल न्यूनतम् उपभोग गरौँ भन्ने अभियान चल्न थालेको छ ।

परिवारलाई समय कत्तिको दिनु हुन्छ ?
परिवारलाई दिइएको समय प्रशस्त छैन जस्तो लाग्छ । कविवर भानुभक्त पोखरेलले वि.सं. २०५४ मा मलाई नेपाली भाषा संस्कृति परिषद्को महासचिव जिम्मेवारी दिनुहुँदा २१ वर्षको मात्र थिएँ र बी.एस्सी. पढाइको प्रारम्भिक समय नै थियो । त्यो भन्दा पहिल्यै, वि.सं. २०५२ मै तरंग साहित्यिक अभियान प्रारम्भ गरिएको थियो । विवाह हुँदाको समयसम्ममा त व्यस्तता बढिसकेको थियो । सन्तान जन्मने समयसम्म पुग्दा त झन् ज्यादै कार्यबोझले च्यापेको थियो । मेरी श्रीमतीजीको भनाइ नै रहने गरेको छकि यत्रो वर्षमा एक दिन पनि फुर्सदिलो भेट्न पाइएन । आमा, श्रीमती लगायत कतिजनालाई त यो स्वाभाविक नै लाग्छ । तर कोही कोहीले परिवार, आफन्त, इष्टमित्र, साथीभाइलाई पनि समय दिनु पर्ने भनेर गुनासो गर्ने गरेको अवस्था पनि नभएको होइन । तर प्रायः सबैलाई थाहा भइसकेको छकि जिन्दगीको बाँकी रहेको अवधिको तुलनामा मैले गर्नु पर्ने कर्तव्यका सूची धेरै लामो भएकाले कर्मरत रहनु नै प्राथमिकतामा छ ।

हामी विद्यार्थी हुँदा सुन्थ्यौँ कि निर्मल सरलाई त जम्मा दुई तीन घण्टा मात्र सुतेर पुग्छ रे । पछि तपाइँको संगतमा परेपछि थाहा भयो, तपाइँ त कैयौँ रातदिन पटक्कै नसुती पनि सक्रिय रहन सक्नु हुँदो रहेछ र कामकाजको बोझ नभएको बेलामा सामान्यतया तीन घण्टाजति सुत्ने दैनिकी दशकौँसम्म रहेछ । कसरी सम्भव भयो यो ?
सुत्दै नसुती लगातार धेरै दिनसम्म कार्यरत रहन अचेल बन्द गरिसकिएको छ । अचेल म प्रत्येक दिन सुत्ने गरेको छु किनभने यो शरीरको उमेर ४० वर्ष कटेपछि शरीरको माग करिब ५ घण्टाको विश्राम रहेको छ र सोही अनुसार गरिएको छ । सुत्दै नसुती वा दिनमा दुई तीन घण्टा मात्र सुतेर कार्यरत रहन सक्ने हुनको लागि ध्यानको विशेष विधिको साधना गर्नु पर्छ । उक्त विधि गुरुको प्रत्यक्ष प्रशिक्षणबाट सिक्नु पर्छ । गुरुबाट दीक्षा नलिई र प्रत्यक्ष निगरानीमा नरही मनमौजी तरिकाले गर्न खोज्दा नकारात्मक असर पर्ने र शरीर रोगी हुने खतरा हुन्छ । समुचित खानपिन गर्ने र ध्यानको विशेष विधिको साधना गर्ने हो भने जो कोही पनि गुडाकेश (निद्रालाई जित्ने) हुन सक्छ ।

हामीसँग भेट हुँदा कतिपय व्यक्तिहरुको भनाइ रहने गरेको छकि नेपालमा तपाइँको जति कदर हुनु पर्ने हो, त्यति हुन सकेको छैन । तपाइँको आफ्नो धारणा के छ ?
सबै भन्दा प्राथमिक कुरा त, मैले जे गरिरहेको छु वा गर्न योजना बनाइरहेको छु, त्यो मेरो कर्तव्य बोधका कारणले गरिरहेको हुनाले कसैले कदर गरोस् भन्ने अपेक्षा राख्न मिल्दैन । अपेक्षा राखेर कर्म गरियो भने कर्मयोगको प्रतिकूल हुन जान्छ । वैदिक परम्पराको मीमांसा दर्शनको परिशीलनका कारणले मेरो जुन चाल, चरित्र र व्यवहार निर्माण भएको छ, त्यो आधारमा कर्म गर्नु मात्र मेरो अधिकारक्षेत्र र कर्तव्यको परिधिमा छ, अरुले कसरी लिने हुन्, त्यो त उनीहरुको अधिकारक्षेत्र र कर्तव्यको परिधिको पाटो हो ।
दोस्रो कुरा, कदर भनेर केलाई भन्ने ? सरकारी निकायबाट पुरस्कार, नियुक्ति आदि पाउने कुरा हो भने त्यो लिनेवाला छैनँ । निर्लज्ज नाफाखोर बजारतन्त्रको पुरस्कार वा उपहार पनि म लिनेवाला छैनँ । मूलधारका भनिने मिडियामा कभरेज् पाउने रुची मलाई छैन, नत्र उनीहरु त अन्तर्वार्ता लिन पाऊँ भनेर आएका आयै छन्, मैले समय दिएको छैनँ । कार्यक्रमहरुमा निमन्त्रणा कति आउँछन् कति । जानका लागि समय नै पुग्दैन ।
विश्वविद्यालय जस्तो गरिमामय संस्थामा प्राध्यापनरत छु । अनेकौँ संस्थाहरुले मार्गनिर्देशन लिइरहेका छन् । सयौँ र हजारौँ व्यक्तिहरु महाअभियानमा जोडिनु भइसक्यो । मैले हेर्दा चौतर्फी सकारात्मक पक्षकै बढोत्तरी देखिरहेछु ।

होइन, अन्तर्राष्ट्रिय प्राज्ञिक जगतमा जुन मात्रामा तपाइँको कदर भएको छ, त्यसको तुलनामा नेपालमा हुन सकेको छैन भन्ने धेरैजनाको भनाइ रहने गरेको छ ।
हुन सक्छ । नहुन पनि सक्छ । मैले तुलना गरेर हेरेको छैनँ । कदरको लागि, सम्मानको लागि, प्रशंसाको लागि, पुरस्कारको लागि होइन, कर्तव्य हो भनेर कर्मरत रहनु पर्छ भन्ने पाठ मैले पढेको हुनाले मेरो जीवनदृष्टि नै सोही अनुसारको बनेको छ । म त कर्तव्य पूरा गर्न कृतसंकल्प छु ।
मेरो लागि जीवन एउटा यज्ञ हो । तसर्थ, आहुति त जीवनको स्वाभाविक परिणति हो । म जल्दा निस्केको आगोको झिल्काले अरुहरुको जीवनमा पनि केही उज्यालो मिल्यो भने खुशी नै लाग्छ । आत्मज्ञान हुनु, कर्तव्यबोध हुनु, सत्कर्मरत रहनु खास महत्त्वको कुरा हो ।
कदर भनेर गुणग्राहीहरुले गर्ने प्रशंसा, मद्दत, सहकार्य आदि हो भने यो त पाइरहेकै छु नि । जरो किलो परिवारको विस्तार जुन गतिमा भइरहेको छ, त्यो नै प्रमाण हो कि समाजले समुचित कदर गर्ने क्रम अघि बढिसकेको छ । विचारको, सिद्धान्तको, दर्शनको आयाममा हेर्दा ज्यादै उत्साह मान्नु पर्ने गरी बढोत्तरी भइरहेको छ ।
भविष्यमा, जब सत्तासीन तथा सत्तावृत्तका व्यक्ति वा निकायहरुले मबाट उनीहरुको हालीमुहालीमा खतरा देख्नेछन्, तब ममाथि आक्रमण गर्नेछन् । नेपालभित्रैका र विदेशका पनि व्यक्ति, समूह, संगठन वा सरकारले जुन कुनै पनि बेला मेरो विरुद्धमा कदम चाल्न, गतिविधि चलाउन र आक्रमण गर्न सक्छन् । त्यो बेला हो साँच्चै प्रतिकूल अवस्था आउने । सोही बेलामा हेरौँला, स्वदेशका को को र विदेशका को को साथमा रहने हुन् ।
शारीरिक वा भौतिक पाटोमा कसैले केही गर्दिनु पर्ने अवस्था आएकै छैन । भोली यो शरीर कमजोर भएको अवस्थामा, मानौँ प्रारब्धको कुनै कारणले रोगी भएको अवस्थामा, शरीरले पाउनु पर्ने समुचित व्यवहार पाइएनछ भने त्यो बेला नै थाहा होला, नत्र आजसम्मको स्थितिमा असन्तोष मान्नु पर्ने कुनै कारण देख्दिनँ । म सन्तुष्ट, सुखी जीवन बाँचिरहेको छु । हो, मझैँ सबैले सन्तुष्ट, सुखी जीवन बाँच्न पाऊन् भनेर महाअभियानको स्थापना गर्नु परेको र थप विस्तारका लागि कृतसंकल्प हुनु परेको हो ।


Comments: Post a Comment



<< Home

This page is powered by Blogger. Isn't yours?