Wednesday, February 04, 2009

 

व्यास

स्पेसटाइम दैनिक, वर्ष २ अंक १६०, २०५८ चैत ३१ गते, शनिवार, पेज नं. ४ मा प्रकाशित
व्यासजी को हुन्, कसरी जन्मे र के-के कार्य गरेका थिए भन्ने कुराहरु त विभिन्न ग्रन्थमा यत्रतत्र छन् । हाम्रै देशको तनहुँ जिल्लास्थित दमौली (हालको व्यास नगरपालिका) नै कृष्णद्वैपायनको जन्मथलो हो । व्यासजीले भन्ने र गणेशजीले लेख्ने गरेर वेद एवं महाभारत जस्तो महान् ग्रन्थ यहीँ सिर्जित भएको हो । सेती र मादीको संगमस्थल नै हो त्यो ठाउँ - जहाँ व्यासजीले "परोपकार पुण्याय पापाय परपीडनम" को महान् मानवतावादी दर्शन मानव समुदायलाई प्रदान गरे । व्यासको जन्म-कर्म थलो नेपालमा हुनुमा सम्पूर्ण नेपालीले गर्व गर्नु पर्ने हो । तर व्यास आफ्ना सहोदर हुन् भन्ने मेसो नपाएर होकि वा "भिल्लका देशमा मणि कौडीमा मिल्केको" हो - नेपाली जनतले त्यो गर्वको अनुभूतिमा रमाउन सकेको देिखंदैन ।
व्यासको व्यक्तित्वका विविध आयाम छन् । धार्मिक हिसाबले उनको आफ्नो स्थान छँदैछ; साहित्यिक क्षेत्रमा उनको योगदान पनि हामीले बुझेनौं कि ! नत्र व्यास-पूर्णिमाका दिनमा साहित्यिक संस्थाहरुले व्यासजयन्ती मनाउँदै संस्कृत साहित्यमा -र प्रकारान्तरले नेपाली साहित्य एवं संस्कृतिमा पनि- उनको योगदान बारेमा विवेचना गर्ने थिए । एउटा साहित्यकारका रुपमा व्यासजस्ता महान् व्यक्तित्वको महत्ता बुझ्न सकेनौं भने त्यो हाम्रो कमजोरी हो । आफ्ना सहोदर एक यशस्वी सपूतलाई अँगाल्न नसक्नु हाम्रोलागि ठूलो घाटा हो ।
महान् आर्य सभ्यता वैदिक सभ्यतालाई आज विश्वभरि "भारतीय सभ्यता" भनेर चिन्ने गरेका छन् । त्यही बेला उनीहरुले बिसे्रका छन्कि हिजोको पौराणिक कालको भारत वा भारतवर्ष भनेको आजको इण्डिया मात्र होइन । तर भारत भनेर आजको इण्डियाले साराका सारा प्राचीन भारतवर्षीय उत्तराधिकार प्राप्त गरेको छ । यसबाट उसलाई ठूलो नाफा भएको र हामीलाईचाहिँ ठूलो घाटा भएको छ । नेपालका मै हूँ भन्ठान्ने विद्वान भनाउँदाहरुलाई समेत हेक्कै छैनकि त्यो महान् वैदिक आर्य सभ्यताको उत्तराधिकारी हामी पनि हौं र त्यो यशस्वी इतिहास हाम्रो पनि हो । तर त्यसमा अहिले इण्डिया र इण्डियनहरुको एकलौटी हक जमेकेा छ र त्यसो हुनुमा हाम्रो आफ्नै कमजोरी पनि छ । हामीले पहिले आफूले बुझेर अरुलाई पनि बुझाउन सक्नपर्छकि वैदिक दर्शन हाम्रै हो; उपनिषद् हामै्रमा सृजित भए; रामायण र महाभारतका अंग पनि हामी हौं र गीताको गीतमा हाम्रो पनि सुसेली छ । नेपाली जनताहरु कतिसम्म मूर्ख भएको देखियोभने आफ्नो सोझै हक लाग्ने वैदिक विरासत बारेमा पत्तो नहुने र व्यासजी हाम्रा हुन् भन्ने तथ्य पनि बिस्रने ! तब घाटा कसलाई भयो त घाटा भयो हामीलाई हाम्रो राष्ट्रलाई हाम्रो इतिहासलाई ।
विचार गरौं त, नेमुनि सम्मको इतिहास तन्केर प्राग् वैदिक कालसम्म पुग्छ र हाम्रो संस्कृतिको उद्भव मानव सृष्टिको आरम्भसँग जोडिन्छ । व्यासजी हाम्रा भन्नेमा हामी आत्म-विश्वस्त हुनासाथ हाम्रो सभ्यताको मूल त्यतैतिर पुग्छ । हामीलाई त त्यस्तो जाज्वल्यमान् अतीत हरिएर पनि अत्तोपत्तो छैन । यदि नेपाल आमाका महान् विभूति भगवान् वेदव्यासको व्यक्तित्वसँग हामी स्वपरिचित हुने हो भने त्यो घाटाको परिपूर्ति हुन्छ । एकलौटी रुपमा इण्डियाले हाम्रो समेत भाग लाग्ने इतिहास स्याहार्दा उसलाई कति फाइदा पुगेको छ र हामी कति ठगिएका छौं भन्ने विचार गर्न नसक्नेहरुको बोलवाला छ यहाँ । तर अब त माल पाएर चाल पाउनै पर्छ हामीले । हुँदैन यस्तरी बिस्रन हाम्रा व्यासजीलाई ।
व्यास जन्मस्थललाई व्यास नगरपालिका भन्दिँदैमा सरकार राजनीतिक नेतृत्व तथा जनताको दायित्व सकिएको छैन । जसरी नेपाल आमाका महान् सपूत भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा लुम्बिनी विकास कोष बनाइएको छ उसरीनै दमौली व्यासनगरमा व्यास जन्मस्थल विकास कोष वा विकास समिति हुनुपर्दछ र बुहद् गुरुयोजना बनाई कार्य गरिनु पर्दछ । त्यो भन्दापनि महत्वपूर्ण कुरो त व्यासजीलाई नेपालका राष्ट्रिय विभूति घोषित गरिनु पर्दछ । व्यास जस्ता महानतम् विभूतिलाई नेपालका राष्ट्रिय विभूति भन्नु र मान्नु सयकडा सय नै औचित्यपूर्ण छ । यस कार्यमा विलम्ब गर्नु हुँदैन । व्यासजीलाई चिन्नु र उचित सम्मान गर्नु हामीले आफैंलाई चिन्नु अर्थात् स्व-पहिचान र आफैंले उचित सम्मान पाउनु आत्म-सम्मान हो ।

Comments:
साह्रै महत्वपूर्ण कुरा उठाउनुभयो। हामी जनसाधारणबाट माथिका नीति-निर्मातासम्म धेरैलाई (अहिलेको) भारत र भारतवर्षको भेद थाहा छैन। यस्ता लेखहरुले हामी सबैमा चेतना जगाउने छन् र स्वपहिचान खोज्ने हुटहुटी जगाउनेछन्।
 
व्यास त पूर्विय सभ्यताका आधार स्तम्भ हुन। उनको बारेमा चिन्तन मनन र खोज हुनु जरुरी छ। राष्ट्रियता र धर्म भन्दा माथि उठेर
 
सटीक तर्क । पश्चिमा संस्कृतिमा समग्र तत्व भेट्ने आजका पुस्ताले पूर्वीय सभ्यताको थोरै पनि अध्ययन, त्यो पनि नसके चासो सम्म जनाउनु लाखको हुनेछ ।
निर्मलमणि सरको ब्लगको खोजी धेरै पहिलेदेखि थियो, तर ठेगाना नमिलेर निच मारेर बस्न पुगेथेँ । आज फेला पारेँ । आमनेसामने भइरहनेछ ।
 
Post a Comment



<< Home

This page is powered by Blogger. Isn't yours?