Saturday, August 03, 2024

 

धर्म र अध्यात्मको अन्तरसम्बन्ध

धर्म र अध्यात्मको अन्तरसम्बन्ध

डा. निर्मलमणि अधिकारी
भाषा तथा आमसञ्चार विभाग, काठमाडौं विश्वविद्यालय
nirmalam.adhikary@gmail.com

धर्म र अध्यात्मको अन्तरसम्बन्ध बारे कैयौँ मानिसहरू भ्रमित छन् । कैयौँले भ्रम फैलाइरहेका पनि छन् । कतिपय व्यक्तिले "म त आध्यात्मिक मान्छे हुँ, धर्मको मतलब छैन !" भन्छन् । कस्तोसम्म देखियो भने सयौँ वा हजारौँ अनुयायीका गुरु भइखाएका कतिपयले समेत "धार्मिक होइन, आध्यात्मिक बनौँ !" भनेको बोलेको देखियो । धर्म र अध्यात्म बारे त्यस्ता असम्मेयता दोषपूर्ण कथन अनुपयुक्त हुन् ।
धर्म शब्दका अनेक अर्थ छन् । संस्कृत भाषामा यसको मूल धृ धातु हो । धृको अर्थ धारण गरिने भन्ने हुन्छ । संस्कृतमा धार्यते इति धर्मः (जो धारण गरिइन्छ त्यो धर्म हो) भनिएको छ । यसको तात्पर्य हो :- व्यक्ति वा वस्तुमा सधैँ रहिरहने विशेषता, गुण वा मूल वृत्ति, प्रकृति वा स्वभाव नै धर्म हो । यसरी धर्मको मूल अर्थ धारणा, कर्तव्य, प्राकृतिक गुण, विशेषता, चरित्र आदि हुन्छ ।
धर्मले मानव जीवनका साथै सम्पूर्ण सृष्टिलाई नै नियमन गर्ने मानिन्छ । यस अनुसार, मानिसको धर्म भएजस्तै अन्य प्राणी र निर्जीव वस्तुको पनि धर्म हुन्छ । जस्तै :- अग्नि (आगो) को धर्म राप, ताप र प्रकाश हो । यसरी नै पानीको धर्म, हावाको धर्म तथा माटोको धर्म के हो भनेर विश्लेषण गर्न सकिन्छ । सृष्टिमा कुनै पनि प्राणी वा वस्तु आफ्नो विशेषताविहीन छैन, त्यसैले धर्मविहीन छैन । यसरी नै व्यक्तिको र समुदायको जस्तै समाजको पनि धर्म हुन्छ । प्रत्येक पेसाको पनि धर्म हुन्छ भन्ने मान्यता यसैअनुसार बनेको हो ।
मानवेतर प्राणी तथा निर्जीव वस्तुहरुको पनि धर्म हुने भएतापनि धर्म बारे चिन्तन गर्ने क्षमता भने तिनीहरुसँग छैन, मानिससँग मात्रै छ । मानव समाजमा धर्म बारे धेरै चिन्तन मनन भएको छ । धर्मलाई व्यक्तिले अवलम्बन गर्ने स्वाभाविक चरित्र वा गुणसँग जोडेको पाइन्छ । लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्तव्य, पुण्य कर्म, असल आचरण, सदाचार, सत्कर्म, जिम्मेवारी अनुसार निर्धारित कार्य वा व्यवहार आदिलाई पनि धर्मसँग सम्बद्ध मानिएको देखिन्छ ।
आस्तिक मानिसहरुले धर्म भनेर ईश्वरप्रति आस्था एवं शास्त्रविहित कर्मलाई मान्दछन् । आस्तिक दृष्टिकोणमा ईश्वरप्रतिको आस्था धर्मको अपरिहार्य विशेषता हो । आस्तिक मतमा धर्मका १० वटा लक्षण मानिएको छ । ती हुन् :- धृति (धैर्य), क्षमा (क्षमाशील हुनु), दम (आफ्नो वासनाहरु माथि नियन्त्रण गर्न सक्नु), अस्तेय (चोरी नगर्नु वा आफ्नो अधिकार नभएको वस्तु नलिनु), शौच (शरीर, मन एवं बुद्धिलाई शुद्ध एवं पवित्र राख्नु), इन्द्रिय निग्रह (इन्द्रियहरुलाई बसमा राख्नु), धी (बुद्धिमानी हुनु), विद्या (ज्ञान आर्जन गर्नु), सत्य (मन, वचन र कर्मबाट सत्यको पालन गर्नु) र अक्रोध (क्रोध नगर्नु) ।
धर्मको धारणा वा पालना गर्नु किन आवश्यक मानिएको हो ? धर्मको पालना गर्नाले के हुन्छ ? धर्मको धारणा वा पालनाले सबै प्राणी तथा वस्तुहरू स्वाभाविक गुणमा रहन्छन् र सृष्टि सुव्यवस्थित रहन्छ । कसैले धर्मको उल्लंघन गर्यो भने त्यसले समाजमा अव्यवस्था पैदा हुन्छ र समस्या पर्छ । धर्मविहीन समाजमा अराजकता, अन्याय तथा दुःखकष्ट बढ्ने आशंका गरिन्छ । समाजमा सुख, शान्ति, अमनचैन एवं न्यायको प्रत्याभूति गर्नका लागि धर्मको पालना अनिवार्य मानिन्छ । धर्मो रक्षति रक्षितः भन्ने कथन प्रसिद्ध छ । यसको तात्पर्य हो :- धर्मको रक्षा गर्नेलाई धर्मले पनि रक्षा गर्छ । धर्मको पालनाले सर्वहितकारी समाज व्यवस्था सुनिश्चित हुन्छ भन्ने मान्यताको कारणले धर्मको धारणा वा पालना गर्नु आवश्यक मानिएको हो । यस क्रममा आफूले अवलम्बन गरेका धार्मिक तथा सांस्कृतिक व्रिmयाकलापहरूको वैज्ञानिक पक्षहरू जान्नु पर्छ ।
व्यक्तिगत तहमा भन्नुपर्दा धर्मको पालनाले कुनै पनि व्यक्तिलाई चरित्रवान बनाउँछ । धर्मले व्यक्तिको असल व्यक्तित्व विकास गराउँछ । धर्मको अवलम्बन गर्ने व्यक्ति कर्तव्यनिष्ठ हुन्छ । धर्मले मानिसलाई आत्मविश्वासी, साहसी एवं इमान्दार बनाउँछ । धर्मको धारणा एवं पालनाले मानिसलाई अभ्युदय र निःश्रेयस प्राप्त हुन्छ । अभ्युदय भनेको यो लोकमा हुने उन्नति, प्रगति एवं समृद्धि हो । निःश्रेयस भनेको परम लक्ष्य हो । जस्तै :- मानव जीवनको परम लक्ष्य हिन्दू मान्यता अनुसार मोक्ष हो भने बौद्ध मान्यता अनुसार निर्वाण हो । धर्मको पालनाले शारीरिक, मानसिक एवं आध्यात्मिक सबै अभ्युदय हुने र परम लक्ष्यको पनि प्राप्त हुने मानिन्छ । धर्मको पालना गर्नाले मानव जीवन सुखी एवं सार्थक बन्छ ।
धर्म (Dharma) र रिलिजन (Religion) को अन्तरसम्बन्ध के हो ? शब्दको बृहत् र संकीर्ण गरी दुइ प्रकारका अर्थहरु प्रचलनमा देखिन्छन् । बृहत् रुपमा धर्मको मूल अर्थ धारणा, कर्तव्य, प्राकृतिक गुण, विशेषता, चरित्र आदि हो भनेर त मैले अघि नै बताइसकेँ । साथै धर्म शब्दलाई ईश्वरप्रति आस्था एवं शास्त्रविहित कर्मको समष्टि पद्धति तथा सम्प्रदायलाई जनाउने संज्ञाका रुपमा पनि प्रयोग गरिएको देखिन्छ । मानिसले आफूले अवलम्बन गरेका शास्त्रीय तथा सांस्कृतिक व्रिmयाकलापहरूलाई पनि धर्म अन्तर्गत वा धर्मकै अभिन्न अंगका रुपमा लिएका हुन्छन् । यसै सन्दर्भमा धर्मलाइ्र्र अंग्रेजी शब्द रिलिजनको समानार्थक मानेर पनि व्यवहारमा चलाएको अवस्था छ । अर्थात्, आस्थासँग सम्बन्धित सम्प्रदायको पहिचानका लागि पनि धर्म शब्द प्रयोगमा छ । जस्तै :- नेपालमा राष्ट्रिय जनगणना हुँदा धर्म भनेर हिन्दू, बौद्ध, इस्लाम, किरात, इसाई, बोन, जैन, शिख, प्रकृतिपूजक र बहाइ जस्ता अनेक विकल्पमध्ये कुनै एउटा रोज्न दिइन्छ । यस्तो सन्दर्भमा धर्म शब्दलाई मानिसको सम्प्रदायजन्य वा आस्थाजन्य पहिचानलाई जनाउने संज्ञाका रुपमा प्रयोग गरिएको पाइन्छ । यो धर्म शब्दको संकीर्ण अर्थ हो ।
धर्मको बृहत् वा मूल अर्थ नै लिएर विश्लेषण गर्ने हो भने त धर्मको अर्थलाई रिलिजनले बोक्न सक्दैन । धर्म शाश्वत् एवं सार्वजनीन अवधारणा देखिन्छ । रिलिजनले आस्थाजन्य सम्प्रदायको पहिचानलाई इंगित गरेको देखिन्छ । तथापि संकीर्ण अर्थमा धर्म शब्दलाई रिलिजनको समानार्थी मानेर पनि प्रयोग गरिँदै आएको तथ्य पनि हामीले ख्याल राख्नुपर्छ । यसरी धर्म भनेर सामूहिक पहिचान दिने गरी मानिसको सम्प्रदायजन्य वा आस्थाजन्य पहिचानलाई जनाउने संज्ञाका रुपमा लिइएको पनि देखिन्छ । धर्म शब्दको प्रयोग गर्दा बृहत् अर्थमा प्रयोग गरिँदैछ कि संकीर्ण अर्थमा प्रयोग गरिँदैछ भन्ने खुट्ट्याएर बुझ्नु आवश्यक पर्छ ।
अध्यात्म भनेको के हो ? धर्म र अध्यात्मको के अन्तरसम्बन्ध छ ? नेपाली बृहत् शब्दकोशमा अध्यात्म शब्दको अर्थ आत्मज्ञान, तत्त्वमीमांसा, आत्मा र परमात्माका गुण एवं तिनको पारस्परिक सम्बन्धमा गरिने चिन्तन, निरूपण वा विवेचना भनिएको छ । वैदिक मान्यता अनुसार सृष्टिका तीन आयाम छन् :- स्थूल, सूक्ष्म र कारण । उदाहरणका लागि शरीर स्थूल स्वरूप हो, मन सूक्ष्म स्वरूप हो र आत्मा कारण स्वरूप हो । स्थूल जगत्सँग सम्बन्धित विषयवस्तुलाई आधिभौतिक भनिन्छ । सूक्ष्म जगत्सँग सम्बन्धित विषयवस्तुलाई आधिदैविक भनिन्छ । आध्यात्मिक भन्नाले अध्यात्मसँग सम्बन्धित भन्ने बुझिन्छ । अध्यात्म कारण जगत्सँग सम्बन्धित छ । यसरी अध्यात्ममा मुख्य सरोकार भनेको आत्मिक अभ्युदय हो । हिन्दू परम्परामा मोक्ष बारे एवं बौद्ध परम्परामा निर्वाण बारे गरिने चिन्तनलाई अध्यात्मकै उदाहरण मानिन्छ । आत्मज्ञानका लागि योगदान गर्ने हुनाले नै सत्संग, योग, ध्यान आदिलाई अध्यात्मको विषयवस्तु मानिएको हो ।
धर्म र अध्यात्मको अन्तरसम्बन्ध विचार गर्दा अध्यात्मलाई धर्मभित्रको एउटा अंश मान्नुपर्ने देखिन्छ । किनभने धर्मको प्रकृतिमा अधिभूत (भौतिक), अधिदैव (मानसिक) र अध्यात्म (आध्यात्मिक) सबै पर्दछन् । अर्थात्, धर्मको दायरामा सृष्टिका स्थूल, सूक्ष्म र कारण, यी तीनैवटा आयाम समेटिन्छन् । धर्मले शरीर, मन र आत्मा, यी तीनैको गुण वा विशेषतालाई नियमन गर्छ । यसरी धर्मभित्रको एउटा विशिष्टिकृत क्षेत्र हो अध्यात्म । धर्म चाहिँ आधिभौतिक, आधिदैविक एवं आध्यात्मिक, यी सबैको समष्टि हो ।
कतिपय मानिसहरुले त धर्म र अध्यात्म अलग अलग हुन् भनिरहेका किन ? जसले धर्मको मूल अर्थ विचार नगरी धर्मलाई रिलिजन (Religion) को समानार्थक मानेर संकीर्ण अर्थ गर्छन्, उनीहरुले त्यस्तो भनेका हुन् । धर्मको मूल एवं बृहत् अर्थ नै हामीले हेर्नुपर्छ । वैदिक ऋषिहरु, बुद्ध, तीर्थंकर महावीर, भारतवर्षीय दार्शनिकहरु आदिले धर्म शब्द जुन तात्पर्यमा प्रयोग गर्नुभएको छ सोही परिप्रेक्ष्यमा धर्मको अर्थ बुझ्दा यसलाई संकीर्ण अर्थमा प्रयोग गर्नु उपयुक्त हुँदैन । बृहत् अर्थमा धर्मको क्षेत्र अति विस्तृत छ जहाँ अध्यात्म पनि समाविष्ट छ ।

 

धर्म र विज्ञानको अन्तरसम्बन्ध जान्न सातत्य दृष्टिकोण एवं सम्मेयता गुण चाहिन्छ

विज्ञान बारे केही जिज्ञासा भएमा म चाहिँ सिधै विज्ञान सामग्री नै पढ्छु / वैज्ञानिकलाई नै सुन्छु । अर्कोतिर, धर्मशास्त्र बारे केही जिज्ञासा भएमा सिधै धर्मशास्त्र नै पढ्छु / आधिकारिक आचार्य (आप्त) लाई सुन्छु ।

पादरी, मुल्ला-मौलवी, भिक्षु-लामा, पुराण वाचक, भजन गायक, सम्प्रदायका प्रचारक, कथित अभियन्ता, कोही कोही त साहित्यका प्राध्यापक (तर प्रकृति विज्ञानमा चञ्चु-प्रवेश नै नभएका) समेतले पूरै असम्मेयता दोषयुक्त जिद्दी गर्दै विज्ञानको फुटानी लगाएको देख्दा / सुन्दा उनीहरूप्रति टिठ लाग्छ । विज्ञान के हो, रत्तिभर जानकारी नभएकाहरूले जेमा र जता पनि विज्ञान घुसार्दा एकातिर समाजको अहित हुन्छ (मानिसहरू भ्रमित भई विज्ञानको बुद्धिबाट वञ्चित हुन्छन्) भने अर्कोतिर विज्ञानातीत शास्त्रहरूको अपव्याख्या हुन्छ । अर्कोतिर, धर्मशास्त्र पढ्ने त के, पुस्तकको आवरणपृष्ठ नै नदेखेकाले तिनीहरूमा यस्तो छ / उस्तो छ भनेर गफ दिएको देख्दा / सुन्दा हास्यास्पद लाग्छ ।
विज्ञान (Science) लाई विज्ञानकै पद्धति, विधि, प्रक्रिया अनुसार बुझ्नुपर्छ । विज्ञान र धर्मको अन्तरसम्बन्ध पनि सम्मेयतापूर्वक जान्नु पर्छ । धर्मको दायरामा स्थूल, सूक्ष्म र कारण जगत् सबै पर्छन्, धर्मभित्र आधिभौतिक, आधिदैविक र आध्यात्मिक सबै समावेश छन्, धर्मले अर्थ, काम र मोक्ष सबै दिन्छ । यता विज्ञानको हालसम्मको दायरा स्थूल र सूक्ष्म जगत् हो, आधिभौतिक र आधिदैविक (मानसिक) हो, अर्थ र काम हो । धर्म त्रिआयामी हो भने विज्ञान द्विआयामी छ हालसम्म ।

आफ्नो दायरामा विज्ञान सबैभन्दा प्रामाणिक एवं विश्वसनीय छ । विज्ञानमा प्रामाणिकता-परीक्षण (Falsification/Verification) जहिल्यै खुला रहेको हुनाले विज्ञानको बाटो उपयुक्त छ । विज्ञानलाई जबर्जस्ती अपव्याख्या गर्नु मानव समाजविरुद्धको अपराध हो । विज्ञानको निन्दा गर्नु वा जनमानसलाई विज्ञानबाट विमुख गराउन खोज्नु अहितकर हो ।

धार्मिक-सांस्कृतिक भावनालाई विज्ञानको चास्नी समेत लगाएर दोहन गर्न पल्केकाहरू बढेका छन् । वेद, उपनिषद्, स्मृतिग्रन्थ, पुराण, रामायण, महाभारत, बौद्ध त्रिपिटक तथा जातक ग्रन्थ, मुन्धुम/मुन्दुम वा अन्य प्राचीन ग्रन्थहरूका भौतिक र मानसिक विषयवस्तुलाई अवश्य विज्ञानसँग तुलनात्मक अन्वेषण गर्न सकिन्छ, तर यसरी तुलनात्मक अन्वेषण गर्ने हो भने प्रामाणिकता-परीक्षण (Falsification/Verification) का लागि इमानदारीपूर्वक तत्पर रहनुपर्छ । पुराना ग्रन्थमा लेखिएका कुरा अप्रामाणिक ठहरिए तुरुन्तै त्याग्न तयार हुनुपर्छ । आफ्नो सम्प्रदायका अप्रामाणिक कथनलाई कुतर्कले विज्ञानको जलप लगाउने नियतले बेप्रसङ्ग विज्ञान विज्ञान विज्ञान प्रलाप गरिरहने व्यक्ति त धूर्त हो ।

मुख्य मननीय तथ्य चाहिँ यो हो :- आध्यात्मिक सवालहरूमा रङ्ग न ढङ्गसँग विज्ञान जोड्नु असम्मेयता हो । (अधिभूत, अधिदैव र अध्यात्मको सातत्य सम्बन्ध भएको हुनाले अन्त:सम्बद्धता पनि छ र पृथकता पनि छ । धर्म र विज्ञानको पनि सातत्य सम्बन्ध छ । भौतिक र मानसिक पाटोमा धर्म र विज्ञानको अन्तःसम्बद्धता छ, तर धर्मको तेस्रो आयाम - अध्यात्म र विज्ञानको कुनै अन्तःसम्बद्धता स्थापित गर्ने पद्धति, विधि, उपकरण उपलब्ध छैनन् ।)

तसर्थ पुराना ग्रन्थका आध्यात्मिक सन्दर्भमा व्याख्या गर्दा असान्दर्भिक, असम्मेय, मूर्खतापूर्ण तरिकाले विज्ञानसँग जोड्नु कुनै प्रशंसायोग्य क्रियाकलाप होइन । त्यस्तो प्रवृत्ति विज्ञान र पुराना शास्त्र दुइटैमाथि अवाञ्छित अतिक्रमण हो । धर्म र विज्ञानको अन्तरसम्बन्ध जान्न सातत्य दृष्टिकोण एवं सम्मेयता गुण चाहिन्छ ।
निर्मलमणि अधिकारी
(२०८१.०४.१९)

Wednesday, March 29, 2023

 

सञ्चारयोग त्रैमासिकको तेस्रो अंकमा प्रकाशित अन्तर्वार्ता

 २०७६ सालमा सञ्चारयोग त्रैमासिकको तेस्रो अंकमा प्रकाशित अन्तर्वार्ता

(प्रस्तोता :- बलराम प्रजापति र बिना अधिकारी वाग्ले)


हामीसँग भेट हुने धेरै मानिसहरु तपाइँको शिक्षा, पढाइलेखाइ बारे धेरै जिज्ञासा राख्छन् । यति धेरै ज्ञान कहाँबाट पाउनु भयो होला भन्ने प्रश्न जहिले पनि आइरहेको हुन्छ ।

कति धेरै ज्ञान भन्ने त कसरी मापन गर्ने र । सम्मान भाव भएपछि कस्तो हुन्छ भने मलाई पनि हाम्रा पिताजीलाई ज्ञान नभएको त कुनै कुरा नै छैन होला जस्तो लाग्थ्यो । तर, सबैजनाले संसारका सबै कुरा सिक्न, बुझ्न, जान्नलाई त यो जीवनको आयु नै अपर्याप्त छ । सकेसम्म धेरै विधा वा विषयवस्तुको जानकारी र कम्तीमा एउटा विधाको विशेषज्ञता हुनु पर्छ भन्ठान्छु । अनेक विधाको विज्ञ बन्न सक्नु त झन् राम्रो ।
ज्यादै सानो उमेरदेखि पिताजीको पछि लाग्ने, पिताजी वा दाइसँग जिज्ञासा राखेको राख्यै गर्ने एवं भेटेजति मानिसहरुसँग सम्वाद गर्ने र पाएजति पुस्तक पढिहाल्ने बानीले सूचनाका समृद्ध स्रोतसँग जोडिन पाएँ । वैदिक ऋषिको वंश परम्परामा जन्मेको र सोही परम्पराको ज्ञान पद्धतिको उत्तराधिकारी भएकाले पनि सहज भयो ।
मेरो औपचारिक अक्षरारम्भ नहुँदै, पिताजीले पाठ गर्नु भएको सुनेर कवच, कीलक र अर्गला स्तोत्र कण्ठस्थ भएको देखेर पिताजी निकै प्रसन्न हुनु भएको आजै जस्तो लाग्छ । छापा अक्षर पढ्न सक्ने भएपछि त पुस्तक राख्ने दराजको तालाचाबी नै हात परिहाल्यो ।
पिताजीको संकलनमा गीता प्रेस (गोरखपुर, भारत) र अन्य प्रकाशनका पुस्तकहरुको भण्डार थियो । वेद, उपनिषद्, दर्शन, स्मृति ग्रन्थहरु, पुराण, महाभारत, रामायण, कल्याणका विशेषांकहरु र नियमित अंकहरु पढ्न घरमै पाएँ । बुद्ध, बौद्ध दर्शन र बुद्धकालीन इतिहासबारेका पुस्तकहरु पनि हाम्रो घरमा भएकाले सानै उमेरमा पढ्न पाएँ । दाइको संकलनमा कविता, कथा, उपन्यास लगायतका विधाका पुस्तकहरु थिए । आधुनिक साहित्य, दर्शन, विज्ञान आदिबारे पढ्ने मौका पनि घरमै मिलेको थियो केही हदसम्म । थर्पु बजारमा एउटा पुस्तकालय सञ्चालनमा आएको थियो (प्राथमिक शिक्षा परियोजनाको जस्तो लाग्छ) । म पढ्ने विद्यालय (श्री मीन मा.वि.) परिसरको पुस्तकालय अव्यवस्थित थियो, तर रसिया, चीन र उत्तर कोरियाको स्रोतबाट प्रकाशित पुस्तकहरु पढ्न पाइन्थ्यो । जन्मथलोमा रहँदा मेरा बालक र किशोर अवस्थामै चार भाषा (नेपाली, हिन्दी, संस्कृत र अंग्रेजी भाषा) मा पढ्न पाउनु, त्यो पनि हजारौँ संख्यामा पुस्तकहरु पढ्न पाउनु ठूलै सौभाग्य थियो ।
आई.एस्सी. पढ्न पोखरा गएपछि पृथ्वीनारायण क्याम्पस, सिद्धार्थ पुस्तकालय र नगर पुस्तकालयमा पहुँच भयो । पृथ्वीनारायण क्याम्पसको पुस्तकालयमा विज्ञान, साहित्य, संस्कृति, इतिहास, भूगोल जस्ता विधाका पुस्तकहरु मेरो रुचीभित्रका थिए । सिद्धार्थ पुस्तकालयमा ओशोका पुस्तकहरु ठूलो संख्यामा थिए । नगर पुस्तकालयमा नियमित पढ्न पाइने पत्रपत्रिकाको संख्या धेरै थियो । उक्त तीनवटा पुस्तकालयमा नपाइएका पुस्तकहरु भाडामा लिएर पढ्ने गरिन्थ्यो । निश्चित रकम (डिपोजिट् भनिन्थ्यो) पसलेलाई दिएपछि रु. ५ मा एउटा पुस्तक डेरामा लगेर पढी फर्काउन पाइन्थ्यो । अति छिटो पढ्ने भएकाले गाउँ (तनहुँ) र पोखरा (कास्की) मा रहँदासम्म पाठ्य सामग्री जति भेटियो, ती मसँग उपलब्ध समय कटाउन अपर्याप्त नै हुन्थे । कति हजार पुस्तक पढेँ भनेर एक एक गणना त गरिएन, तर पुस्तकको मुखपृष्ठ र शीर्षक देख्दा पढौँ जस्तो लागेका जुनकुनै पनि पुस्तक पढेरै छोड्ने प्रवृत्ति थियो ।
वि.सं. २०५७ मा एम.एस्सी. पढ्न त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा भर्ना भएर कीर्तिपुर बस्न थालेपछि बल्ल कति धेरै पुस्तक र अन्य पाठ्य सामग्री देख्न पाइयो अनि देखेर आकर्षित भइएका सबै पुस्तक पढ्न नसक्ने अवस्था आयो । काठमाडौँ आएपछि के पढौँ, के पढौँ भनेर खोज्नमा समय खासै लगाउनु नपर्ने, सजिलै पाठ्यसामग्रीहरु प्राप्त हुने अवस्था आयो । त्रि.वि. पुस्तकालय (कीर्तिपुर), नेपाल भारत पुस्तकालय (आर.एन.ए.सी.), केशर पुस्तकालय, राष्ट्रिय पुस्तकालय, इन्सेकको मानवअधिकार पुस्तकालय आदिमा पहुँच भयो । साथै, पुस्तकहरु आदानप्रदान गरी पढ्ने साथी समूह पनि कीर्तिपुर र काठमाडौँमा पनि बनेको थियो ।
जागिर भनिने नियमित आय स्रोत र आफू स्वयंले लेखेका पुस्तकहरुको लेखकस्व पनि आउन थालेपछि त आफ्नै क्रयशक्ति पनि बढ्यो । मन परेका कैयौँ पुस्तक किन्न सहज भयो । काठमाडौँ विश्वविद्यालयमा प्रवेश गरेपछि त्यहाँको पुस्तकालय पनि पहुँचमा रहने नै भयो । समयक्रममा अनलाइन स्रोतमा पहुँच बढ्दै जाँदा डिजिटल पाठ्यसामग्री पनि निकै पढ्न पाइयो ।
गाउँ (तनहुँ) र पोखरा रहँदासम्म नेपाली र हिन्दी भाषाका पाठ्यसामग्री अत्यधिक् र केही मात्रामा संस्कृत भाषाका पढ्न पाइएको थियो र काठमाडौँ आएपछि अंग्रेजी भाषामा पठनपाठन गर्नु पर्ने अवस्था बढी भयो । बहुभाषिक पठनपाठनको ठूलो फाइदा मैले आफ्नै जीवनमा अनुभव गर्न पाएको छु ।
औपचारिक शिक्षा नै बहुविधात्मक भएकाले लेखपढको दायरा बृहत्तर बनाउन थप अनुकूल परिस्थिति बन्यो । बहुविधात्मक, बहुसांस्कृतिक, बहुप्रतिमानात्मक पठनपाठनको अवसर पाएको हुनाले बोलाइ र लेखाइमा त्यो देखिएको हुन सक्छ ।

तपाइँको औपचारिक शिक्षा बहुविधात्मक भएको प्रसंग आयो । योबारे थप बताइदिनुहोस् ।
तनहुँ जिल्ला, तत्कालीलन छाङ् गाउँ पञ्चायत (बहुदल आएपछि छाङ् गा.वि.स. र अचेल म्याग्दे गाउँपालिका), थर्पु बजारस्थित श्री मीन मा.वि.मा १० कक्षासम्म पढेपछि पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा आई.एस्सी. र बी.एस्सी. पढेँ । त्यो एस.एल.सी.मा प्रथम श्रेणीमा उत्तीर्ण हुनु ठूलो कुरा मानिने समय थियो र प्रथम श्रेणी ल्याएकाले पढ्ने त विज्ञान नै हो भन्ठान्ने प्रचलन थियो । विज्ञानको त्यो औपचारिक पठनपाठनले आजसम्म पनि मलाई फाइदा भएको छ ।
काठमाडौँ आएको एम.एस्सी. पढ्ने उद्देश्यले थियो । तसर्थ, त्रिभुवन विश्वविद्यालय (कीर्तिपुर) मा वि.सं. २०५७ मा एम.एस्सी. भर्ना भइयो । एम.ए. (आमसञ्चार र पत्रकारिता) गरेको पूर्वाञ्चल विश्वविद्यालयबाट र एम.फिल्. (अंग्रेजी) गरेको पोखरा विश्वविद्यालयबाट हो । विद्यावारिधि (पीएच.डी.) गरेको नेपाल संस्कृत विश्वविद्यालयबाट हो ।
भौतिक विज्ञान, तथ्यांकशास्त्र, समाज विज्ञान, मानविकी, साहित्य, दर्शनशास्त्र, अध्यात्म आदि अनेकौँ विधाहरुका साथसाथै प्राविधिक विषयवस्तुलाई पनि औपचारिक शिक्षाका क्रममै अध्ययन, अन्वेषण, परिशीलन गर्न पाउनु सौभाग्य नै हो । यो सबै पृष्ठभूमिका कारणले बहुविधात्मकता मेरो औपचारिक शिक्षाको स्वाभाविक विशेषता रह्यो । लेख्दा वा बोल्दा आवश्यक पर्ने तथ्य, तथ्यांक, उदाहरणका लागि स्रोत वा भण्डारको बहुलता हुनु पक्कै पनि बौद्धिक समृद्धिका लागि अनुकूल हो । त्यो अनुकूल परिस्थिति बनाउन अहिलेको युगमा सजिलो छ ।

कुनै बेला तपाइँ पीएच.डी. गर्नका लागि हार्वर्ड विश्वविद्यालय जाने भनेर अंग्रेजी र जर्मन भाषाको समेत टेस्ट् पूरा गरिसक्नु भएको हामीले सुनेका थियौँ । तर तपाइँले पीएच.डी. नेपाल संस्कृत विश्वविद्यालयबाट गर्नु भयो । किन ?
पिताजी पं. रुद्रमणि अधिकारी र कविवर भानुभक्त पोखरेललाई मैले दिएको वचन अनुसार मेरो शरीरले ५० वर्ष उमेर पूरा गरेपछि मात्र महाअभियान प्रारम्भ गर्ने सुरुको योजना थियो । त्यो योजना अनुसार मसँग पाँच सात वर्ष विदेशमा बस्नका लागि पनि समय पुग्थ्यो । मलाई स्नेह गर्ने विदेशी प्राध्यापकहरुले युनिभर्सिटी अफ् लिभरपुल, युनिभर्सिटी अफ् टोरन्टो, हवाइ युनिभर्सिटी र हार्वर्डमा पहुँच पुर्याएका थिए । भारतीय र चिनीया विश्वविद्यालयबाट पनि प्रस्ताव थियो, तर अमेरिका नै पहिलो प्राथमिकतामा राख्नु पर्छ भन्ने विशेष आग्रह थियो । तर नेपालको परिस्थिति कसरी बिग्रिँदै गयो भने मैले महाअभियानलाई योजना गरेको भन्दा करिब ११ वर्ष पहिल्यै प्रारम्भ गर्नु पर्ने भयो । महाअभियानको तयारी मुख्य कर्तव्य ठानियो । तसर्थ विदेश गएर बस्ने समय नपुग्ने भयो । सबै भन्दा छिटो (कम समयमा) पीएच.डी. सक्ने सम्भावना नेपाल संस्कृत विश्वविद्यालयमा देखेकाले हो । सोधपुछ गर्दा झन् थोरै समयमा सक्न पाइने विश्वविद्यालय पाएको भए म त्यो विश्वविद्यालयबाट गर्थेँ होला । जे भयो, निकै राम्रो भयो । मेरो पीएच.डी.को मुख्य शोध अन्तर्वस्तु वैदिक परम्पराको मीमांसा दर्शन हो र यो विषयवस्तुका लागि नेपाल संस्कृत विश्वविद्यालय उपयुक्त संस्था हो ।
पीएच.डी. सक्नासाथ माखनलाल चतुर्वेदी विश्वविद्यालय (भारत) ले भरतमुनि चेयर रिसर्च फेलोशिप प्रदान गर्यो, जसका लागि मैले नेपालमै रहेर मात्र कार्य गर्न शर्त राखेको थिएँ । उनीहरुले माने । सोही अनुसार नेपालमै बसेर कार्य सम्पन्न गरियो ।

विदेशका प्रतिष्ठित विश्वविद्यालयहरुले पूर्णकालीन प्राध्यापक, अनुसन्धानविद्, थिंक्ट्यांक जस्ता ज्यादै आकर्षक जागिरका लागि निम्ता गर्दा पनि नगएर नेपालमै बस्नु भएको छ । विदेशका पत्रपत्रिकामा तपाइँबारे प्रकाशित समाचार पढेर पनि थाहा पाइन्छकि कतिपय राष्ट्रका त सरकार प्रमुखकै तहबाट पनि तपाइँलाई विशेष अनुरोध आएका छन् र ती देशका उच्च संस्थाहरुले तपाइँको अनुसन्धान, सिद्धान्तलाई पढाउन विशेष कोर्स नै डिजाइन गरेका थिए । त्यति ठूल्ठूला अवसरलाई पनि त्याग्न सक्ने त्याग शक्तिको रहस्य के हो ?
रहस्य नै भन्नु पर्ने केही छैन । थाहा नभएको वा लुकाउनु पर्ने कुरा भए पो रहस्य हुँदो हो । मेरो निर्णयको कारण स्पष्ट छ । नेपालभित्रै रहेर कार्यरत हुन पूरा समय मिलाउने निश्चयका कारणले विदेशका प्रस्तावले आकर्षण नगरेका हुन् ।
जरो किलो महाअभियान वि.सं. २०७२ मा प्रारम्भ गरेपछि महाअभियानको क्रियाकलापसँग नजोडिएका तथा मलाई महाअभियानको जिम्मेवारी पूरा गर्न रोक्ने कुनै पनि अवसरलाई नलिइएको हो । महाअभियान सुरु नहुँदैको अवस्थामा भएको भए स्वीकार गरिन्थ्यो होला । अब जे गर्ने हो, वैश्विक तहको कार्य गर्दा पनि नेपालमै केन्द्र बनाएर गर्ने हो ।
स्वदेशमै बसेर कार्य गर्ने वा विदेश जाने भन्ने निर्णय विभिन्न कारणले हुन्छन् । म स्वदेशमा बसेँ, अरु कोही कुनै कारणवश विदेश पुगे । विदेश गएकाहरुले त्यहीँबाट पनि नेपालीजन र सारा संसारकै हित हुने कार्य गर्न सक्छन् । नेपालमै बसेर नेपाली एवं नेपालीजन र सारा मानव समाजलाई घात गर्नेहरु पनि छन् । जहाँ भएपनि सत्कर्म गरौँ । कर्म गर्नु, कर्तव्य पूरा हुनु प्राथमिक हो ।

केही दिन पहिले तपाइँका दुइटा पुस्तक लोकार्पित भए ः सञ्चार सिद्धान्तीकरण र वेदको सामान्यज्ञान । करिब ६ महिना पहिले तपाइँको पुस्तक सहृदयता दर्शनको प्राक्कथन लोकार्पित भएको थियो । हामीलाई थाहा भएअनुसार, ४३ वर्षको उमेरमा ४६ वटा पुस्तक, अनुसन्धान लेख ७५ वटा तथा फुट्कर लेख, रचना, टिप्पणी त २ हजार ६ सयको संख्यामा प्रकाशित छन् । थप केही पुस्तकहरु चाँडै नै प्रकाशित हुनेवाला छन् । तपाइँका करिब २ सय वटा भिडियोहरु युट्युबमा उपलब्ध छन् । अनुसन्धान परियोजनामा नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय तहमा समेत नेतृत्त्व गर्नु भएको छ । अनुसन्धान गर्नु, गराउनु र प्रतिवेदन लेख्नु जस्ता जिम्मेवारीमा पनि निकै समय लाग्छ । विश्वविद्यालयमा प्राध्यापक हुनुन्छ, जुन जागिरका लागि त झन् दिनको धेरै घण्टा बितेको हुन्छ । अहिले तपाइँका तत्त्वावधानमा १० वटा त संस्थाहरु सञ्चालनमा छन्, जसका गतिविधिमा पक्कै पनि समय दिनै पर्ने हुन्छ । अनेकौँ सार्वजनिक कार्यक्रमहरु, गोष्ठी, सभा, सत्संगमा पनि उपस्थित हुनु भएको देखिन्छ । देश र विदेशको भ्रमणमा पनि समय गएको छ । यत्रो व्यस्ततामा कतै अस्तव्यस्तता देखिँदैन । तपाइँको समयनिष्ठता ९उगलअतगबष्तिथ० त प्रसिद्धै छ । यत्रो कामकाजका लागि समय व्यवस्थापन भइरहेछचाहिँ कसरी ? दिनमा जम्मा २४ घण्टा नै त हो हुने ।
हो, हामी सबैलाई उपलब्ध समय दैनिक २४ घण्टा मात्रै हो । जे जति गर्ने हो, यही समयमै हो । त्यो पनि शरीर स्वस्थ रहुन्जेल । वैदिक परम्पराको मीमांसा दर्शनले कर्मको जुन पद्धति विकास गरेको छ, त्यो पद्धतिको अवलम्बन मुख्य आधार हो, जसले मेरो दृष्टिकोण, क्रियाकलाप एवं दिनचर्या व्यवस्थित हुन सकेको छ । नियमित ध्यान, मन्त्र जप, विशेष अनुष्ठान र साधना उपर्युक्त पद्धतिका प्राथमिक तत्त्वहरु हुन् । साथै, उचित प्रकारको खानपिन र व्यायाम पनि निर्णायक तत्त्व नै हुन् । समय सदुपयोगको वैज्ञानिक पद्धतिमा यो पनि आवश्यक छकि आफ्नो जिम्मेवारी अनुसार प्राथमिकता निर्धारण गरी सो प्राथमिकता क्षेत्रमा नपरेका कुरामा नअल्मलिइयोस् । आफू स्वयंलाई चिन्ने, आफ्नो कर्तव्य थाहा पाउने, कर्म गर्न कृतसंकल्प हुने र कर्ममा रमाउने बानी बस्यो भने उपलब्ध थोरै समयमा पनि अधिकतम् कार्य गर्न सकिन्छ । अधिकतर मानिसहरुले कर्म (जिम्मेवारी) र मनोरञ्जनलाई अलग अलग मान्ने हुनाले कर्मलाई बोझ मान्छन्, तसर्थ धेरै कार्य गर्न नसकेर छिट्टै थाक्छन्, तर हामी मीमांसा दर्शनको कर्म पद्धतिलाई क्रियान्वयन गर्नेहरुले प्रत्येक कर्म (जिम्मेवारी) बाटै आनन्द प्राप्त गर्ने हुनाले मनोरञ्जनका लागि छुट्टै समय लगाइरहनु पर्दैन, तसर्थ सामान्यतया पनि अरुको तुलनामा दोब्बर वा झन् धेरै परिमाण हुनु स्वाभाविकै हुन्छ । सारमा, विज्ञान र धर्मको समन्वयबाट निर्मित जीवन पद्धति बाँचिरहेको हुनाले अहिलेसम्म जे जति गर्न सकेँ, त्यो गर्न सकेको हो ।

सम्प्रति तपाइँ काठमाडौँ विश्वविद्यालयमा सहप्राध्यापक हुनुहुन्छ । विगतमा धार्मिक पुरोहित, माध्यमिक विद्यालयको शिक्षक, उच्च मा.वि.को अध्यापक, पत्रकार (रिपोर्टर, कपि एडिटर, फिचर एडिटर, न्यूज एडिटर, सम्पादक), अनुवादक, इन्टरप्रेटर, ट्रान्सक्राइबर, प्रुफरिडर, मानवअधिकार प्रलेख अधिकृत, तथ्यांक संकलक, तथ्यांक विश्लेषक, प्रशिक्षक, परियोजना कन्सल्टेन्ट्, परामर्शदाता, अनुसन्धान निर्देशक र अन्य पनि धेरै कार्यानुभव तपाइँको रहेको छ । यो सब जिविकोपार्जनको खोजीका क्रममा भएको हो वा कुनै योजनाबद्ध रोजाइ हो ?
जिविकोपार्जनको खोजीका क्रममा होइन किनभने आजसम्म कुनै पनि जागिर वा अल्पकालीन जिम्मेवारी (जस्तै ः प्रशिक्षण, अनुसन्धान, परामर्श, कन्सल्टेन्सी आदि) म आफैले खोजी खोजी गरेको भन्दा पनि सम्बन्धित व्यक्ति वा संस्थाको अनुरोधमा गरिएको नै छ । कतिपय कार्य आफ्नो जन्म, वंशपरम्परासँग जोडिएको हुनाले कर्तव्य मानेर गरिएको पनि छ । कतिपय कार्य आफू आबद्ध संस्थाको कार्यक्षेत्रका कारणले जिम्मेवारीमा पर्न आएर गरिएको हो । कतिपय कार्य चाहिँ कुनै विषयवस्तु वा विधामा कार्यानुभव सहितको ज्ञान लिनु वाञ्छनीय ठानेर गरियो । तसर्थ, कर्मपथमा अघि बढ्दै जाँदा स्वतः आइपरेका कार्य, जिम्मेवारी गर्दै आइएको हो भन्नु पर्छ ।

वर्तमान नेपालको खास समस्या कपूतन्त्र हो भनेर तपाइँले बारम्बार भन्नु भएको छ । तर तपाइँको पेशागत जीवनमा धेरै समय कपूतन्त्रकै अनुयायीहरुसँग सहकार्य गर्नु भएको देखिन्छ । मदन भण्डारी मेमोरियल कलेजमा तपाइँले सात वर्ष लामो अवधि पढाउनु भयो । पासांग ल्हामु मेमोरियल कलेजमा पनि तपाइँले करिब दुई वर्षसम्म पढाउनु भयो । इन्सेकमा करिब दुई वर्ष कार्य गर्नु भयो । अनेकौँ एन.जी.ओ., आई.एन.जी.ओ. र यु.एन. एजेन्सी समेत तपाइँको विज्ञताबाट लाभान्वित भए । यसरी धेरैजसो कम्युनिस्ट भनिनेहरुसँग र कतिपय कार्यमा कांग्रेस वा प्रजातन्त्रवादी भनिनेहरुसँग तपाइँको पेशागत गतिविधि जोडिएको देखिन्छ । जोसँग विचारै मिल्दैन, तिनीहरुसँग सहकार्य गर्न असहज हुँदैन ?
पहिलो त, मेरो स्वाभाविक प्रवृत्ति गुणग्राही र समन्वयकारी भएको हुनाले मसँग भेट, कुराकानी, सहकार्य गर्ने मानिसहरु जुनसुकै पृष्ठभूमिका भएतापनि सहज मससुस गर्छन् । सहृदयता दर्शन मान्ने व्यक्ति भएको हुनाले म कसैलाई पनि घृणा गर्दिनँ । जोसँग जहाँसम्म सँगसँगै जान सकिन्छ, त्यो सीमासम्म समन्वय र सहकार्य गर्ने मेरो पद्धति छ । अरुले आक्रमण गरेको अवस्थामा निराकरणका लागि उपाय गर्ने मात्र हो, सामान्यतया मेरो प्रवृत्ति सर्वेषाम अविरोधेन कार्य गर्ने नै हो । जात नसोध्नू जोगीको भन्ने नेपाली उखानको तात्पर्य बडो घत लाग्दो छ ।
अर्को कुरा, म जहाँ जहाँ कार्यरत रहेँ, त्यहाँ मलाई पूर्ण प्राज्ञिक, बौद्धिक, क्रियात्मक स्वतन्त्रता थियो । मेरो विचार उनीहरुसँग मिल्दैन भन्ने पूरा जानकारी हुँदाहुँदै पनि कुनै कार्यविशेषका लागि मेरो विज्ञता चाहिएको हुनाले उनीहरुले मसँग सहकार्य गर्न चाहेका थिए । कुनै खास परियोजना वा क्रियाकलापका लागि मात्र सहकार्य भएको हुनाले बृहत्तर वैचारिक प्रतिस्पर्धा, मनोमालिन्य, द्वन्द्व हुने अवस्था आएन । कतिपय संस्थाहरुले मेरो सहजताका लागि आफ्ना संरचना तथा नियममा परिवर्तन समेत गरेका थिए । ती संस्थाका व्यक्तिहरुको राजनीतिक पार्टीगत आबद्धता जता भएतापनि उनीहरुले मलाई गरेका व्यवहार बडो राम्रो रहेको थियो ।
सबै भन्दा महत्त्वपूर्ण कुरा, हामीले आफ्नो समाजमा, देशमा, छरछिमेकमा वा संसारमा जस्ता खालका मानिस छन्, उनीहरुसँग नै सहकार्य गर्ने हो । चन्द्रमाबाट वा मंगलग्रहबाट कसैलाई निम्त्याएर गर्ने त होइन । आजको नेपालमा कम्युनिस्ट, कांग्रेस, राप्रपा, राजावादी, मधेशवादी, पहिचानवादी, वैकल्पिक वा केही नामका ट्रेडमार्कका सदस्यहरु नै जताततै छन् र तिनीहरु नै भेटिने हुन् । मेरो पेशागत कार्यहरु सुरु हुँदाको समयमा जो भेटिए, उनीहरुसँगै सहकार्य भयो ।
करिब १३ वर्षदेखि म कार्यरत रहेको संस्था हो काठमाडौँ विश्वविद्यालय । यहाँ पनि अनेक विचारधाराका मानिसहरु छन्, तर मैले सात वर्ष अध्यापन गरेको मदन भण्डारी मेमोरियल कलेज जस्तो संस्थाको नाम भन्नासाथ एक निश्चित खालको मताग्रह आधारित छवि भएको संस्था काठमाडौँ विश्वविद्यालय होइन । विश्वविद्यालयमा त झन् धेरै प्राज्ञिक, बौद्धिक, क्रियात्मक स्वतन्त्रता हुन्छ । हाम्रो प्राज्ञिक, शैक्षणिक कार्यमा विचारधाराका कारणले द्वन्द्व नआओस् भनेर सबै सचेत हुन्छौँ जस्तो लाग्छ ।
हालसालैका वर्षमा चाल, चरित्र, विचार, व्यवहार सबै मिल्नेहरुसँगको सहकार्य बढ्दो छ । हामी जरो किलो परिवारलाई विस्तार गरिरहेका छौँ र भविष्यमा ठूलो जनसमुदाय यो परिवारमा समावेश हुनेछन् ।

खाने कुरा, पिउने कुरा, पहिरिने लुगाका कुरा कत्तिको महत्त्वपूर्ण हुन् ? योबारे तपाइँको केही सुझाव वा सन्देश छ कि ?
अति महत्त्वपूर्ण हुन् नि । व्यक्तिको चाल, चरित्र, व्यवहारको निर्माणमा खाने कुरा, पिउने कुरा, पहिरिने कुरा, बासस्थान, कुराकानी, संगत आदिको निर्णायक प्रभाव हुन्छ । उपभोक्तावादी व्यक्ति लोभी, भ्रष्ट, अपराधी हुने सम्भावना ज्यादै बढी हुन्छ । जसको खानपिन सात्विक छ, पहिरन सादा छ, बासस्थान सामान्य छ, कुराकानीका विषयवस्तु सकारात्मक छन् र जसको संगत पनि सज्जनहरुसँग छ, त्यो व्यक्तिको प्रवृत्ति नै उपकारी, गुणी, समन्वयकारी, सहृदयी हुने सम्भावना बढी हुन्छ । के कस्तो खाने, के कस्तो पिउने, के कस्तो पहिरिने आदि निर्णय व्यक्तिको स्वतन्त्रताभित्र पर्ने भएको हुनाले उपदेश वा आदेश त मैले गर्ने गरेको छैनँ, तथापि हितकारी वस्तुहरु मात्र उपभोग गरियून् र उपभोक्तावादी प्रवृत्तिले कसैलाई ग्रसित नपारे हुन्थ्यो भन्ने चाहिँ लाग्छ ।
साथै, गुरुको मार्गनिर्देशनमा प्राणायाम, सामान्य ध्यान, योग, मन्त्र जप र अजपा ध्यान गर्नु सबैका लागि राम्रो हो । पुनः जोड दिन्छुकि उक्त प्रक्रियामा गुरुको प्रत्यक्ष मार्गनिर्देशन आवश्यक हुन्छ । स्वाध्याय, पैदल भ्रमण र प्रशस्त पानीको सेवन गर्न पनि सुझाव दिन्छु ।

हामीले देखेको र याद गरेको कुरा, तपाइँले कहिल्यै पनि खाना थपेको देखिएको छैन । खाना घटाएको त देखिएको छ, तर जति थोरै दिइएको अवस्थामा पनि कहिल्यै खाना नथप्नुको पनि केही रहस्य छ कि ?
नियम बनाउने भनेर, विशेष प्रयत्न गरी गरी यस्तो गरेको होइन । तर हाम्रा पिताजीले आहारविहारबारे बारम्बार भन्ने कुराले प्रभाव पारेको पक्कै हो । पिताजी भन्नुहुन्थ्योकि मानिसको पेटको एक चौथाइ भाग पानीले, अर्को एक चौथाइ भाग कन्दमूल, फलफूल आदिले र अर्को एक चौथाइ भाग अन्न, गेडागुडी, सागपात आदिले भर्नु र बाँकी एक चौथाइ भाग चाहिँ खाली रहनु राम्रो हुन्छ ।
हाम्री आमाले बताउनु भए अनुसार, शिशु अवस्थादेखि नै खाना र निद्रा अत्यल्प (थोरै) ले पुग्ने, खानेकुराका लागि कहिल्यै नपिरोल्ने, खान बोलाउन बिर्सेको अवस्थामा आफै झिकेर नखाने, आमाले दिएपछि मात्र खाने बानी थियो । कन्दमूल, फलफूल, गेडागुडी र पानी विशेष रुचाउने स्वभाव यो शरीरको रहेछ । आमा अहिले पनि भन्नु हुन्छकि तरुल, गिट्ठा, पिँडालु, आलु, मुला, गाजर, मकै, चिउरा, रोटी, केरा, मेवा आदि नै मैले रुचाउने मुख्य आहारा थियो । हाम्रो गाउँमा घर वरपर मेवा, नासपाती, शंखत्र, ज्यामिर, केरा, आँप, आरु, काफल, बँयर, बेलौती (अम्बा), उखु आदि प्रशस्त पाइने र ती फलफूलको मौसममा भात खान भन्दा ती फलफूल खान बढी मन गर्ने प्रवृत्ति बन्यो । कटहर, भुइँकटहर, लिची पनि मौसममा पाइन्थे । गेडागुडी पाइने भनेको बोडी, मस्याम, गहत, भट्ट, कुटिलकोसा आदि थिए । दूध, दही, घ्यु, मही, मह आदि पनि हाम्रा गाउँले जीवनका अभिन्न तत्त्वहरु थिए । परिवारमा सबै भन्दा धेरै मात्रामा पानी पिउने पनि उति बेलादेखि नै म रहेछु । आहारविहारको सोही स्वभाव अहिलेसम्मै रहेको हो ।
खानपिनका लागि कुनै विशेष आग्रह छैन । सात्विक गुणको जेसुकै खानेपिउने चिज प्राप्त भयो भने शरीरलाई आहारा हुन्छ । साधना बढाउँदै पानी र हावाले मात्र शरीरलाई पुग्ने बनाउनु छ ।

नेपालको परम्परागत ब्राह्मण समाज त मांसाहारी थियो । तपाइँ कसरी शाकाहारी हुनुभयो ?
देवीको पूजा शाक्त पद्धतिले, शिवको पूजा शैव पद्धतिले, विष्णुको पूजा वैष्णव पद्धतिले, मष्टको पूजा मष्ट पद्धतिले र अन्य पनि यथारितले गर्ने सनातनी, समन्वयी, उदार पद्धति नेपालको परम्परागत ब्राह्मण समाजको मौलिक स्वभाव हो । अचेल विभिन्न सम्प्रदायहरुको आगमनपछि, ती सम्प्रदायहरुको प्रतिस्पर्धा बढेको एवं कुनै निश्चित पद्धति, विधि, चलनलाई मात्र समात्ने र अरुको निन्दा गर्ने प्रवृत्ति पनि बढेको हो । सामान्यतया नेपालमा एउटै परिवारमा पनि वैविध्य रहने गरेको हो । हाम्रो परिवारमा पनि उपर्युक्त वैविध्य थियो । मेरो जन्म भगवान् शिवको आराधना, उपासना, अनुष्ठानका कारणले भएको भन्ने विश्वास हाम्रा मातापितामा रहेको हुनाले म जन्मेदेखि नै मासु तथा अन्य तामसी मानिने खाने र पिउने वस्तुहरु मेरो मुखमै नपरुन् भन्ने प्रबन्ध गरिएको रहेछ । अन्य व्यक्तिले उनीहरुका आहारविहारको स्वभाव अनुसार के खानपिन गर्छन्, त्यो निन्दाचर्चा नगर्ने, तर आफूले आफ्नो स्वभाव अनुसार नै आहारविहार गर्ने स्वभाव बन्यो ।

हामीले नै तपाइँलाई देखिरहेको पनि डेढ दशक समय भइसकेछ । त्यो बेला हामीलाई पढाउने समयमा पहिरिने लुगाहरु पनि अहिलेसम्मै लगाइरहनु भएको देखिन्छ । अरु पनि धेरै पुराना, सामान्य, सस्ता लुगा पनि लगाएर कार्यालय तथा राष्ट्रिय अन्तर्राष्ट्रिय तहका औपचारिक कार्यक्रमहरुमा समेत उपस्थित हुनु भएको देखिन्छ । अचेल त युट्युबमा तपाइँका प्रशस्त भिडियोहरु रहेका हुनाले त्यसबाट पनि देखिन्छ । विश्वविद्यालयको जागिर, अनुसन्धान परियोजनाहरुबाट आउने पारिश्रमिक, प्रशिक्षकका रुपमा पाउने पारिश्रमिक, पुस्तकबाट आउने रोयल्टी आदिलाई विचार गर्दा आर्थिक कमीले त त्यस्तो गर्नु भएको होइन जस्तो लाग्छ । यो पनि कुनै संकल्पको कारणले हो कि ?
नयाँ लुगा पनि लगाइरहेको हुन्छु नि । कुनै बेला नयाँ लुगा जुन लगाइन्छ, समय बित्दै गएपछि सोही लुगा पुरानो हुने त हो । अति कम अपवाद बेलामा बाहेक मैले आफ्नो लागि लुगा, कपडा किनेको छैनँ । सानोमा मातापिता र दाइले, पछि दाइ र दिदीहरुले र बिहेपछि श्रीमतीले दिने लुगा लगाउने गरिएको छ । बीचमा केही समय भाइ, भतिजा, आफन्त, शिष्य आदिले लुगा उपहार दिएर ती उपभोग गर्न सकस पर्ने अवस्था हुन थालेपछि मैले उपहार नदिन अनुरोध गर्नु पर्ने स्थिति समेत आयो । अहिले त्यो समस्या छैन । मेरो शरीरमा लुगा बडो टिक्छ, हत्तपत्त फाट्दैन । अति पुरानो भयो भनेर श्रीमतीजीले कुनै लुगा लुकाइदिने, त्यो लुगालाई पेलेर चट्टा आदि बनाइदिने वा नफाट्दैमा कसैलाई दान दिने कारणले कुनै लुगा भेटिनँ भने मात्र हो, नत्र जति पुरानो भएतापनि त्यो लुगा लगाइरहने बानी छ । कुनै संकल्पको कारणले भन्नु भन्दा पनि स्वभाव नै यस्तो हो भनौँ । हाम्रा पिताजीले सधैँ सन्तोषं परमं सुखम् भनिरहनु हुन्थ्यो, सोही प्रभावले होला ।
आर्थिक कमी छ वा छैन भन्ने परिप्रेक्ष्यमा पहिले, मेरो दैनिकीको धेरै समय आर्थिक उपार्जनमा व्यतीत हुने अवस्थामा, जरो किलो महाअभियान प्रारम्भ नगरिएको अवस्थासम्म र अहिलेको अवस्था एउटै होइन । अहिले मेरो दैनिकीको अति कम समय मात्र अर्थोपार्जनका लागि उपयोग हुन्छ र धेरै समय निःशुल्क (अर्थोपार्जन नहुने) कार्यमा व्यतीत हुन्छ । तसर्थ बडो मितव्ययी भएर घर व्यवहार चलाउनु पर्छ ।
वैदिक संस्कृतिमा तेन त्यक्तेन भुञ्जिथा (अर्थात्, त्यागपूर्वक् भोग गर्ने) भनिएको छ । प्रेय मार्ग (उपभोक्तावादी) होइन, श्रेय मार्ग अवलम्बन गर्नू भनेर हाम्रा ऋषि ऋषिकाहरुले उपदेश दिनु भएको छ । मेरो आहाविहार, लवाइखवाइमा सादा जीवन चरितार्थ हुन सकेको छ भने सोही श्रेय मार्ग अवलम्बन भएछ भन्ठान्छु । अमेरिका र युरोपतिर अचेल न्यूनतम् उपभोग गरौँ भन्ने अभियान चल्न थालेको छ ।

परिवारलाई समय कत्तिको दिनु हुन्छ ?
परिवारलाई दिइएको समय प्रशस्त छैन जस्तो लाग्छ । कविवर भानुभक्त पोखरेलले वि.सं. २०५४ मा मलाई नेपाली भाषा संस्कृति परिषद्को महासचिव जिम्मेवारी दिनुहुँदा २१ वर्षको मात्र थिएँ र बी.एस्सी. पढाइको प्रारम्भिक समय नै थियो । त्यो भन्दा पहिल्यै, वि.सं. २०५२ मै तरंग साहित्यिक अभियान प्रारम्भ गरिएको थियो । विवाह हुँदाको समयसम्ममा त व्यस्तता बढिसकेको थियो । सन्तान जन्मने समयसम्म पुग्दा त झन् ज्यादै कार्यबोझले च्यापेको थियो । मेरी श्रीमतीजीको भनाइ नै रहने गरेको छकि यत्रो वर्षमा एक दिन पनि फुर्सदिलो भेट्न पाइएन । आमा, श्रीमती लगायत कतिजनालाई त यो स्वाभाविक नै लाग्छ । तर कोही कोहीले परिवार, आफन्त, इष्टमित्र, साथीभाइलाई पनि समय दिनु पर्ने भनेर गुनासो गर्ने गरेको अवस्था पनि नभएको होइन । तर प्रायः सबैलाई थाहा भइसकेको छकि जिन्दगीको बाँकी रहेको अवधिको तुलनामा मैले गर्नु पर्ने कर्तव्यका सूची धेरै लामो भएकाले कर्मरत रहनु नै प्राथमिकतामा छ ।

हामी विद्यार्थी हुँदा सुन्थ्यौँ कि निर्मल सरलाई त जम्मा दुई तीन घण्टा मात्र सुतेर पुग्छ रे । पछि तपाइँको संगतमा परेपछि थाहा भयो, तपाइँ त कैयौँ रातदिन पटक्कै नसुती पनि सक्रिय रहन सक्नु हुँदो रहेछ र कामकाजको बोझ नभएको बेलामा सामान्यतया तीन घण्टाजति सुत्ने दैनिकी दशकौँसम्म रहेछ । कसरी सम्भव भयो यो ?
सुत्दै नसुती लगातार धेरै दिनसम्म कार्यरत रहन अचेल बन्द गरिसकिएको छ । अचेल म प्रत्येक दिन सुत्ने गरेको छु किनभने यो शरीरको उमेर ४० वर्ष कटेपछि शरीरको माग करिब ५ घण्टाको विश्राम रहेको छ र सोही अनुसार गरिएको छ । सुत्दै नसुती वा दिनमा दुई तीन घण्टा मात्र सुतेर कार्यरत रहन सक्ने हुनको लागि ध्यानको विशेष विधिको साधना गर्नु पर्छ । उक्त विधि गुरुको प्रत्यक्ष प्रशिक्षणबाट सिक्नु पर्छ । गुरुबाट दीक्षा नलिई र प्रत्यक्ष निगरानीमा नरही मनमौजी तरिकाले गर्न खोज्दा नकारात्मक असर पर्ने र शरीर रोगी हुने खतरा हुन्छ । समुचित खानपिन गर्ने र ध्यानको विशेष विधिको साधना गर्ने हो भने जो कोही पनि गुडाकेश (निद्रालाई जित्ने) हुन सक्छ ।

हामीसँग भेट हुँदा कतिपय व्यक्तिहरुको भनाइ रहने गरेको छकि नेपालमा तपाइँको जति कदर हुनु पर्ने हो, त्यति हुन सकेको छैन । तपाइँको आफ्नो धारणा के छ ?
सबै भन्दा प्राथमिक कुरा त, मैले जे गरिरहेको छु वा गर्न योजना बनाइरहेको छु, त्यो मेरो कर्तव्य बोधका कारणले गरिरहेको हुनाले कसैले कदर गरोस् भन्ने अपेक्षा राख्न मिल्दैन । अपेक्षा राखेर कर्म गरियो भने कर्मयोगको प्रतिकूल हुन जान्छ । वैदिक परम्पराको मीमांसा दर्शनको परिशीलनका कारणले मेरो जुन चाल, चरित्र र व्यवहार निर्माण भएको छ, त्यो आधारमा कर्म गर्नु मात्र मेरो अधिकारक्षेत्र र कर्तव्यको परिधिमा छ, अरुले कसरी लिने हुन्, त्यो त उनीहरुको अधिकारक्षेत्र र कर्तव्यको परिधिको पाटो हो ।
दोस्रो कुरा, कदर भनेर केलाई भन्ने ? सरकारी निकायबाट पुरस्कार, नियुक्ति आदि पाउने कुरा हो भने त्यो लिनेवाला छैनँ । निर्लज्ज नाफाखोर बजारतन्त्रको पुरस्कार वा उपहार पनि म लिनेवाला छैनँ । मूलधारका भनिने मिडियामा कभरेज् पाउने रुची मलाई छैन, नत्र उनीहरु त अन्तर्वार्ता लिन पाऊँ भनेर आएका आयै छन्, मैले समय दिएको छैनँ । कार्यक्रमहरुमा निमन्त्रणा कति आउँछन् कति । जानका लागि समय नै पुग्दैन ।
विश्वविद्यालय जस्तो गरिमामय संस्थामा प्राध्यापनरत छु । अनेकौँ संस्थाहरुले मार्गनिर्देशन लिइरहेका छन् । सयौँ र हजारौँ व्यक्तिहरु महाअभियानमा जोडिनु भइसक्यो । मैले हेर्दा चौतर्फी सकारात्मक पक्षकै बढोत्तरी देखिरहेछु ।

होइन, अन्तर्राष्ट्रिय प्राज्ञिक जगतमा जुन मात्रामा तपाइँको कदर भएको छ, त्यसको तुलनामा नेपालमा हुन सकेको छैन भन्ने धेरैजनाको भनाइ रहने गरेको छ ।
हुन सक्छ । नहुन पनि सक्छ । मैले तुलना गरेर हेरेको छैनँ । कदरको लागि, सम्मानको लागि, प्रशंसाको लागि, पुरस्कारको लागि होइन, कर्तव्य हो भनेर कर्मरत रहनु पर्छ भन्ने पाठ मैले पढेको हुनाले मेरो जीवनदृष्टि नै सोही अनुसारको बनेको छ । म त कर्तव्य पूरा गर्न कृतसंकल्प छु ।
मेरो लागि जीवन एउटा यज्ञ हो । तसर्थ, आहुति त जीवनको स्वाभाविक परिणति हो । म जल्दा निस्केको आगोको झिल्काले अरुहरुको जीवनमा पनि केही उज्यालो मिल्यो भने खुशी नै लाग्छ । आत्मज्ञान हुनु, कर्तव्यबोध हुनु, सत्कर्मरत रहनु खास महत्त्वको कुरा हो ।
कदर भनेर गुणग्राहीहरुले गर्ने प्रशंसा, मद्दत, सहकार्य आदि हो भने यो त पाइरहेकै छु नि । जरो किलो परिवारको विस्तार जुन गतिमा भइरहेको छ, त्यो नै प्रमाण हो कि समाजले समुचित कदर गर्ने क्रम अघि बढिसकेको छ । विचारको, सिद्धान्तको, दर्शनको आयाममा हेर्दा ज्यादै उत्साह मान्नु पर्ने गरी बढोत्तरी भइरहेको छ ।
भविष्यमा, जब सत्तासीन तथा सत्तावृत्तका व्यक्ति वा निकायहरुले मबाट उनीहरुको हालीमुहालीमा खतरा देख्नेछन्, तब ममाथि आक्रमण गर्नेछन् । नेपालभित्रैका र विदेशका पनि व्यक्ति, समूह, संगठन वा सरकारले जुन कुनै पनि बेला मेरो विरुद्धमा कदम चाल्न, गतिविधि चलाउन र आक्रमण गर्न सक्छन् । त्यो बेला हो साँच्चै प्रतिकूल अवस्था आउने । सोही बेलामा हेरौँला, स्वदेशका को को र विदेशका को को साथमा रहने हुन् ।
शारीरिक वा भौतिक पाटोमा कसैले केही गर्दिनु पर्ने अवस्था आएकै छैन । भोली यो शरीर कमजोर भएको अवस्थामा, मानौँ प्रारब्धको कुनै कारणले रोगी भएको अवस्थामा, शरीरले पाउनु पर्ने समुचित व्यवहार पाइएनछ भने त्यो बेला नै थाहा होला, नत्र आजसम्मको स्थितिमा असन्तोष मान्नु पर्ने कुनै कारण देख्दिनँ । म सन्तुष्ट, सुखी जीवन बाँचिरहेको छु । हो, मझैँ सबैले सन्तुष्ट, सुखी जीवन बाँच्न पाऊन् भनेर महाअभियानको स्थापना गर्नु परेको र थप विस्तारका लागि कृतसंकल्प हुनु परेको हो ।


Sunday, February 12, 2023

 

विशेष वैचारिक अन्तरवार्ता

 सञ्चारयोग त्रैमासिकको लागि डा. निर्मलमणि अधिकारीसँग लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

पहिलो प्रकाशित सामग्रीको हिसाबले तपाईँले लेखन क्षेत्रमा ३२ वर्ष योगदान गरिसक्नुभएको छ । पहिलो पुस्तक कृति प्रकाशित भएको २५ वर्ष भइसकेछ । कुनै पनि व्यक्तिको जिन्दगीमा यो निकै लामो समय अवधि हो । आफ्ना प्रकाशित सामग्रीहरूलाई कसरी हेर्नुभएको छ ?
प्रारब्धवश भनौँ वा परिवारको वातावरणले भनौँ, शैशवकालदेखि नै मलाई पढ्ने, सुन्ने र ज्ञानमार्गमा अग्रसर हुने अवसर मिल्यो । आफ्ना मनमा लागेका वा मस्तिष्कमा खेलेका अनुभूति, धारणा वा विचारलाई लेखेर अभिव्यक्त गर्ने र तिनीहरूलाई प्रकाशित गर्ने अवसर पनि सानै उमेरदेखि मिल्यो । हालसम्मको लेखनयात्रामा अनेक आयाम रहे । प्रारम्भमा स्वान्तसुखाय लेखिन्थ्यो । यो चरणमा साहित्यिक भनिइने सामग्रीहरूको लेखन अधिक् भयो । दोस्रो, पत्रपत्रिका वा पुस्तकमा पढेका कुराको प्रतिक्रियामा लेखियो । पत्रपत्रिकाका सम्पादकलाई पत्र स्तंभमा नै मेरा सयौँ पत्रहरू प्रकाशित भएका थिए र स्वतन्त्र लेखका रूपमा प्रकाशित सामग्रीहरूमध्ये पनि धेरैको अन्तर्वस्तु अन्य व्यक्ति वा संस्थाका क्रियाको प्रतिक्रियामा केन्द्रित थियो । अहिले ती पत्रहरू र सोही समयमा प्रकाशित लेखहरू पढ्दा स्पष्ट हुन्छ — त्यो तीव्र गतिको सिकाइ, थाहा पाउने हुटहुटी, मार्गनिर्देशक सिद्धान्तको खोजी, प्रतिक्रिया, केही मात्रामा आवेग र आक्रोशको समय पनि थियो । तेस्रो, आत्मदर्शनका लागि लेखिएका धर्म, संस्कृति, संस्कार, दर्शन आदिमा केन्द्रित काव्य, लेख तथा पुस्तकहरू रहेका छन् । चौथो, वैयक्तिक वा पेसागत अवसरको परिप्रेक्ष्यमा पाठ्यपुस्तकहरूको लेखन पनि एउटा आयाम रह्यो । पाठ्यक्रममा आधारित पाठ्यपुस्तकको आफ्नै महत्त्व छ । पाँचौँ, समाज वैज्ञानिक अनुसन्धान पद्धतिको प्रयोग गरेर लेखिएका अर्थात् शोधपरक लेखहरू तथा पुस्तकहरू लेख्नु पनि महत्त्वपूर्ण पाटो रहेको छ । जीवन अनुभव र औपचारिक शिक्षाको परिपक्वता सँगसँगै शोध प्रवृत्ति र अनुसन्धान पद्धतिमा विज्ञताले ज्ञानमार्गको यात्रालाई थप व्यवस्थित बनाउन सम्भव भएको हो । यो आयमले प्राज्ञिक परिचय र वैश्विक तहसम्म योगदानको ढोका पनि खोल्यो । छैटौँ, केही मात्रामा पहिलो चरणदेखि नै रहेको र समयक्रममा झन् झन् प्रबल बनेको आयाम चाहिँ जीवन र जगत्प्रतिको जिम्मेवारी बोध गरेर लेखिएको सोद्देश्य लेखन हो । वि.सं. २०७२ पछि यो आयाम थप प्रबल बनेको छ । सातौँ, संस्थागत जिम्मेवारीका कारणले लेखिएका सामग्रीहरू पनि थुप्रै छन् । विगतमा नेपाली भाषा–संस्कृति परिषद् र युग निर्माण अभियान तथा वर्तमानमा जरोकिलो महाअभियान र सनातन धर्म महासङ्घको पदीय जिम्मेवारीको कारणले पनि कैयौँ सामग्रीहरू लेख्नु परेको छ, लेखिएको छ । आठौँ, मैले प्रत्यक्ष लेख्न नभ्याएका, तर विशेष सन्दर्भमा बोलेका कुराहरूको लिप्यन्तरण गरी पुस्तक वा लेखका रूपमा प्रकाशित गर्ने क्रम पनि केही वर्षदेखि चलेको छ । यी त भए म आफैँले आफ्ना लिखित एवं प्रकाशित सामग्रीहरूका अनेक आयाम बारे थाहा पाएका कुरा । शोधकर्ताहरूले व्यवस्थित अनुसन्धान गर्ने हो भने अर्कै आयामहरू पनि उजागर हुन सक्छन् ।

करिब तीन दशकको अथक् योगदानलाई आफू स्वयंले कसरी मूल्याङ्कन गर्नुभएको छ ?
करिब तीन दशकको यो लेखनयात्रामा जीवन र जगत्को विवरण, विश्लेषण र अर्थापनका अनेक घुम्तीहरू पार गरिएको छ । मैले लेखेका सामग्रीहरू मूलतः नेपाल र कतिपय चाहिँ सारा संसारलाई हेर्ने आँखीझ्याल जस्ता छन् । नेपाल जस्तो छ, संसार जस्तो छ र मैले अध्ययन, सोधखोज र अनुसन्धानबाट जस्तो देखेँ, त्यही यथार्थ मेरो लेखनी मार्फत् प्रस्तुत भएको छ । प्राज्ञिक तहबाट हेर्दा सञ्चारप्रक्रियाको मौलिक सिद्धान्तीकरणमा ठोस कार्य हुन सकेको छ । सञ्चारको साधारणीकरण ढाँचा, सञ्चारयोग सिद्धान्त एवं सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा दार्शनिक सिद्धान्तीकरण र सञ्चार ढाँचाको अभिनिर्माणलाई वैश्विक तहमा समेत प्राज्ञिक समुदायले प्रशंसा गरेको छ । यता नेपालमा आज नेपालमा जुन पुनर्जागरणको सचेतना फैलिएको छ, त्यसका लागि प्रत्यक्ष योगदान गर्न सकिएको अनुभूति छ । सहृदयता दर्शन, आधारशिला चतुष्टय, स्थितिगत्यात्मक प्रगतिवाद, राज्यराष्ट्र सिद्धान्त, सहृदयता अर्थतन्त्र, मौलिक शिक्षा प्रणाली, पारिस्थितिक सम्भाव्यताको नियम, सातत्य दृष्टिकोण, सम्मेयता, मौलिक नेतृत्व पद्धति आदिको अभिनिर्माणको आधार वा जग यही लेखनयात्रामा रहेको छ । आफ्ना लेखनीबाट जन्मेका कृतिहरूको आत्म–मूल्याङ्कन बेला बेलामा गर्ने गरेको छु र विचारमा आवश्यक स्थितिगत्यात्मक परिवर्तन पनि गरेको छु । बृहत्तर समाजले गर्ने मूल्याङ्कन समयक्रममा हुँदै जाला भन्ठानेको छु ।

सातत्य दृष्टिकोणको उल्लेख तपाईँले गर्नुभयो । सातत्य दृष्टिकोणको महत्त्व के छ ? दुईफक्लेटे (बाइनरी) दृष्टिकोण किन त्याज्य हो ?
द्वन्द्ववादी दुईफक्लेटे दृष्टिकोण पराई हो, सातत्यको दृष्टिकोण मौलिक हो । वैदिक, बौद्ध, जैन, किरात, बोन आदि परम्परामा सातत्य दृष्टिकोण रहिआएको छ । उक्त दृष्टिकोणहरूले मानिसको सोचाइ, हेराइ, व्यवहार सबैमा अन्तर पार्छन् ।
जस्तै ः– विज्ञान र धर्म अलग अलग वा विरोधी मान्नु दुईफक्लेटे दृष्टिकोण हो । सातत्यको दृष्टिकोणले चाहिँ मानव जीवनको पूर्णताका लागि स्थूल, सूक्ष्म र कारण शरीर तीनैवटालाई यथार्थ मान्छ, आधिभौतिक, आधिदैविक र आध्यात्मिक तीनवटै अभ्युदय आवश्यक ठहर्याउँछ र विज्ञान र धर्मलाई उपनिषद्ले अविद्या र विद्याको सातत्य सम्बन्धमा बताएझैँ अन्तःसम्बद्ध देख्छ । अर्को उदाहरण ः– दुईफक्लेटे दृष्टिकोणले व्यक्ति, समाज र राज्यलाई प्रतिस्पर्धी वा शत्रु देखाउँछ । एउटै समाजमा रहेका अनेक समुदायलाई सङ्कीर्ण कित्ताकाटमा विभाजन गर्ने दोषपूर्ण दृष्टिकोण त्यसले दिन्छ । यता सातत्य दृष्टिकोणले व्यक्ति, परिवार, कुटुम्ब, समाज, राज्य र वैश्विक संरचनाहरू सहृदयताको प्रणालीमा आबद्ध एवं अन्तःसम्बद्ध हुने विचार र व्यवहारको प्रवर्धन गर्छ । तेस्रो उदाहरण ः– दुईफक्लेटे दृष्टिकोणले राष्ट्रराज्य, द्विराष्ट्रियता, बहुराष्ट्रियता जस्तो मताग्रह देखाउँछ । यता सातत्यको दृष्टिकोणले चाहिँ देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक समाज छ, तर राष्ट्र त सबै समन्वित भई बन्ने समष्टिमूलक एउटै साझा राष्ट्रियता छ भन्ने तथ्य देखाउँछ (राज्यराष्ट्र सिद्धान्त) । दृष्टिकोणको तहमै मौलिकता सुनिश्चित गर्नको लागि सातत्य दृष्टिकोण लिनुपर्छ र दुईफक्लेटे दृष्टिकोण त्याग्नुपर्छ ।
तपाईँले आफ्ना पुस्तकहरू चुच्चे–नेप्टेको सवाल र दशैँ बहिष्कार (२०५६), आस्थाको शान्ति–युद्ध (२०५७) र ब्राह्मणवाद विरुद्ध घृणावाद (२०६५) मार्फत् गर्नुभएका विश्लेषण, आँकलन र प्रक्षेपण त्यसपछिका वर्षहरूमा नेपालमा सही प्रमाणित भएको देखियो । लेखक, विश्लेषक एवं अनुसन्धानकर्ताका लागि यस्तो प्रामाणिकता त ठूलो विश्वसनीयता हो । तपाईँले समय वा कालखण्डको कसीमा यसरी प्रामाणिक ठहरिने गरी त्यति बेला लेख्न सक्नुको कारण के हो त ? साथै, वैचारिक तहमा समयक्रमा ठूलो प्रतिमान परिवर्तन भएको पनि तपाईँले बताउने गर्नुभएको छ । यस बारे स्पष्ट पारिदिनुहोस् ।
यहीँको समाजमा जन्मेर यहीँ हुर्केको, बढेको, पढेको, देखेको र यहीँको मौलिक दृष्टिबिन्दुबाट लेखेको हुनाले तथ्य, तर्क, विश्लेषण, अर्थापन, आँकलन र अर्थापनमा प्रामाणिकता र विश्वसनीयता भएको हुनुपर्छ भन्ने मलाई लागेको छ । आफ्नो बलबुताले सकेसम्म तथ्य र तर्कमा वस्तुनिष्ठता अवलम्बन गर्न खोज्ने प्रवृत्ति मेरो छ । आधुनिक समाजवैज्ञानिक पद्धतिको अध्ययन गर्ने अवसर मिलेको हुनाले त्यसले ठूलो मद्दत पुगेको छ । दर्शनशास्त्रको अनुशीलनका कारणले प्रमाण–प्रमेय पद्धतिको जानकारी पनि हुन पाएको छ । पुराना सामग्रीहरूमा रहेका विवरण र विश्लेषण अहिले पनि धेरै हदसम्म तथ्यपूर्ण छन् । त्यहाँ गरिएका आँकलन, प्रक्षेपण वा पूर्वानुमान पनि मिलेका छन् । अब के गर्ने वा समाधान के हो भन्ने सवालमा अवश्यै मेरो दृष्टिकोण थप व्यवस्थित, वैचारिक स्पष्टताले पूर्ण एवं युगानुकूल विश्वदृष्टिकोण सहितको बनेको छ । चुच्चे–नेप्टेको सवाल र दशैँ बहिष्कार (२०५६), आस्थाको शान्ति–युद्ध (२०५७) र ब्राह्मणवाद विरुद्ध घृणावाद (२०६५) मा रहेका अन्तर्वस्तुको लेखन तथा प्रकाशनको समयमा जिज्ञासा, हुटहुटी, प्रतिक्रियाको ओज प्रबल थियो भने लगभग एक दशक यताको कालखण्डमा स्वक्रियात्मकता, दार्शनिक एवं सैद्धान्तिक अभिनिर्माण र वैश्वस्थानिक ज्ञानको आलोकको प्रबलता छ । मौलिक दृष्टिकोण पूर्ण विकसित भएको छ । सहृदयता दर्शन, आधारशिला चतुष्टय, स्थितिगत्यात्मक प्रगतिवाद, राज्यराष्ट्र सिद्धान्त, सहृदयता अर्थतन्त्र, मौलिक शिक्षा प्रणाली, पारिस्थितिक सम्भाव्यताको नियम, सातत्य दृष्टिकोण, सम्मेयता, मौलिक नेतृत्व पद्धति आदिको अभिनिर्माण भइसक्नुले वैचारिक तहमा प्रतिमान परिवर्तन सम्भव भएको हो ।
आजभन्दा धेरै वर्ष पहिले प्रकाशित भएको ब्राह्मणवाद विरुद्ध घृणावाद ः नेपालमा जातीय, भाषिक र साम्प्रदायिक सवाल (२०६५) कस्तो पुस्तक हो ? कसरी पुस्तकको स्वरूपमा तयार भयो ? यसको अन्तर्वस्तुको संरचना कस्तो छ ? यसमा कस्ता विषयवस्तु समावेश गरिएका छन् ?
अब सुरुमा जुन प्रश्न आयो यो कस्तो किताब हो भनेर भन्दा योचाहिँ पूर्व–प्रकाशित सामग्रीहरूको संकलन हो । यो पुस्तक २०६५ सालमै निक्लेको हो तर विक्रम सम्वत् २०५२ देखि २०६५ साल सम्म लेखिएका र विभिन्न पत्रपत्रिकामा प्रकाशित सामग्रीहरूको संकलन हो यो । मैले सुरुमा लेखेका सम्पादकलाई चिठीहरू, टिप्पणीहरू, प्रतिक्रियाहरूका साथसाथै स्वतन्त्र लेखहरू, कार्यपत्रहरू, प्रस्तावनापत्रहरू सहितका धेरै चिज यहाँ छन् । यो पुस्तकमा संकलित सामग्रीहरूले नेपालमा त्यो बेलामा पनि प्रखर भइसकेका जातीय, भाषिक तथा सम्प्रदायसँग सम्बन्धित द्वन्द्वका कुराहरू, अर्थात् पहिचानको राजनीतिसँग सम्बन्धित विभिन्न पक्षहरूबारे मेरो अवलोकन, विश्लेषण र अर्थापनलाई प्रस्तुत गरेका छन् । अलग अलग समयमा लेखिएका र प्रकाशित भएका ती सामग्रीहरूलाई कालान्तरमा हेर्दा तिनीहरूले मेरो वैचारिक उद्विकासलाई प्रतिनिधित्व गर्ने रहेछन् । समकालीन नेपालमा तिनीहरूको संकलन गरी एउटै पुस्तकमा प्रस्तुत गर्दा धेरै अध्येताहरूको लागि त्यो उपयोगी हुने देखियो । २०६५ सालमा पुगेर हेर्दा त ती सामग्रीहरूमध्ये कैयौँ सामग्री त असाध्यै चर्चित पनि भएका थिए । कसैले विवादित पनि भन्लान् । आफ्नो आफ्नो दृष्टिकोण हो । मैले पहिल्यै आँकलन वा पूर्वानुमान गरेका कुराहरू नेपालमा घटित भइरहेका देखेपछि धेरैजनालाई आश्चर्य पनि लाग्यो र पूर्व–प्रकाशित ती सामग्रीहरू २०६२—६३ पछि झन् सान्दर्भिक भएको महसुस उहाँहरूले गर्नुभयो । ती सामग्रीहरूको संकलन प्रकाशित हुनुपर्छ भनेर धेरैजनाले अनुरोध पनि गर्नुभयो । फलस्वरूप २०६५ मा यो पुस्तक जन्मियो ।
यो पुस्तकमा आठवटा खण्डमा ५२ वटा सामग्रीहरू राखिएका छन् । तिनीहरूले अनेकौँ विषयवस्तुलाई सम्बोधन गरेका छन् । नेपालमा जातीय समस्याको सवाल र समाधान बारे विस्तृत विवरण र विश्लेषण छ । जातीय पहिचानको सवाललाई कम्युनिष्ट पार्टीहरूले कसरी गिजोले र माओवादी भनिने गुटले कसरी दुरुपयोग गरेको थियो भन्ने तथ्य झल्काउने सामग्रीहरू पनि छन् । कम्युनिष्ट विचारधाराले देशलाई ढिलो वा चाँडो जातीय घृणा र द्वन्द्वमा फसाउने तथ्यलाई अन्तरराष्ट्रिय सन्दर्भबाट समेत स्पष्ट पारिएको छ । जनजाति, आदिवासी र आदिवासी जनजाति भनिने पहिचानको राजनीतिका अनेक पक्ष बारे लेखिएका सामग्रीहरू पनि यो पुस्तकमा संकलित छन् । क्षेत्रीयता (मधेशकेन्द्रित राजनीति), जातीयता र भाषासँग सम्बन्धित पहिचानको राजनीति बारे लेखिएका सामग्रीहरूले त्यो बेलाको चुनावी गणित र भोटब्याङ्क राजनीतिसँग सम्बद्ध सवालहरूलाई केलाएका छन् ।
धर्म, मजहब र रिलिजनको सङ्घर्ष बारे लेखिएका सामग्रीहरू पनि यो पुस्तकमा संकलित छन् । “धर्मपरिवर्तन” भनिने क्रियाकलापले नेपालमा कस्तो समस्या ल्याउनेवाला छ भन्ने आँकलन पनि कतिपय लेखहरूमा छ । नेपालको हिन्दू पहिचानको सवाल, हिन्दू अधिराज्यको सवाल र धर्मनिरपेक्षता र धर्मसापेक्षताको सवाल बारे लेखिएका सामग्रीहरू पनि पुस्तकमा संकलित छन् ।
मूल कुरोचाँहि के हो भने त्यो बेलामा सुरु भइसकेको तर अहिले झन् बढी प्रखर रूमा आइरहेका सवालहरूलाई यो पुस्तकले छुन्छ, सम्बोधन गर्छ । यद्यपि यो लेख्ने बेलामा त कुनै योजना गरेर लेखिएको पुस्तक थिएन । विभिन्न समयमा लेखिएका सामग्रीहरू संकलन गर्दा यो स्वरूमा पुस्तक बन्न पुगेको थियो । नेपालको राष्ट्रियताको बृहत्तर व्याख्या कसरी गर्ने र बृहत् नेपाली जातीयताको साझा आधार कसरी पहिल्याउने भन्ने चिन्ता र चिन्तन पनि यहाँ छ । यसरी समकालीन नेपाल देखाउने प्रतिनिधि पुस्तक बनेको छ यो ।

त्यो ब्राह्मणवाद विरुद्ध घृणावाद पुस्तक प्रकाशित भएको धेरै वर्ष भइसक्यो । त्यसमा पनि पुस्तक भित्रका लेखहरू पहिलो पटक कहिले प्रकाशित भएका थिए भन्ने विचार गर्दा त ती झन् पुराना छन् । त्यति पुराना लेखहरू भए तापनि तिनीहरूलाई मानिसहरूले किन पुनः पुनः पढिरहेका हुन् त ? कतिपय पत्रपत्रिका र अनलाइनहरूले अचेल पनि बेला बेलामा यसभित्रका सामग्रीहरू पुनः प्रकाशन गरिरहेको देखिन्छ । हजुरकै कतिपय वक्तव्य, कतिपय लेखमा तथा अन्य कतिपय महानुभावहरूका वक्तव्य वा लेखमा पनि यो पुस्तकको उल्लेख गरिएको देख्छु । खास के त्यस्तो कुरा यसमा छ जस्ले यो पुस्तकलाई यति धेरै वर्षपछि पनि सान्दर्भिक बनाइरहेको छ ?
मैले उति बेला आँकलन वा पूर्वानुमान गरेका कुरा ती लेखिएका केही वर्षपछि नै नेपालमा घटित भए । पहिलो उदाहरण हो हिन्दू अधिराज्य हटाएर धर्मनिरपेक्षता घोषणा गरेको घटना । नेपालमा त्योबेलामा हिन्दू अधिराज्य संविधानमा उल्लेखित थियो । तर त्यो चुनौतीविहीन थिएन । प्रकाशित सामग्रीहरू प्रमाण छन् — २०५२ देखि नै फाटफुट रूमा र २०५५ देखि सघन रूमा मैले आफ्नो लेखनी मार्फत् सावधान गराउँदै आएको थिएँ कि नेपालको हिन्दू पहिचानको विरुद्धमा विरोध र षडयन्त्र गरिरहेका छन्, चक्रव्यूह बनाइरहेका छन् । यो माथि प्रश्न उठेको छ र चाँडै नै यो पहिचान हटाउन सक्छन्, सरोकारवालाहरू सावधान होऊ भनेर स्पष्टतः लेखिदिएको थिएँ । हटाएको त २०६२—६३ सालको परिवर्तनपछि, पुनःथापित प्रतिनिधिसभाले औपचारिक रूमा हटाएको हो । तर त्यस्तो हुनसक्छ है भन्नेकुरा चाँहि मैले लगभग ५५ सालमै आँकलन गरिसक्या रहेछु । २०५७ सालमा निक्लेको आस्थाको शान्ति–युद्ध पुस्तकमा र त्यही समयतिर निक्लेका लेखहरूमा हेर्यो भने त्यो अझ प्रखर रूमा बताएको छु । यो पुस्तक ब्राह्मणवाद विरुद्ध घृणावाद ः नेपालमा जातीय, भाषिक र साम्प्रदायिक सवाल मा संकलित सामग्रीहरू पढ्ने हो भने पनि थाहा हुन्छ — हिन्दू अधिराज्य हटाउनेहरूले लामो समयसम्म र योजनाबद्ध तरिकाले तयारी गरेका थिए । हिन्दू अधिराज्य हटाएको अकस्मात् होइन, तिनीहरूले योजनाबद्ध तरिकाले देशका र विदेशकाले चलखेल गरिरहेका थिए । तिनीहरूका योजना र अभीष्ट बारे फण्डाफोर नगरिएको होइन । तर हिन्दू अधिराज्य जोगाउने जिम्मेवारी भएका सरोकारवाला संस्थाहरू निदाएर बसे वा बेवास्ता गरे ।
अर्को उदाहरण पनि हेरौँ । आजको विन्दुमा नेपालमा गणतन्त्र छ । हुन त असोज ३ गते संविधान दिवसको दिनमा राजतन्त्रै चाहियो अथवा राजसंस्था चाहियो भनेर मानिसहरूले जुलुस पनि निकाले, संविधान पनि जलाए । तर अहिले कानुनी हैसियतले गणतन्त्र बहाल छ र अहिले सम्मपनि राजतन्त्र र गणतन्त्रको सङ्घर्ष चलिरहेको छ । जुन बेलामा मैले ती सामग्रीहरू लेखेको थिएँ, त्यो बेलामा चाँहि गणतन्त्रको पक्ष लिनेहरू प्रबल भइसकेका थिएनन् । तर लामो समयदेखि उनिहेरुले गरिरहेका कार्य हेरेर के चाँहि आँकलन गरिएको थियो भने सोही तरिकाले गयो भने चाँडै नै ठूलो परिवर्तन हुनसक्छ । परिवर्तन कस्तो भयो, हामी सबैका अगाडि छ । लेखक, विश्लेषक, अनुसन्धानकर्ताका लेख वा पुस्तक पढेर आफ्ना लागि आवश्यक रणनीति बनाउने जिम्मेवारी त सम्बन्धित सरोकारवालाहरूको हुनु पथ्र्यो ।
अर्को पनि उदाहरण छ । त्यो बेलामा केही विदेशी सरकारी संस्थाहरू, क्रिश्चियन मिशनरीहरू, आईएनजीओहरू र एनजीओहरूले जनजाति, आदिवासी, आदिवासी जनजाति, मूलवासी वा अन्य कुनै नाममा जस्ताखाले ‘प्रोजेक्ट’हरूलाई धेरै ‘फण्डिङ’ गरिरहेका थिए, जनजातिकेन्द्रित पहिचानको राजनीति भनेर केही पार्टीहरू थिए, मङ्गोल र अहिन्दू भन्ने ‘प्रोपागाण्डा’ चलिसकेको थियो, मधेशकेन्द्रित द्विराष्ट्रियतावादी नेपाल सद्भावना पार्टी थियो र अर्को तरिकाबाट तत्कालीन नेकपा (माओवादी) ले विभिन्न जातिहरूलाई भ्रमित पारेर वा उरालेर जातीय स्वशासनको कुराहरू ल्याएको थियो, त्यसले बिथोलिएको नेपालमा कालान्तरमा जातीय हिंसा मच्चाउन उद्धत वा राष्ट्र विखण्डनकै माग राख्ने एवं द्विराष्ट्रियता, बहुराष्ट्रियतावालाहरू आउनेवाला छन् भन्ने आँकलन त्यति बेलै गरिएको थियो । मैले गरेको आँकलन वा पूर्वानुमान तथ्यपूर्ण रहेछ भन्ने प्रमाणित भएको छ । सङ्घीयताको जुन पाटो छ नि मानिसहरू अकस्मात् कहाँबाट आयो भन्छन् । तर मेरो पुस्तकमा संकलित लेखहरू हेर्यो भने सङ्घीयताका बारेमा पहिलेनै कुरो उठाइरहेका थिए भन्ने तथ्य जानकारी हुन्छ । त्यो बेला सत्तामा हालीमुहाली गरिरहेकाहरूले देशका कस्ता कस्ता सवालहरू खडा भइरहेका वा गरिएका छन् भन्ने थाहा पाउनु पथ्र्यो ।
ल है, जाग्रत हौँ है भनेर लेखिएका कुरा यहाँ छन् । ती लेखहरूमध्ये धेरै वटा लेखिँदाखेरिमा त मैले संस्थागत ढाँचामा रहेर, अभियान सञ्चालन गरेर, सङ्गठित भइरहेको बेलामा लेखेको होइन । एउटा पाठकले के के देख्यो र एउटा लेखकले विश्लेषण गरेर के विश्लेषण, के आँकलन गर्यो, त्यो लेखिएका कुराहरू यहाँ धेरै छन् । त्यहि बेलामा जे देखिएको थियो र जुन कुरा भनियो, त्यसको केही वर्षभित्रै ती कुराहरू भए । २०६५ सालपछाडि त अझ धेरै कुराहरू भएका छन् ।
जसले खासमा यो पुस्तकको उद्देश्य भनेको नेपाललाई जोड्ने हो, नेपालको विविधता कसरी समावेशी बनाउने हो, तर गर्ने तरिकाचाँहि घृणाको तरिका होइन कि सहृदयताको तरिका हो भन्ने बुझ्दछ उसले चाँहि यो पुस्तक अवश्य पढ्छ । पढेपछि उ पनि अचम्मित हुनेरहेछ कि त्यो बेलामै आज हामीले भोगिरहेका समस्याहरूको बारेमा प्रशस्त चर्चा परिचर्चा भएको रहेछ । त्यसले गर्दा नै होला मानिसहेरुले यसलाई बारम्बार उल्लेख गर्ने, पुनः पढिरहने र म स्वयंले पनि यसका बारेमा उल्लेख गर्नु पर्ने परिस्थिति भएको पक्कै पनि त्यही कारणले हो ।

उक्त पुस्तकमा समावेश गरिएका सामग्रीहरूले उठाएका आधारभूत सवाल आज पनि उत्तिकै जीवन्त छन् । त्यो बेलामा सतहमा प्रकट नभइसकेका, तर हजुरले इंगित गर्नुभएका समस्याहरू समयक्रममा सतहमा देखिएका धेरैवटा उदाहरण पुस्तकभित्र पाइने रहेछ । कैयौँ कुराहरू त स्पष्ट प्रक्षेपण नै गरिएको रहेछ र कालान्तरमा ती सही साबित भएका देखियो । यसरी यो पुस्तक मार्फत् गरिएका विश्लेषणको वैज्ञानिकता थप पुष्टि भएको छ । तर समाधान के हो भन्नेमा चाहिँ त्यो बेलाको मान्यता र अहिलेको मान्यता उस्तै छ वा प्रतिमान परिवर्तन भएको छ ? यसलाई थप स्पष्ट पारिदिनुहोस् न ।
यो पुस्तकमा संकलित सामग्रीहरू जुन बेलामा लेखिएका थिए, त्यो बेला र आजको अवस्थामा तात्विक अन्तर छ । समस्याको विश्लेषण त हिजो पनि गरेको हो र त्यो तथ्यपूर्ण रहेछ । समस्याको समाधान गर्नको लागि हिजो त युरोपेली प्रतिमान अनुसारका दर्शन, सिद्धान्त, वादहरूको प्रभुत्व भएकाले कता कता के के नमिलेको अवस्था थियो । त्यो बेला सहृदयता दर्शनको पूर्ण विकसित दृष्टिकोण बनिसकेको थिएन । सहृदयता दर्शन, आधारशिला चतुष्टय, स्थितिगत्यात्मक प्रगतिवाद, राज्यराष्ट्र सिद्धान्त, पारिस्थितिक सम्भाव्यताको नियम आदिको अभिनिर्माण एवं विकास भइसकेको आजको अवस्था छ । सहृदयता अर्थतन्त्रको खाका तयार पारिएको छ । अहिले नेपालका सबै जातीय समुदाय, सबै भाषिक समुदाय, सबै भौगोलिक क्षेत्रका मानिसहरू, जस्तोसुकै राजनीतिक दृष्टिकोण भएका मानिसहरू हुन्, ती सबै अटाउन सक्ने विचारधारा हामीसँग छ । नेपालमा जातीय, भाषिक, सांस्कृतिक, धार्मिक बहुलता एवं विविधता छ, तर राष्ट्र चाहिँ समष्टिमूलक भएको हुनाले सबैको एउटै साझा राष्ट्रियता छ भन्ने हाम्रो सैद्धान्तिक निष्कर्षले नेपालको धरातलीय यथार्थलाई सम्बोधन गर्न सक्छ । नेपालको भाषिक सवाललाई नेपाली भाषालाई सबैथरि नेपालीजनको साझा भाषा र नेपालका सबै भाषाहरूको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने भाषिक नीति हामीले बनाएका छौँ । वंशीयार र अंशीयार नीतिले नेपालका सबै जात, जाति, समुदायको उत्थान गर्ने र आपसमा सहृदयताको सम्बन्ध सुनिश्चित गर्ने नीति हामीले बनाएका छौँ । वैदिक सनातन हिन्दू, बौद्ध, किरात, बोन, जैन, प्रकृतिपूजक आदि यहाँका मौलिक रैथाने धार्मिक समुदायको संरक्षण, संवर्धन र प्रवर्धनका लागि स्पष्ट नीति हामीसँग छ । पहिचानको संस्कृति मानेर सांस्कृतिक अधिकार सुनिश्चित गर्ने र राजनीतिक सिद्धान्त आधारित राज्यतन्त्रले नागरिक तथा राजनीति अधिकार सुनिश्चित गर्ने विशिष्टिकृत पद्धति हामीले अघि सारेका छौँ । यसले समावेशी नेपालको मार्गचित्र स्पष्ट पारेको छ । मौलिक सङ्घीयता बारे सैद्धान्तिक स्पष्टता भएको छ । यी उदाहरणहरू हुन् । सबै आयाममा पूर्णतः हाम्रो मौलिक पद्धतिबाट र नेपालको विविधतालाइ जोड्ने गरी हामीले सिद्धान्त र नीति बनाएका छौँ । यसरी प्रतिमान परिवर्तन भएको छ । नेपालीजनलाई जोड्ने आधारहरू दर्शन, सिद्धान्त एवं नीतिकै तहदेखि नै स्पष्ट भएका छन् । यो सहृदयताको प्रतिमान, जरोकिलोको प्रतिमान जुन आयो यो ठूलो उपलब्धि हो ।

जरोकिलो महाअभियानको आधिकारिक दृष्टिकोणबाट मूल्याङ्कन गर्दा चुच्चे–नेप्टेको सवाल र दशैँ बहिष्कार (२०५६) आस्थाको शान्ति–युद्ध (२०५७) ब्राह्मणवाद विरुद्ध घृणावाद (२०६५) पुस्तकहरूलाई कसरी लिने त ? नयाँ पुस्तकहरू नेपालको पुनर्जागरणको अर्थ र आधार (२०७५), सहृदयता दर्शनको प्राक्कथन (२०७६), वैज्ञानिक सत्ययुगको आधारशिला (२०७६), राज्यराष्ट्र (२०७७), युगद्रष्टाको संकल्प (२०७७) जस्तै ती पुराना पुस्तकहरू पनि जरोकिलो महाअभियानको आधिकारिक दस्ताबेज हुन् त ? कि तिनीहरू सन्दर्भ सामग्री मात्र हुन् ?
अब यसलाई स्पष्टतः के बुझ्नुपर्छ भने प्रारम्भिक वैचारिक सिकाइको क्रममा लेखिएको, व्यक्तिगत दृष्टिकोणबाट लेखिएको र त्यति बेला जरोकिलो महाअभियानको संस्थागत स्वामित्व नभइसकेको अवस्था हुनाले पुराना पुस्तकहरूलाई चाहिँ सन्दर्भ सामग्रीको रूमा मात्रै हेर्नुपर्छ । वि.सं. २०७२ मा जरोकिलो महाअभियानको स्थापना भएको ऐतिहासिक तथ्यलाई विचार गर्नुपर्छ र पुराना सामग्रीलाई यो जरोकिलोको मौलिक दृष्टिकोणबाट पुनः परीक्षण गर्नुपर्छ ।
ती सन्दर्भ सामग्रीहरू देशका जल्दाबल्दा समस्या के थिए, के हुन् र आज हामी कसरी यहाँसम्म आइपुग्यौँ भन्ने तथ्य बुझाउनलाई बडो उपयोगी छन् । हामीले वैज्ञानिक विश्लेषण गर्दा रहेछौँ र हामीले गरेका आँकलन र पूर्वानुमान मिल्ने रहेछन् भन्ने प्रामाणिकता र विश्वसनीयताको पुष्टिका लागि हिजोका पुस्तकहरू जिउँदा प्रमाण हुन् । तसर्थ ती उपयोगी सन्दर्भ सामग्री हुन् । तर आज आधिकारिक दस्ताबेजको रूमा लिने अवस्थाका सामग्री तिनीहरू होइनन् । आजको आधिकारिक दृष्टिकोण दिने चाहिँ जरोकिलो महाअभियानको संस्थागत स्वामित्व भएका सामग्रीहरू हुन् किनभने वर्तमान र भविष्यको लागि, सारा समस्याहरूको समाधानका लागि जुन नयाँ आलोक चाहिने हो, त्यसका लागि सहृदयता दर्शनको प्राक्कथन, नेपालको पुनर्जागरणको अर्थ र आधार, राज्यराष्ट्र जस्ता नयाँ पुस्तकहरू लेखिएका हुन् । वैज्ञानिक सत्ययुगको आधारशिला मूलतः पहिल्यै लेखिएको भएतापनि नयाँ आलोकमा परिष्कार गरी दोस्रो संस्करण प्रकाशित भइसकेको कृति हो । संकल्प पुस्तक त जरोकिलो महाअभियानका आधिकारिक मञ्चबाटै बोलिएका कुराको संकलन नै हो । यसरी आधिकारिक दस्ताबेज कस्ता र कुन कुन हुन् भन्ने स्पष्ट छ ।
हिजो समाज भाँड्न खोज्नेहरूको क्रियाकलापको प्रतिक्रियाको पाटो प्रबल थियो भने आज नेपालको पुनःजागरणको संवाहकका हैसियतमा स्वक्रियात्मकता प्रबल छ । हिजो युरोपेली प्रतिमानको राष्ट्रराज्य सिद्धान्त मात्रै उपलब्ध भएको बेलामा र आज राज्यराष्ट्रको सिद्धान्त समेत उपलब्ध भएको बेलामा हेर्ने दृष्टिकोणमा त पक्कै फरक पर्छ । हिजो पहिचानको राजनीतिलाई अर्को पहिचानकै राजनीतिले जवाफ दिन खोजेको कुरा र आज चाहिँ पहिचानको राजनीति हैन रहेछ, पहिचानको संस्कृति र विचारधाराको, राजनीतिक सिद्धान्त अनुसारको राजनीति चाहिँ हो रहेछ भन्ने मान्यतामा आइसक्दा पक्कै फरक पर्छ । त्यसो भएको हुनाले आधिकारिक दृष्टिकोणको लागि चाहिँ जहाँ संस्थागत स्वामित्व भएका सामग्रीहरू छन् त्यहाँबाट हेर्ने र सन्दर्भ सामग्रीको रूपमा पुराना पुस्तकहरूलाई पनि हेर्ने विधिबाट अगाडि बढ्नुपर्छ ।



Wednesday, January 05, 2022

 

समाज संरचना र वैयक्तिकता बारे वैदिक दृष्टिकोण

समाज संरचना र वैयक्तिकता बारे वैदिक दृष्टिकोण

डा. निर्मलमणि अधिकारी
सहप्राध्यापक, काठमाडौँ विश्वविद्यालय
परिवार, कुल, कुटुम्ब, ग्राम, गण आदि संरचनाहरू राज्यको तुलनामा निकै प्राचीन हुन् । सामाजिक र राजनीतिक संस्थाहरूको क्रमिक विकास बताउने साक्ष्य वेद एवं वैदिक वाङ्मयमा भेटिन्छ । सामाजिक एवं राजनीतिक संरचना बारे वैदिक वाङ्मयमा गरिएका चिन्तनमा व्यक्ति र दम्पतिको अस्तित्त्वलाई सामाजिक सम्बन्धको प्रारम्भ मानिएको देखिन्छ । अथर्ववेदका अनुसार, सबै भन्दा पहिले बनेको संस्था परिवार थियो । विवाह, दाम्पत्य जीवन र परिवार सम्बद्ध मन्त्रहरू ऋग्वेदमा पनि प्रशस्त छन् । परिवार संस्थालाई अथर्ववेदमा ‘गार्हपत्य’ भनिएको छ । दाम्पत्य जीवन एवं परिवारको अस्तित्त्वले निजी सम्पत्तिको प्रावधानलाई जन्म दियो । गार्हपत्य वा पारिवारिक संगठनपछि आहवनीय संस्थाको विकास भयो । आहवनीय शब्दको अभिप्राय आह्वान गरिएको अवस्थामा जम्मा हुने संस्था वा संगठन हो । सम्भवतः आहवनीय भनेको ग्राम संगठन (गाउँ सभा) जस्तो संस्था थियो । आहवनीय संस्थापछि दक्षिणाग्नी संस्थाको विकास भयो । यो जनपद तहको संस्थाको रूपमा देखिन्छ, जहाँ ग्रामका प्रतिनिधिहरू (ग्रामणी) एकत्र हुन्थे । जनपदको साझा पहिचानलाई ’गण’ भनिएको बुझिन्छ ।
ऋग्वेदमा धेरै उल्लेखित संस्था विदथ देखिन्छ । यो महिला र पुरुष दुवै सहभागी हुने संस्था थियो । परिवार वा कुलको सदस्य संख्या धेरै भएको अवस्थामा सबै परिवारजन एकै स्थानमा भेला भई महिला र पुरुषको समान सहभागितामा पारिवारिक विषयवस्तुमा विचार विमर्श गर्ने, उपभोग्य वस्तुको वितरण गर्ने, क्रीडा गर्ने, धार्मिक क्रियाकलाप गर्ने एवं युद्धको तयारी गर्ने संस्था विदथ थियो भन्ने अध्येताहरू बताउँछन् । यो अथर्ववेदको गार्हपत्य र आहवनीय संस्थाहरूसँग तुलनीय देखिन्छ ।
ऋग्वेदमा ‘जन्मन’, ‘विश’ र ‘जन’ को पनि उल्लेख छ । ‘जन्मन’लाई गोत्र अर्थात् एउटा परिवारको गोष्ठी भन्न सकिन्छ । त्यस्ता कतिपय ‘जन्मन’हरू मिलेर ‘विश’ बन्थ्यो र ‘विश’हरू मिलेर ‘जन’ बन्थ्यो । सभा, समिति, परिषद, सेना आदि पनि वेद संहितामै उल्लेखित छन् । यसरी परिवार, ग्राम, जनपद हुँदै सभा र समिति जस्ता राष्ट्रिय संस्थाहरूको उद्भव र विकास भएको देखिन्छ । वैदिक वाङ्मयमा ‘राष्ट्र’ भनेको राजनीतिक रूपले संगठित जन (वा विशः) लाई जनाउने संज्ञा हो । राज्यको अस्तित्त्वले राष्ट्रियताको भावना आउँछ र समिति, सभा, परिषद्, सेना, राजाको वा गणमुख्यको चयन र राज्याभिषेकबारे वेद संहिता एवं ब्राह्मण ग्रन्थहरूमा धेरै सामग्री पाइन्छ ।
महाभारत ग्रन्थको शान्तिपर्वबाट थाहा हुन्छकि अति प्राचीन कालमा राज्य, राजा, दण्ड (आजको परिप्रेक्ष्यमा कानुन) थिएनन् । सम्पूर्ण प्रजा धर्मद्वारा नै परस्परको रक्षा गर्थे एवं सबै मनुष्य (नर) हरू धर्मद्वारा नै परस्पर पालित र पोषित हुन्थे भनिएको छ । समयक्रममा राज्यको विकास भयो । पहिल्यैदेखि विद्यमान परिवार, कुल, कुटुम्ब, ग्राम, गण आदि संरचनाहरूलाई मानेर नै राज्य अघि बढेको देखिन्छ ।
कुनै पनि व्यक्तिको व्यक्तित्व कस्तो हुन्छ भन्ने कुरामा देश, काल (समय) तथा परिस्थितिको प्रत्यक्ष प्रभाव परेको हुन्छ भन्ने मान्यता देखिन्छ । यसमा समाजका सबै सदस्यहरूले पालना गर्नु पर्ने साधारण कर्तव्यहरू र व्यक्तिको पात्रता, जिम्मेवारी र आवश्यकता अनुसार निर्धारण हुने कर्तव्यहरूको समष्टिबाट व्यक्तिको व्यक्तित्व निर्माण हुन्छ । यसलाई व्याख्या गर्न वैदिक हिन्दू, बौद्ध तथा जैन धर्म दर्शनमा साधारण धर्म र विशेष धर्मको अवधारणा रहेको पाइन्छ । यहाँ चरित्र वा आचारलाई धेरै महत्त्व दिइएको छ । संस्कार, संस्कृति र सदाचारको पालनाले असल पात्रता हुने र कर्तव्यको पालनाले अधिकार प्राप्त हुने मान्यता देखिन्छ । मानिसको चोला पाएपछि जीवनको अन्तिम लक्ष्य मोक्ष हो भन्ने उपदेश हिन्दू र जैन शाास्त्रहरूको छ र बौद्ध मतमा निर्वाणलाई परम् लक्ष्य मानिएको छ । हिन्दू जीवन पद्धतिमा जीवात्माको स्थूल, सूक्ष्म र कारण शरीर हुने र जीवनमा धर्म, अर्थ, काम र मोक्ष (पुरुषार्थ चतुष्टय) को लक्ष्य अनुसार कर्म गर्नु पर्ने उपदेश रहेको छ । मानिस जन्मिनासाथ ऋषि ऋण, देव ऋण र पितृ ऋण लाग्ने र ज्ञान आर्जन, उपासना र कर्म मार्फत् कर्तव्य पूरा गरेमा ती ऋणबाट उऋण होइने बताइएको छ । दैनिक जीवनमा कर्मठता, दया, करुणा, परोपकार जस्ता गुण धारण गरी कर्मरत रहनु पर्छ । परोपकार नै पुण्य हो र परपीडन पाप हो । मानिसका साथसाथै अन्य प्राणीहरूको पनि कल्याण गर्नु पर्छ र उनीहरूप्रति पनि दया, करुणा, मैत्रीको भाव राख्नु पर्छ । मन, वचन र कर्ममा पवित्रता हुनु पर्छ । आफूलाई मन नपर्ने वा प्रतिकूल हुने कार्य अरुलाई पनि गर्नु हुँदैन । आफ्नो क्षमता अनुसार इष्टापूर्त (दान एवं परोपकार) गरिरहनु पर्छ । हिंसा, क्रोध, द्वेष, लोभ जस्ता अवगुणहरू त्याग्नु पर्छ । परिवार, कुल, कुटुम्ब, राज्य (राष्ट्र) एवं पृथिवी (भूमि) प्रतिको कर्तव्य पूरा गर्नु पर्छ । यस्ता उपदेशहरूले वैयक्तिक कर्तव्यको चेतना दिन्छन् ।
समाजमा रहेका व्यक्तिहरूको आपसी सम्बन्धका विभिन्न आयाम हुन्छन् । सामाजिक व्यवहारमा नेपाली संस्कृति समष्टि–प्रधान रहेको छ भने आध्यात्मिक प्रयोजनमा यो सदैव व्यष्टि–केन्द्रित रहेर (वैयक्तिकता प्रधान) चिन्तन गर्दछ । सामाजिक व्यवहारमा समाजलाई प्राथमिकता दिने र आध्यात्मिक व्यवहारमा व्यक्तिलाई प्राथमिकता दिने गरिएकोमा समुचित कारण छ । एक जनाको कारणले सारा समाजलाई हानि पुग्न सक्दछ वा फाइदा पनि पुग्न सक्दछ; किनकि समाजका सदस्यका रूपमा हरेक व्यक्ति–व्यक्ति अन्तःनिर्भर र सम्बद्ध छन् । तर आध्यात्मिक प्रयोजनमा यस्तो हुँदैन । प्रत्येक जीवात्मा मोक्ष वा पतनकोलागि आफूमात्र जिम्मेवार हुन्छ । शास्त्रहरूमा बताइएको छ– परलोकमा आमा–बुबा श्रीमती पुत्र वा हितैषी–मित्रजनहरू कोही पनि साथमा हुँदैनन्, केवल धर्म मात्र साथमा हुन्छ । जीव एक्लै आउँछ र यहाँबाट एक्लो नै जान्छ; एक्लैले पुण्य–पापको फल पनि भोग्दछ । त्यसैले आध्यात्मिक सन्दर्भमा व्यक्तिलाई पूर्ण वैयक्तिक स्वतन्त्रता दिइएको हो । यसरी समाजको आधारभूत एकाइको रूपमा रहेको व्यक्तिलाई आधिभौतिक, आधिदैविक र आध्यात्मिक सबै आयामबाट व्यक्तित्वको पूर्ण विकास गराई सामाजिक सम्बन्धका लागि तयार पार्ने पद्धति यहाँ देखिन्छ । कर्तव्य पूरा गरेर अधिकार प्राप्त गर्नु पर्छ भन्ने मान्यता नेपाली समाजको विशेषता हो ।
युरोपेली सभ्यतामा व्यक्ति र समाजको सम्बन्ध बारे दुई बिल्कुलै विपरित मान्यताहरूको सङ्घर्ष देखिन्छ । त्यहाँ एकातिर व्यक्तिलाई केन्द्रमा राख्ने वैयक्तिकतावादी (Individualist) दृष्टिकोण देखिन्छ भने अर्कातिर सामाजिक तथा राजनीतिक संरचनालाई बढी महत्त्व दिने समुदायवादी (Communitarian) दृष्टिकोण रहेको छ । ती दुईमध्ये कुन विचारधारा अवलम्बन गरिएको हो, सोही अनुसार सामाजिक सम्बन्धको स्वरूपमा फरक पर्ने हुन्छ । नेपाली संस्कृतिमा समन्वय एवं सामञ्जस्यलाई जोड दिइने हुनाले युरोपेली सन्दर्भको जस्तो व्यक्तिवादी वा समुदायवादी भन्ने दुई फक्लेटे विभाजन (Binary division) छैन । माथि चर्चा गरिएझैँ सामाजिक व्यवहारमा समाजलाई प्राथमिकता दिने र आध्यात्मिक व्यवहारमा व्यक्तिलाई प्राथमिकता दिने पद्धति यहाँ रहिआएको छ ।
सामाजिक संरचनाको आधारभूत एकाइ व्यक्ति र परिवार हुन् । त्यसपछिको संरचना कुल हो । आफ्नो कुलका मानिसहरू र आफन्तहरू सहितको समुदायलाई कुटुम्ब भनिन्छ । सामाजिक राजनीतिक हिसाबले सबैभन्दा सानो एकाइ ग्राम मानिएको देखिन्छ । महाभारतमै रहेको विदुर नीतिमा कुलभन्दा ग्राम ठूलो एकाइ रहेको बताउने श्लोक रहेको छ । चाणक्य नीतिको एउटा श्लोकले कुलभन्दा ग्राम ठूलो एकाइ रहेको र एउटा ग्राममा अनेक कुलहरू रहने देखाउँछ । ग्रामभन्दा जनपद ठूलो एकाइ थियो । ‘कुल’ जन्मसँग सम्बद्ध र ‘गण’ जनपदसँग सम्बद्ध रहेको थियो ।
प्राचीन सामाजिक संरचनाका बहुआयामिक देखिन्छ । परिवार, कुल र कुटुम्बको अन्तर्सम्बद्धता महत्त्वपूर्ण मानिन्थ्यो । साथै, ग्राम र जनपदमा रहेका अन्य कुलसँगको सम्बन्ध र सामाजिक अन्तरनिर्भरता पनि कम महत्त्वको थिएन । गोष्ठी (गुठी, बडघर) जस्ता संरचनाले सामाजिक अन्तरनिर्भरतालाई व्यवस्थित गर्थे । गुरुकुल तथा आश्रमहरूले विभिन्न कुल, विभिन्न ग्राम, विभिन्न जनपद र ज्यादै टाढा रहेका देशहरूका मानिसलाई आपसमा सम्वाद र सहकार्य गर्ने अवसर सिर्जना गर्थे । धार्मिक आस्था अनुसारका सम्प्रदायहरूको पनि समाजमा ठूलो महत्त्व थियो । व्यावसायिक समूहहरू (जस्तै ः– शिल्पिहरूको श्रेणि र व्यापारीहरूको निगम तथा पूग नामका संस्थाहरू, त्यस्तै सार्थ समवाय, संव्यवहारिक, सम्भूय समुत्थान नामका ठूला व्यापारिक संस्थाहरू) ले पनि सामाजिक संरचनामा प्रत्यक्ष प्रभाव पार्थे । प्राचीन राजनीतिक संरचना राज्य (राष्ट्र) र राष्ट्र मण्डलको पनि सामाजिक अन्तरनिर्भरतामा प्रभाव रहन्थ्यो ।
मानिस सामाजिक प्राणी भएको हुनाले सृष्टिको उषाकालदेखि सामाजिक अन्तरनिर्भरता मानव जीवनको स्वाभाविक पाटो हो भन्न सकिन्छ । सामाजिक अन्तरनिर्भरतालाई व्यवस्थित गर्न प्राचीन कालमा वर्ण र आश्रमको व्यवस्था गरिएको थियो । गुण र कर्मको आधारमा वर्णको व्यवस्था गरिएको थियो भने उमेर अवस्था अनुसार आश्रमको व्यवस्था गरिएको थियो । वर्ण व्यवस्थामा शिक्षादीक्षा एवं ज्ञानमा केन्द्रित रहने समूह, शासन–प्रशासन, व्यवस्थापन र आवश्यकता अनुसार युद्धमा भाग लिने समूह, कृषि, पशुपालन, शिल्प, व्यापार आदि कार्य गर्ने समूह र सेवामूलक कार्य गर्ने समूह गरी चार समूहहरू थिए । मानिसको आयुलाई कूल १ सय वर्षको मानेर चार भागमा बाँडी पहिलो भागलाई ब्रह्मचर्य आश्रम, दोस्रो भागलाई गृहस्थ आश्रम, तेस्रो भागलाई वानप्रस्थ आश्रम र चौथो भागलाई संन्यास आश्रम मानिएको थियो । पहिलो आश्रममा शिक्षादीक्षा एवं ज्ञान र शीप हासिल गर्ने मुख्य कर्तव्य मानिन्थ्यो । दोस्रो आश्रममा विवाह गरी घरको जिम्मेवारी सम्हाल्ने, धन–सम्पत्ति आर्जन गर्ने, सन्तान जन्माउने–हुर्काउने, परोपकार गर्ने आदि कार्यहरूलाई प्राथमिकता दिइन्थ्यो । तेस्रो आश्रममा समाजसेवा तथा आध्यात्मिक साधनामा जोड दिइन्थ्यो । अन्तिम आश्रममा पूर्णतया आध्यात्मिक साधनामा केन्द्रित हुने नियम थियो ।

Wednesday, May 27, 2020

 

नेपाल परिचयको नेपाली मौलिक दृष्टिकोण

डा. निर्मलमणि अधिकारी
सहप्राध्यापक, भाषा तथा आमसञ्चार विभाग, काठमाडौँ विश्वविद्यालय ।
संस्थापक अध्यक्ष, जरो किलो महाअभियान ।

नेपाल परिचयको नेपाली मौलिक दृष्टिकोण
नेपालको इतिहासको जरो ऋग्वेदमै पुग्ने एवं अति प्राचीन समयमा यो देश र यो देशका जनता दुवैलाई जनाउने संज्ञा “नीप” रहेको तथ्यमा अन्वेषकहरूको ध्यानाकर्षण भइसकेको छ (आचार्य, वि.सं. २०७४) । नेपाल सृष्टिको मूलभुमि भएको तथ्यलाई आत्मसात् गर्न नसकेका कारणले नीप जन वा नीप गणको मूल वासस्थानबारे अन्वेषकहरूमा भ्रमको स्थिति अझै रहेको देखिन्छ (जस्तै ः आचार्य, वि.सं. २०७४, नेपाल, वि.सं. २०६६, वि.सं. २०७४) । नेपालको प्राग् वाप्राचीन इतिहासबारे जे जति अनुसन्धान हुनु पर्ने हो, त्यो पर्याप्त भएको छैन (जस्तै ः आचार्य, वि.सं. २०६०, पाण्डे र रेग्मी, वि.सं. २०५४, २०६२, मानन्धर र पन्त, वि.सं. २०७४) । मेरो आफ्नो मतचाहिँ नीपको उद्भवस्थल नै नेपाल हो र नेपालसहितको हिमवत्खण्डबाट अन्यत्र बसाइँसराइ भएको हो भन्ने रहेको छ (अधिकारी, वि.सं. २०७५क, वि.सं. २०७५ख, वि.सं. २०७५ग) । गण्डकी–कर्णाली क्षेत्र नै नीपजनको उद्भव क्षेत्र हो भन्न सकिने आधारहरू छन् ।
नेपालको अनुसन्धान मौलिक नेपाली प्रतिमानबाट नभई हाम्रो इतिहासको यथार्थ उजागर हुँदैन । नेपालकेन्द्रित मान्यता एवं नेपाली मौलिक दृष्टिकोणको यो प्रारम्भ बिन्दु हो । त्यो प्रागैतिहासिक कालदेखि प्रारम्भ भएर वर्तमानसम्म नेपाल देशको मौलिक परिचय, सार्वभौमिकता, स्वतन्त्रता, स्वायत्तता, स्थितिगत्यात्मकता आदि कसरी जीवन्त रहिआएका छन् भन्ने विश्लेषणमा नेपाली मौलिक दृष्टिकोण भयो भने नै वर्तमान नेपालमा राष्ट्रिय एकता, स्वाभिमान एवं सामाजिक सद्भावका बारेमा गरिने विचार विमर्शको सकारात्मक उपयोगिता हुने हो । वर्तमान नेपालको मूल स्रोतलाई मौलिक नेपाली दृष्टिकोणबाट बोध गर्ने, नेपाली सभ्यताको नेपालकेन्द्रित अनुशीलनलाई मूलप्रवाहमा ल्याउने एवं नेपालको वैविध्यलाई सहृदयताको सम्बन्धमा जोड्ने प्रयत्नले नेपालको राष्ट्रियता, स्वाभिमान एवं सामाजिक सद्भावका परिप्रेक्ष्यमा हुने चिन्तनले समीचीन दिशा दिन्छ ।
नेपाल, हाम्रो मान्यता अनुसार जुन हिमवत्खण्डको भाग, यसको शीरोभाग, केन्द्र भागको रूपमा रहेको छ, यो सृष्टिको मूल भूमि भएको हुनाले यहाँ सृष्टिकालदेखि नै सभ्यता थियो । वैदिक काल, पौराणिक काल, बौद्ध काल अथवा महावीर जैनको काल, सबै समयमा नेपालको मौलिक परिचय थियो । अर्को तरिकाले हेर्दा, प्राचीन नीपहरूको काल, गोपालहरूको काल, किरातीहरूको कालदेखि लिएर लिच्छवीहरूको काल भनौँ, ती हर कालखण्डमा नेपालमा सभ्यता थियो । मौलिकता यहीँ थियो, जसमा अन्यत्रबाट समय समयमा वैविध्य थपिँदै गएको हो । नेपाललाई पूर्व, पश्चिम, उत्तर, दक्षिणतिरका, त्यसमाथि पनि विशाल विशाल जुन देशहरू आजको हिसाबले छन् उत्तर र दक्षिणतिर, तिनिहरूबाट मिश्रित संस्कृति सभ्यता भएको हो भन्ने भ्रमपूर्ण धारणालाई हामीले चिर्नु पर्छ । नेपाल आफ्नै मौलिक संस्कृति, मौलिक सभ्यता, मौलिक इतिहास भएको देश हो । यसमा विभिन्न ठाउँबाट समुदायहरू पनि मिसिएका छन्, मिलेका छन् र सबैको स्वरूपबाट आधुनिक नेपाल बनेको छ भन्ने हामीले मान्नुपर्छ । जति पनि बाहिरबाट आए उनीहरू यसमा मिसिएर यसैमा समन्वित भएर सामूहिक संचेतनाको नेपालीपन अगाडि बढेको हो भन्ने मान्नु नै वैज्ञानिक हुन्छ, समीचीन हुन्छ र आजको हिसाबले पनि त्यो उपयुक्त हुन्छ । नेपाल भनेको पहिले छँदै थिएन, जस्तो उदाहरणका लागि ५००० वर्ष अगाडि छँदै थिएन, सबै बाहिरबाट मात्र आएर बनेको हो भन्ने कुरा भ्रम हो । पछि आएका पनि यहाँ छन् । पछि आएका पनि अन्तरघुलन भएर, एकीकृत भएर, सामाजिकीकरणको माध्यमद्वारा एकै नेपाली सभ्यतामा समाहित भैसकेको हुनाले त्यसमा पनि विवाद निकाल्नु गलत छ भने त्यस सँगसँगै हाम्रो जुन वास्तविक इतिहास हो त्यो कुरालाई नबुझ्नु पनि नमिल्दो कुरा हो ।
नेपालको पढाइ, लेखाइ (खासगरी औपचारिक शिक्षाको क्रममा) इतिहासको जुन किसिमको पाठ्यपुस्तकहरू बनाइयो, पाठ्य सामग्रीहरू बनाइयो त्यसको पनि कमजोरी हो कि नेपालको इतिहास भन्ने बित्तिकै काठमाडौँ उपत्यकालाई मात्र सम्झिने । नेपाल र नेपाल मण्डलबारे राम्ररी बुझौँ । काठमाडौँ उपत्यका हजारौं वर्षदेखि नेपालको केन्द्रको रूपमा रहेको छँदैछ, तर त्यो मात्र त नेपाल होइन । ५००० वर्ष अगाडि काठमाडौँबाट पानीको निकास भयो र यो खाल्डोमा उपत्यकाभित्रको मलिलो, धापिलो भागमा पनि बस्ती बस्न थाल्यो । बौद्ध वाङ्मयका अनुसार मन्जुश्रीलाई त्यसको श्रेय दिइन्छ, हिन्दु वाङ्मयका अनुसार श्रीकृष्णलाई त्यसको श्रेय दिइन्छ । जसलाई श्रेय दिए पनि त्यो नै नेपालको इतिहासको प्रारम्भ थियो भनियो भने त्यो अर्को भ्रम हुन्छ । त्यो भन्दा अगाडि पनि नेपालका, सपादलक्ष भनिने सवालाख पर्वतमा हिमवत्खण्डमा पर्ने मध्ये धेरै नै भूभाग पर्दछ, त्यो भूभागमा, काठमाडौँ उपत्यकाको अग्लो भूभागमा पनि, पहिले नै बस्ती बसिसकेको थियो, सभ्यता बसिसकेको थियो भन्ने मान्नु नै इतिहासप्रतिको न्याय हुन्छ ।
संसारमा सभ्यताको प्रारम्भ कसरी भयो, विकास कसरी भयो भन्नेमा विभिन्न मान्यताहरू छन् । तर बढी चलेको भनेको नदीसँग केन्द्रित रहेर हुने मान्यता हो । त्यसो भएको हुनाले काठमाडौँ उपत्यकामा बाग्मति, विष्णुमति रहेको र अन्यत्र पनि नेपालका विभिन्न भूभागमा नदी कहाँ छन् र सभ्यता कसरी विकास भयो भनेर हेर्नु एउटा पद्धति हो । पक्कै पनि नदी किनारमा, नदी प्रश्रवण क्षेत्रमा सभ्यता विकास भयो तर हाम्रो नेपालमा, यो हिमवत्खण्डमा हामीले हेर्यौं भने बसाइको पद्धति बाहिरी मानिसहरूले मानव सभ्यताको जुन चर्चा गर्छन् त्यस्तो मात्रै पनि छैन । यहाँ केही वर्ष अगाडिसम्म पनि पहाडमा बस्ने, थुम्कोमा बस्ने, पानीको मूलभन्दा १ घण्टा, २ घण्टा माथि पनि बस्ने, बरु पानी कसरी कम खर्च गर्ने हो त्यसको पद्धति पनि विकास गरेको पाइन्छ । घैया धानको एक प्रजाति सबैलाई थाहा छँदैछ । पानी कम भएतापनि हुने खालका बालीनाली यहाँ हुने गरेका छन् । यस्तो पद्धति भएको नेपालको यो शिखर सभ्यता अर्थात शैल सभ्यता जुन हो त्यसको राम्ररी अध्ययन भैसकेकै छैन ।
केही पछिल्लो चरणमा, अहिलेको हिसाबले २००७ सालको आसपास, इतिहासको मौलिक लेखन शुरु  भैसकेको भए तापनि अझै धेरै प्राचीन कालसम्म हामी जान बाँकी नै छ । संशोधन मण्डल, योगी नरहरिनाथ, इतिहास शिरोमणि बाबुराम आचार्यद्वारा इतिहासको एउटा नेपालको आफ्नो शैली शुरु भएको थियो । संशोधन मण्डलका नयराज पन्त र वहाँका शिष्यहरू सहित, योगी नरहरिनाथ, इतिहास शिरोमणि बाबुराम आचार्यका कारणले हाम्रो मध्यकालसम्मका, प्राचीनकालका केही कुराहरू आएका भए ता पनि अझै इतिहासमा धेरै अनुसन्धान हामीले गर्न बाँकी नै छ । सभ्यताको तरिकाले हेर्दा नेपालको शैल सभ्यता अथवा शिखर सभ्यता जुन हो त्यसको अध्ययन त अझ राम्रोसँग हुन सकेको छैन । अन्वेषण हुन बाँकी नै छ ।
हिमवत्खण्डभित्र अवस्थित नेपालमा हिमाल, पहाड अनि तराइ, जसलाई समष्टिमा त्रिविष्टप भनिन्छ संस्कृतमा, त्यो तीन किसिमको भूभाग जहिले पनि रहेको देखिन्छ । नेपाल आफ्नो विस्तृत अवस्थामा जब थियो यसमा त मानसरोवरदेखि गंगासम्म र कामरूपकामाक्षा, आजको आसामदेखि कश्मिरसम्म थियो । त्योभन्दा पछि खुम्चिँदाखेरि पनि अहिलेको कुमाउँसम्म, कर्तृपुर जसलाई भनियो त्यहाँसम्म नेपाल थियो । समुद्र गुप्तको अभिलेख साक्षी छ (नेपाल, वि.सं. २०७४) । नेपाल भूमि जुन छ, आज भर्खरै बनेको त्यस्तो देश होइन । यो त जहिलेदेखि मानव सभ्यताको शुुरु हुन थाल्यो, प्रारम्भिक अवस्थादेखि नै एकदमै कम जस्ताको तस्तै रहेको, अलिकति सीमा यताउता भयो तर सार्वभौमसत्ताको अविच्छिन्न प्रवाह भएको एक मात्र देश हो भन्दा पनि अत्युक्ति हुँदैन, त्यस्तो देश हो नेपाल ।
नेपालको राष्ट्रिय एकता, स्वाभिमान एवं सामाजिक सद्भावको मूल स्रोत भनेको नेपालको इतिहासबारे नेपालीजनको बोध (जसलाई मैले समन्वयात्मक इतिहास बोध भन्ने गरेको छु, द्रष्टव्य ः अधिकारी, वि.सं. २०७५ग), नेपाली राष्ट्रियताको बृहत्तर परिभाषा (जसका लागि राज्यराष्ट्र सिद्धान्तको आधार लिनु पर्छ भन्ने हाम्रो मान्यता रहेको छ, द्रष्टव्य ः अधिकारी र उपाध्याय, वि.सं. २०७४) र उपर्युक्त राष्ट्रियतामा सबैथरी नेपालीजनको अपनत्व हो । साथै,समकालीन नेपालमा सबैथरी नेपालीले आशा, आत्मविश्वास र आत्मीयताको अनुभूति गर्न सक्ने अवस्था भयो भने मात्र नेपालको राष्ट्रिय एकता, स्वाभिमान एवं सामाजिक सद्भावको लागि अनुकूल परिस्थिति हुने हो भन्ने यथार्थलाई पनि हामीले ख्याल नराखी सुखै छैन ।
वैदिक “नीप” समुदाय एवं सो समुदायकै उत्तराधिकारी कश (खश) समुदायका साथसाथै किरात लगायतका समुदायको साझे भूमि हो नेपाल । धार्मिक समुदायगत परिचयका दृष्टिकोणले वैदिक सनातन हिन्दू, बौद्ध, किराती, बोन, जैन र अन्य पनि मौलिक रैथाने समुदायको यो साझे घर हो । हिन्दू परिचयभित्र समेटिएकाहरूको विविधता हेरौँ त, अति प्राचीनकालदेखिका मष्टोपूजकदेखि हालसालैका सम्प्रदायहरूसम्म यसमा अटाएका छन् । बौद्ध परिचयभित्र पनि प्रशस्त वैविध्य छ । हिन्दू परिचय भित्रको वैविध्य र बौद्ध परिचय भित्रका वैविध्य विशृंखलित छैन, निकै समन्वित छ नेपाली समाजमा । महायानी बौद्ध र नाथ सम्प्रदायहरूको सहअस्तित्वबाट नेपाली समाजको सामञ्जस्यमा अनुपम योगदान पुगेको छ । बोन समुदायले हिन्दू र बौद्ध समुदायहरूलाई बडो बलियोसँग जोडेको छ । किरात धर्म र हिन्दू धर्मको समन्वय पनि उत्तिकै बलियो छ । अचेल “युमा साम्यो” नामकरण सहित सक्रिय हुन थालेको समूहले पहिलेको किरात भन्ने परिचयलाई चुनौती दिएको छ, तर उनीहरूले पनि अन्ततोगत्वा समन्वयात्मक दृष्टिकोण अवलम्बन नगरी सुखै छैन ।
बहुसम्प्रदाय, बहुसंस्कृति, बहुभाषाको विविधताको समन्वित स्वरूप नै नेपाल हो । नेपालको राष्ट्रिय एकताको आधार उपर्युक्त विविधताहरूको आपसी समन्वयले विकसित बृहत्तर राष्ट्रियतामा निहित सहृदयताको सम्बन्ध नै हो । कुनै समयमा युरोपमा अभिनिर्मित राष्ट्रराज्य मान्यता र त्यसैको आधारमा अभिनिर्मित द्विराष्ट्रियता एवं बहुराष्ट्रियता भन्ने अवधारणाहरू नेपालका लागि असान्दर्भिक छन् र नेपालको राष्ट्रियताको परिभाषा राज्यराष्ट्र सिद्धान्तको आधारमा मात्र गर्न सकिन्छ (द्रष्टव्य ः अधिकारी र उपाध्याय, वि.सं. २०७४) । नेपालको राष्ट्रिय एकताको ठोस आधार पनि यसै दृष्टिबिन्दुबाट पहिचान हुने हो ।
ज्ञात इतिहासमा नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वायत्तता सदैव अक्षुण्ण रहनु हाम्रो स्वाभिमानको प्रमुख पाटो रहेको देखिन्छ । अन्तर्यमा, नेपालको मौलिक धर्म, संस्कृति, सभ्यताको अविच्छिन्न उत्तराधिकार नै हाम्रो स्वाभिमानको मूल स्रोत हो, जसले नेपालको पुनर्जागरणको लागि प्रशस्त आधार दिएको छ (थप परिचर्चाका लागि द्रष्टव्य ः अधिकारी, वि.सं. २०७५क) । उपर्युक्त उत्तराधिकारमा प्राप्त नेपाली राष्ट्रियताको प्रकृति र प्रवृत्ति हेर्ने हो भने अनेकतालाई वैभिन्न्य होइन, वैविध्य मानेर व्यवहारमा समन्वय, सामञ्जस्य, सहृदयता अवलम्बन गर्ने चरित्र नै प्रधान छ । सोही कारणले राजनीतिक सिद्धान्तका रूपमा नेपालको चरित्रलाई राज्यराष्ट्र सिद्धान्तले प्रतिनिधित्व गर्छ (अधिकारी र उपाध्याय, वि.सं. २०७४) भनिएको हो ।
हामी विवेकी हौँ भने हामीले ख्याल गर्नुपर्ने कुराहरू भनेको नेपालको इतिहासमा रहेका भ्रमहरू चिर्ने हो र नेपाली मौलिक मान्यता अवलम्बन गर्ने हो । नेपाल विश्वको सभ्यताको केन्द्र हो, सृष्टिको केन्द्र हो । त्यसो भएको हुनाले विश्वका सबै मानवहरूको प्राथमिक घर भनेको यो हिमवत्खण्ड हो । यो हिमवत्खण्डको अविच्छिन्न उत्तराधिकारी नेपाल हो । अरु देशको सांस्कृतिक सम्बन्ध नेपालसँग कसरी विकास गर्न सकिन्छ त्यो हामीले विचार गर्नुपर्छ । राजनितिक नागरिक जुन अधिकारको कुरो छ, त्यसमा जुन नागरिकताको कुरा छ, यहीँ नेपालमा नै बस्ने कुरा छ, त्यसमा नेपाल भूमिले नथेग्ने व्यावहारिक कारणले गर्दाखेरि पनि हामीले निकै नै विचार गरेर त्यसका नीतिहरू बनाउनु पर्छ । तर, अन्तर्यमा चाहिँ जातिवादी, प्रजातिवादी, नश्लवादी घृणालाई नेपालमा स्थान रहनु हुँदैन ।
नेपालप्रति मात्र होइन यो हिमवत्खण्डप्रति, फेरि समष्टिमा पृथ्वीप्रति नै हाम्रो पवित्र भाव छ । किनभने हामीले वैदिक भूमि सूक्त हेर्यौं भने त्यहाँ एउटा निश्चित भूखण्डलाई, सानो कित्ताकाट गरेर त्यसलाई मात्र पवित्र भनेको छैन । समष्टिमा यो पृथ्वी नै, यो ब्रम्हाण्ड नै पवित्र भनिएको छ । हामी त यत् पिण्डे तत् ब्रह्माण्डे, यत् ब्रह्माण्डे तत् पिण्डे भन्ने मान्ने संस्कृतिका हौँ । यही कुरो किराँती परम्परामा पनि छ । बोन परम्परामा, बौद्ध परम्परामा, जैन परम्परामा पनि छ । अरु पनि जति यहाँका स्थानीय छन्, कतिपयको त नामकरण पनि नभएको होला, या हामी जो मष्टोपूजक छौं सबैको मान्यता के हो भने आफ्नो भूमि, आफू जहाँ बसेको छ त्यसलाई मान्ने हो । सँगसँगै त्यहाँ बस्ने जुनसुकै जातिका, प्रजातिका, नश्लका भए पनि यदि उसको व्यवहार, गुण, चिन्तन, आचार राम्रो छ भने त्यसलाई आफ्नै  भनेर मान्ने, स्वीकार गर्ने  हाम्रो पद्धति हो । तर इतिहासका केही कुरालाई लिएर कोही यताबाट कोही उताबाट आए, नेपाल भनेको यस्तो थियो भन्नुको केही अर्थ छैन ।
यो हिमवत्खण्ड सृष्टिको केन्द्र हो भन्ने हाम्रो विश्वास छ । सृष्टिको केन्द्र भएको हुनाले सृष्टि हुँदाखेरिमा जो जो यहाँ जन्मे ति बिस्तारै बिस्तारै, उही नदी या पानी उचाइबाट तलतल सर्दै जान्छ भने जस्तो बसाइँसराइ गर्दै विभिन्न ठाउँमा गए । ती सरेर कोही अफ्रिकातिर पुगे होलान्, कोही युरोपतिर पुगे होलान्, कोही अमेरिकातिर पुगे होलान्, कोही चाइना वा कोही इण्डियातिर पुगेर, पर्सियातिर पुगेर त्यहीँ बसे होलान् । तर मूलरूपमा सृष्टिको मूल भूमि यही थियो । अर्को यताबाट आए कि उताबाट आए कि भन्ने कुरो के हो भने यो भूमिसँग, सृष्टिको मूल भूमि भएको हुनाले उनीहरूको स्मृति जोडिएको छ । स्मृतिमा, नेपाल या यो हिमवत्खण्ड नै हाम्रो मूल भूमि हो, अब संकट पर्यो, त्यतैतिर फर्कौँ भनेर फर्के ।
पहिला मान्छेहरू जहाँबाट बसाइँ सरेर गएको हुन्छ, फेरि आपत् पर्दाखेरिमा त्यहीँ फर्केर आउँछ । अस्ति भर्खरै भुटानमा जब समस्या पर्यो नेपालीभाषीहरू नेपालम आए । बर्मामा समस्या पर्यो नेपालमा आए भने जस्तै । अहिले पनि अन्यत्र कुनै देशमा, यूरोप अमेरिका गएकै किन नहोउन्, त्यहाँ भोली कुनै समस्या पर्यो भने शुरुमा सम्झिने त नेपाल नै हो । यो इतिहासमा पनि भएको छ । मुगलकालको पनि कुरा गरिन्छ । अथवा त्यसको अगाडि या पछाडि पनि भयो होला । केही जातीय समुदायहरू, केही सांस्कृतिक समुदायहरू मैदानबाट पहाडतिर उक्ले भनिएको छ, त्यो पनि उनीहरू नयाँ ठाउँमा आएका होइनन् । पहिला शुरुमा, सृष्टिको बेलामा नेपाल भूमि नै, हिमवत्खण्ड नै उनीहरूको मूल घर थियो । समयक्रममा बसाइसराइ उनीहरूको उतातिर भयो । तर त्यहाँ संकट परेपछि मूल भूमि सम्झे । हामीलाई थाहा छ कि त्यत्रो शताब्दीऔँ पछाडि यहुदीहरू इजरायल फर्के । किनभने मान्छेको मनमा, धारणामा, स्मृतिमा आफ्नो मूल भूमि कुन हो भन्ने हुन्छ । त्यसो भएको हुनाले हामीले नेपालमा जो इण्डियाबाट, अथवा चाइनाबाट, आज त्यहाँ पर्ने त्यो भूभागबाट मान्छेहरू बसाइँसराइ गरेर आए भन्ने कुरा छ, त्यसलाई म एकदमै स्वभाविक रूपमा लिन्छु, दुई कारणले । एक त सृष्टिको मूल भूमि भएको हुनाले कोही पूर्व, कोही पश्चिम, कोही उत्तर, कोही दक्षिण लागेका थिए र समयक्रममा जब त्यहाँ संकट पर्यो फेरि नेपालमा आए ।
नेपालमै बसेर, अन्तरघुलन भएर सामाजिकीकरणले आज एक नेपाली संस्कृतिका रूपमा, नेपाली सभ्यताको अवयवको रूपमा विकास भैसकेको हुनाले अहिले आएर त्यहाँभित्र नश्लीय, प्रजातीय, जातीय आधारमा कित्ताकाट गरेर हेर्ने कुरो इतिहासप्रतिको इमान्दारी हुँदैन । सभ्यताप्रतिको इमान्दारी हुँदैन । नेपालको विशेषता भनेकै विविधताहरू एक ठाउँमा आउने, सबैथरि मिलेर बस्न सक्ने, सहृदयताको सम्बन्ध राख्ने खालको हो । यो प्राचीनभन्दा प्राचीनकालमा पनि थियो, बीचको कालमा पनि थियो । अहिले पनि केहीकेही कसैले गड्बड् गर्न खोजेको भए पनि हामीले त्यसलाई जितेर त्यस्तै बनाउनु पर्छ ।
अर्को हामीले ख्याल गर्नुपर्ने के हो भने बसाइँसराइ भन्ने कुरालाइ हामीले जहिले पनि राजनितिक आधारमा हेर्ने गरेका थिएनौं । अहिले आएर आधुनिककालमा यो राजनितिका पाटो पनि बन्यो र आधुनिक मान्यता अनुसार खासगरि नेपाल त छिमेकमा रहेका देशहरूको तुलनामा सानो आकार भएको, जनसँख्या पनि कम भएको र भौगोलिक परिवेशले गर्दाखेरिमा संसाधनको पनि कम उपलब्धता भएको हुनाले यहाँ छेउछाउबाट धेरै मान्छेहरू आइदिए भने, थोरै पनि आइदिए भने, एक प्रतिशत पनि आइदिए भने यहाँ त बसिसाध्य हुँदैन । साधनश्रोतले पनि पुग्दैन । व्यावहारिकताले पनि यहाँ को आउन पाउने, को आउन नपाउने, अब कसरी व्यवस्थापन गर्ने, जनसँख्या निति के हुने हो, यसका निकै विचार गरेर निकै वैज्ञानिक, व्यवहारसम्मत र नेपालमा मौलिक रहेका र रैथाने भैसकेका सबैथरि नेपालीको साझे हितलाई प्रवद्र्धन गर्ने गरी साझा हित सुरक्षित हुने गरी हामीले निर्णय गर्नुपर्छ । तर जो नेपाली भैसकेको छ, नेपालमा जसको शताब्दीऔँको, कसैको सहस्राब्दीऔँको इतिहास भैसकेको छ, पुस्ता दर पुस्ता यहीँ बसेर यहाँको सभ्यतासँग आफूलाई एकाकार गरिसकेको छ, समन्वित भैसकेको छ, उनीहरूको बीचमा पनि सानो सानो निहुँ निकालेर त्यसको आधारमा नश्लीय, जातीय, प्रजातीय कित्ताकाट गर्ने त्यो स्वीकार्य कुरो होइन, बुद्धिमानी पनि होइन । विवेक भएको कुरो पनि होइन । अब त लिखित संविधान हुन्छ, लिखित कानूनहरू हुन्छन् । जम्मै अभिलेखन गर्ने पद्धति भैसक्यो । अब पहिले जस्तो गाह्रो छैन । अब जनसंख्या धेरै भएको र प्राकृतिक संसाधनहरू कम हुँदै गएको हुनाले पहिले जस्तो खुलमखुल्ला बसाइँसराइ गर्ने अवस्था त रहेन विश्व परिवेश नै । त्यो यथार्थलाई हामीले ख्याल गर्नु पर्छ ।
नेपाल सरहदभित्र रहेका हामी जति पनि नेपालीहरू छौँ, जुनसुकै जातिका, प्रजातिका, नश्लका भए पनि, जात मान्ने भए पनि, जात प्रणालीभन्दा बाहिरका भए पनि, जुनसुकै संस्कृतिका भए पनि हामी मिलेर सँगसँगै बस्नु नै छ । एकै देशका नागरिक हौँ, नेपालकै सन्तान हौँ । हामी बीचमा के के कुरा गर्दा चाहिँ एकताका आधारहरू भेटिन्छन् भन्ने कुरामा हामी लाग्नु पर्छ । किनभने झगडा गर्छु भन्यो भने पनि निहुँ पाइला पाइलामा भेटिन्छ । मिल्छु भन्यो भने पनि मिल्ने प्रशस्त आधारहरू भेटिन्छन् । हाम्रो जोड भनेको मिल्नेमै हुनुपर्छ । हामीले बुझ्नु पर्यो कि नेपालको इतिहास भनेको पाँच, दश हजार या पच्चिस, तीस हजार वर्षको होइन । ५००० वर्षको त काठमाडौँ उपत्यका भनिन्छ । अलिपर खोकना जाने बित्तिकै मेरो विचारमा २५ देखि ३५ हजार वर्ष पुरानो भैसक्छ होला । यता टोखातिर जाने बित्तिकै त्यति भैसक्छ होला । अझ शिवपुरी डाँडामाथितिर गयो भने अझ पुरानो हुँदै जान्छ । अझ मनाङ मुस्ताङतिर पुग्दा कति पुरानो होला ? जुम्लातिर पुग्दा कति होला ? यो इतिहासको पनि राम्रोसँग अन्वेषण नभैसकेको अवस्थामा १ करोड १० लाख वर्षका रामापिथेकसको दाह्रा भेटियो भनिन्छ बुटबलमा ।
नखोज्दाको सामान्य अवस्थामा त यति भेटियो भने खोज्ने हो भने त यहाँ के के भेटिन्छ भेटिन्छ । अहिले त एकथरि विद्वानहरूले खोजी गरेर के पनि भन्नुभाछ भने (यसमा थप विचार विमर्श हुन बाँकी छ) जुन अयोध्या भनियो त्यो त हाम्रो चितवनमा भएको अयोध्यापुरी हो । त्यो अयोध्यापुरी र मिथिला जुन जनकपुरधाम भनौं न त्यसको दूरी आदि इत्यादि सबै विचार गर्दाखेरिमा रामायणको परिघटना पनि आजको वर्तमान नेपालको सरहदभित्रै भएको हो । यो सुगौली सन्धिभन्दा अगाडिको नेपालभित्र त भएको हुँदै हो, अहिले भारतमा पर्ने अयोध्या पनि नेपालमै थियो भन्ने जस्ता कुराहरू विद्वानहरूले ल्याइसक्नुभाछ । कुनै बेला बोन धर्मलाई तिब्बतसँग मात्र जोडेर हेरिन्थ्यो । अध्ययन गर्दै जाँदा के देखियो भने हाम्रै स्वयम्भूमा आएर बोनका प्रथम गुरुले १८००० वर्ष पहिले तपस्या गरेर ज्ञान प्राप्त गर्नु भएको रहेछ भन्ने कुरो आइसक्यो । जैनको मूल थलोको कुरा गर्दा मान्छेहरूले नबुझेर वद्र्धमान महावीरको जन्मभूमी वर्तमान इण्डियाको सरहदमा पर्ने कारणले उतैतिर भन्थे तर खोज्दै जाँदा त वहाँ त २४औँ तीर्थंकर हुनुहुन्छ । वहाँकै भूमि पनि सुगौली सन्धिभन्दा अगाडि नेपालमै परेको पनि थियो । झन् प्रथम तीर्थंकर ऋषभदेवको भूमि त गण्डकी क्षेत्रमा हुँदै हो । यसरी हेर्यो भने किराँतीको पनि कैयौँ इतिहासकारहरूले चीनभन्दा उता कताबाट आएको भन्दै थिए । तर नेपाल केन्द्रित अध्ययनहरूले हेर्यो भने जसलाई खस भनियो, किराँती वा किराती भनियो, जो मैदानमा रहेका छन् जसलाई आज मधेशी भनेर चिनाउन खोजिराखिएको छ, त्यो समुदाय पनि सबै यही नेपाल भूमिकै  हुन् ।
मलाई त अझ उदार चित्त राखेर, दृष्टिकोण राखेर हेर्दाखेरि त सृष्टिको मूल भूमि नै यही भएको हुनाले एकदम प्राचीनमा प्राचीनतम् कालमा गयो भने त अफ्रिकी, यूरोपेली आदि इत्यादिले पनि नेपालभित्रै आफ्नो मूल भेटाउँछन् होला जस्तो लाग्छ । अब नेपालकेन्द्रित दृष्टिकोणबाट अध्ययन, अनुसन्धान, अन्वेषण गर्यो भने त के के कुराहरू आउने हुन् त्यो हामीले हेर्न बाँकी छ । अहिलेलाई चाहिँ मैले जोड दिन खोजेको नेपाल भनेको अन्तअन्तैबाट मान्छेहरू आएर बसेको मात्रै देश हो, नेपालको आफ्नो मौलिक भन्ने केही छैन कि भन्ने जुन भ्रम छ त्यस्तो होइन । नेपाल सृष्टिकै मूल हो, नेपाल नै मौलिक छ । नेपालको त राम्रोसँग उत्खनन्, अनुसन्धान, पुरातात्विक अन्वेषण हुनै बाँकी छ । त्यो भैसक्दाखेरिमा नेपाल विश्वको सभ्यताको उद्गम बिन्दुको रूपमा परिचत हुनेछ, विश्वसभ्यताको केन्द्रको रूपमा विकसित हुनेछ ।
यो हिमवत्खण्ड जुन सपादलक्ष या सवालाख पर्वतको श्रृंखला छ, यो एउटा सिंगो प्रणाली र त्यसको क्षेत्र हो । पर्वत भनेर फेरि यो पहाडी क्षेत्रलाई मात्र लिनु हुँदैन । किन कि यो नदीको प्रश्रवण प्रणाली हिमालदेखिबाट शुरु हुँदै पहाड हुँदै तराईसम्म जान्छ अनि समुद्रसम्म जान्छ । हिमालदेखि सागरसम्मको यो हाम्रो एउटै प्रणाली क्षेत्र हो । अब त्यसमा हामीले हेर्नुपर्यो कि हिमवत्खण्डमा पनि सांस्कृतिक आधारमा नेपाल के हो, ऐतिहासिक आधारमा नेपाल के हो ? सँगसँगै व्यवहारिकता हामीले के ख्याल गर्नुपर्यो भने आज नेपाल भन्ने जुन सार्वभौमसत्ता सम्पन्न देश छ, यसको भूराजनीतिक वैधानिक जुन आधार छ, जसमा अहिले अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूले पनि त्यसलाई अझ बलियो बनाएका छन्, त्यसलाई आजको हिसाबले केन्द्रमा राखेर कुरा नगरी सुखै छैन ।
हामी सहृदयताको पद्धतिलाई मान्ने हुनाले करुणाको पद्धतिलाई मान्ने हुनाले हाम्रा सोचाइ, चिन्तन, व्यवहारमा सकेसम्म त्यो झल्किनु पर्यो । यो “उदारचरितानां वसुधैव कुटुम्बकम्” भन्ने पक्षमा पनि जानु पर्यो । सारा विश्व नै हाम्रो घर हो भन्ने चेतनालाई पनि स्थान दिन सक्ने हामी हुनु पर्यो । साथै, हाम्रो नेपाल आज जुन एउटा विशाल देशबाट खुम्चिदै खुम्चिँदै यो मेची महाकालीको सरहदमा आइपुगेको छ त्यसलाई जोगाएर, त्यसलाई अझ उन्नति प्रगतितिर लिएर जानुपर्यो । यो दोहोरो पक्षमा सन्तुलन ल्याउनमा सनातन हिन्दू धर्मले महत्वपूर्ण भूमिका खेल्छ ।
नेपालको राष्ट्रिय एकता, स्वाभिमान एवं सामाजिक सद्भाव भनेर तीनवटा अवयवहरूको जुन उल्लेख भएको छ, यिनीहरू सम्बद्ध, परिपूरक, समन्वित कुराहरू हुन् । तीनै कुराको जरो नेपालको प्राचीनता, मौलिकता एवं वैविध्यहरूको सामञ्जस्यमा निहित छ । आज परसंस्कृतिको प्रकोप एवं धर्मपरिवर्तन भनिने दुस्चक्रले नेपालको राष्ट्रिय एकता र स्वाभिमानका साथसाथै नेपाली समाजको मूल चरित्र रहेको सामाजिक सद्भावलाई नकारात्मक असर पारेको किन रहेछ भन्ने थाहा पाउन उपर्युक्त जरोको यथार्थ थाहा हुनै पर्छ । सारमा, नेपालमा निहित सांस्कृतिक, सामुदायिक, सम्प्रदायगत, भाषिक, जातीय वा प्रजातीय, भौगोलिक क्षेत्रजन्य वा अन्य कुनै पनि आधारमा रहेका वैविध्यलाई सहृदयताको सम्बन्धमा समन्वित गरेर मात्र सामाजिक सद्भाव सुनिश्चित हुने हो ।

सन्दर्भ सामग्री सूची
अधिकारी, निर्मलमणि । वि.सं. २०७५क । नेपालको पुनर्जागरणको अर्थ र आधार । काठमाडौँ ः जरो किलो प्रतिष्ठान नेपाल ।
अधिकारी, निर्मलमणि । वि.सं. २०७५ख । वर्तमान नेपालमा धर्मनीति र राजनीति ः विमर्शात्मक प्रस्तावना । भीमलाल लामिछो (प्र.सं.), ओंकार सन्देश (पृ. ९१ — १०८) । पोखरा ः विश्व हिन्दु महासंघ कास्की ।
अधिकारी, निर्मलमणि । वि.सं. २०७५ग । समन्वयात्मक इतिहास बोध । अर्जुनकुमार पोखरेल (सं.), धार्मिक सहृदयता सम्मेलन स्मारिका (पृ. ७२ — ८२) । काठमाडौँ ः जरो किलो प्रतिष्ठान नेपाल ।
अधिकारी, निर्मलमणि, र उपाध्याय, गोविन्दशरण । वि.सं. २०७४ । राज्यराष्ट्र ः अवधारणा र सिद्धान्त (दोस्रो संस्करण) । भक्तपुर ः सहृदयता समाज नेपाल ।
आचार्य, दिवाकर । वि.सं. २०७४ । नीपजन र नेपाल एउटा छोटो आद्य इतिहास । काठमाडौँ ः मार्टिन चौतारी ।
आचार्य, बाबुराम । वि.सं. २०६० । प्राचीनकालको नेपाल । काठमाडौँ ः श्रीकृष्ण आचार्य ।
आयोदधौम्य । वि.सं. २०५७ । आस्थाको शान्तियुद्ध । विराटनगर ः नेपाली भाषा संस्कृति परिषद् ।
नेपाल, ज्ञानमणि । वि.सं. २०६६ । गणतन्त्रदेखि लोकतान्त्रिक गणतन्त्रसम्म ः संघीयताको समस्या र समीक्षा । काठमाडौँ ः मकालु प्रकाशन गृह ।
नेपाल, ज्ञानमणि । वि.सं. २०७४ । नेपाल निरुक्त । ललितपुर ः साझा प्रकाशन ।
पाण्डे, रामनिवास, र रेग्मी, दिनेशचन्द्र । वि.सं. २०५४ । नेपालको पौराणिक इतिहास । काठमाडौँ ः नेपाल र एशियाली अनुसन्धान केन्द्र ।
पाण्डे, रामनिवास, र रेग्मी, दिनेशचन्द्र । वि.सं. २०६२ । नेपालको प्राग् इतिहास । काठमाडौँ ः नेपाल र एशियाली अनुसन्धान केन्द्र ।
मानन्धर, त्रिरत्न, र पन्त, दिनेशराज । वि.सं. २०७४ । नेपालको इतिहासमा नेमुनि । काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान ।

Wednesday, May 06, 2020

 

प्रत्यक्ष प्रमाण नै प्रमाणहरुको राजा

प्रत्यक्ष प्रमाण नै प्रमाणहरुको राजा (मुख्य, प्राथमिक, मूल) हो भन्नेमा वैदिक, बौद्ध, जैन, किराती, बोन, कन्फुसियस दर्शनका साथसाथै चार्वाक, अजित केशकम्बली, लेउसिप्पस, डेमोक्रिटस, इपिक्युरस, वांग चोंग, जयराशि भट्ट, इब्न तुफेल र मार्क्स पनि सहमत छन् र आधुनिक भौतिक विज्ञानका वैज्ञानिकहरुले त विज्ञानको मानक नै स्थापित गरेका छन् ।
प्रत्यक्ष प्रमाणले मात्र पुग्छ कि पुग्दैन, के के प्रमाणका आधारमा प्रमेयको ज्ञान (प्रमा) पर्याप्त हुने हो भन्नेमा मतवैभिन्न्य अवश्यै छन्, तर प्रत्यक्ष प्रमाण अनिवार्य हो भन्नेमा सबैको मतैक्य छ । आचार्य कुमारिल भट्टले मीमांसा दर्शनका परम्परामा श्लोकवार्तिक र तन्त्रवार्तिक लेखेर विज्ञान र ज्ञानको समन्वय गर्ने दार्शनिक आधार निकै विकसित बनाउनु भएको छ ।
विज्ञानलाई प्राथमिकता जति हुनु पर्ने हो, तेसको सानो अंश पनि हुन सकेको छैन हाम्रो देशमा । विज्ञान र ज्ञानलाई विरोधी, विपर्यय, समानान्तर नठानौँ । विज्ञान त ज्ञानको आधार हो । विज्ञान र ज्ञानको अन्योन्याश्रित सम्बन्ध छ । विज्ञानको मूलप्रवाहीकरणमा अघि बढौँ ।
निर्मलमणि अधिकारी

This page is powered by Blogger. Isn't yours?